समीक्षा : नेपालमा मातृभाषामा प्रगतिशील साहित्य

~रामबहादुर बुढा~

भाषाशास्त्रीहरूका अनुसार नेपालमा चार प्रकारका भाषा परिवारहरू छन्–

१. भोट–बर्मेली (चिनियाँ–तिब्बती)– मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बु, शेर्पा, चेपाङ, छन्त्याल, थामी, धिमाल, जिरेल, थकाली, सुनुुवार, ब्यासी, लेप्चा, राजी, पहरी, मेचे, हायु लगायत ।
२. भारोपेली– नेपाली, मैथिली, भोजपुरी, अवधि, हिन्दी, उर्दू, थारू, राजवंशी, दनुवार, दराई, कुमाल लगायतरु।
३. द्रविड– झाँगड÷धाँगडरु।
४. मुण्डा वा अस्ट्रो एसियाली– सतार÷सन्थाल ।

भाषा (Language) र भाषिका (Lect)लाई फरक माने पनि नेपाली सन्दर्भमा ठुलो अन्योल छ र नेपालमा अनेकन् भाषा र भाषिका छन् भन्नेमा सबैको सहमति पाइन्छ । तीमध्ये कुन भाषा र कुन भाषिका हुन् भन्ने कुरा किटानी गर्नु गाह्रो छ, यद्यपि “भाषिका” भनेका ‘भाषा’ को हाँगा होरु। सरकारकोतर्फबाट भाषा र भाषिकाको भिन्नता छुट्याउने कोशिस भएको छैन, बरु सरकारद्वारा दश÷दश वर्षको अन्तरालमा लिने जनगणनामा मातृभाषाको तथ्याङ्क राख्ने गरिएको छ ।

वि.सं. २०११ को राष्ट्रिय जनगणनादेखि नेपालमा मातृभाषाको तथ्याङ्क दिन थालिएको थियो । २०११ मा ५३, २०१८ मा ३६, २०२८ मा १७, २०३८ मा १८, २०४८ मा ३२, २०५८ मा ९२ र २०६८ मा १२३ वटा मातृभाषाहरूको तथ्याङ्क दिइएको छ । नेपाली÷खस बाहेकका मातृभाषाप्रति राज्यको दमन र उपेक्षाको नीति रहँदै आएकाले ती मातृभाषाका साहित्यले विकास हुने मौका पनि पाएनन् । आफ्नो भाषामा साहित्य सृजना गरेकोमा १९९७ मा फत्ते बहादुर सिंहलाई सर्वस्व सहित आजीवन कारावासको सजाय दिइएको, कवि सिद्विचरण र कवि चित्तधरलाई विभिन्न अवधिको सजाय सुनाइएको, नेपाल भाषा (नेवारी भाषा) मा साहित्य सृजना गर्न रोक वा दमन गरेको, राणाकालभन्दा पहिले एक जना लिम्बु अधिकारीले लिम्बु भाषामा किपटको प्रतिवेदन लेखी राजा रण बहादुरलाई पठाउँदा आइन्दा फेरि लिम्बु भाषामा लेखी पठाएमा काटी मार्नू भन्ने हुकुम दिएको लगायतका कैयौँ घटनाहरूबाट भन्न सकिन्छ– हाम्रो देशमा अन्य मातृभाषा वा अन्य मातृभाषाका साहित्यलाई दमन गरियोरु। २०४६ को जनआन्दोलनपछि खुला राजनीतिक परिवेशमा मातृभाषामा साहित्य सृजना गर्ने कार्य विगतको तुलनामा बढ्दो छ । मातृभाषामा प्रगतिशील साहित्य सृजना गर्ने कार्य पनि विभिन्न अप्ठ्यारा र व्यवधानका बाबजुद थोरै–धेरै मात्रामा हुँदै आएको छ ।

