नियात्रा : गोसाईंकुण्डमा पाप पखाल्दै फोहोर थुपार्दै ?

~दुर्गा कार्की~

‘ओइ ! रसुवाको एउटा संस्थाले गोसाईंकुण्ड सरसफाइको लागि भोलेन्टियरहरू खोजेको रै’छ, गैदिने हो ? ‘ एकाबिहानै साराले सारा स्टाइलमा भनी । एड्भोकेट रूपा बस्नेतले रामसार महासन्धि पढाउनुभन्दा धेरै अघिदेखि नै मेरा घुम्ने ठाउँहरूको सूचीमा गोसाईंकुण्ड अग्रस्थानमा पर्दथ्यो । तर रित्तो खल्तीलाई ऋणले भरेर जनैपूर्णिमामा धागो बाँध्नै भनेर गोसाईंकुण्ड पुग्छु भन्ने मनमा थिएन । यात्रीहरूले जथाभावी फाल्ने फोहोरले कालिञ्चोकदेखि सगरमाथासम्म प्रदूषित भएको समाचारमा सुनेकी थिएँ ।

ठाउँ पनि घुमिने र गोसाईंकुण्डजस्तो पवित्रस्थलको सरसफाइमा पनि सरिक हुन पाइने लोभले तान्यो । खानपिन र बसोबासको खर्च लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (लाकोस) ले बेहोरिदिने भएपछि मैले कम्मर कसेँ । हतारको योजना बनाएर २०७३ भदौ ३१ गते मसहित पाँचजना केटीको टोली सानो खाल्डो छिचोल्दा पनि पाटपुर्जा नै फुक्लेला जसरी कराउने ‘सुपर डिलक्स’मा क्याबिनको तातो बाफलाई पाँच सय रुपैयाँ भाँडा तिरेर धुन्चे हानियो ।

भोलिपल्ट बिहान कार्यक्रमबारे सामान्य जानकारीपछि गलामा स्वयंसेवक लेखेको कार्ड भिरेर हामी उकालो लाग्दा बिहानको ११ बजिसकेको थियो । पाँचपाँच मिनेटमा भक्तजनले घन्काउने ‘जय शम्भा’ र ‘छुस् छुस्’ले टुंगिएका भाका गाउने हुलको अघिपछि हुँदै उकालो लाग्दा बाटो काटेको पत्तो भएन । अझ १२ वर्षे कलिलादेखि ८२ वर्षे बूढासम्मलाई डोत्वयाउने गोसाईंकुण्ड कस्तो होला भन्ने उत्सुकताले मलाई थकाइ लाग्न दिएको थिएन । हुन त ६ वर्षअघि नै समुद्री सतहदेखि ४७ सय मिटरको उचाइमा रहेको दूधपोखरी पुगिसकेकाले मेरा लागि यो यात्रा पूरै नौलो थिएन त्यसमाथि गोसाईंकुण्डबारे सुनेका मिथक र मान्छेको ओइरो देख्दा मन त्यसैत्यसै चंगा भएको थियो ।

साँघुरो बाटो, उक्लने र ओर्लनेको संख्या सराबरी । उक्लनेको अनुहारले शब्दबिनै हरेक ओर्लनेको अनुहारसँग सोध्ने ‘अब कति ? ‘ र हरेक ओर्लनेको अनुहारमा उक्लनेको ताँती देख्दा फुल्ने ‘ओहो ! पुगेर आइयो ।’ भन्ने सन्तुष्टि । भुइँतिर हेरेर हिँडिरहँदा सहरिया र गाउँले तीर्थयात्री छुट्याउने ग्रिप भएका जुत्ता र तुने चप्पल, निगाँलोको लौरो र ट्रेकिङ स्टिक । लौरो टेक्दा हात निकाल्न सजिलो होस् भनी भोटो स्टाइलमा काटिएका हरियानीला प्लास्टिक ‌ओढेका मान्छे‌का आँखाले नभ्याउन्जेल ताँती । त्यो ताँतीमा कति मानिस पाप पखाल्न अनि कति चाहिँ घुम्न वा रमाइलो गर्न आएका होलान् ? बाटोभरि कौतुहलले छोडेन मलाई ।

