लेख : पठन संस्कृति र नेपाली साहित्यको विकासका लागि राज्यको दायित्व

~लता शर्मा~

साहित्य भन्ने शब्द सुन्ने बित्तिकै हामीहरूले गीत, कविता, नाटक, लेख रचनाहरू हुन् भन्ने बुझ्दछौंं भने साहित्यकार भन्ने शब्द सुन्दा हामीहरूले गीत, कविता, नाटक तथा लेखहरू रचना गर्ने व्यक्तिहरू हुन् अर्थात् स्रष्टा भनेर बुझ्ने गर्दछौँ । कुनै व्यक्तिले साहित्यमा रुचि राख्दछ भने त्यसले साहित्य शब्द पढेर राम्रोसँग बुझेको र ज्ञान हासिल गरेको हुनु पर्दछ । तर अहिले यो २१ औँ शताब्दीमा विद्युतीय सञ्चार माध्यमले गर्दा मानिसहरूलाई ज्ञान हासिल गर्न किताब पढ्न जस्तो धेरै समय दिन नपर्ने सजिलो बनाई दिएको छ । विद्युतीय सञ्चार माध्यमले मानिसहरूलाई सहज त बनाइदिएको छ, तर सुविधाभोगी र अल्छी पनि बनाइ दिएको छ भने अर्कोतर्फ मानिसलाई अल्पज्ञानमा सीमित गरिदिएको कुरा व्यवहारमा देखिएको महस्ुस भएको छ ।

अहिलेका नयाँ पुस्ताहरूमा किताब किनेर पठनपाठन गर्ने भन्दा इन्टरनेट र अनलाइनको माध्यमबाट बढी पठनपाठन गरी ज्ञान बटुल्नेहरुको सङ्ख्या बढी देखिएको छ । नेटको माध्यमबाट पठनपाठन गर्दा सस्तो र समयको बचत हुने हुँदा पाठक सबैको ध्यान मोबाइल र नेटले नै आकर्षित गरेको देखिन्छ । यसले गर्दा साहित्यको क्षेत्र प्रभावित बन्दै गएको छ । मोबाइलबाटै पठन पाठन गर्ने प्रचलनले गर्दा अहिले किताब पढ्ने पाठकहरूको सङ्ख्यामा कमी आउन थालेको छ । पाठकहरूको सङ्ख्यामा कमी आउना साथ किताबको बिक्री वितरण पनि स्वाभाविक रूपमा प्रभावित बन्दै गएको कुरा साहित्यकर्मीहरु र पुस्तक व्यवसायीहरू बताउँछन् । अर्कोतिर लेखकहरूको पनि उत्तिकै गुनासो सुन्न थालिएको छ । आफूले लेखेका लेख रचनाहरू प्रकाशन गर्दा महँगो पर्ने र बजारमा गइसकेपछि पनि पुस्तक व्यवसायीहरूले आफूले लेखेको पुस्तकहरूको बिक्री वितरण राम्रै भए पनि बिक्री भएको छैन भनेर पुस्तकको रोयल्टी नदिने गरेको बताउँछन् ।

