नेवारी लोककथा: बिस्केट जात्रा

~सङ्कलन : रामगोपाल आशुतोष~

उहिले म दरबार स्क्वायरको नजिकैको स्कुलमा पढ्थेँ। चालीस या पचास मिटरको दूरीमा छ मेरो घर। हाम्रो लागि खुल्ला सङ्ग्रहालय थियो भक्तपुर। दरबार परिसरको उनान्सय चोक हाम्रा लागि लुकामारी खेल्ने आँगन थियो। त्यहाँका प्रत्येक चोकको आफ्नै अस्तित्व र उत्पति कथा सुन्थ्यौँ। सुन्दरी मुलचोकमा अहोरात्र दाफा भजन घन्किन्थ्यो।

राम राम राम
गथे मलुमने थ्व: नेपा:

भक्तपुरका अन्तिम राजा रणजीत मल्लको यो हृदय विदारक कविता अहोरात्र गुञ्जायमान हुन्छ तलेजुको मूलचोकमा। राजा पृथ्वीनारायणले आफ्नै मित बुवालाई घात गरेर भक्तपुर आक्रमण गरे। पराया भनेको पराया हुन्छ। इष्ट कहिल्यै हुँदैन भन्दै स्वनिर्वासन रोजे। पछि शक्तिको आडमा उनको कथन बदलियो। शक्तिका भक्तहरूले भने— बा दुष्ट हुँदैनन्, नेवार इष्ट हुँदैनन्। आफ्नो मित छोरालाई मारेर मलाई राजा बन्नु छैन भन्दै काशी गए। जाँदा चन्द्रागिरी पर्वतबाट फर्केर हेर्दै उनले गहभरि आँशु पार्दै गाए एउटा मुटु कम्पायमान गीत

राम राम राम
गथे मलुमने थ्व: नेपा:।

भनिन्छ भक्तपुर विश्वको पाँच महादेशको सभ्यताको एक्लै सङ्ग्रहालय हो। यहाँ ग्रीसेली, युरोपेली, एशियालीलगायतका सभ्यताको नमुना पाउन सकिन्छ। यहाँ बज्ने प्रत्येक धूनको कथा छ। प्रत्येक बाजाको महत्व छ। टोलको नामाकरणको कथा छ। संसारमा सबैभन्दा बढी थर र जातका मानिस भक्तपुरमै बसोबास गर्छन्। यहाँका जात्रा र पर्वको उत्पति कथा हुन्छ। यहाँका देवीदेउता र धार्मिक अनुष्ठानको कथा हुन्छ। ऋतु अनुसारका पहिरन हुन्छ। खाना हुन्छ।

यहाँ टोलैपिच्छे पर्व अनुसारको जात्रा मनाइन्छ। नाचहरूको सहर भक्तपुर विविध सयौँ जात्राहरूको देश पनि हो। बिक्काः जात्रा तिनै सयौँ जात्रामध्येको एक जात्रा हो। यस जात्रालाई सत्ताले नव वर्षलाई स्वागत गर्ने पर्वको रूपमा स्थापति गर्ने निकै कोसिस गर्यो। यसको मौलिकतालाई शासकीय नजरले भत्काउन खोज्यो। तर, यसको गरिमालाई बिगार्न सकेन। विक्रमाब्द नेपालमा पछि लादिएको सम्बत हो। बिस्का: जात्राका अनेक नाम छन्। बिस्कं अर्थात् बेग्लै जात्रा। बिस्याका अर्थात् बि— नाग वा सर्प, स्याका अर्थात् मारेर। नाग वा सर्प मारेर मनाइएको जात्रा आदि। अनेक महिमाजडित बिस्काः जात्राको दुई कथा निकै प्रचलित छन्। पौराणीक महत्व बोकेको यस जात्राका बारेमा संस्कृतिविद स्व. लीलाभक्त मुनंकमि, पुरुषोतमलोचन श्रेष्ठ, विनोद राजोपाध्याय र स्थानीयवासीले भिन्नभिन्नै कथा भन्छन्।