चन्दनबारी पुग्दा बेस्सरी पानी पत्वयो । एउटा थर्पुमा झोला बिसाएर तीस रुपैयाँ गिलास चिया मगायौं । शरीरभरि घन्टी बेरेर हल्लिँदै ‘मायाको फोटो फेसबुकमा हाल्दिन्छु’ गीत गाउनेहरूको जमात हामी बसेकै थर्पुतिर पस्यो । भीड र पानीबाट बच्न हतारमा होटलतर्फ लाग्दा चियाको पैसा तिर्न बिर्सिएछ । १०÷११ वर्षे भाइले त्यति चिसो पानीमा रुझ्दै चियाका कप माझेको सम्झँदा पछि थकथकी लाग्यो ।

शेर्पा होटलको तात्तातो दुई थाल भात खाएपछि मीठो भोजन होइन, भोकै हो भन्नेमा म फेरि विश्वस्त भएँ । कोठाको बीचमा राखिएको कोइला बाल्ने फलामको ठूलो भाँडोले पालैपालो कतिका चिसा लुगा सुकायो, कतिका सुन्निएका गोडा बसायो । अग्रिम बुकिङ गर्दा पनि सुत्ने ठाउँ नभेट्टाएका एक हुल दाइहरूले रिसको झोँकमा टेबल र बेन्ची नै हडपेर सुतिदिँदा सानो कदकी मैले टेबलमुनिबाहेक अन्त सुत्ने ठाउँ पाइनँ । टेबलको डन्डीले टाउको उठाउँदादेखि गोडा तेर्साउँदासम्म ठोकेपछि निदाउने प्रयास छोडिदिएँ । बरु साँघुरो कोठामा सराबरी भएर सुतेका मान्छे आकृतिहरू हेर्दै सोचिरहेँ, चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको त्यो सानो तालमा के होला, जसका लागि मानिसलाई न दुःखकष्टको पर्वाह छ, न कुनै गुनासो ।

हातमा सेता पञ्जा लगाएर नाक खुम्च्याउँदै उनीहरूले फालेका कट्टु उनीहरूकै अगाडि टिप्तै गर्दा कतिको मनले ‘धत्तेरी’ भन्यो त्यो भने त्रिशूल गाडेर गोसाईंकुण्ड खडा गरी समुद्र मन्थनको विष पिउँदाको जलन शान्त पारेका भनिएका उनै शम्भो जानून् ।

भोलिपल्ट घोडाका टापले खुँदेर धान रोप्न ठिक्क पारेकोजस्तो बाटामा कहिले आफू पछारिँदै त कहिले अरू चिप्लेकोमा हाँस्दै बाटो लागियो । लौरीबिनाको उकालो चढ्दा रेड बुल घुट्याउँदै घोडसवार तन्नेरी र लसुन चपाउँदै पाइलैपिच्छे थाप्लाको सल समातेर “खुइऽऽऽऽऽय” गर्दै उभोँ हेर्ने बूढाबूढीले हुनेखाने र हुँदाखानेहरूको भेद सम्झाइरहे । बुद्ध मन्दिरबाट तेर्सिएपछि त्रिशूली कराएको नजिकैजस्तो सुनियो । लगभग डेढघन्टा हिँडेपछि पातलो तुँवालोबीच सुन्दर भैरवकुण्ड झुल्कियो । सँगै झुल्किए होटलहरू, थर्पुहरू, मान्छेहरू अनि अनगिन्ती मान्छेहरू । अलिकति थर्पु र मानिसको हुल छिचोलेपछि देखा पत्वयो गोसाईंकुण्ड । लाग्यो, भक्तराज आचार्यले यस्तैलाई भनेका होलान् – शान्त, स्निग्ध र सुन्दर…

६ वर्षअघि म पुगेको दूधपोखरी किनारमा होटल थिएनन् । बास बस्न केही तल गौरीखर्क झर्नुपथ्र्यो । चिसो उत्पातै । कठ्याङ्ग्रिएर झर्लान् जस्ता हातगोडा र कुण्ड छोडेर भाग्न नमानेको तुवाँलोले अघाउँजी दूधपोखरी हेर्नसमेत नपाएकी । आजको जमानामा जस्तो स्मार्ट फोन त के मसित क्यामेरा पनि थिएन । यता गोसाईंकुण्डकै किनारमा बास बसेर रातभरि चन्द्रमाको छाया तालमा हेर्न पाइने कल्पना मात्रैले पनि मलाई रोमाञ्चित बनायो ।
‘कफी खाने नानी ? मीठो त छैन, तातो मात्रै !’