२०६८ सालको राष्ट्रिय जनगणना अनुसार सबभन्दा धेरै मातृभाषा नेपाली भाषा ४४.६ प्रतिशत रहेको छ । नेपालको दोस्रो ठुलो भातृभाषा मैथिली ११.७ प्रतिशत रहेको छ । यो करिब ३१ लाख मातृभाषीहरूको जनसङ्ख्या हो । नेपालमाभन्दा भारतमा धेरै गुणा बढी मैथिली भाषीहरू छन् । भारतमा झण्डै साढे तीन करोडको हाराहारीमा मैथिली भाषीहरू छन् । भारतको उत्तरी विहार र झारखण्डमा यो भाषा बोलिन्छ । नेपालमा, खास गरी बागमती नदी पूर्वका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्लाहरूमा ठुलो जनसङ्ख्याले मैथिली भाषा बोल्दछ । मैथिली भाषा देवनागरी र तिरहुता लिपिमा लेख्ने गरिन्छ । तर व्यवहारमा देवनागरी लिपि नै आम रूपमा प्रचलनमा रहेको छ । मिथिला सभ्यता रामायण कालदेखिकै निकै पुरानो सभ्यता मानिन्छ । मैथिली भाषा पनि त्यत्तिकै पुरानो भाषा हो भनिन्छ ।

मैथिली भाषाका महाकवि विद्यापति ठाकुर हुन् । उनलाई प्रगतिशील साहित्यकार भन्न मिल्छ र वा मिल्दैन भन्नेबारेमा एक मत पाइदैन । जे होस्, मुसलमानहरूको आक्रमणबाट मिथिलाको जनजीवनमा परेको असर र जनताको नैराश्यतालाई दूर गरी जीवनप्रतिको मोह जगाउन उनका रचनाहरूले गरेका योगदानलाई प्रगतिशील कार्य मान्नु पर्दछ । महाकवि विद्यापतिले सामाजिक कुरीतिको विरोधमा पनि कलम चलाएका थिए । उनले,

“गे माई, हम नही आज, रहन एही घरमे जओं बुढ होइ त जमाए”
अर्थात््
“आमा आज यो घरमा बस्दिनँ
जानू बुढो ज्वाइँ हुन ।”
“पिया मोर बालक हम तरुणी गे, कुन तप चुकलहुँ जननी गे”
अर्थात्
“मेरो श्रीमान बालक अनि म तरुनी
कुन तपस्यामा भुल गरेँ कि म जननी भएँ”

जस्ता अनमेल विवाहलाई विरोध गर्दे जनचेतना जगाउने खालका गीतहरू रचना गरेका थिए । यदि मैथिली भाषामा प्रगतिशील साहित्यको खोजी गर्दै जाने हो भने थुप्रै साहित्य र साहित्यकारहरू भेटिने छन् ।

नेपालमा तेस्रो ठुलो मातृभाषा भोजपुरी ६.० प्रतिशत रहेको छ । यो झण्डै १६ लाख जनसङ्ख्या हो । नेपालमाभन्दा धेरै भोजपुरी भाषीहरू भारतमा छन् । भारतको खासगरी उत्तर प्रदेशको पूर्वी भाग, विहारको पश्चिम भाग र झारखण्डको केही भागमा यो भाषा बोलिन्छ । नेपालमा, खास गरी बागमती नदीको परिश्चमपट्टि रौतहटदेखि रूपन्देहीसम्मको तराई भागमा यो भाषा बोलिन्छ । यो भाषाको लामो इतिहास भए पनि भारतमा कवीरदासका कृतिहरूबाट यो लिपिबद्ध भएको पाइन्छ । २००९ सालमा ठाकुर राम क्याम्पस, वीरगञ्जमा हिन्दीका प्राध्यापकको रूपमा रामदेव प्रसाद द्विवेदी ‘अलमस्त’ आएपछि उनले सृजना गरेका साहित्यिक रचनाहरूबाट नै आधुनिक भोजपुरी वा प्रगतिशील भोजपुरी साहित्यको आरम्भ भएको मानिन्छ । २००९देखि २०१३सम्म बारा र रौतहटमा चलेको किसान आन्दोलनलाई उर्जा दिने काम उनका भोजपुरी कविता र गीतहरूले गरेका थिए । जस्तो कि उनको एउटा गीत यस्तो थियो–

“देश दुनिया बदलत जाते नयाँ दिन आवता
निसभेद रात गइल फरिछ विहान भइल
फुटले किरिनिया मोरे सोनवा लुटावता ।
जागजाई लोग अब भाग जाई शोग शव दिन उही काग उचरावता ।”
अर्थात्
“देश दुनियाँ बदलिदै जान्छ नयाँ दिन आउँछ
कालो अँध्यारो रात गएपछि बिहानी आउँछ
जागेपछि जनता अब भाग्ने छ दुःख सब
त्यही दिनको उच्चारण गर्छ काग ।”

