कविता : आउ नयाँ बर्षमा शुभकामना बाँडौं

~दिपक अभिमन्यू~

यो बर्ष धेरै कुरा भए
कहिले तिमी फन्कियौ कहिले म
कहिले तिमीले मलाई छिर्की लायौ
कहिले मैले लाएँ
लुछाचुँडी नि धेरै भयो
लुछाचुँडीमा आनन्द लिए दुनियाँले खुब
न तिमी सरकारमा थियौ न म
हुन त तिमीले जीवनको राजा माने पनि
म दरबारमा बस्ने राजा हुन सकिन
बेला बखत मेरो सरकार भनेपनि
म राज्य चलाउने सरकार हुन सकिन
म आफ्नै मनको राजा
मेरो मनको आफ्नै साम्राज्यमा
राज्य चलाउँदैछु हजुर अन्यथा होईन
यो बर्ष तिम्ले र मैले सङ्गै चालेका पाईलाहरु
जे जति चालियो जसरी चालियो
कहि तिम्रो ताल मिलेन होला
र मेरो पनि सायद उस्तै भयो होला
कहि तिमी ठुस्कियौ कहि म रन्किए
तिम्रो ठुस्काई होस या मेरो रन्काई
आखिर त्यसमा हाम्रो माया थियो
अगाध स्नेह र सहकार्यको मिठो आभाष थियो
जे होस जीवन यात्राको यो घडीमा
हामीले यो साल केहि तीतामिठा पलहरु
संगै बितायौं भोग्यौं पनि
त्यो जीवनको भोगाइमा
कहि तिमी सन्तुष्ट भइनौ कहि म
कहि तिमीले भनेझैं भएन कहि मैले भनेझैं
तै पनि आउ प्रिय
ती पुराना कुरा बिर्सेर अब
आउने नयाँ बर्षसङ्गै हाम्रो हातमालोलाई
अझ कसिलो र अझ रसिलो बनाउँदै
विगतमा पाउन नसकेका खुशीहरु
भेट्टाउन नसकेको जीवनको सुख शान्ती
आउ मिलेर जुटाउँ र महसुस गरौं
नयाँ बर्षले दिने नयाँ जोश जाँगर र उत्साहलाई
भरपुरउपयोग गरौं ।
तिमी होस्टेमा हैंसे गर
म तिमीले दिएको आड भरोसामा अथक सधैं
हाम्रो जीवनलाई अघि बढाउदै लानेछु
तिमी उत्साह भर्दै जाउ
जोश र जाँगर जगाउन सदा मलाई उर्जा भर्दै जाउ
म तिम्रो खुशीका लागि हरपल लागिरहनेछु
त्यसैले नयाँ बर्षको पूर्वसन्ध्यामा
आउ तिमी र म हाम्रो हातेमालोलाई
अझै बलियो बनाउँदै
लामो जीवन यात्रामा एउटै गन्तब्य बनाउँदै
आउ प्रिय नयाँ बर्षसङ्गै
नयाँ जोश जाँगर नयाँ उमङ्ग नयाँ उत्साहका साथ
अझै अघि बढौं यहि शुभ कामना
तिमीलाई पनि र मलाइ पनि ।

(स्रोत : हाम्रोदमक डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.