कथा : राष्ट्रसेवक

~इस्माली~Ismali

सेतो कमिज,गाढा निलो पाइण्ट र गाढा निलो कोटमा ऊ झन चिटिक्क देखियो । गोरो वर्णमा कस्तो खुलेको । पाँचै हजारमा सेट तयार भयो । मोफसलमा भएर होला । यताबाट अढाई हजार उसले चोखै उबा¥यो । उब्रेको रकम अफिसलाई फिर्ता गरिदिऊँ कि भन्ने लाग्यो प्रेप्रपौ अर्थात् प्रेम प्रसाद पौडेल लाई । (कार्यालयमा प्रेमप्रसाद पौडेललाई छोटकरीमा प्रेप्रपौ भन्ने गर्दथे अरुहरु)। त्यसैले कार्यालयको प्रमुख माड्साबलाई सोध्यो पनि ।

माड्साबले हाँस्दै भने,“ प्रेमजी ,गिनिज बुकमा नाम दर्ता गराउने सुर छ कि कसो ?संघ संगठनकाहरु लुगाभत्ता थोरै भयो भनेर आन्दोलनको धम्की दिँदैछन् ,तपाईँभने बढीभयो भनेर …। मार्लान् है मार्लान् । त्यसै पनि तपाईँलाई देखिसहँदैनन् .झन् त्यसमाथि..। सत्चालिसअघि भए मण्डले भन्थे तपाईँलाई । मण्डलेलाई संरक्षण दिनका लागि संस्था थियो,सरकार थियो तर तपाईँलाई ? कोही छ तपाईँको पछाडि ? ”

प्रेप्रपौ खिस्रिक्क प¥यो र प्रमुख माड्साबको कक्षबाट बाहिर निस्क्यो । उसकै पछिपछि निस्केकाहरुमध्येको एकजना सुब्बाले बाहिर एकान्त पारेर साउतीको स्वरमा अपनत्व भावमा भन्यो,“ माड्साबले सोच्नुभएको कुरो नजाति होइन तर यो लुगाभत्ता भनेर दिएको साढे सात हजार चाहिँ एकचोटीलाई होइन वर्षभरिलाई हो । वर्ष दिन नपुग्दै लुगा च्यातियो वा फाट्यो भने सरकारले फेरि अर्को साढे सात हजार दिंदैन तर अफिस आउँदा पोशाक त लाएर आउनु प¥यो नि । त्यसैले बरु एक जोर अर्को पनि हाल्नुस । सर्कारले यो रकम फिर्ता लिनै मिल्दैन अनि फेरि साढे सातमा पोशाक बनेनभने सर्कारले थप्ने पनि होइन । अनि किन फिर्ता गर्नु ?”

प्रेप्रपौले शुभेच्छुकको कुरोमा न त समर्थन जनायो न त त्यसको प्रतिवाद नै ग¥यो,एकहोरो सुन्यो र फिसिक्क हाँस्दै आफ्नो कक्षतिर लाग्यो ।

प्रेप्रपौको कक्षमा तीन सेट टेबिलमेच थियो । ढोकै सामुन्नेको टेबिलमा उ हुन्थ्यो,दाहिनेतिर अग्रज अधिकृत मोहनजी र देब्रेतिर ना.सु.रुपा । उ कोठामा पस्दापस्दै कुरा गर्दैगरेका मोहन र रुपा अकस्मात चुप लागे र उसको अनुहारमा हेर्न लागे ।‘ यिनको छाँटछन्द निको छैन’स्वगत सम्झ्यो र आफ्नो आसन ओगट्दै मेचमा बस्यो अनि हिजोको बाँकी काम को फाइल पल्टाएर हेर्न थाल्यो ।