साहित्यको क्षेत्रमा महिलाहरूको अवसर र चुनौतीहरूको बारेमा अनुूभव साट्ने क्रममा महिला स्रष्टाहरू भन्छन्– महिलाहरू साहित्यिक क्षेत्रमा लागेर कलम चलाउने हो भने अवसर र चुनौती दुवैको सामना गर्नु पर्दछ । तर पनि उहिलेको परिस्थिति भन्दा अहिलेको परिस्थिति केही सहज बन्दै गएको देखिन्छ । उहिले एउटा दुइटा छापाखाना मात्र थिए, अहिले थुप्रै छापाखाना र कृति प्रकाशन गर्ने थुप्रै सङ्घसंस्था र प्रकाशन गृहहरू छन् । यो हामी महिला स्रष्टाहरूका लागि राम्रो अवसर र सकारात्मक पक्ष हो । हुन त महिलाहरूको लागि जतिसुकै समान सहभागिता भनेर सरकारले आरक्षणको व्यवस्था गरेको छ र नेताहरूले जतिसुकै भाषण छाँटे पनि हाम्रो जस्तो पुरुषप्रधान देशमा महिलाहरूको परिचय त पुरुषहरूको नामबाटै जोडिएर आउँछ । राजनीतिक क्षेत्रमा लाग्ने महिलाहरूको भरखरै भएको चुनावमा परिचय सुन्दा पनि हामीहरूले अनुमान गर्न सक्छौंं कि महिलाहरूको स्थान र पृथक् पहिचान कहाँ छ भनेर । महिला उम्मेदवारको नाम आउने बित्तिकै फलाना नेताको श्रीमती वा फलानाको बुहारी भनेर परिचय दिएको सुन्छौंं । के महिलाहरूको आफ्नो नामबाट पृथक् परिचय हुँदैन ? के महिलाहरूको अलग्गै पहिचान छैन ।

अहिलेको यो २१ औँ शताब्दी महिलाहरूको शताब्दी भन्ने गरिन्छ । तर पनि महिलाहरू भने बाहिरको कामबाट वा कार्यालय समय पछि घर भित्र पस्नासाथ चुल्हो चौक सम्हाल्नै पर्ने बाध्यता छ । आफ्नो श्रीमान् सँगै जागिर खाएर कार्यालय समय पछि सँगसँगै घर आएपनि महिलाहरू चिया खाजा बनाउन, खाना बनाउन सिधै चुल्हो सम्हाल्न जान्छन् भने श्रीमान् भने बैठक कोठामा टिभी खोल्न पुग्छन् । यो त सामान्य प्रचलनकै रूपमा अहिले पनि विद्यमान छ हाम्रो समाजमा । आजको २१ औँ शताब्दीको आधुनिक समाजमा पनि महिलाहरू प्रति गरिने व्यवहार र दृष्टिकोणमा कुनै परिवर्तन आएको देखिँदैन । त्यसैले अहिले पनि एकाध अपवाद छोडेर कुनै पनि पुरुषहरूले घरेलु काममा महिलाहरूलाई सघाएको देखिँदैन । यसकारण पनि घरेलु कामबाट उम्कन नपाउँदा साहित्य लेखनमा पनि समय पाउन सकिरहेका हुँदैनन् महिलाहरू ।

पुरुष स्रष्टाहरू भन्छन्– चाहे महिला होस्, चाहे पुरुष साहित्यको क्षेत्रमा होस् एउटा लेखकले आफ्ना लेख रचनाहरू लेखेर प्रकाशन गरी बजारमा बिक्री वितरण गरेर अहिलेको समयमा लेखक बाँच्न सक्ने अवस्था छैन । यो साहित्यका क्षेत्रमा कलम चलाउनेहरुका लागि चुनौतीको विषय बनेको छ ।

अर्कोतर्फ पुस्तक व्यवसायीहरू भन्छन्– विज्ञानले दिएको उपहार इन्टरनेट, आई फोन र मोबाइलको प्रयोगले पाठकहरू सबैको ध्यान इन्टरनेट तिरै आकर्षित गरेको छ । पुस्तक किनेर पठन पाठन गर्ने संस्कृतिबाट विमुख पाठकहरू अब पुस्तक किनेर पठन पाठन गर्नुको सट्टा इन्टरनेट, आई फोन र मोबाइलको माध्यमबाट पढ्ने संस्कृतिको विकास भएको छ, जसले गर्दा पुस्तक खरिद बिक्रीमा एकदमै कमी आएको छ । वर्तमान अवस्थामा झाङ्गिंदै गएको यस्तो प्रवृत्तिले गर्दा पुस्तक व्यवसाय नै धराशायी हुने सम्भावना बढिरहेको पुस्तक व्यवसायीहरूको ठम्याई छ । प्रकाशक र प्रकाशन गृहहरूले पनि स्वाभाविक रूपमा यस्तै चुनौतीहरू खेप्नु परिरहेको छ । स्वदेशमा कच्चा पदार्थ नपाइने, अव्यवहारिक र अवैज्ञानिक सरकारी नीति नियम, चर्को भन्सार दर, कमिसन दिनुपर्ने लगायतका अनगिन्ती समस्याहरूले गर्दा स्वदेशमा उत्पादन हुने ग्रन्थ, पुस्तक पुस्तिकाहरू महङ्गो पर्न जाने उनीहरू बताउँछन् ।

विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू भन्छन्– इन्टरनेटको माध्यमबाट पठन पाठन गर्दा सस्तो, सहज र समयको बचत हुने भएर पनि किताब किनेर पठन पाठन गर्दा किताबको पाना पल्टाएर पढ्दा जुन आनन्द र ज्ञान पाइन्छ, त्यो आनन्द र ज्ञान नेटमा पढेर कहाँ पाइन्छ र ? तर पनि विपन्न वर्गका विद्यार्थीहरूले किताब किनेर पढ्ने पैसाको अभावले गर्दा पनि इन्टरनेटको सहारा लिन बाध्य हुनुपर्छ । एउटै किताबको मूल्य रु. ६, ७ सयसम्म पर्छ । आजकाल इन्टरनेटको सुविधा भएको कारण पनि त्यति महङ्गो किताब किनिदिन हाम्रा अभिभावकहरू पनि मान्दैनन् । अर्को कुरा महङ्गो र वजनको हिसाबले पनि ग¥हुङ्गो किताबहरू बोक्न पनि झन्झटिलो लाग्छ । यी विविध कारणले गर्दा पनि महङ्गो किताब किनेर पढ्न नसक्नु र इन्टरनेटमा पढ्नु पर्ने हाम्रो बाध्यता हो ।

कतिपय विद्यार्थीहरूको गुनासो छ– मैले रु.२७५/– तिरेर किनेको किताब घरमा ल्याएर हेर्दा छापाखानाले छापेको मूल्यको ठाउँमा स्टिकर लगाएर नयाँ मूल्य लेखेको रहेछ । टाँसिएको नयाँ मूल्य लेखेको स्टिकर हटाएर छापाखानाको मूल्य हेर्दा रु.१२५/– मात्र रहेछ । मैले आफूलाई रु.१५०/– पुस्तक विक्रेताबाट ठगिएको स्पष्ट भयो । यसरी एउटा पुस्तकमै यति धेरै रकम अर्थात् दुई गुना भन्दा बढी ठगिन्छ भने पुस्तक प्रतिको मोह नै भङ्ग हुने नै भयो र विज्ञानले दिएको विकल्प रोज्नै परेको उनीहरूको धारणा छ । यति मात्र होइन निजी क्षेत्रका विद्यालयहरूले त त्यसरी टाँसिएका मूल्य माथि थप अर्को मूल्य राखेर नयाँ स्टिकर टाँसेर थप मुनाफा लिने गरेको मात्र होइन । अधिकांश निजी क्षेत्रका विद्यालयहरूले त उनीहरूले तोकेकै पुस्तक पसलहरूमै किताब र कपडा पसलहरूबाट विद्यालय पोसाक खरिद गर्न बाध्य गराइन्छ । ती बाहेकका पुस्तक पसलहरूबाट किताब खरिद गरिएमा स्वीकार्य हुँदैन । यसरी अभिभावक र विद्यार्थीहरू दोहोरो ठगीमा पर्ने विवशता विद्यमान छ ।

