संस्कार परिचय : लोकदेवता गणिनाथ गोविन्द जयन्ती

~अज्ञात~

नेपालको मधेस र राजधानी काठमाडौँका साथै उत्तरभारतका लाखौँ परिवारद्वारा कुल देवताको रूपमा मनाइने गणिनाथ गोविन्द पूजनोत्सव हरेक वर्ष कृष्णाष्टमी शनिबार वा त्यसपछिको प्रथम शनिबारको दिन भव्यताका साथ मनाइन्छ ।

मध्यकालीन भारतमा जब जादु, टुना र डाइनी जोगिनको प्रकोप निकै बढेको थियो र अन्धविश्वासले अन्धकारमय युग हुन लागेको थियो त्यस अवस्थामा, त्रिलोकीनाथ, महादेव बाबाका अनन्यभक्त मनसाराम र उनकी निःसन्तान अर्धाङ्गनिी पुनमतिया शिलादेवी सन्तान प्राप्तिको लागि निकै लालायित थिए । मनसाराम दम्पतीको भक्तिले प्रसन्न भएर अघोरदानी जनकल्याणकारी महादेव बाबा स्वयं तीन दिनको नवजात शिशु बनेर कृष्णाष्टमी शनिबारको दिन मध्यान्ह एउटा पीपलको रूखमुनि भेट्टाइनुभएको थियो । मनसारामले भगवान् भोले शङ्करको प्रसाद सम्झेर नवजात शिशुलाई आफ्नो घरमा ल्याएर पालनपोषण गरेका थिए । त्यो ठाउँ भारतको बिहार राज्यको वैशाली जिल्लाअन्तर्गत हाजीपुरदेखि पचीस किलोमिटर पूर्व गङ्गानदीको तटमा पलबैया नामक ठाउँमा पर्दथियो ।

त्रिलोकीनाथ भोले शङ्करको अँशको रूपमा अवतरित गणिनाथ पाँच वर्षकै बाल्यकालमा अनेक लीला प्रदर्शन गर्न थालेका थिए र त्यसैक्रममा एक दिन घरबाट निस्केर यत्रतत्र घुम्दै विक्रमशिला विश्वविद्यालयमा पुगेर उच्चशिक्षा प्राप्त गर्नुभएको थियो । उहाँ वेद उपनिषद्, रामायण र महाभारत आदिको साथै दर्शन, सैन्य विज्ञान, आयुर्वेद, राजनीतिशास्त्र एवं इतिहासको गहिरो अध्ययन गरी त्यसमा दक्षता प्राप्त गर्नुभएको थियो । उहाँले आश्विन पूणिर्माको दिनमा आयुर्वेद विद्याद्वारा एउटी बाँझी गाईबाट दूध दुहाएर खीर बनाई गाउँलेहरूमा वितरण गराएको उल्लेख पाइन्छ । त्यसले निकै टाढाटाढासम्म उनको प्रसिद्धी भएको थियो । पलबैयाको राजा धर्मपालको एकमात्र छोरा परशुरामको सर्पदंशले अकाल मृत्यु हुन गएर निकै कोलाहल मच्चिएको थियो र कुनै उपाय नदेखेर जब अन्त्यमा दाहसंस्कारको लागि मसानघाटतिर लैजाने तयारी हुन लागेको थियो, त्यो कोलाहल सुनेर बाबा गणिनाथले त्यसलाई रोकेर नजिकैको झाडीबाट एउटा वनौषधि ल्याएर दिए । त्यो लगाउनासाथ राजाको छोरा पुनर्जीवित भए । त्यस घटनाले राजा निकै खुसी भएर आफ्नो राज्यको आधाभाग चौध सय बिघा भूमि बाबालाई चढाइदिनुभएको थियो ।

