लघुकथा : नागमणि

~कात्यायन~dhanwantari-mishra-katyayan

– किम्बदन्ती थियो कि, पशुपतिनाथको मन्दिरमा बहुमूल्य गर-गहनाहरू; स्वर्ण-रत्न-मणि-माणिक्य आदिका आभूषणहरू थियो’रे |

– अमूल्य नागमणिहरू पनि थियो’रे |

– ती नागमणिहरू अब स्वदेशमा छन् कि विदेशमा छन् कसैलाई थाहा छैन’अरे |

– अलि फरकखालको नागमणि बिभिन्न दरबारहरूमा सुशोभित हुँदै अहिले एक विशाल जन सभा भवनमा प्रतिस्थापना गरिएकोछ’अरे |

– नागमणिको संरक्षण हेतु चौतर्फी प्रतिनिधित्व हुने गरी सर्व जात-जातीका नाग र सर्पहरू छनौट गरिएका थिए …

– पन्यूँको पासो जस्तै टाउकाहरू भएका; टाँस्सिएर हिंड्न पर्ने पौनीसाँपहरू थिए |

– रिसले फणा फांचिलो पार्ने काला-खैरा सुन्दर तर विखालु गोमनहरू थिए |

– गोमन झैं सुन्दर देखिने तर फणा नभएका सर्प-भक्षी विषाक्त करेतहरू थिए |

– वर्षा-याममा हरियो-लतामा मात्र बस्न रुचाउने विषयुक्त हरेउहरू पनि थिए |

– विषरहित पानी सर्पाहरूको त के वर्णन गर्नु !

– यी बाहेक अनेक वर्ण-रंग-स्वभावका सर्पहरू पनि थिए | मणिबिहिन थिए; प्राणरहित देखिन्थे ! र, सबैको लक्ष्य एकै थियो कि कसरि त्यो नागमणि प्राप्त गर्ने ?

– कसैले आफूलाई वसुकी नाग हूँ’भन्थे | कसैले विष्णुको शैय्या शेष-नाग हूँ’भनी गर्ब गर्थे त कसैले आफूहरूलाई पुन्नाग; कसैले नाग-केशर त कसैले नागराज हूँ’भन्दै हजार जिव्हाहरू सप्त रंगहरू दलेर देखाउँथे |

– एक-अर्कासंग लठ्ठारिंदै-बट्टारिंदै-बज्जारिंदै विदेशी र सात-समुन्द्रपारिका भनेर नागफणि बजाइरहेका थिए | युध्दकालागि नागपाश/वरुणपाश आदि अस्त्र प्रहार गरिरहेका थिए |

– नागरा स्वभावका नागहरू मध्ये कुनै न कुनै नागराहरूले त्यो नागमणि हडप्ने सुनियोजित नै प्रायस: हुने गर्थ्यो |

– अन्तत: जुनकुनै नागहरूले उक्त नागमणि हत्याउन सफल भए पनि त्यस अमूल्य मणिमा “एन्टी स्नेक भेनम” लेप लगाइएको ती नागराहरूलाई थाहा थिएन |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.