~नीरज लवोजु~
कवि बासु शशीले पूर्णबहादुर वैद्यलाई पूर्ण वैद्य बनाइदिनुभयो। कुरा २०१४–१५ सालतिरको हो। नेपालभाषाको पनि राम्रो ज्ञान भएका कवि बासुकोमा ‘करेक्सन’ का लागि छोडिएको पूर्णबहादुर वैद्यको कविता शशी आफैले अनुवाद गरी बनारसबाट प्रकाशित हुने गरेको ‘उदय’ पत्रिकामा छाप्न दिनुभएछ – पूर्ण वैद्यको नाममा। त्यो कविताको शीर्षक थियो –’सन्तप्त यस धर्तीमा उभिएर।’ त्यतिबेलादेखि उनले पूर्ण वैद्यको नामबाट अथक कलम चलाउँदै आउनुभएको हो।
यद्यपि त्यो पूर्ण वैद्यको पहिलो कविता भने थिएन। विसं २०१३ सालमा उहाँले भक्तपुरको श्रीपद्म मावि (हाल उमावि र कलेज) बाट प्रवेशिका उत्तीर्ण गर्नुुभयो। त्यसभन्दा अघि २०१०–११ सालताका पद्म माविबाट प्रकाशित हुने गरेको ‘बिहान’ स्मारिकामा उहाँको कविता छापिएको थियो। त्यो कविताको शीर्षक पनि ‘बिहान’ नै थियो। त्यो कविता स्मारिकाको आवरणमै छापिएको थियो।
२०१३ सालमा प्रवेशिका उत्तीर्ण गरेर उहाँ त्रिचन्द्र क्याम्पसमा आईएमा भर्ना हुनुभयो। त्यतिबेला त्यहाँका विद्यार्थीहरूले ‘ज्योति’ नामको स्मारिका प्रकाशित गर्थे। त्यो स्मारिकामा पनि कवि पूर्ण वैद्यको ‘सन्ध्या’ शीर्षकको कविता छापिएको थियो। त्यो कविता नेपालभाषाबाट नेपाली भाषामा अनुवाद गरी छापिएको थियो।
ने.सं. १०८० (वि.सं. २०१७) तिर उहाँको ‘जी’ (म) शीर्षकको नेपालभाषाको कविता सूर्यबहादुर पिवाले निकाल्ने गर्नुभएको ‘सँझ्या’ पत्रिकामा प्रकाशित भएको थियो।
नेसं १०८४ (वि.सं. २०२१) मा कवि पूर्ण वैद्य, आफ्नो पहिलो कविता सङ्ग्रह ‘सरासू’ को लागि नेपालकै पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपा’ बाट पुरस्कृत हुनुभयो। उहाँले आफ्ना कविताहरू एउटा कापीमा सारी ‘श्रेष्ठ सिरपा’ को लागि बुझाउनुभएको थियो। त्यतिबेलाको प्रावधानअनुसार दुईजना विद्वानहरूले सिफारिस गरेपछि पुरस्कारको लागि कृति दर्ता गरिन्थ्यो। कृति छापिएकै हुनु पर्दैनथ्यो। प्रेमबहादुर कंसाकारलगायतले उहाँको कृतिमा सिफारिस गर्नुभएको थियो। च्वसापासाले प्रदान गर्ने त्यो पुरस्कारका दाता भाषासेवी स्वयंम्भुलाल श्रेष्ठ हुनुहुन्थ्यो। जम्मा चारसय रूपैयाँको सो पुरस्कार लिंदै कवि वैद्यले ३ सय रूपैयाँ बराबरको एउटा तक्मा र एकसय रूपैयाँ नगद पुरस्कार हात पार्नुभएको थियो।
साहित्यिक वृत्तमा नाम चलिसकेका व्यक्तित्त्वहरूले पनि भाग लिएको त्यो प्रतिस्पर्धामा यदाकदा मात्र नाम सुनिएका पूर्ण वैद्यलाई त्यो विशिष्ट पुरस्कार दिनुले एक प्रकारको तरङ्ग उठ्यो। गिरिजाप्रसाद जोशीलगायत केही लेखकहरूले पूर्ण वैद्यले उक्त पुरस्कार जित्नुलाई अस्वाभाविक मान्नुभयो। तर पुरस्कार विजेता छनोट टोलीका तीनैजनाले गरेको फरक–फरक मूल्याङ्कनमा ‘सरासू’लाई उत्कृष्ट बनाइएको थियो। कृष्णचन्द्रसिं प्रधान, माधवलाल कर्माचार्य र मोहन हिमांशु थापा निर्णायक मण्डलमा हुनुहुन्थ्यो। पूर्ण वैद्य पुरस्कृत हुनुलाई विवादित बनाउन खोजिए पछि नेपालभाषाको पत्रिका ‘सितू’ मा तीनैजना निर्णयकका निर्णय नै प्रकाशित गरिएको थियो।