२०१९ सालमा राम प्रसाद राय थारूद्वारा लिखित “बउआ और बहुरिया” नामक उपन्यास, २०४० सालमा गोपाल ठाकुरद्वारा लिखित “मुखिया जी चोर कइसे” नामक नाटक लगायत कैयौँ प्रगतिशील भोजपुरी साहित्य प्रकाशित भएका छन् ।

नेपालको चौथो ठुलो मातृभाषा थारू ५.८ प्रतिशत रहेको छ । यो झण्डै साढे १५ लाख मातृभाषीहरूको जनसङ्ख्या हो । थारूहरू नेपालको दक्षिणी भूभाग तराईमा बस्ने आदिवासीहरू हुन् । थारूहरूको भाषामा एकरूपता छैन । दाङबाट नेपालका विभिन्न भागहरू, जस्तै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु लगायतका स्थानहरूमा बसाइँ सरेर गएका थारू÷चौधरीहरूको भाषामा एकरूपता पाइन्छ । तर यी दगौरा थारूहरूसित कैलाली र कञ्चनपुरका राना थारूहरूको भाषा मिल्दैन । राना थारू भाषा धेरै हिन्दीबाट प्रभावित छ । पूर्वी नेपालका थारूहरूको भाषा मैथिली र भोजपुरीबाट प्रभावित छ । थारूहरूको भाषामा विविधता भए पनि बेग्ला–बेग्लै स्थानहरूमा थारू भाषामा प्रगतिशील साहित्यको विकास भएको पाउन सकिन्छ । २००७ सालको राजनीतिक परिवर्तनपछि कवि जीवन राज आचार्यले “हम्र व हमारा बत्वा” अर्थात् “हामी र हाम्रा कुरा” शीर्षकमा कविताको पुस्तिका प्रकाशित गरेका थिए । त्यसको एउटा अंश यस्तो छ ः

“इहर वहर छौना नुकाईल,
बोप्री विलर्‍या ।
कब कब आक छौना चबाइल,
अका विलरा
आपन छौना अप्न चबाइल
कसिन विलरा बारु।
औन्घर दयारखल काट खाइल,
अस्त दुनियाबाट् ।”
अर्थ ः
“यता उता बच्चा लुकाई
माउ विराली,
कहिलेकाही आएर साना बच्चा चपायो
ढाडे विरालो,
आफ्नो बच्चा आफै चपायो
कस्तो विरालो
अन्धो देखेर टोकेर खायो
यस्तै छ संसार ।”

यस कवितामा बिरालोका बच्चाहरूले आँखाले देख्न नसकेकाले ढाडे बिरालोले मारेको कुरा बताएका छन् । मानिस पनि त्यस्तै देख्न नसक्ने भएमा मारिनु पर्छ । देख्न÷हेर्न, सचेत÷जागरुक बन्न र अरूबाट नठगिन÷नमारिन यस कविताले गतिलो सन्देश प्रवाह गरेको छ ।
२०२८ सालतिर दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका जागरुक युवाहरूले “थारू भाषा तथा साहित्य सुधार समिति गोचाली परिवार” गठन गरेका थिए । त्यसले “गोचाली” नामक पत्रिकाबाट थारू भाषामा थुप्रै प्रगतिशील रचनाहरू प्रकाशित गरेको थियो । त्यस्तै, नारायण योगीको अगुवाइमा २०४८ सालमा “थारू जनकला मञ्च, दाङ–देउखुरी” गठन गरिएको थियो । २०५१ मा उक्त सङ्गठनको नाम परिवर्तन गरी “थारू जन सांस्कृतिक मञ्च” बनाइएको थियो । यसले “आयोग” नामक सडक नाटक बनाई तराईमा विभिन्न जिल्लामा प्रदर्शन गरेको थियो । यसले थारू भाषामा एल्बम, सिडी (“आइल रे मई दिन”) गीति–सङ्ग्रह पुस्तिका समेत प्रकाशित गरेको थियो । यी रचनाहरूमा वर्गसङ्घर्ष र सर्वहारा मुक्तिका पक्षमा सशक्त सृजनाहरू समावेश गरिएका छन् । यस बाहेकका थारू भाषामा कैयौँ प्रगतिशील गीत , कथा, कविता, निवन्ध लगायतका साहित्यहरू सृजना भएका छन् ।

