कविता : काँचो कागज

~राइमाण्डु~

माथि माथि भोटमा
चाँप अनि गुराँस फुल्दै गर्दा हुनुपर्छ सायद
यकिन गते घडी पला ठम्याउन नसके नि
ठ्याक्कै त्यही बेला हात परेको थ्यो एउटा काँचो कागज ।

बुढी औलामा रङ पोतिएको थियो
गुराँस कै रङ सरि ।
अनि म सङ्घार देखि पराइ भएको थिएँ ।
अनेक सपनाहरू गुन्दै बुन्दै ।
सम्झनाले झक्झकाउदा फर्की सम्झेँ ।
अहिले पनि आरुबखडा फुल्दै होला।
उता औँला मा पैँयौँ सङ्गै
फुल्दै होला टाकि ।
फुल्दै होला धयारो ।
अनि फुल्दै होला चिउरी हरू ।
तर दृश्य छैन ।
त्यो बास्ना छैन ।
त्यो मनोरमता छैन ।
बर्खेबन, चिउरिघारी अनि तारेभिर।
सुर्की धारा ।।
सबै सबै आँखा मा छ ।
त्यही सम्झना ले सताएर ऐठन बनाउँछ ।
रहर हरू एकातिर थन्को लाएर ।
बाध्यता लाई रहर सम्झेर ।
गरिबी र अभाव को भुमरी मा रुमल्लिदै
राष्ट्रिय बेरोजगारी को चङ्गुल मा फँस्दै,
डायस्परा सम्म को यात्रा जो तय गरेको छु।
घडी को टिक टिक सङ्गै
यो बैँस बेच्दै छु मरुभुमी मा ।
ध्याउन्न छ
हरेक पल पल को समय र पसिना रियल र दिराम गर्ने।
च्यत्नु छ त्यो काँचो कागज ।
मेट्नु छ औला को रङ ।
जोड्नु छ घर खेत ।
बनाउनु छ मध्यम जिन्दगी ।
अनि
रहर छ फेरि त्यो थन्को लाएको रहर को पोका खोल्ने ।
चाहना छ त्यही पसिनाले आफ्नै पाखा भिजाउने ।
अनि त्यही चाँप र गुराँस को फुल हरू सङ्ग खेल्दै ।
रमाउँदै झर्नु छ बेसी ।
रहर छ
चिउरी ,धयारो, आरु अनि टाकी फुलहरू सङ्ग लुकामारी खेल्न ।
रहर छ ,
लुकामारी खेल्न उनी सङ्ग ।

-ईटहरी

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.