साहित्यिक क्षेत्रमा अनुभव संगालेका साहित्यकार, साहित्यानुरागी तथा बुद्धिजीवीहरूका अनुसार साहित्यका विभिन्न विधा र पक्षमा बोल्दा पुस्तक प्रकाशन गर्ने छापाखानाहरूले आफूले प्रकाशन गरेका पुस्तकहरूको सङ्ख्या पुस्तकमा उल्लेख नगर्ने गरेको, लेखकहरूलाई रोयल्टी नदिने लगायतका प्रवृत्ति बढीरहेकोे छ । पाठकहरूले आफूले किन्न चाहेको पुस्तक व्यवसायीहरूसँग माग गर्दा नपाएर लेखकसँग गुनासो गर्ने गरेको पनि पाइएको उनीहरूको गुनासो छ । तर, यो विषयमा पुस्तक व्यवसायीहरूसँग लेखकले कुरा राख्दा पुस्तकको बिक्री नभई गोदाममा थन्कीएको बताउँछन् । यो समयमा इन्टरनेट मोबाइलको प्रयोगले पाठकहरू सबैको ध्यान इन्टरनेट तिरै आकर्षित भएको र पुस्तक किनेर पढ्दा महङ्गो पर्ने कुरा कटूसत्य हो । बिहान साँझ छाक टार्ने समस्याबाट पीडित एउटा गरिब परिवारका विद्यार्थीले ६,७ सय रुपैयाँ पायो भने चामल किनेर परिवार पाल्छ कि किताब किनेर पढ्छ ? मनन्योग्य पक्ष हो । नेपालमा सञ्चालन भैरहेका कतिपय सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरू आर्थिक अभावका कारण सुचारु रूपमा सञ्चालन हुन नसक्दा बन्द हुने
अवस्थामा देखिन्छन् । अब प्रकाशक, साहित्यकार, लेखक, पुस्तक व्यवसायी र पाठकहरू सबैले शिक्षा र साहित्यको भविष्यको बारेमा ठोस योजना बनाई नेपाल सरकार समक्ष कार्यान्वयनका लागि पहल गर्न र दबाब दिनु आवश्यक देखिन्छ । यसका लागि शिक्षाविद् र विद्यार्थीहरूको प्रभावकारी भूमिका पनि अपरिहार्य देखिन्छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घद्वारा २०७४ साल मङ्सिर २८ गतेदेखि पुस ५ गते सम्म नेपालगन्जमा पहिलो पटक आयोजित आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७४ मा आयोजना गरिएका विभिन्न साहित्यिक कार्यक्रमहरूमा यस पङ्तिकार पनि सहभागी हुने अवसर पाएको थियो । २०५७ सालमा पश्चिम नेपालकै व्यापारिक, औद्योगिक, शैक्षिक, स्वास्थ्य, यातायात लगायतको दृष्टिबाट केन्द्रबिन्दुमा रहेको र प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मानसरोवरको प्रवेश द्वार नेपालगन्ज नगरीमा इतिहासमै पहिलो पटक व्यापारिक तथा औद्योगिक मेला सञ्चालन गर्ने दुई वटा आयोजक संस्था नेपालगन्ज उद्योग व्यापार सङ्घ र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मध्ये महासङ्घमा आयोजकका रूपमा सक्रिय रूपमा सहभागी हुने अवसर पाएकी थिएँ ।

अझ विशेष गरेर मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आयोजित प्रशिक्षणमा मेला निर्देशक समिति, विभिन्न समिति उपसमितिहरूका पदाधिकारी तथा कार्यकर्ताहरूलाई ललितपुर उद्योग वाणिज्य सङ्घका एक जना अधिकृत, म र मेरा जर्मन साथी जर्मन विकास सेवा नेपालकी डेभलपमेन्ट वर्कर सुश्री मार्टिना गोबेलले सहजीकरण गरेको सम्झना मेरो मानसपटलमा अझै ताजा छ । त्यसैले पनि मेला मेरो लागि नयाँ थिएन, तर विषय भने पक्कै नयाँ थियो ।