नेपालमा पाँचौँ ठुलो मातृभाषा तामाङ ५.१ प्रतिशत रहेको छ । यो साढे १३ लाखभन्दा बढी मातृभाषीहरूको जनसङ्ख्या हो । तामाङहरूको मुख्य बसोवास क्षेत्र काठमाडौँ उपत्यका वरपरका सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुली, रामेछाप, काभ्रे, दोलखा हुन् । तामाङहरूको भाषामा पनि एकरूपता पाइँदैन । तामाङ भाषा सम्भोटा लिपिमा लेख्ने गरिन्छ । तर नेपालमा अहिले प्रायः देवनागरी लिपिमै लेख्ने गरिन्छ । तामाङ भाषाको हस्त लेख्य इतिहास निकै पुरानो भए पनि पुस्तक प्रकाशन भने २०१३ सालदेखि मात्रै भएको हो । प्रगतिशील तामाङ साहित्य २०३० सालदेखि निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध जनतामा जागरण ल्याउन गीत सृजना गरेर सुरु भएको थियो । २०३० सालमा भीमराज तामाङले प्रगतिशील गीत लेखेका थिए । गीत यस्तो थियो–

आसे विचार लासमी विदेशी धनी चुदेशरी
ह्याङ्गला याम्बु ह्यूल्साला गरिब जति विदेशरी
देशला धनिसे लासीनाम याम्बुला आले आङ विदेशरी
नेपाली आमाला कोल्दुगु दोगो जम्मु चुदेशरी
नेपाली आले आङदा तासी बोमो लाजिवा
गरिब म्हिदा लुसिमास चिसि चिसि चाचिवा ।

अर्थ :
(विचार तिमीले गरे त धनी विदेशी यो देशमा
हाम्रो काठमाडौ सहर गाउँको गरिब जति विदेशमा
देशकै धनीले गरेर काठमाडौँका भाइ–बहिनी विदेशमा
नेपाली आमाको सन्तान फर्क सबै स्वदेशमा
यो देशमा नेपाली भाइ–बहिनीलाई किन रिस गरेको
गरिब मान्छेलाई ठगेर बसी बसी खाएको ।)

त्यस्तै, मान बहादुर लामाले २०३७ सालमा प्रगतिशील गीत लेखेका थिए, जो यस प्रकार छ –

(क) पुजुम्राङ्री छासी ब्राबा
माली म्हेला तार कोला
जाली फटाह सामन्ती
दरेम तह लादोला

(ख) रेसिमाम च्यागो ओ ज्यो ज्यो
रेसिमाम च्यागो ओ नाना

(ग) सैलुङ गाङला दितेरी
नाम ग्लिङ ताङ्वा आरे
गरिब जम्मन रेतोला
अलमल ताबा दुई आरे

जसको अर्थ हुन्छ–

(क) काँडाघारी फाँडेर हिडेर
मालीगाईको सेतो बाछो (सन्तान)
जाली फटाह सामन्ती (लाई)
अब ठेगान लाउनु पर्छ ।

(ख) उठेर हेर ए ! दाजै
उठेर हेर ए ! दिदी ।

(ग) सैलुङ पाखा–पखेरीमा
असिना पानी परेको छैन
सारा गरिब उठ्नु पर्छ
अलमल हुने समय छैन ।

नेपालमा छैटौँ ठुलो मातृभाषा नेवार (नेपाल भाषा) ३.२ प्रतिशत रहेको छ । यो झण्डै साढे ८ लाख मातृभाषीहरूको जनसङ्ख्या हो । नेवारहरूको मुख्य बसोबास स्थल काठमाडौँ हो । नेवारहरू नेपालका धेरै सहर–बजारहरूमा फैलिएका छन् । तर ती सबै काठमाडौँ उपत्यकाबाटै बसाइँ सरेर गएका हुन् । नेवारहरूको साहित्य समृद्ध छ । नेवारी भाषा (नेपाल भाषा) र मैथिली भाषा त्रिभुवन विश्व विद्यालयमा पढाइ हुँदै आएकाले अन्य मातृ भाषाहरूभन्दा यी विकसित छन् भन्ने बुझिन्छ ।