पहिलो लोककथा

भक्तग्राम जङ्गल अवस्थामा थियो। यहाँका राजाका एक मात्र छोरी थिइन्। अत्यन्त सुन्दर, अति कामूक। उनले आफ्नो छोरीसित एक रात बिताउन सक्ने युवक वा राजकुमारसित छोरीको विवाह गरिदिने र राजकाज सुम्पने घोषणा गरे।

देशविदेशदेखि युवक र राजकुमार आउन थाले। राजकुमारीसित रात बिताउँथे। भोलि बिहान ती लाश हुन्थे। कैयौँले ज्यान गुमाए। राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट एक जोडी सर्प निस्केर अजङ्गको अजिङ्गर बनेर युवक वा राजकुमारलाई डसेर मार्थ्यो।

एकदिन एक युवक देशको नक्सा तयार पार्न भक्तग्रामबीचबाट बगिरहेको हनुमन्ते खोलाको किनारमा पुग्दा करुण अवस्थाकी एक बृद्धा खोला किनारको रूखमुनि बसिरहेको भेटे। सो बृद्धाले युवकबारे सुध्याइन्। यो देशका निकै युवकहरूले राजकुमारीको यौन तृप्ति गर्न नसक्दा ज्यान गुमाएको रहस्य बताउँदै खोलाको केही पर एउटा खड्ग भेट्टाइने र सोही खड्ग बोकेर राजदरबार गई राजकुमारीसित विवाह गर्न सल्लाह दिइन्। राजकुमारी मस्त निद्रामा पुग्ने बित्तिकै उनको नाकको प्वालबाट एक जोडी सर्प निस्केर डस्ने कुरा पनि बताउँदै त्यस सर्पलाई खड्गले प्रहार गरी मार्नु भनी सल्लाह दिइन्।

खोलाको किनारमा प्राप्त भएको खड्ग बोकेर युवकले राजदरबार गएर राजकुमारीसित विवाह गरे। कामातुर राजकुमारीसित यौनक्रिडा गर्नुपूर्व विभिन्न तौरतरिका अपनाए। युवकले विभिन्न आसन र हाउभाउ गरेर राजकुमारीको कामइच्छा पूरा गरिदिए। राजकुमारी निदाइन्। युवक निकै सचेत थिए। चरम सन्तुष्टिपछि राजकुमारी मस्त निदाइन्। निद्राको घुराइसँगै उनको नाकका प्वालबाट सुस्तरी एकजाडी सर्प निस्किएर युवकलाई डस्न तयार भए। सोही बेला युवकले खड्गले बढ्दै गरेको अजिङ्गरलाई टुक्राटुक्रा पारे। मर्नुअघि अजिङ्गर जोडीले आफूहरूले सयौँको ज्यान लिइसकेकोमा बिस्मात गर्र्दै सजायस्वरूप लामो काठमा झुण्ड्याएर सजाय दिन अनुरोध गरे।

सदाझैं सूर्योदयसँगै सबै गुठियार लाश उठाउन आए। दुबै दम्पत्ती हाँसिखुशी कोठाबाट बाहिर आएको देखी राजदरबारका सबै चकित भए। देशभरि हल्लिखल्ली मच्चियो।

राजाको सोधनीमा सो युवकले सविस्तार घटनाक्र जाहेर गरे। युवक र राजकुमारीबीच धुमधामले विवाह सम्पन्न गरियो। राजज्योतिषीको सल्लाह बमोजिम शुभसाइतमा युवकको राजतिलक गरियो।

अजिङ्गर नागले गरेको आग्रह अनुसार ठूलो उत्सव गरी ज्योतिषीले मिलाएको साइतमा उक्त जोडी नागको चित्राङ्कित ध्वजापाताकालाई लामो काठमा झुण्ड्याई देखाउने जात्राको प्रचलनको व्यवस्था भयो।