असमको कामरूप कामख्याको नैनामैना जोगिनको जादु-टुनाको प्रकोप मिथिलाञ्चलसम्म पुगेकोले पीडितहरू त्राहिमाम् थिए । सिद्धसन्त बाबा गणिनाथ असमको यात्रा गरेर कामरूप कामाख्यामा योगासिद्धी गरी नैनामैनालाई गुणरहित बनाएर लाखौँ मानिसहरूलाई भय र आतङ्कबाट मुक्त गर्नुभएको थियो । पलबैयाका मान साह र पुण्यवतीदेवी समेतका दम्पतीद्वारा पालित क्षेमावती पार्वतीकी अवतार थिइन् । लोकतारक बाबा गणिनाथ राजा धर्मपालद्वारा प्राप्त भूमि संरक्षणको लागि क्षेमावतीको साथ वसन्त पञ्चमीको शुभदिनमा परिणय सूत्रमा बाँधिनुभएको थियो । दाम्पत्य जीवनमा उहाँले रामचन्द्र राय र श्रीधर राय तथा शिलमती र सोलमती पछि कनिष्ट सुपुत्र गोविन्दजी पाँचौँ सन्तान थिए । गोविन्दजी साक्षात् विष्णुको रूपमा भाद्रकृष्ण अष्टमी शनिबारको मध्यान्हमा अवतरित हुनुभएको थियो र बडो प्रतापी हुनुहुन्थ्यो तर पण्डितहरूले अनेक अनिष्ट हुने बताएर नवजात शिशुलाई एउटा बाकसमा राखेर गङ्गानदीमा बहाउन लगाएका थिए । दुष्टहरूका अनेक दुष्कर्मको बाबजुद पनि उहाँ सकुशल बाँच्नुभयो । त्यसपछि मातापिताद्वारा उहाँको लालनपालन भयो र दस वर्षकै बाल्यकालमा उहाँ घरबाट निक्लेर सन्न्यास लिनुभएको थियो । बालबम्हृचारी गोविन्दजी शास्त्र, शस्त्र र तन्त्र तीनै विद्यामा निपुर्ण हुनुहुन्थ्यो । उहाँले महोत्तरीको पडौल गाउँस्थित कारी बाबालाई बन्धनमुक्त गराउनुको साथै बाबा गणिनाथद्वारा बन्धनमा राखिएकी नैनामैनालाई गुणहीन बनाएर समाप्त पार्नुभएको थियो ।

त्यसैगरी मुसलिम सुल्तानद्वारा हिन्दू मठ-मन्दिरहरू तोडिँदै सोनपुरस्थित हरिहरनाथ मन्दिरको लुटपछि हाजीपुरदेखि पूर्व विदुपुर नजिकको केदलीवनमा गोविन्दजीले मुसलिन आक्रमणकारीहरूको छक्का छोडाउनुभएको थियो । त्यसबेला घमासान युद्ध भएको थियो र त्यसमा उनका दिदीहरू शिलमती र शोलमतीले पनि ठूलो योगदान पुर्‍याई वीराङ्गना सिद्ध भएका थिए । गोविन्दजीको तीरले मुसलमान नायक घाइते भएको थियो । शरणागत भई देहत्याग गरेको थियो । हाजीपुरको केदली वन आज पनि गङ्गा नदीको किनारमा कयौँ किलो मिटरमा फैलिएको छ ।

साम्राज्यवादी शक्तिलाई परास्त गरी पलवैयालाई स्वतन्त्र बनाएपछि बाबा गणिनाथ गोविन्द बाबाको गाथा यश र कृति टाढाटाढासम्म फैलियो । बाबा गणिनाथ एक महान् वैद्यराज थिए । उनले बारा जिल्लाको सिमरौनगढको कुष्टरोगी सरयुग साहलाई निको पारेपछि उनका दुईवटै छोराहरू परुकुराम र दयाराम जो पितालाई निको पार्न धेरै कष्ट भोगेर पनि असफल भएका थिए, बाबा गणिनाथले निको पारेपछि दुवै दाजुभाइ शिष्य बनेर बाबाको महिमागानमा लागेका थिए ।

त्यसपछि बाबा गणिनाथले एउटा विद्वत्-सभा आमन्त्रित गरेका थिए । त्यसमा ९३४ गाउँका मानिसहरू पुगेका थिए र बाबा गणिनाथ समेतका ९३५ ठाउँका मानिसहरू रहेकाले ती सबैको डिह (गोत्र) सगोत्रीय मानिए र उनीहरू बीचमा विवाद नहुने परम्परा आजसम्म कायम छ, जो निकै समाजोपयोगी मानिन्छ ।

बिहारको वैशाली जिल्लाअन्तर्गत हाजीपुरदेखि पूर्व धर्मपुर राजपलवैयामा गंगा नदीको तटमा चौधौँ शताब्दीमा बनाइएको बाबा गणिनाथ गोविन्द भगवान्को प्राचीन मन्दिर १९९९ साल (सन् १९४२) को बाढीमा गङ्गा नदीमा काटिएकोले अर्को मन्दिर निर्माण गरिएको थियो तर त्यो पनि २०४९ सालको बाढीमा ध्वस्त भएपछि अब अलि उत्तरपूर्वको आमको बगैँचामा २०६२ सालमा पाँचौँ मन्दिर बनाइएको छ । त्यस ठाउँमा अब एउटा विशाल मन्दिर र धर्मशाला निर्माणको योजनाअनुसार काम भइरहेको छ । पलवैयाको त्यस पवित्र ठाउँमा हरेक वर्ष कृष्णाष्टमी शनिबार भएमा त्यसै दिन अथवा त्यसपछिको पहिलो शनिबारको दिन गणिनाथ गोविन्द जयन्ती महोत्सव बडो धुमधामको साथ मनाइन्छ । वि.स.ं २०६५ भाद्र १४ गते १२५८ औँ गणिनाथ गोविन्द जयन्ती समारोह बडो भव्यताका साथ आयोजना गरिएको थियो । पलवैयामा एक लाखभन्दा बढीको भीड लागेको थियो ।