टिनको छाप्रोनजिकै झोला टुसुक्क बिसाएपछि तामाङ पोसाकमा सजिएकी एक अधबैंसे आन्टीले सोधिन् । चिसो स्याँठले हातकान ठिहित्वयाएका बेला दूध हालेको कफी देख्दा मन त रमायो तर सम्भावित मूल्य सम्झेर झ्याप्पै समातिहाल्न सकिनँ । मेरो उत्तरै नपर्खी उनले त थर्मसबाट सारेर हातैमा थमाइदिइन् । अलमल परेकी मलाई रविनाले कानैमा भनी, ‘खाऊखाऊ, फ्रि हो ।’

साबिकभन्दा जहिल्यै अगाडि आउने महिनावारी पछि धकेल्न दुई दिनदेखि चक्की खान थाले पनि मलाई हरेकपटक ट्वाइलेट जाँदा मन चिसो हुन छोडेको थिएन । हुन त म कुण्डमा डुबेर वा घन्टा बजाएर धर्म कमाइन्छ भन्ने विचारधाराकी मान्छे होइन, तर नुहाएर फर्कनेहरूले डुबुल्की मारेपछि मन चंगा भएको सुनाएपछि मुखमात्रै धुने मनस्थिति बदलियो । जति नै आधुनिकताका कुरा गरे पनि सानैदेखि आमा र हजुरआमाले ‘अरू जेसुकै गरे पनि देउतालाई चाहिँ नछुनू’ भनेर डम्म पारिदिएका कान यति सजिलै खुल्न मानेनन् । त्यसैले भोलिपल्ट जनैपूर्णिमाको चोखो तिथि कुरेर रिस्क लिन मन लागेन ।

जाती आन्टीको कफीले पेट तातो पारेपछि सारा र म एक जोर सल बोकेर कुण्डतर्फ लाग्यौं । मनस्थितिले हो वा चिसो पानीको कमालले, कुण्डमा डुबेर निस्केपछि हामी दुवैलाई दुई दिनदेखिको थकाइ मेटिएजस्तो लागेको चाहिँ साँचो हो । साराले काम्दै जाती आन्टीहरूको टेन्टमा कफी खुवाउन लगी । ५० रुपैयाँ कममा कालो चिया त नपाइने ठाउँमा सित्तैमा कफी बाँड्नुपछाडिको उद्देश्यबारे मैले उनका श्रीमान् ‘आप्पा’लाई सोधेँ ।

‘आजभन्दा १२ वर्षअगाडि जनैपूर्णिमामा यस्तै थर्पु थापेर २० को चियालाई ४० मा बेच्नु बेच्यो नानु मैले पनि । अहिले त्यही पाप काट्न यी दुई दिन काठमाडौंदेखि आएर सित्तैमा तात्तातो कफी बाँड्छु ।’ आप्पाले कफीभन्दा बढी कुराले स्तब्ध पारे । बजारदेखि त्यति माथि केही नपाइने ठाउँमा तातो खुवाउनेलाई त पैसा डबल नै लिए पनि पाप लाग्दैन भन्ने एकथरी बुझाइ । जीवनको कुनै पल गरेको आफ्नो मनले ठीक नठानेकोलाई मनले ठीक ठानेको कर्मले काट्न सकिन्छ भन्ने अर्कोथरी बुझाइ । के पाप वा धर्म भन्ने बुझाइबाहेक अर्थोक केही होइन त ?