‘खेतिमा तरकारी,जागिरमा सर्कारी’ भन्ने उखान प्रेप्रपौले उहिल्यै सुनेको हो,गाउँका बिचारीबाजेको मुखबाट । यो त उनको थेगै बनेको थियो । पढैयाहरु र आफ्नालाई उनी यही सल्लाह दिने गर्दथे । सर्कारी जागिरमा रहेका तीन चार जनालाई उ पहिल्यैदेखि चिन्दथ्यो पनि । तिनको शानशौकत,रोबरवाफ,मानसम्मान र उपरीथुपरी कमाई पनि उसले आफ्नै आँखाले देखेको थियो र परोक्षमा तिनलाई मानिसहरुले तथानाम गाली गरेको,घुस्याहा र भ्रष्टाचारी भनेको पनि सुनेको थियो । ,तीमध्ये कोहीकोहीलाई ईमान्दार ,राष्ट्रप्रेमी भनी ईज्जत गरेको,तिनको बखान गरेको पनि सुनेको थियो । त्यही शानशौकत,मानसम्मान,सुखसयल र राष्ट्रप्रेमको लालसाले होला प्रेप्रपौ पनि पढदापढदै लोकसेवाको तयारीमा लाग्न प्रेरित भइरथ्यो । स्नातक तेश्रो वर्षको जाँच सकिएकै दिन उसले सामान्य ज्ञानको एउटा गतिलो पोस्तक किन्यो,लोकसेवामा एक नम्बरमै नाम निकालेर अर्थराजस्वमा नियुक्ति पाएको अधिकृत मान्छेले लेखेको । भोलिपल्ट कानूनी किताब व्यवस्था कार्यालयमा गएर ऐननियमसंग्रहका पाँच थान किताब किन्यो । पर्सिपल्ट केही पसलहरु चहारेर प्रशासनिक प्रतियोगिताहरुका लागि उपयोगी हुने तीनचार थान पत्रिकाहरु पनि किन्यो । एफएम रेडियो नियमित रुपले सुन्ने,खबर पत्रिकाहरु नियमित रुपले पढने गर्न थाल्यो । क्याम्पसको र सार्वजनिक पुस्तकालयहरु धाउँदै पत्रिकाहरु पढेर महत्वपूर्ण समाचारहरु,राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरुआदिको टिपोट बनाउने पनि गर्न थाल्यो । पढनुपर्ने क्षेत्र व्यापक र विस्तृत थियो—धर्म संस्कृति,साहित्य,इतिहास,भूगोल र प्रकृति,विज्ञान र राजनीति,विधि र अर्थआदि । पढनुपर्ने कत्ति हो कत्ति ,पढेर पार पाइनसक्नु । तर प्रेप्रपौ त्यस मार्गमा उत्साह,धैर्य र लगनका साथ लागिरह्यो । त्यस सेवामा रहेका अग्रजहरुसँग पनि सम्पर्क बढाउँदै तिनको सल्लाहबिचार पनि लिइरह्यो । काममा व्यस्त भएपछि समय बितेको पनि पत्तो हँुदो रहेनछ । उसलाई त्यस्तै भयो । अस्ति भर्खर जाँच सिद्धिएकोजस्तो लागेको थियो,परीक्षाफल आइसकेछ,नौ महिनामै । राम्रै गरेछ प्रेप्रपौले । अर्थशास्त्र र अङ्ग्रेजी विषय लिएर उ स्नातक भएको थियो,दोश्रो श्रेणीमा । त्यसपछि उ अर्थशास्त्रमा स्नातकोत्तरको तयारीमा पनि जुट्यो ।

पहिल्यै पटकको प्रवेश परीक्षामा उत्तीर्ण भएको भए तापनि उ प्रतीक्षा सुचिमा प¥यो । दोश्रो पटकको जाँचमा त उसले नाम निकाल्यो नै । अनि उ सरकारी अधिकृत भयो —राजपत्रांकित तेश्रो श्रेणीको अधिकृत ।

‘हामीले नि जान्या छ टेबिल मुनिबाट कमाउने हो कि माथिबाट ।’ नियुक्तिपत्र बुझेकै दिन तिनीहरुमध्येकै एकजनाको मुखारविन्दबाट निस्केको महावाणी प्रेप्रपौको कर्णगुहामा प्रवेश गरेको थियो । यही वाणी र यस वाणीका दृढ समर्थकहरुले प्रेप्रपौलाई यतिञ्जेलसम्म पनि खेदिरहेका छन् ,दिनमा मात्र होइन रातमा पनि । दायाँ बायाँका यी दुई पनि त्यही वाणीका अन्तरङ्ग मित्र हुन् । मान्छेले देख्दा जान्दा त यी दुईलाई विपरित विचारका कट्टर अनुयायी ठान्दछन् तर खानेपिउने कुरामा यिनको मत ट्याक्कै मिल्दछ,यी आँत जोडिएका दाईबैनीजस्ता बन्दछन् । द्रव्य देख्नासाथ यिनका तीन नेत्रले महादेवलाई पनि मात गरिदिन्छन् । जनताले आफ्नो रगतपसिनाबाट कमाएर करको रुपमा सरकारलाई देशविकासका लागि तिरेको रकममा राष्ट्रसेवकहरु र सरकारका मन्त्रीहरुले ब्रह्मलुट गरेको देख्दा उसको छाती चिरिन्थ्यो,औडाहा भएर छटपटिइरहन्थ्यो उ । कहिलेकाहीं त बौलाउँथ्यो पनि । उहीजस्तो बीसबाइस हजार तलब खाने एलडिओ,सिडिओले तीन पुस्तालाई पुग्ने गरी ढुकुटी रित्याएको छ । तर यसको दुरुपयोग रोक्न कोही अघि सर्दैनन् ।