नेवार भाषाको प्रख्यात लिपि रन्जना लिपि हो । तर पछिल्लो समयमा प्रायः देवनागरी लिपिमा लेख्ने गरिन्छ । सिद्धिचरण श्रेष्ठले २००७ साल पहिले “वर्षा” शीर्षकको कवितामा लेखेका थिए–

क्रान्ति बिना थन दैमखु, स्वच्छ शान्ति
जसको अर्थ हुन्छ–
“क्रान्ति बिना हुँदैन स्वच्छ शान्तिरु।”

शोषित, पीडित वर्गलाई चेतनशील बनाउने, अन्याय, अत्यारको विरोध गर्ने र सङ्घर्ष गर्न प्रेरित गर्ने थुप्रै प्रगतिशील साहित्यहरू नेवार भाषामा सृजना भएका छन् । दुर्गालाल श्रेष्ठको कविता “इनकलावय पला”, पूर्ण बहादुर बैद्यको “सरासु लःलःखः”, योगेन्द्र प्रधानको “छग दीप छगु लास” जस्ता कविता, प्रेम बहदुर कङ्साकारको “ती”, पूर्ण बहादुर पथिकको “अपराधी”, सुलोचना मानन्धरको “झयारखाना” जस्ता कथाहरू, रामशेखरको “नसफाः गु चाः”, मल्ल के. सुन्दरको “नसनाः” जस्ता उपन्यासहरू, दुर्गालाल श्रेष्ठ र दिनेश भुजुका नाटकहरू लगायतका कैयाँै प्रगतिशील साहित्यहरू नेवारी भाषामा भेटन सकिन्छ ।

नेपालमा साताँै ठुलो मातृभाषा बज्जिका हो । यसको करिब आठ लाख जनसङ्ख्या छ । यो तराईमा बोलिन्छ । आठौँ ठुलो मातृभाषा मगर ३.० प्रतिशत रहेको छ । यो झण्डै ८ लाख मातृभाषीहरूको जनसङ्ख्या हो । २०६८ को जनगणना अनुसार १८ लाख ८४ हजार जनसङ्ख्या बोकेको, देशको तेस्रो ठुलो र जनजातिमध्ये सबभन्दा धेरै जनसङ्ख्या भएको समुदाय मगरको मातृभाषीहरूको प्रस्तुत तथ्याङ्कले अन्य मातृभाषीहरूको तुलनामा यो समुदायको मातृभाषा सबैभन्दा बढी समाप्त भएको देखिन्छ । भाषाशास्त्रीहरूका अनुसार मगर भाषा तीन प्रकारका छन्– पूर्वेली, खाम र काइके । २०६८ को जनगणनामा खामको जम्मा २७ हजार सङ्ख्या र काइकेको जम्मा ५० देखाइएको छ । रोल्पा, रुकुम र पश्चिम बागलुङमा बोलिने भाषा खाम हो । उदाहरणका निम्ति बागलुङको निसी र बोवाङमा खाम बोलिन्छ । पूर्वेली मगर भाषा बोलिदैन । तर राष्ट्रिय जनगणनामा निसी, बोवाङ जस्ता गाउँको मातृभाषा सङ्ख्या मगर धेरै र खाम निकै कम देखाइएको छ । गणकहरूले भातृभाषाका बारेमा प्रश्न सोध्दा जनताले खाम र मगर बेग्ला–बेग्लै उत्तर दिएकाले त्यसो भएको हुनुपर्दछ । डोल्पाका करिब १३ गाविस मा बोलिने काइके भाषा पनि खाम भाषीहरूको मगरमा जोडिए जस्तै अरू मातृभाषहिरू सित जोडिएको हुन सक्छ । मगर देशैभरि छरिएको जाति भए पनि धौलागिरी, राप्ती, लुम्बिनी मगर समुदायका मुख्य बसोवास क्षेत्र हुन् । गण्डगीको तनहुँमा मगरहरूको बाहुल्यता छ ।

जित बहादुर सिंजाली मगर (स्याङजा) र रेख बहादुर थापा मगर (तनहुँ) दुई जनाको “मगराती भासाङ लिङ ड टुक्काऔँ” किताब अर्थात् “मगर भाषाको गीत तथा टुक्काको किताब” २०१८ सालतिरै प्रकाशित भएको थियो । जीत बहादुर रानालाई नेपाल मगर सङ्घले मगराती साहित्यका आदिकविका रूपमा मान्दै आएको छ । उल्लेखित जीत बहादुर रानाको पुस्तकमा सबै गीतहरू प्रगतिशील त छैनन् तर एक ठाउँमा उनले लेखेका छन्–