चिसोतातो केले हो, पिसाब लाग्यो । आप्पाका कुरा सुन्न काठमाडौं नै आउने वाचासहित जब हामी ट्वाइलेट खोज्न निस्कियौं, गोसाईंकुण्डको सबैले सुनाउने देखाउनेभन्दा फरक र डरलाग्दो पाटोसँग साक्षात्कार भइयो । थर्पुबाहिर आचीका थुप्राहरूले खुट्टा टेक्ने ठाउँ पाउनै मुस्किल थियो । मलमूत्रको गन्धलाई हातले धपाएर (केकेनै धपिनेजस्तो) अघि बढ्दै गर्दा मैले पहिलोपटक मेरा अघि परपरसम्म फैलिएको सुन्दर गोसाईंकुण्डले आफ्ना गर्भमा लुकाइराखेको व्यथा देखेँ ।

अव्यवस्थित थर्पुहरू, बाटैमा भाँडा माझिरहेका पसले दाइहरू, बिरामीलाई औषधि खुवाउन तातोपानी माग्दै हिँडेका आफन्तहरू, लेक लागेर ढल्न लागिसक्दा पनि कुण्डसम्म गएर डुब्न ढिपी गरिहेका भक्तजनहरू, दुईचार पेग लगाएपछि जाडो, लेक र थकाइ सब पचाएर नाच्न थाल्ने अधबैंसेहरू, रमितेजस्ता दुईचार पुलिस र आर्मीहरू‍ । ट्वाइलेटको खोजीमा चहार्दा मैले भेट्टाएको गोसाईंकुण्डको अर्को कथा ।

ठिटा डाक्टरहरूको एक टोलीलाई बिरामी जाँच्न भ्याइनभ्याइ थियो । औषधिको दोकान थापे जसरी बसेका उनीहरू भेट्टाएपछि लेक लागेकादेखि पखालाले चापेकासमेतको अनुहारमा आशाको दीप बल्थ्यो । पर्याप्त नभए पनि महत्ववपूर्ण ठाउँ र समयमा सरकारको उपस्थिति देखेर हौसिएकी म उनीहरू पनि स्वयंसेवक नै भएको थाहा पाएपछि फुस्स परेँ ।

लाकोसले तातो भात त खुवायो तर सुत्नलाई ठाउँ कसैगरे भेटिएन । सँगै गएका पोखरेली भाइहरूले जसोतसो बनाएको सानो टेन्टमा सुखदुःख गरी बस्न हामीलाई निम्तो दिए । नुहाएको चिसोमा टेन्टमुनिको चिसो थपिएर हो वा फोहोर पानीले, मलाई कटक्क पेट काट्न थालिसकेको थियो । पल्टेको एक घन्टा नहुँदै अतिशय पेट बटार्न थाल्यो । साँझ भेट्टाएको परको ट्वाइलेटसम्म थेग्न सकिनँ । टेन्टभन्दा अलिक मास्तिर गएर पेटको गडबडी बिसाउँदा पूर्णिमाको जूनले गोसाईंकुण्डको पानी हिउँजस्तै टलक्क टल्किइरहेको थियो ।

राति परेको पानी भुँइबाट छिरेर ओच्छ्याएको म्याटसमेत छिचोल्न आइपुग्यो । उता पेटको गडगडाहट बढेर घरिघरि टेन्टबाहिर दौडिइरहनुपत्वयो । भोलिपल्ट मलगायत लगभग १९ हजार तीर्थयात्रीले बिसर्जन गरेको मलमूत्रको रस मिसिएको कुण्डमा शम्भोका भक्तहरूले डुबुल्की मारेर पाप पखालेकोमा गर्व गरे । एक वृद्ध बाले त त्रिशूलधाराको जानकारी नपाएर हो वा त्यहाँसम्म पुग्ने तागत नभएर हो, घर लान भनी कुण्डकै जल बोतलमा उठाए । मलाई भाउन्न भएर आयो।