अघिल्ला अफिसहरुमाझैं यहाँ पनि प्रेप्रपौलाई प्रायजसोले देखिसहन्नन् । तर उसलाईझैं राष्ट्रसेवाको धुन चढेको सेवकहरु एकदुई जना अरु पनि छन् । तिनलाई देखेभेटेपछि प्रेप्रपौको मनलाई पनि अलि शान्ति मिल्दछ ।‘जागिर खाने कमाउनका लागि हो कि राष्ट्रको सेवा गर्नका लागि ?’उ दुविधामा प¥यो ,‘राष्ट्रसेवक भनिएकाहरुले ऐननियमका छिद्र खोतलेर यसैगरी कमाउने कार्यमा कस्सिएर कदम चालेभने के होला ?राष्ट्रलाई धोका, धोका !अहँ,उ त्यस्तो मार्गमा कदापि लागोइन । ’यो दृढतासँगै आपूmलाई केही दिलासा मिलेझैं ठान्यो प्रेप्रपौले । यस खुशीमा उसले एक नजर कोठामा फाल्यो । मोहन माड्साब कम्प्युटरमा तास खेल्दै थिए र रुपा स्वीटर बुन्दै थिई ।

“रुपाजी,टिप्पणी उठाउनु पर्ने हिजोको त्यो काम सक्नु भयो त ?”उसले सोध्यो ।

“सरले बिस्तारै गर्दा नि हुन्छ भन्नुभाथ्यो ।” मोहन माड्साबतिर हेर्दै रुपाले भनी ।
ती दुबै जना उसैलाई हेर्नथालेथे ।

कार्यालय सहयोगी झलक सिंह कोठामा आयो र मोहन माड्साबलाई माथि बोलाउनु भएको छ भन्यो ।

नियुक्तिपत्र पाएपछि तालिम स्वरुप तीन महिना स्टाफ कलेजमा बिताएपछि एउटा दुर्गम जिल्ला रसुवामा पदबहाली भएको थियो उसको । सदरमुकाम धुञ्चेको बन कार्यालयमा ठ्याक्कै दुई वर्ष बितायो उसले । धुञ्चेमा उ सिकारु कर्मचारी थियो । उसको सिकारुपनको फाइदा त्यहाँका रैथाने कर्मचारीले मजाले उठाउनसम्म उठाए । त्यसपछि तल नुवाकोटको विदुरमा शिक्षा कार्यालयमा सारिदिएथे उसलाई । दिनभरि काममा जोतिन्थ्यो उ,उसको नाममा दस्तुर उठाउँथे अरु । दस्तुरको लालसा त उसलाई भएन तर नामजश पनि अर्कैले उछिट्याउने । तैपनि बढुवाको लोभमा त्यहाँ लामै बस्यो । राजधानी नजिकको जिल्ला । बढुवा भएर त उ महोत्तरीको जलेश्वरको मालपोतमा कार्यालय प्रमुख भएर गयो । अबभने केही राहत होला भन्ठान्यो । आन्दोलनपछिको केही वर्षसम्म उ यहाँ रह्यो ।

मध्यावधि निर्वाचन सम्पन्न भएर भर्खरभर्खर नयाँ सरकार बनेको थियो —नयाँ पार्टीको । नयाँ विचारको नयाँ पार्टी नयाँ नेपाल बनाउन तम्सेको थियो । नयाँ पार्टीले केकेन गर्ने भयो भन्ने त्राहित्राहि थियो पुरातन संस्कार बोकेको समाजमा । परिवर्तनकामी जनता चौपट्टै आशामुखी थिए —अब त जनताका दिन आए भनेर ।

कर्मचारीहरु पनि त्राहिमाम थिए,टेबिलमुनिबाट समेत पैसा लिन डराउँथे । एक दिन त के भयोभने दुईतीन भाई किसान आएका थिए,अंशबण्डा र जग्गाजमिनको मामिला थियो । सबै काम सम्पन्न भयो,हातहातमा लालपुर्जा लिइसकेर पनि उसकाँ आए—‘हुजुर, हाम्रो काम…?’