समालोचक एवं साहित्यकार कृष्णचन्द्रसिं प्रधानले ‘सरासू’ को चर्चा गर्दै सो कृतिले पुरस्तकार पाएको वर्ष नेसं १०८४ (वि.सं. २०२१) नेपालभाषा साहित्यमा कोशेढुङ्गा हुने विचार राख्नुभयो। धेरै समालोचकले ‘सरासू’लाई नेपालभाषा साहित्यमा आएको नयाँ आयामको रुपमा लिनुभयो। रत्नध्वज जोशीले ‘सरासू’लाई बत्तीको संज्ञा दिनुभयो।
‘सरासू’ अघि नेपालभाषाका कविताहरू छन्दबद्ध हुन्थे। तिनमा सामाजिक चेतना दूर्लभ थियो र धर्म, प्रकृति एवं नारी सौन्दर्य नै कविताको मूल विषय हुन्थे। ‘सरासू’ त्यस्ता कविताको शिलशिलामा ‘आइसब्रेक’ थियो। कवि पूर्ण वैद्यका त्यस्ता नयाँ शैलीका कवितालाई धेरैले सुरू सुरूमा कविता मान्न पनि अस्वीकार गरे। ‘छन्द नभएको पनि कविता हुन्छ र !’ ‘अलङ्कार नभएको कविता के कविता !’, ‘नयाँ भनिने कविताहरू बुझिंदैनन्’, ‘दुरूह कविता’ जस्ता टिकाटिप्पणी पनि भए। ‘कविताया लागा’ (कविताको परिधि) कविता सम्बिन्धी आलेख सङ्ग्रहमा सङ्कलित ‘थौंया न्हु कविता गुलित दुरूह, गुतिल सम्प्रेषिक’ (आजका नयाँ कविता कति दुरुह कति सम्प्रेषणिक) आलेखमा कवि वैद्यले लेख्नुभएको छ –’चेसको एउटा गोटी चाल्न घण्टौं एकोहोरिने धैर्यता भएकाहरूले आजको जटिल जीवन, आजको युगीन अन्तरतम सत्यलाई परम्परागत शैलीबाट अलग गरी नयाँ शैलीमा व्यक्त गरिएको कविता सरसर्ती एकपटक पढेर नबुझेको भन्नु, थोरै विचार पनि नगरी ‘कसैले नबुझ्नु नै नयाँ कविताको विशेषता’ भन्नु नयाँ कविताको उपहास र बद्नाम गर्नुमा कतिबेला त मलाई पुरानो परम्परागत कविताका हिमायतीहरूको षड्यन्त्र त छैन भनी मनमा लाग्छ।’
उहाँ अगाडि लेख्नुहुन्छ –’मेरो विचारमा नबुझिने कविता नै बनिसकेको हुँदैन। जसरी खान नमिल्ने खाद्य हुँदैन। कुरा यतिमात्र हो कि, पढ्ने बित्तिक्कै बुझ्नु वा पढेर केही बेर सोचेर बुझ्नु। त्यसमाथि कविता कथाजस्तै पढ्नेबित्तिक्कै बुझ्न सकिने कुनै युगमा पनि भएन। कविता अनुभूति मात्र होइन, अनुभूतिको सार निचोड हो। कविता घटना र दृश्यको विवरण मात्र होइन। बरू जुन कुनै घटना, दृश्य अथवा क्रिया–प्रतिक्रियाभित्र ठिग्रिएको अन्तर्तम् सत्यको प्रकाशन हो।’
कालान्तरमा नयाँ शैलीको कविताको चुलिंदो लोकप्रियतासँगै आलोचकहरूको मुखमा बुझो लाग्यो, अझ धेरै जना नयाँ शैलीकै अनुसरण गर्दै कित्ता परिवर्तनतिर लागे।
‘लः लः खः’ (पानी मात्र पानी) कवि पूर्ण वैद्यको पर्यायवाचीजस्तै बनेको छ। सामान्यतः उहाँलाई धेरै मानिस ‘पानी कवि’ का रूपमा चिन्छन्। त्यो कविता सङ्ग्रहमा सङ्ग्रहित ८४ वटा कविता पानीको विम्बात्मक अभिव्यक्तिमा केन्द्रित छन्। कवि वैद्यले ती कविताहरूमा पानीको स्वभाव र मानिसको प्रवृत्तिलाई विम्बात्मक अभिव्यक्ति दिनुभएको छ। एउटै विम्बमा अनेक भाव नदोहोर्याई लेखिनु नै ‘लः लः खः’ (पानी मात्र पानी) कविता सङ्ग्रहको विशेषता हो र यस्तो विशेषता अन्य भाषा र भूगोलमा अत्यन्त दुर्लभ छ। यसमा