~लक्ष्मण नेवटिया~
यता घोच्दा उता दुखनु पर्ने थियो
उता घोच्दा यता दुख्नु पर्ने थियो
तर घोर असहिष्णुताले खण्डित भएका छन
आपसी एकताका आधार ।
बदलिंदो प्रवाहमा बग्नु पर्ने थियो
फराकिलो भएर मनका फाँटहरुमा
तर झन उल्टो संकिर्ण मानसिकताले
सांघुरिएका छन विचारहरु
के हिमाल के पहाड
के तराई सबैको एउटै भोगाई छ
असहजता अभावहरुलाई
जनतालाई दुख दिन भ्याइ न भ्याइ छ
पीडा हाँसी हाँसी जिस्क्याइ रहेको छ
हाम्रै विलासिता र अदूरदर्शीताले
हाम्रो स्वाभिमानलाई खोक्र्याई सकेको छ
निहित स्वार्थ वश हामी फंसेका छौं
अरुको करकापमा
हाम्रा मूल्य मान्यता सिद्धान्त
परेका छन् धरापमा।
पिठो देखि रिठ्ठो सम्म
सबै कुरामा पर्दा अरुको भर
घर भएर पनि हामी भएका छौं बेघर
देश नै जब अस्तव्यस्त छ
नेतृत्ववर्ग पद हानाथापमा व्यस्त छ,
गान्धारी भएर राजनीति मस्त छ
हे चामल को सट्टा भुस साट्न खोजनेहरु
अहिले समय छैन गाली र गोलीको
गर्दै हिंडने ठट्यौलीको
तथ्य बुझ प्रत्येक नेपालीको भोलिको
पापड पड्काएर के नै हुने हो बोलीको
अब नेपाली मुटुहरु थालिसकेका छन्
तिम्रा छुचा सोचहरुलाई सरापण
अनुरोध यति मात्र छ
छाडिदेऊ आफ्नो झुप्रो जलाएर आगो तापन।
हामीले बुझ्नु पर्ने थियो
राष्ट्रियता सार्वभोमिकता अखण्डता स्वतन्त्रता
मात्र शब्द होइनन् किताबमा छपाउन
यो त सहिदहरु को नासो हो
नेपाल र नेपाली लाई मुस्काउन
संशंकित छ मन
के नै सक्ला यिनले जोगाउन!!
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)