बाबा गविनाथ गोविन्द भगवान्ले सर्व जन हिताय काम गर्नुभएकाले सबै जातजातिद्वारा कुल देवताको रूपमा पुजित हुनुभएको छ । मध्यदेशीय कानुर हलवाइको साथै ब्राहृमण, राजपुत, तेली, सुडी, कलवार, रौनियार, सोनार, कोइडी, लहेडी र डोमसम्मका घरमा कुलदेवताको रूपमा पुजित हुने गरेकाले नै बाबा गणिनाथ गोविन्दलाई लोकदेवता मानिएको हो ।

त्यसैले नेपालको जनकपुरधाम, विराटनगर, वीरगञ्ज, जलेश्वर आदि ठाउँहरूमा उहाँको मन्दिर बनाइएको छ र ती ठाउँहरूका साथै अब त राजधानी काठमाडौँमा पनि वि.सं. २०५३ सालदेखि बर्सेनि नेपाल मध्यदेशीय वैश्य सेवा समितिद्वारा पुजनोत्सव मनाइन्छ । त्यसैगरी इनरुवा, राजविराज आदि ठाउँहरूमा पनि हरेक वर्ष जयन्ती महोत्सवको आयोजना गरिन्छ ।

त्यसैगरी भारतको विहार झारखण्ड, उत्तरप्रदेश, उत्तराखण्ड, दिल्ली, हरियाणा, मध्यप्रदेश, छत्तीस गढ, उडिसा, पश्चिम बङ्गाल र असमसमेतका प्रान्तहरूका सयौँ ठाउँहरूमा बाबा गणिनाथ गोविन्द भगवान्को जयन्ती ठूलो श्रद्धा र भक्तिपूर्वक मनाउँछन् । नेपालमा लाखौँ परिवारका कुलदेवताको रूपमा पुजित बाबा गणिनाथ गोविन्दको जयन्तीमा सबै पलबैया जान नसक्ने भएकोले नै वि.सं. २०२९ साल चैत्र २५ गते जनकपुरधामदेखि एक किलोमिटर दक्षिणमा रहेको लादोबेला गाउँको दूधमतीको तटमा रमदैया निवासी सय वर्ष नाघेका रामलोचन साहको संयोजनमा एक सभाको आयोजना भएको थियो र सबैको सहमतिले वि.सं. २०३० सालको गङ्गा दशहराको दिन बाबाको मन्दिर बनाउन थालनी भएको थियो ।

बाबा गणिनाथ गोविन्द भगवान्को मन्दिरमा बाबा गणिनाथ र क्षेमावती माताको साथै गोविन्द बाबाको मूल तीन पुस्ता छन् । त्यसका साथै बाबा गणिनाथको जेठो सुपुत्र रामचन्द्र राय र माहिलो श्रीधर राय तथा बुहारीहरू चतुरा कन्या र बिजली बहुरीया तथा छोरीहरू शिलमती र शोलमती तथा नातिहरू चक्रपाणि, नीलकण्ठ, जगन्नाथ बौद्धश्रापत र साहेब रायका छुट्टाछुट्टै पुस्ताहरू राखिएका छन् । उहाँका सम्पूर्ण परिवारका १४ जनाका पुस्ताहरू रहेकोले चौदह देवान भनिन्छ । त्यसको साथै अगाडिमा हनुमानजीको ध्वजापताका छ र नित्य पुजन हुन्छ । जयन्ती महोत्सवको अवसरमा मन्दिर अगाडि बाबा बालखण्डीको धुनी लगाइन्छ र त्यसको विभूतिले अनेकनको दुःख दर्द समाप्त हुन्छ र कतिपय निःसन्तानले सन्तान पनि प्राप्त गरेका किंवदन्तीहरू छन् । त्यस अवसरमा टाढाटाढाबाट पुगेका भगतीयाहरूले गरेका झुमरले लोकसंस्कृतिलाई झल्काउँछ ।

जयन्तीको अघिल्लो दिन शुक्रबारको साँझ देवताहरूलाई निमन्त्रणा गरिन्छ र शनिबार बिहान कलश यात्रा हुन्छ र त्यसपछि मध्यान्हमा बाबा गणिनाथ गोविन्दको पुजनोत्सवमा केरा, चिउरा, फलफूल, पान, सुपारी, नरिवल, खीर, अमधुर, धूप, अगरबत्ती, कपुर आदि चढाउनुको साथै दुई ठाउँमा बारीमा दूध राखिन्छ । त्यसैगरी बाबालाई धोती, मातालाई साढी र गोविन्द बाबालाई कोपिनको कपडा चढाई मन्दिरलाई निकै आकर्षक बनाइएको हुन्छ ।

(स्रोत : मधुपर्क २०६६ साउन)

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.