चाउचाउका खोल टिप्न गएका मसहित ३२ जना स्वयंसेवक शिवका भक्तहरूले जथाभावी फालेका नुहाउँदा लगाएका भित्री वस्त्रहरू टिपेर घर फक्यौँ । खुला मलमूत्र देखेर जति दिगमिग लागेको थियो, त्योभन्दा बढ्ता लाज पोखरीकिनारमा भक्तजनका कट्टु र ब्रा देखेर लाग्यो । हातमा सेता पन्जा लगाएर नाक खुम्च्याउँदै उनीहरूले फालेका कट्टु उनीहरूकै अगाडि टिप्तै गर्दा कतिको मनले ‘धत्तेरी’ भन्यो त्यो भने त्रिशूल गाडेर गोसाईंकुण्ड खडा गरी समुद्र मन्थनको विष पिउँदाको जलन शान्त पारेका भनिएका उनै शम्भो जानून् ।

जनैपूर्णिमाको बिहानी हातै झन्झनाउने पानीमा घडी हेरेरै १५ मिनेटसम्म शिवजीलाई नमस्कार गरेर बस्नेदेखि फाल हानेर पौडने बहादुरसम्म देख्ने मौका मिल्यो । यति हुँदा पनि पातलो सल बेरेका युवती कुण्ड पस्दा वा लुगा फेर्दा टाठिने तन्नेरीदेखि अधबैंसे आँखामा तीर्थयात्रीको भाका देख्न मलाई गात्वहो भो ।

उहिलेउहिले कुण्डमा नुहाउन आउने मान्छेले चिसो र अज्ञानताले गर्दा नुहाउँदा लगाएका लुगा त्यतै फालेर सकेसम्म छिटो फर्कन खोज्थे रे । समयसँगै कुण्डकै किनारामा होटल खुले, चिसो मार्न चियादेखि जाँडसम्म सजिलै भेटिन थाल्यो । मान्छेले हैजा र आउँको कारण पत्ता लगायो, तर ‘नुहाएका लुगा त्यही छोडेर जानुपर्छ रे’ भन्ने भनाइ फेरिएन । संस्कृति र कुसंस्कारबीचको भेद मान्छेले कहिल्यै पत्ता लाउन सकेन ।

जीवनभरि गरेका सारा पाप पखाल्न मानिस घुँडाले टेकेर गोसाईंकुण्डसम्म आएर डुबुल्की मार्छन् अरे । हुस्सु हटेर घाम लागेका बेला त कुण्डको बीच भागमा सुतिरहेका शिवजीको आकृति नै छर्लंग देख्न सकिन्छ रे । गोसाईंकुण्डको आधिकारिक गहिराइ आजसम्म कसैले नाप्न सकेको छैन रे । एकपटक नाप्न भनी आएको हेलिकप्टरलाई शिवजीले कुण्डमा आफैंतिर ताने अरे । त्यस बेलादेखि कुनै पनि हेलिकप्टर कुण्डको सीधै माथिबाट उड्दैनन् रे । न त कुनै बहादुर पौडेर कुण्डको बीच भागसम्म पुगेकै छन् । ओहो रेहरूको लस्कर त कत्ति कत्ति ।

मैले गोसाईंकुण्डको पानीमा शिवजीको रूप देखिनँ । हेलिकप्टरको सत्यता के हो मलाई थाहा छैन । तर, मैले पाइलैपिच्छे मान्छेका मलमूत्र देखेँ । बाध्यताका अघि मान्छेले लाज बिर्सिएको देखेँ । मान्छेले लुकाउनुपर्ने भनेर विश्वास गरेका अंग छोप्ने भित्री लुगाहरूले गोसाईंकुण्डको लाज छोप्न नसकेको देखेँ । मैले मानिसको लोभ देखेँ, अज्ञानता देखेँ, हठ र लापरवाही देखेँ । धर्मका नाउँमा मान्छेले सहन सक्ने कष्ट देखेँ ।

गोसाईंकुण्ड हाम्रोमात्र धन होइन, विश्वकै धरोहर हो । सन् २००७ देखि अन्तर्राष्ट्रिय महत्ववका सिमसार क्षेत्रको सूचीमा नाम दर्ता गराएको गोसाईंकुण्ड र आसपासका कुण्डहरू आईयूसीएन्ले रेड लिस्टमा राखेका जोखिमपूर्ण स्थितिमा रहेका बनस्पति र वन्यजन्तुहरूको बासस्थान हो । जैविक प्रयोजनका लागि सयभन्दा बढी प्रजातिको नमुना संकलन गर्ने महत्ववपूर्ण स्थल पनि हो ।