माक्र्स, लेनिन, माओत्सेतुङ विचार लानीकिङ
सर्वहारा छान्च कान पुनिङ काटै छान्नकिङ ।
अर्थ–
(माक्र्स, लेनिन, माओत्सेतुङ विचार लिएर
सर्वहारा भएका हामी लडौँ एक भएर)

नारायण तारुङ मगरको मैओ मीराप (आमाको रोदन) खण्डकाव्य २०४९ मा, छिनिकुङ पुरुङ (आजको कोपिला) कविता सङ्ग्रह २०४८ मा प्रकाशित भएको थियो । लोक बहादुर थापा मगरको रङसीचकुङ लिङ (भोकाएकाहरूको गीत) कविता सङ्ग्रह २०४९ मा, बुढा इम (बुढो घर) कविता सङ्ग्रह २०५७ मा, जजावखट (बालक काल) उपन्यास २०५२ मा प्रकाशित भएको थियो । रुद्र हितान मगरको सोनी (उठ्नोस्), चुप्च (शोषक) जस्ता कविताहरू प्रकाशित भएका छन् । मगर भाषामा कैयौँ प्रगतिशील साहित्यहरू सृजना भएका छन् ।

अवधि मातृभाषाको पनि नेपालमा ठुलै जनसङ्ख्या छ । पाँच लाखभन्दा बढी जनसङ्ख्या भएका यी मातृभाषीहरूको बसोवास स्थल रूपन्देहीदेखि बर्दियासम्म हो । नेपालमा सबभन्दा धेरै थरिका मातृभाषा भएको समुदाय राई हो । अरूण नदी वरपर राईहरूका मुख्य बस्ती रहेका छन् । बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, सामपाङ, खालिङ, दुमी, बाम्बुले, पुमा, नाछिरिङ, बाहिङ, कोई, लोहोरुङ, मेवाहाङ, तिलुङ, डुङमाली, लिङखिम÷लिङखा, छिन्ताङ, आठपहरिया, फङदुवाली, वालुङ २०६८ को जनगणनाको प्रतिवेदनमा सूचीबद्ध भएका फरक फरक राईहरूका भाषाहरू हुन् । यी मध्ये बान्तवा राई भाषाहरूमध्ये धेरै जनसङ्ख्या भएको भाषा हो । याख्खा र याम्फु पनि राई भाषा नै मानिन्छन् । तर उनीहरूले अहिले आफूलाई राई भन्न मन पराउँदैनन्, याख्खा र याम्फु नै भन्न रुचाउँछन् ।

यी अनेक थरिका राई भाषाहरूमा प्रगतिशील साहित्यहरू सृजना हुँदै आएका छन् । जस्तो कि छिलिङ राई भाषामा मनोज राईले “खि राढोङ सेम्माङछी” अर्थात् “एक थुन्से सपनाहरू”, नरेन्द्र राईले “वान चावाङ सेम्माङ” अर्थात् “वयस्क सपना”, तुलमान राईले “नाङ आनी तेन्ना सारो नो दुःख, थेचो मा सामा बा” अर्थात् “यो हाम्रो समाज साह्रै नै दुःख, के गरी खाने हो ?” जस्ता सृजनाहरू तयार गरेका छन् ।

लिम्बु भाषाका पनि कैयौँ प्रगतिशील साहित्य सृजना भएका छन् । अरूण नदी पूर्वको पहाडी भेगमा मुख्य बस्ती भएका लिम्बु भाषीहरूको जनसङ्ख्या झण्डै साढे तीन लाख छ । खड्ग बहादुर नेम्वाङले “किराँत जागरण गीत” लेखेका थिए । येहाङ लावती लिम्बु भाषाका प्रखर साहित्यकार हुन् । “प्रकाश” शीर्षकको कवितामा उनले लेखेका छन्–

मयुर नाच्छन् पखेटाहरू
पङखा झैँ फिजाई
प्रकाशले जित्यो अन्धकार भाग्यो
आफनो मुख लुकाई ।