“किन ? भइसकेन र तपाईँको काम ?लालपुर्जा लिनुभएन र ?”सोध्यो उसले ।

लालपुर्जा त लिए हुजुर,तर दस्तुर त हाम्रो हातैमा छ । अनि कसरी भयो हाम्रो काम !”उदेक मान्दै प्रौढ किसानले भनेथ्यो,“बिना दस्तुरको काम त कच्चा हुन्छ ।”

उसले कुरो बुझ्यो र मुसुमुसु हाँस्दै सम्झाउँदै भन्यो , “हामी तपाईँहरुको सेवक हौं । यही कामका लागि सरकारले हामीलाई खर्च दिएर खटाएको छ । त्यसैले कुनै पनि अफिसमा सरकारी दस्तुरबाहेक तपाईँहरुले अर्को कुनै दस्तुर तिर्नु पर्दैन । जानुस अब । तपाईँको काम भइसक्यो । काम एकदम पक्का भएको छ ।” र,तिनीहरु गाह्रो मानीमानी बाहिर निस्केका थिए । सरकारी कार्यालयमा बिना घुसरिश्वत पनि काम हुन्छ भन्ने कुरामा मानिसको विश्वासै थिएन । बिना घुस भएको काममा मानिसको पत्यार उठिसकेको थियो ।

तर यो सिलसिला तीन दिन पनि टिकेन । नयाँ पार्टीका सत्ताधारीहरुतिर संकेत गर्दै सेवकहरु भन्नथाले,“यी त झन भोका रैछन् । अब त हाम्रो दस्तुरको दर परिमार्जन गर्नुप¥यो ।महँगी यो बिधि बढिराछ । ”

प्रेप्रपौले प्रतिवाद गर्दै भन्यो,“अहँ,यस्तो हुँदैन । यो कार्यालयमा प्रेप्रपौ रहुञ्जेल यस्तो किमार्थ हुँदैन ।”

“हेर्दै जानुस्,हुन्छ कि हुँदैन । भोलिदेखि हाम्रो कलमबन्द आन्दोलन शुरु …। ”कर्मचारी संगठनको अध्यक्ष बनेको नायब सुब्बा अर्थात् सहायक अधिकृतले भन्यो ।

प्रेप्रपौ हच्केन, बरु चुनौती दिँदै भन्यो,“मैलेमात्र हैन,जनताले पनि हेर्नेछन् ।”

यो बहसविवादको खबर सदरमुकाममा पनि फैलियो । पक्ष विपक्षमा चर्चा परिचर्चा भयो । स्थानीय अखबार र एफएमहरुले पनि खबर प्रसारण गरे । राजनीतिक मत पनि विभाजित भयो । आखिर राष्ट्रसेवकहरु पनि त राजनीति निरपेक्ष प्राणी थिएनन् ।

देख्दादेख्दै मान्छेहरुको भीड जम्मा हुन थाल्यो अफिसमा । कर्मचारीहरु कार्यालयमा आए । भित्तामा कलमबन्दको तुल टाँगे । अनि वरण्डामा ओछ्याइएको त्रिपालमा पलेटी कसेर बसे । तिनका वरिपरि लेखनदासहरुको जमात थियो । त्यसपछि जग्गा दलाल र लिनेदिनेहरुको जमात । पत्रकारहरु पनि आए,टिभीका संवाददाता र क्यामरापर्सनहरु पनि आएका थिए । कर्मचारीका जिल्ला संगठनका अध्यक्ष पनि आए । सिडिओसाहेबका पिए पनि आए । सिडिओसाहेबबाट वार्ताका लागि दवाव पनि आयो प्रेप्रपौलाई ।अन्ततोगत्वा प्रेप्रपौ घुस्याहा कर्मचारीको पक्षधर संगठनसँग वार्तामा बस्न वाध्य भयो । तीन घण्टासम्म लगातार वार्ता भइरह्यो र बल्लतल्ल वार्ता समाप्त भयो । कुनै सहमति बन्न सकेन । प्रमुख जिल्ला अधिकारीले प्रेप्रपौलाई बिदामा बस्न वाध्य पारे । निमित्त भयो सिडिओको मान्छे । प्रेप्रपौलाई केन्द्रमा बोलाइयो र अतिरिक्तमा राखियो ।

