~रमेश खकुरेल~
हाम्रा एक छिमेकी छन्
हेर्दा खूब मिलेका छन्
भित्र त पापीजस्ता छन्
के भनुँ खै यी कस्ता छन् ।।
कहिले यौटा पापा दिन्छन्
कहिले यौटा नाना दिन्छन्
कहिले खेल्ने चाचा दिन्छन्
मद्दत गर्ने बाचा दिन्छन् ।।
खूब गरेंझैं मनमा ठान्छन्
एक्लै झाडीतिर लैजान्छन्
एकान्त हुँदा सारी तान्छन्
सिङ्गै म किनें जस्तै ठान्छन् ।।
भैगो तेरो चाचा लैजा
नाना लैजा बाचा लैजा
पापी आँखा टाढा लैजा
श्रापै पाइस् नर्कैमा जा ।।
काठमाडौं