गोसाईंकुण्डलाई शिर बनाएर झर्ने त्रिशूलीले हजारौंको पानीको दुःख टारेको छ । सन् २००९ मा प्रकाशित ‘नेपालमा रहेका रामसार क्षेत्रहरूको वर्तमान स्थिति’ नामक एक खोजले रामसार सूचीमा सूचीकृत नेपालका धेरैजसो सिमसार क्षेत्रहरूमा मुख्य चुनौतीको रूपमा मान्छेले गर्ने प्रदूषण रहेको जनाएको छ । महासन्धिको धारा ३.१ अनुरूप आजभन्दा १५ वर्षअघि बनेको ‘राष्ट्रिय सिमसार नीति, २०५९’ले स्थानीय जनसहभागितामा सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी स्रोतहरूको बुद्धिमतापूर्ण र दिगो प्रयोग गर्ने भनी लिएको लक्ष्य पढ्दामात्रै मीठो लाग्छ । नीतिले ‘राष्ट्रिय ताल संरक्षण विकास समिति’ जन्मायो जसको समन्वयमा स्थानीय जनसहभागितालाई ध्यानमा राखेर ‘गोसाईंकुण्ड क्षेत्र विकास समिति’ पनि बन्यो । लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्ण क्षेत्राधिकार भए तापनि जनैपूर्णिमा र जेठमा गंगादशहराताका पर्यटकको चाप बढी हुने बेलामा गोसाईंकुण्ड मेलाको व्यवस्थापनको कामसमेत समितिको जिम्मामा छ । तर, समितिको ध्यानमा भने फोहोर व्यवस्थापन अझै पर्न सकेको देखिँदैन ।

देशमा सरकार भएर पनि नभएकोमा कुनै शंका छैन । भूकम्पका तीन वर्ष नाघिसक्दा पनि पीडितले छाप्रो ठड्याउने आधार नपाउने देशमा कुनै नौ महिने सरकारले कुनै कुण्डमा आची मिसिएको कुरामा पीर लिएर बस्ला भन्ने हामी सबैको कल्पनाबाहिरको कुरा हो । तर सधैं अर्कालाई चोरऔंलो ठड्याइरहने बानीले अर्का तीन ‌औंलाले हामी आफैंलाई ताकिरहेका हुन्छन् भन्ने कुरा हामीले बिर्सिएकोमा पनि शंका छैन । आफ्नो जिम्मेवारीबाट भाग्न अर्कालाई दोषारोपण गर्ने बानीलाई हामीले ‘संस्कृति’ बनाइदिएका छौं ।

बाटोमा प्रहरीलाई रिजर्भ भनी नढाँटिदिए नलगिदिने ड्राइभर दाइको धम्कीपछि आठ सय रुपैयाँ तिरेर काठमाडौं फर्कियौँ । बाटैभरि घोत्लिरहेँ – शिवजी यदि छन् र हामीले नुहाएर धर्म गरेको हेरिरहेका छन् भने फोहोर गरेर पाप गरेको पनि देखेकै छन् भन्ने बुझ्न दीक्षान्तको फोटो नै भित्तामा झुन्ड्याउनुपर्छ र ?

त्यसैले, हामीमा अलिकति चेत अझै बाँकी छ भन्ने विश्वासमा मैले के चाहिँ आस मारिसकेको छैन भने अब गोसाईंकुण्ड (वा अन्य कुनै पनि पोखरी) जानुहुने तपाईंहरूले कमसेकम आफूले नुहाउँदा लगाएका लुगा पोको पारेर आफैँसँग लिएर झर्नुहुनेछ । हैन भने बिन्ती छ, सुन्दर गोसाईंकुण्डलाई असहायकुण्डमा परिणत गर्न मात्रैलाई चाहिँ गोसाईंकुण्ड नगइदिनुहोला ।

शनिवार, साउन २१, २०७४

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.