‘सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ ‘अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवमा राष्ट्रिय स्तरका स्रष्टाहरूको जमघट र स्थानीय स्रष्टाहरूको जमघट, प्रकाशक, लेखक, स्रष्टा, पुस्तक व्यवसायी तथा पाठकसँग अन्तरक्रिया कार्यक्रम गरिएको सो महोत्सवमा नारी स्रष्टाहरूको छुट्टै जमघट पनि गरिएको थियो । महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरूको प्रचारप्रसार गरी संरक्षण तथा सम्वद्र्धनमा ध्यानाकर्षण गराउने, पठन संस्कृतिको विकास गर्ने, पठन संस्कृतिको अभियानमा लागिपर्ने व्यक्ति, संघसस्थाहरुसंग सहकार्यमा सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्दै जिम्मेवार व्यावसायिक संस्थाको रूपमा स्थापित गर्ने, पुस्तक व्यवसायीहरूको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रवर्द्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको बताइएको थियो । ‘बालबालिकालाई खेल्ने, कुद्ने, मनोरञ्जनस“गै पढ्ने संस्कार दिन खोजिएको’ भनिएको महोत्सवमा बहुभाषिक कवि गोष्ठीको पनि आयोजना गरिएको थियो । आयोजकले सोंचे अनुरूप उपलब्धि हासिल भयो भएन अर्थात् पठन संस्कृतिको विकास गर्नका लागि कतिसम्म फलदायी रह्यो त्यो अलग्गै पक्ष हो । तर, स्रष्टा, लेखक, पाठक तथा विद्यार्थीहरूले भने पुस्तक व्यवसायी र प्रकाशकहरू बिच आफ्ना गुनासा, धारणा र विचार भने माथि उल्लेख गरिए झैँ खुलेरै राख्ने अवसर भने अवश्य पाएका थिए । यस्तो अवसर राजधानी बाहिर विरलै उपलब्ध हुने गर्छ ।

साहित्यमा रुचि भएकै कारण साहित्यिक क्षेत्रका केही अनुभवहरू बटुल्ने अवसर यो महोत्सवबाट यस पङ्तिकारले पाएको थियो । ती साहित्यिक कार्यक्रमहरूमा सम्मान र करिब आधा दर्जन कृतिहरूको विमोचन पनि गरिएको थियो । यसैबिच साहित्यिक कार्यक्रम हल भित्र साहित्यिकारहरु समेत नाचगानको मञ्च तिर बढी आकर्षित भएका देखिन्थे भने साहित्यिक कार्यक्रममा सहभागिता न्यून देखिन्थ्यो । मञ्चको नजिकै जाँदा मानिसहरू नाचगान र राष्ट्रिय हाँस्यकलाकारका अभिनय हेर्न मस्त थिए । स्टल नजिकै पुग्दा के यसरी हामीहरूले स्टलको भाडा तिर्न सक्छौँ त भनेर नजिक भएका दुई स्टलका व्यवसायीहरूले कुरा गरेको सुनिन्थ्यो । कोही भन्थे नेपालगन्जमा पठन संस्कृति रहेनछ भने कतिपयले त शैक्षिक महोत्सव नभई यो त रमाइलो मेला पो रहेछ भनेर टिप्पणी गरेको पनि सुनियो । पङ्तिकार मेला स्थलबाट घरतिर फर्कँदै गर्दा बाटोमा मानिसहरूले सोध्थे– कहाँबाट आउनु भयो ? मेलाबाट भन्ने बित्तिकै जिज्ञासा राख्थे– कापी किताब मात्रै छन् रे होइन ?