प्रत्येक वर्ष नववर्षको पूर्वसन्ध्यामा विस्का: जात्रा मनाइन्छ। बि भन्नाले सर्प स्यात अर्थात् मार्यो भन्ने अर्थमा बिस्यात शब्द अपभ्रंश हुँदै विस्काः बिस्केत हुन गएको किंवदन्ती छ।

दोस्रो कथा

प्राचीन समयमा भक्तपुरमा एक नामूद तान्त्रिक थिए। उनी वैद्य, झारफुकदेखि ग्रहदशा र चिना लेख्ने कामसमेत गर्थे। उनको चर्चा देशैभरि थियो। उनी आवश्यकताअनुसार विभिन्न जनावरको रूप पनि धारण गर्न सक्थे।

एकदिन उनकी अर्धाङ्गीनीले थाहा पाइछन्। सोही कुरा आफ्ना लोग्नेसँग सविस्तार सुध्याइन्। तर, तान्त्रिकले अनकनाउँदै त्यस्तो केही नभएको बताए। नारीहरूको रुद्रघण्टी नहुने र उनीहरुले अनावश्यक हल्ला फैलाउँछन् भन्ने डरले उनले केही नबताउनु नै राम्रो ठाने।

तर, उनकी श्रीमतीले जिद्दी गरिरहिन्। उनले आफ्नो माया लाग्ने भए सही सत्य बोल्न भनिन्। आफ्नी प्राण प्यारीको अनुरोध टार्न नसकेर उनले सबिस्तार आफ्नो क्षमता बताए। उनले बाघ, भालु, सिंहलगायत, माछा, नाग, आदिको रूप धारण गर्न सक्ने बताए।

अब स्वास्नीले कचकच गर्न थालिन्। एउटा कुनै रूप धारण गरेर देखाउन जिद्दी गर्न थालिन्। केही सीप नलागी उनले आफ्नी अर्धाङ्गिणीलाई मन्त्रले फुकेको अक्षता हातमा दिँदै भनेछन्- जब म पूजाकोठाबाट कुनै रूप धारण गरेर निस्कन्छु यो अक्षताले पूजा गरिदिनु।

श्रीमतीले हस् भनेपछि आफू पूजाकोठामा पसेर तप गरेर भयङ्कर नागको रूप लिएर कोठा बाहिर आए। यति भयङ्कर नाग देखेपछि स्वास्नीचाहिँको सातोपुत्लो उडेछ। लोग्नेले दिएको अक्षता मुखमा राखेर निलिन्। र, डरले काँप्दै घरबाट भाग्न थालिन्। स्वास्नीले अक्षताले हिर्काउलिन् कि भनेर नागरूपी तान्त्रिक उनको पछिपछि लागे। तर, स्वास्नीचाहिँले फर्केर पनि हेरिन। अन्त्यमा हनुमानघाटमा पुगेपछि उनको मृत्यु भयो।

यसरी राज्यमा त्यति ठूलो मरेको नाग भेटिएपछि राजाले त्यसलाई मार्ने मान्छेको पत्ता लगाउन ठूलो काठमा झुण्ड्याएर कैयौँ दिनसम्म राखे। अन्त्यमा त्यस तान्त्रिकको स्वास्नी घरमा गइन्। आफ्नो श्रीमान् खोजिन्। र, उनले दिएको अक्षता सम्झिन् र पूजाकोठाबाट निस्केको नाग सम्झिन्। आफू डरले भागेको सम्झिन्। र, राजाकोमा गएर उक्त नागको आफ्नो लोग्ने तान्त्रिक भएको बताइन्। राजाले विद्वान तान्त्रिक गुमाउनुपरेकामा शोक मनाए। सारा देशवासीलाई सो दिनशोक मनाउन लगाए। भोलिपल्ट सो लामो लिङ्गो ढाल्न लगाए।

यसरी हरेक वर्ष सो दिनको प्रख्यात तान्त्रिकको सम्झनामा नागको प्रतीक ध्वजापताकासहित लिङ्गो उठाउने र भोलिपल्ट ढाल्ने चलनचलेको बताइन्छ।

(स्रोत : सेतोपाटी डट कम)

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.