~निर्मोही व्यास~
प्रीति हो सृष्टिको सार यौटै फगत्
प्रीतिमा नै अडेको छ सारा जगत्
चन्द्रका साथमा खिल्दछिन् चाँदनी
खुल्दछिन् मेघका साथ सौदामिनी
चुम्छ आकाशले धर्तिलाई कहीँ
छिन् जहाँ रागिनी बज्छ वीणा त्यहीँ
प्रीतिको दिव्य सङ्गीतकी मूर्च्छना
हौ तिमी, प्यारकै एकतारे हुँ म
सम्झना–दीप बालेर एकान्तमा
झुन्झुनाई सदा गर्छु आराधना
सत्यको साधना हुन्न व्यर्थै कहीँ
छिन् जहाँ रागिनी बज्छ वीणा त्यहीँ
प्रीतिमा प्राप्ति–अप्राप्तिको के कुरा
चन्द्र हेरेर नै मक्ख यो च्याँखुरा
स्वप्नको रम्य संसार सिर्जन्छु म
भावना–कल्पनामै सदा रम्छु म
स्वप्नझैँ स्वादिलो छैन केही कहीँ
छिन् जहाँ रागिनी बज्छ वीणा त्यहीँ
“प्राप्ति नै तृप्तिको मूल हो” भन्दछन्
गुम्नुमा प्रीतिको छाल उर्लन्छ झन्
जीत चाहिन्न भो, हार खाईरहूँ
किन्तु तिम्रो सधैँ प्यार पाईरहूँ
पाइला प्रीतिका रोकिँदैनन् कहीँ
छिन् जहाँ रागिनी बज्छ वीणा त्यहीँ
(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ १०८—१०९)