सङ्कलित ४० वटा कवितांश अमेरिकी साहित्यप्रेमी वेन एमसिस्टले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ। बेलायतबाट प्रकाशित विश्वभरका छानिएका उत्कृष्ट कविहरूको सङ्कलनमा कवि वैद्यको कवितांश दक्षिण एसियाली खण्डको शीर्ष कविता बन्न सफल भएको छ। यो कविता सङ्ग्रहलाई कवि वैद्य स्वयंले अर्काे कवि मञ्जुलसम्म मिलेर नेपाली भाषामा अनुवाद गरी २०६९ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको छ।
धेरैलाई थाहा नहुन सक्छ –’लः लः खः’ कविता सङ्ग्रहको शीर्षक छनोटसँग युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना गाँसिएको छ। यो सङ्ग्रहका कविताहरू सुने पछि युगकवि श्रेष्ठ सधैं भन्नुहुन्थ्यो –’यो सङ्ग्रहको भुमिका लेख्ने अधिकार मलाई दिनुपर्छ है।’ तर कविता सङ्ग्रहको रूपमा छापिनु अघि नै युगकविको निधन भयो। त्यस कारण उनै सहृदयी कविको सम्मानमा उहाँले मनपराउनु भएको कविता ‘लः मात्र लः ख व गुगुं रङ्ग मखु’ (पानी मात्र पानी हो, त्यो कुनै रङ्ग होइन) लाई नै शीर्षकको लागि छानिएको हो।
फेरि ‘सरासू’ कै प्रसङ्ग दोहोर्याऊँ। नेसं १०८४ (वि.सं. २०२१) मा श्रेष्ठ सिरपाबाट पुरस्कृत भए पनि नेसं १०८७
(वि.सं. २०२४) मा भोटाहिटीका डबलकाजीले त्यसको प्रकाशन गर्नुभयो। त्यसबीच नेसं १०८६ (वि.सं. २०३२) मा सुन्दर मधिकर्मीको सम्पादनमा नयाँ शैलीले कविता लेख्ने १० जना कविका कविताहरूको सङ्कलन ‘काजलंदागु चा’ प्रकाशित भयो। सुरूमा त्यो कृति प्रकाशनमा कवि पूर्ण वैद्य पनि संलग्न हुनुभएको थियो। तर बासु शशीको कविता त्यसमा राख्ने वैद्यको आग्रहलाई मधिकर्मीले अस्वीकार गरेपछि कवि वैद्यले त्यसमा आफ्नो नाम राख्नुभएन।
कालान्तरमा समालोचक इन्द्र मालीलगायतले नयाँ शैलीको कविताको आरम्भ कृति ‘सरासू’ नभई ‘काजलंदागु चा’ भएको दाबी गर्नुभयो। ‘काजलंदागु चा’ भन्दा ‘सरासू’ पछि प्रकाशन भएको भन्दै उहाँहरूले त्यस्तो दाबी गर्नुभएको थियो। तर प्रकाशन मितिभन्दा लेखन मितिलाई नै आधिकारिक मान्नुपर्ने तर्क कवि पूर्ण वैद्यको छ। उहाँ भन्नुहुन्छ –’चित्तधर हृदयका साहित्यभन्दा राजा रणजीत मल्लको नाटक पछि छापियो। के त्यसो भए नेपालभाषामा चित्तधरकै कृति सुरूको भन्न मिल्छ वा मिल्दैन?’
कवि पूर्ण वैद्य विद्यालय तहमा पढ्दै गर्दा कम्युनिष्ट पार्टीको समर्थक समूहको सदस्य हुनुहुन्थ्यो र पछि कम्युनिष्ट पार्टीको सदस्य समेत बन्नुभयो। विद्यालय पढ्दै गर्दा उहाँले २–३ महिना भक्तपुरको सूर्यमढीमा किसानहरूको रात्री कक्षामा पढाउनुभएको थियो। गणेशप्रसाद मानन्धरले उहाँहरूलाई बेलाबेला पार्टी कक्षा सञ्चालन गर्नुहुन्थ्यो। २०१५ सालमा आईए पढ्न काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुन जाने क्रममा रत्नपार्कनेर संयोगले त्यतिबेलाका राजनीतिक कार्यकर्ता लखनदास बनेपालीसँग भेट भयो। कवि पूर्णसँगै ईश्वरीलाल कर्माचार्य पनि हुनुहुन्थ्यो। लखनदास बनेपालीले सोध्नुभयो –’तिमीहरू कहाँ जान लागेको?’