पुष्प सुब्बा, वैरागी काइँला लगायत कैयौँ प्रगतिशील साहित्य रचना गर्ने लिम्बु मातृभाषी साहित्यकारहरू देख्न सकिन्छ ।

गण्डकी अञ्चलमा मुख्य बस्ती भएका गुरुङ भाषीहरूको जनसङ्ख्या तीन लाखभन्दा बढी छ । गुरुङ (तमु) भाषामा हितकाजी गुरुङको “नासधिबै कुई झोँगो” (गाउँघरमा गीतहरू) गीति सङ्ग्रह प्रकाशित भएको छ । यो गीति सङ्ग्रहमा छोराछोरीहरूलाई विदेशमा भर्ती हुन नजान, स्वदेशमै शिक्षा आर्जन गरेर देश र समाजको सेवा गर्न, शोषण र भेदभावका विरुद्धमा सङ्घर्ष गर्न आह्वान गरिएको छ । यस्ता प्रगतिशील अवधारणाका आधारमा रचिएका झण्डै चार दर्जन गीतहरू यस सङ्ग्रहमा सङ्ग्रहित छन् ।

त्यस्तै, हर्क बहादुर गुरुङले “गुरुङ लोकगीत” नामक कविता सङ्ग्रह प्रकाशित गरेका छन् । जस्तो कि “गहना आहिलो” शीर्षकमा कविताबाट छोरी चेलीबेटीलाई गहना लाउनतिर ध्यान दिनुको सट्टा बुद्धि, विवेक बढाउनमा जोड दिनु पर्दछ भन्ने सन्देश दिइएको छ । “जुवा अल्कानो” शीर्षकमा तासजुवा नखेल्न, “पा आथुनो” शीर्षकमा रक्सी नखान सन्देश दिइएको छ ।

उर्दू, शेर्पा, राजवंशी, डोटेली लगायत विभिन्न मातृभाषाहरूमा पनि प्रगतिशील साहित्यहरू सृजना भएका छन् । यो छोटो लेखमा विभिन्न मातृभाषामा लेखिएका प्रगतिशील साहित्यको सामान्य रूपमा प्रसङ्ग उठान गर्ने काम मात्र गरिएको छ । यो क्षेत्र निकै व्यापक छ । यस क्षेत्रको गहिरो अध्ययन गरी ठोस योजना बनाउने हो भने यसले प्रगतिशील आन्दोलनलाई योग पुर्‍याउने छ । जसरी पञ्चायती व्यवस्थाका विरुद्धमा जागरण ल्याउन तामाङ मातृभाषा समुदायका बीचमा तामाङ भाषाको गीतले सहयोग पुर्‍याएको थियो, अहिले पनि मातृभाषामा प्रगतिशील साहित्य सृजनालाई महत्व दिदा वर्तमान सामाजिक विभेद, वर्गीय शोषण र सामाजिक विकृतिका विरुद्धको सङ्घर्ष र श्रमजीवी वर्गको मुक्ति सङ्घर्षलाई सहयोग पुग्ने छ ।

सन्दर्भ सूची

१. नेपालमा आदिवासी तथा जनजाति पहिचानको समस्या, प्रकाशक : अखिल नेपाल जनजाति सम्मेलन, केन्द्रीय समिति, २०६९ माघ ।
२.प्रलेस, वर्ष ६, २०५९ वैशाख, पूर्णाङ्क १२, प्रकाशक : प्रगतिशील लेखक सङ्घ नेपाल । यही अङ्कमा प्रकाशित माणिक लाल श्रेष्ठ, विश्वनाथ पाठक, गणेश मान गुरुङ, लोक बहादुर थापा मगर, पूर्ण ताम्राकार, अमृत योञ्जन÷यकिना अगाध, विजय सुब्बा, गोपाल ठाकुर, महेश चौधरी, धिरेन्द्र प्रेमर्षीका लेखहरू ।
३. गुरुङ, हर्क, विषय विविध, २००८ ।
४. अन्तवार्ता : नारायण योगी (दाङ) र तुलमान राई (धनकुटा) ।
५. विभिन्न भाषाहरूको अनुवाद सहयोग : लखिन्द्र शाह (रौतहट)–भोजपुरी, नारायण योगी (दाङ)–थारू, निष्णु थिङ (सर्लाही)–तामाङ, बुनु श्रेष्ठ (काठमाडौँ)–नेवारी ।

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.