~अज्ञात~
एउटा माग्ने व्यक्तिले एक महिनासम्म मागेर जम्मा गरेको पैसाबाट खाएको बाहेकको बचेको पैसाले एउटा ठूलो खुत्रुके किनेछ। पटक-पटक किन्दा पैसा धेरै खर्च हुने हुनाले उसले सुरुमा किन्दा नै ठूलो खुत्रुके किनेको थियो । ऊ त्यो दिन धेरै खुशी थियो । किनकी, सम्पत्तीको नाममा ऊसंग अब एउटा खुत्रुके थियो । उसले खुत्रुकेमा पैसा जम्मा गर्दै गएर एक दिन धनी हुने योजना बनाएर खुत्रुके किनेको थियो ।
पिंडीमा सुत्ने उसले खुत्रुके ल्यायो र आफ्नो गोडा निर राखेर सुत्यो। खुत्रुके ल्याएपछि राम्रो भविष्यको कल्पनामा डुबेको उसले सपना देख्न थाल्यो । सपनामा उसले थुप्रै पैसा कमायो। घर बनायो, सम्पत्ति जोड्यो र विवाह गर्यो । सपनामा उसका छोरा-छोरी पनि जन्मे ।
छोरीलाई लिएर जब ऊ एकदिन विद्यालय जाँदै थियो, लुटेराहरुले बाटो छेके । ऊ प्रशस्त पैसा भएको व्यक्ति हो भन्ने बुझेर उनीहरुले लुट्ने कोसिस गर्दै थिए । ऊ ती लुटेराहरुसंग लड्न थाल्यो, लात्तै लात्तले हान्यो र पैतालाले छातीमा टेक्यो । उसको पैताला बिझायो ।
पैताला बिझाएपछि झसङ्ग भएको त्यो माग्ने व्यक्ति उठ्यो । उसले त सपनामा पो लुटेराहरुलाई कुट्दै रहेछ । त्यहि सपनामा लुटेरालाई कुटेको सुरमा उसले खुत्रुके, खुट्टाले हानेर फुटाएछ र खुट्टा बिझेको त्यही खुत्रुकेमा टेकेको कारण रहेछ ।
शिक्षा : हाम्रो सपना पनि यसै गरि नटुटोस्। आफ्नो सपनालाई जोगाउन सिकौं, त्यो सपनामा पुग्ने आधारलाई सही ठाउँ दिन सिकौं, योजनाहरुमा ध्यान दिऔं र कर्ममा विश्वास गरौँ ।