पूर्ण र ईश्वरीलालले आफ्नो प्रयोजन बताउँदा बनेपालीले भन्नुभयो –’देशको राजनीति यस्तो अवस्थामा पुगेको बेला कहाँ तिमीहरू क्याम्पस पढ्न जाने !’
उहाँको यो वचनसँगै दुवैजना क्याम्पसको फारम नलिई भक्तपुर फर्कनुभएको थियो।
पूर्ण वैद्य राम्रो चित्र बनाउनुहुन्थ्यो। त्यसकारण उहाँ त्यतिबेला कम्युनिष्ट पार्टीको चिन्ह ‘हँसिया र मकैको घोगा’ को चित्र बनाउनुहुन्थ्यो। अरू त्यसमा रङ्ग भर्थे।
कम्युनिष्ट पार्टी समर्थक समूहको बैठक नागपोखरीको बाबुसाहेव (सूर्यप्रताप राणा) को घरमा बसिन्थ्यो। पुष्पलाल श्रेष्ठ, तुलसीलाल श्रेष्ठ र शम्भुराम श्रेष्ठ बेला–मौकामा आएर कक्षा सञ्चालन गर्नुहुन्थ्यो। ल्यु शाओ चिको ‘अच्छे कम्युनिष्ट कैसे बने’, राहुल सांस्कृत्यायनको ‘भागो नही दुनियाँको बदलो’ जस्ता किताबहरू पढ्न दिइन्थ्यो। पूर्ण वैद्यले ‘अच्छे कम्युनिष्ट कैसे बने’ किताबको केही भाग अनुवादसमेत गर्नुभएको थियो।
एकदिनको बैठकमा नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै जुलुस गर्न दुईजनाको नाम दिनुपर्ने सल्लाह भयो। बैठकमा पूर्णमान तपोल र सूर्यलालको नाम प्रस्ताव गरियो। तर तपोलले आफ्नो घरायसी कारण देखाएर आफू नजाने बताउनु भएपछि पूर्ण वैद्य उहाँको सट्टा आफू जान तम्सिनुभयो। त्यसैअनुसार निर्णय भयो। संयोगवश भोलिपटक नै कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो। काठमाडौं नयाँ सडक, भूगोलपार्कमा त्यस दिन ठूलो जनसभा पनि आयोजना गरिएको थियो। यो वि.सं. २०१३ सालको घटना थियो।
सुरूबाटै व्यापक गरिब किसान, मजदुर, शोषित–पीडत जनताको पक्षमा कलम चलाउँदै आउनुभएका कवि पूर्ण वैद्य ‘आशनारां दाजु’ शीर्षकको कवितामा व्यक्त शोषित वर्गीय पक्षधरता बारम्बार स्मरण गर्नुहुन्छ। विम्ब प्रयोगमा सिद्धहस्त शब्दशिल्पी कवि वैद्यको भक्तपुरका प्रत्येक चोक, गल्ली, दबु, मन्दिरसँग जोडिएका किवंदन्तीमा आधारित कविताहरू लेख्ने र सङ्ग्रहित गर्ने चाहना पूरा भइसकेको छैन।
अर्थशास्त्रमा स्नातकोत्तर गर्दा गर्दै उहाँ पद्मोदय माविमा शिक्षक बन्नुभयो। शिक्षणसँगै अध्ययनलाई अगाडि बढाउने कठिनाइका कारण उहाँ एक वर्ष अर्थशास्त्र विषय पढेर एमएड पढ्नेतिर लाग्नुभयो। त्यसपछि उहाँले बुटवल क्याम्पसमा ६ वर्ष प्राध्यापन गर्नुभयो भने पाल्पाको तानसेनस्थित त्रिभुवन क्याम्पसमा कार्यक्रम अधिकारीको रूपमा एक वर्ष सेवा गर्नुभयो। ती जिल्लाहरूमा रहँदा पनि उहाँले नेपालभाषाको प्रचारमा योगदान गर्नुभयो। नेपालभाषा बोल्ने र पढ्ने अभ्यास नभएका नेवारहरूलाई त्यसप्रति उत्साहित गर्नुभयो।