प्रेप्रपौ अचेल अलि उदास देखिन थाल्यो । घरकाहरुसँग पनि रामरी बोल्दैनथ्यो । एक्लै धुम्धुम्ती बसिरहन्थ्यो । श्रीमती सत्याले उसको पीडामा मलम लाउँदै भनी,“किन हजुर अचेल झोक्राइरहनु हुन्छ ?अतिरिक्तमा परियो त के भो ?घुस खाएको होइन,भ्रष्टाचार गरेको होइन,नियम कानून मिचेर काम ग¥या पनि होइन । जिल्लामा रहँदाको तनावबाट त मुक्त हुनुहुन्छ नि ! त्यो तनाउभन्दा त यो कति जाति जाति ! बरु फुर्सदको यो समयलाई कुनै सिर्जनात्मक कामकुरोमा प्रयोग गरौं हामी । हजुर बढुवाको पढाइमा लाग्नुस ।” ,

“तिम्रो सल्लाह नराम्रो होइन ,सत्या । राम्रो गरौं भन्दाभन्दै पनि कहिल्यै कतै कुनै राम्रो कामकुरो गर्न सकिएको होइन ।यल्ले राम्रो ग¥यो भनी कोही भन्दैनन् । तिमीहरुको जिन्दगी पनि सँधै कष्टकहरमै बितिराछ ।बुबा सँधै भन्नेगर्नुहुन्थ्यो—प्रेम,आडम्बरी ठूलो मान्छे हैन,सादगीपूर्ण असल मानिस बनेस् ।”भन्दै उ सामुन्नेको भित्तामा झुण्डिरहेको दिवंगत मातापिताको तस्वीर अगाडि उभियो । पिता भूमिनन्द पण्डित हुनुहुन्थ्यो ,मनुका आदर्शहरुको अनुगामी ।

“हामीलाई कुनै कष्टकहर छंैन । हजुर आफ्नो कर्तव्यबाट विचलित नहुनुस् ,बस् त्यति भए पुग्छ । जश कमाएका छैनौं त के भो ,अपजश पनि त कमाएका छैनौं । नाम छैन त के भो ,बदनाम पनि छैनौं ।सुखसुविधा छैन त के भो,कर्तव्यनिष्ठ र इमान्दार कर्मचारी भएकोले प्रेमप्रसादले दुख पायो भनी बुझ्नेहरुले भनिरहेकै छन् । यसैमा हामी खुशी छौं । कसैले परोक्षमा हामीलाई घुस्याहा वा भ्रष्टाचारी त भनेका छैनन् नि ।” सत्याले ढाडस दिई ।

यो ढाडसले प्रेप्रपौ किञ्चित पुलकित भयो ।‘यस्तो समझदार संगिनी पाउनु पनि गौरवकै कुरो हो ।संगिनीकै लहैलहैमा तिनका असीमित इच्छाआकाञ्छा पूरागर्न कतिपय राष्ट्रसेवक कुमार्गमा लागेका छन् ।’स्वगत भन्यो । सहसा उसलाई लाग्यो —शिशाजडित फ्रेममा बन्दी बन्नुभएको पिताजी उसलाई केही भनिरहनु भएको छ —‘आत्मानं नावमन्येत पूर्वभिरसमृद्धिभिः ।आमृत्योः श्रियमन्विच्छेन्ननामन्येत दुर्लभाम्।।’अर्थात् पहिलेका असफलतामा आपूmलाई अपमानित वा निराश नपार, जीवनभर श्रीवृद्धिको कामना गरिरहू , यसलाई दुर्लभ ठान्दै नठान ।’ हात जोडेर उ मातापिताको तस्वीर अगाडि एक छिनसम्म उभिईरह्यो ।मनमनै भन्यो,‘ असल मार्गमा हिंडिरहन हामीलाई समर्थ बन्ने आशिर्वाद दिनुस बाबाआमा ।’

एकदिन टिभीमा उसले समाचार सुन्यो —आर्थिक अनियमितता गरेको कसुरमा ६जना कर्मचारी कारवाहीमा । आफ्नो पदाधिकारको दुरुपयोग गरी अकुत सम्पति आर्जन गर्ने पूर्वमन्त्रीउपर विशेष अदालतमा मुद्दा दायर ।
”सत्या,देशमा थिति बसाल्न खोज्ने मान्छेहरु पनि रहेछन् ।अनियमित काम गर्नेहरुउपर यसरी नियमित कारवाही हुने हो भने त राम्रो थिति बसिहाल्छ नि ।”प्रेप्रपौको बोलीमा कता कता एक किसिमको खुशी झल्किरहेको थियो ।

(स्रोत : कथाकार इस्मालीको कथा सङ्ग्रह “श्रीको खोजि” बाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.