नेपालगन्जमा पहिलो पटक आयोजित आठौँ पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आफ्नै महत्त्व र विशेषता छन्, राम्रा पक्षहरू धेरै छन् । आयोजकहरूलाई धन्यवाद दिनै पर्दछ । तर मेला अवधिमा भए गरेका क्रियाकलापहरूलाई नियालेर हेर्ने हो भने शिक्षा र साहित्य कहाँ छ ? हामीहरूले सजिलै विश्लेषण गर्न सक्दछौँ । नेपाली उखान छ– “भैँसीको अगाडी बिन बजाएर नाच्छ र ?” कुनै पनि ठाउँको वर्ग जाति शिक्षा त्यहाँ बसोबास गर्ने मानिसहरूको रहनसहन र स्तर रोजगारी सबै कुराले शिक्षा र साहित्यलाई असर पारेको हुन्छ । नेपालको सबैभन्दा पिछडिएको क्षेत्र नै पश्चिम हो । यहाँ कसले किताब पढ्ने ? शिक्षकहरूले पढिसके अब किताबको के काम ? आफूले पढाउने विषयको जानकारी इन्टरनेटमा पढेर लिए त भई हाल्यो नि । सरकारीदेखि निजी क्षेत्रका विद्यालयका शिक्षक शिक्षिकाहरूलाई विद्यालय र कलेजहरूमा पढाउँदै ठिक्क छ । शिक्षकलाई समय छैन । पढे लेखेका महिलाहरूलाई फुर्सद छैन, घर भित्रको कामदेखि बाहिर जागिरको कामसम्म उनीहरू त दोहोरो शोषणमा छन् । अधिकांश महिलाहरू साक्षर मात्र छन् । साक्षर महिलाहरूसँग पुस्तक किनेर पढेर ज्ञान लिने चासो छैन । महिलाहरूलाई त घरेलु काम गर्ने बच्चा जन्माउने, स्याहार सुसार, रेखदेख गर्ने । पढे लेखेको भए बाहिर नोकरी समेत गर्ने ठेक्का छ । युवाहरूको आफ्नै गुनासो छ किन पढ्ने ? पढेर के सरकारले जागिर दिन्छ र ? साना कक्षाका विद्यार्थीहरू र बालबालिकासँग किताब किनेर पढ्ने पैसा छैन । साँच्चै राज्यले नेपाली साहित्यको विकास भएको देख्न चाहन्छ र पठन संस्कृतिको विकास चाहन्छ भने निम्न कुरालाई ठोस योजना तर्जुमा गरेर गम्भीरतापूर्वक कार्यान्वयन गर्नु जरुरी देखिन्छ ।

१) अब शिक्षा र साहित्यमा विकास गर्ने हो भने त सरकारी कलेजहरूमा पढाउने शिक्षकहरूलाई प्राइभेट कलेजहरूमा पढाउन नपाउने नियम लगाउनु पर्ने देखिन्छ । शिक्षण पछिको समय साहित्यलाई दिनु पर्ने, ट्युसनको कक्षा जस्तै साहित्य कक्षा सञ्चालन गर्नुपर्ने, यस्ता साहित्यका कक्षा पठनपाठन गर्ने गराउने शिक्षकलाई सरकारले छुट्टै पारिश्रमिकको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

२) साहित्यमा रुचि राख्ने साहित्य प्रेमीहरूको पहिचान गर्ने । घरेलु कामबाट फुर्सद नपाउने महिलाहरूका लागि गाउँपालिका स्तर सङ्घसंस्था बाट गाउँ–गाउँमा सरकारले महिला साहित्य कक्षा सञ्चालन गर्ने, र लेखन सीपको विकास गर्न आवश्यक छ ।

३) यदि कुनै युवाहरूले साहित्यकै क्षेत्रमा पठन पाठन गर्न चाहन्छ भने त्यस्ता युवालाई छात्रवृत्तिको व्यवस्था मिलाई दिने र रोजगारीको अवसर दिनु पर्दछ ।

४) स्कुल कलेजहरूमा अध्ययनरत भाइ बहिनीहरूलाई पठन संस्कृतिको विकास गर्न कथा, बालकथा, गीत कविता, कार्टुन चित्र आदिका पुस्तकहरू निःशुल्क वितरण गर्ने जस्ता विविध कार्यक्रम सरकारले सञ्चालन गर्नु आवश्यक देखिन्छ ।

अस्तु ।

–लता शर्मा,
दाङ हलवार
हाल, नेपालगञ्ज–१२, बाँके

(लेखिका शर्मा सामाजिक कार्यकर्ता र सामाजिक अभियन्ताको रूपमा विगत २० वर्षदेखि नेपालगञ्जमा क्रियाशील हुनुहुन्छ ।)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.