उहाँले नेपालाभाषा साहित्य विकासमा महत्त्वपूर्ण भूमिका खेलेको ‘सितू’ पत्रिका अङ्क ५५ देखि ६९ सम्म सम्पादन गर्नुभयो। अनेकन प्रतिकूलता सामना गर्दै उहाँले ‘सितू’ लाई अगाडि बढाउनुभयो। तर अपेक्षित साथ–सहयोग नहुँदा उहाँले ‘सितू’ छोड्ने परिस्थिति बन्यो। ‘पाचिना’ नामको अर्को एउटा पत्रिका पनि उहाँले संयुक्त रूपमा सम्पादन गर्नुभएको छ।
भारतबाहेक उहाँले कुनै पनि विदेश भ्रमण गर्नुभएको छैन। भारतमा भएको सार्कस्तरीय कवि सम्मेलनमा उहाँको कविता स्रोताहरूले मन्द्रमुग्ध भएर सुनेको उहाँ सम्झनुहुन्छ।
विसं १९९७ (नेसं १०६० गुँलागा, गुपुन्हि) मा भक्तपुरको चोछें टोलमा जन्मिनुभएका वैद्यका दुई कविता सङ्ग्रह, एउटा कवितासम्बन्धी आलेख सङ्ग्रह र एउटा निबन्ध सङ्ग्रह पुस्तकाकारको रूपमा प्रकाशित छन्। ‘सरासू’ (२०२१/नेसं १०८४) र लः लः खः (२०५२/नेसं १११५) उहाँका दुई कविता सङ्ग्रह हुन्। ‘लः लः खः’ को नेपाली भाषामा अनुवाद हालै (२०६९) मा नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको छ। ‘सरासु’ कविता सङ्ग्रह दुर्लभ छ।
कवितासम्बन्धी वैद्यका आलेखहरूको सङ्कलन ‘कविताया लागा’ (कविताको परिधि) विसं २०४६/नेसं ११०९ मा प्रकाशित भयो। त्यस्तै उहाँको निबन्ध सङ्ग्रह ‘जि छगू अभिव्यक्ति युगया’ (म एउटा अभिव्यक्ति युगको) विसं २०६८ (नेसं ११३२) मा प्रकाशित भयो। उहाँका केही कृति त्रिभुवन विश्वविद्यालय नेपालभाषा विभागअन्तर्गत स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश छन्। त्यस अतिरिक्त उहाँका सयौं फुटकर रचना विभिन्न पत्र–पत्रिकामा प्रकाशित छन्।
शब्दशिल्पी मुर्धन्य कवि पूर्ण वैद्यले जनपक्षीय साहित्य र साहित्यकारबारे लेख्नुभएका केही पङ्क्ति उद्धरण गर्न गरौं – ‘समाजका उपेक्षित, दलित र शोषित जनताको पक्षमा, तिनमाथि भइरहेका सामाजिक अन्याय, अमानवीय शोषणप्रति सचेत बनाउने, तिनको जनशक्तिलाई बुझाउने, सङ्घर्षप्रति आस्था जगाउने रचनाका स्रष्टा नै जनपक्षीय स्रष्टा हुन्। सामाजिक अन्यायको विरूद्ध, अमानवीयता विरूद्ध साहित्य रचनामा उनीहरूले आफ्नो सीप उपयोग गर्दछन्। यही नै जनपक्षीय स्रष्टाको धर्म हो। …….. किसान–मजदुरको आम जीवन नै हाम्रो आजको सामाजिक यथार्थ हो। समाजका उत्पादक शक्ति किसान–मजदुरहरूप्रति उपेक्षा, शोषण, दमनलगायत सबै उनीहरूका दुःख कष्टका मूल स्रोत नै आर्थिक शोषण हो।’ (कविताया लागा)
कवि पूर्ण वैद्यको कलम सधैं बहुमत शोषित–पीडित नेपाली जनताको पक्षमा अथक रूपमा बढिरहोस्।
उहाँलाई धेरै– धेरै शुभकामना र हार्दिक सम्मान व्यक्त गर्दछौं। अन्त्यमा,
तिमीले मेरो हातै काटे पनि
म आफ्नै रगतले नै यो अन्यायको इतिहास लेख्छु।
हात काटिएको कलाकारले नै
युद्धकी देवी सृजना गरेको देश हो यो !
म त्यही कलाकारको रगत हुँ
म त्यही चिरागको आगो हुँ !
(हात काटिएको कलाकारले नै युद्धकी देवी सृजना गरेको देश हो यो)
(स्रोत : मजदुर दैनिक)