~अज्ञात~
एक गाउँमा एक विधुवा आमा थिइन् । उनका एउटा छोरा गर्भमा हुँदा नै श्रीमानको निधन भएको थियो । छोरा जन्मिएपछि उनले जेनतेन गरेर उसलाई पढाइन्, हुर्काइन् । छोराले कमाउन थाल्यो, घरमा खुशीका दिनहरु आउन थाले । त्यसपछि आमा-छोराको सल्लाहमा नै छोराको विवाह गर्ने निधो भयो ।
छोराको विवाह गरेपछि जिन्दगी रमाइलो भयो । घरमा सदस्य बढे, चहलपहल बढ्यो । यत्तिकैमा बुहारी गर्भवती भइन् , घरमा झन् हर्षोल्लास छायो । बुहारीले छोरीलाई जन्म दिइन्। परिवार बढ्दै थियो, आमाले सन्तोषको सास फेर्न थालिन् ।
तर बिस्तारै छोरा बुहारी, आमा देखि टाढिदै गए । बुहारी भन्ने गर्थिन्, ” अब हामीले सन्तानको बारेमा सोंच्नुपर्छ, तपाईंले आफ्नो बाटो गर्नुस्, हामीले आफ्नो बाटो गर्छौं” । नभन्दै घरमा अलग्गै चुलो बल्न थाल्यो । छोरा बुहारी र आमाको घर नै छुट्टियो । छोरा बुहारी आमासंग बोल्न पनि बिस्तारै छोड्दै गए ।
नातिनी ठूली हुँदै थिई । ऊ हजुरआमासंग खेल्न, बस्न एकदमै मन पराउँथी। आफ्नी आमाले नदिंदा पनि लुकी-लुकी हजुरआमाकहाँ जान्थी। एकदिन हजुरआमाले नातिनीलाई भनिन् , ” म एकदिन राम्री बनेर मेला हेर्न जाँदै थिए । यत्तिकैमा भगवानले माथीबाट तेरो बालाई फुत्त फालिदिए । मैले समातें । अनि तेरो बाले मेला हेर्न पनि संगै लैजान भन्न थाल्यो, खाना खान माग्न थाल्यो । मलाई दिक्क लाग्यो । मैले एकदिन पनि राख्न सकिन त्यसलाई । त्यसपछि तेरी आमासंग विवाह गरेर त्यो घरमा पठाईदिएं । ” नातिनीलाई हेर्दै उनले भनिन् , ” नपत्याए, तेरो बालाई गएर सोध त ! ” ।
नातिनी दौडेर गई र संगै बसिरहेका बा-आमालाई हजुरआमाले भनेका कुरा बताउंदै भनी , ‘ हो र बा ?’ । ऊ केही पनि नबोली बाहिर निस्कियो । दुई वर्षसम्म आमासंग नबोलेको ऊ, आफ्नो पिंडीमा बसिरहेकी आमा निर गएर बोल्यो , “आमा टोपी लगाउनुस् न, चिसो लाग्यो होला ! छैन भने म किनेर ल्याइदिन्छु”।