~डा. विमला श्रेष्ठ~
सलाम
बिदाको हात हल्लाउँदै
वर्तमानसँगै सती गएको
विवेकलाई सलाम ।
सलाम
बुद्धको आँगनमा घाइते
नैतिकतालाई सलाम ।
सलाम
लाम लागेर
जुलुसमा नारामा भाषणमा
सल्बलाइरहेको स्वार्थहरूलाई सलाम ।
सलाम
यो सभ्य र विकसित नगरमा
असभ्य प्रदर्शन गर्दै
निर्लज्ज लिलाम भइरहेको
सभ्यतालाई सलाम ।
सलाम
जलविद्युत् आयोजनाको
ठूलो साइनबोर्डमुनि
अलिकति उज्यालो खोज्दै
निस्पट्ट अँध्यारो रातमा हराएको
देशको अनिश्चित
भविष्यलाई सलाम ।
सलाम
निरोगी देशको चिन्तामा
पीडाको भाग पस्केर थालमा
आँसुको तिनहुसँगै निल्ने
यो देशका प्रत्येक
नागरिकहरूलाई सलाम ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)