कथा : जीवनको मुस्कान

~सुमल कुमार गुरुङ~

सरलाले आधाजति सेतै फुलेका केशहरु पन्छाउँदै चश्मा नाकमाथि सार्दै इन्दुको फ्रेममा सजिएको तस्वीरलाई कपडाले पुछ्दै आफ्नो अतीतमा हराउन थालिन् । १९७६, फेब्रुवरी महिनाको पारिलो घाम, ससाना बादलका टुक्राहरु आकाश माथि-माथि कपासको भुवाजस्तै अचल देखिन्छ, मानौं, कुनै चित्रकारले नीलो क्यानभासमा ती सेता बादलका टुक्राहरु कोरेका हुन् । तुरा पिकको पूर्वबाट उदाएको घामको किरणले सरलाको आँगनलाई पोतिसकेको थियो । घरछेउको बगैंचामा घामको न्यानो आनन्द लिँदै सरला र कमला हिजो बेलुकि हेरेको हिन्दी फिल्म मुगल-ए-आजमको बारेमा कुरा गर्दै थिए । सरला भन्थिन्- “दिलिप कुमारको एक्टिङ मन पर्‍यो मलाई” । बहिनी कमलाले, “मलाई त गीतहरु मन पर्‍यो, सबै हिट् छन्, हैन दिदी ?” कमलाले दिदीलाई जिस्क्याईन्, “अँ, दिदी, दिलिप कुमारको अनुहार र इन्दु सरको ठ्याक्कै मिल्छ, हैन ?” भन्दै खिल्खिलाउँदै र हाँस्दै जिस्क्याईन् । इन्दुको नाम लिनेबित्तिकै अलि बनावटी रिसाए जस्तै गरी बहिनीलाई भनिन् – “तँचाँहि खाली इन्दुको सपना देख्छस् कि क्या हो ?” बहिनीले “खोइ, कुन्नि कसले देख्छ ? ” भनेर खितित्त हाँस्दै भाग्न थालिन्, जसै सरलाले तिनलाई बनावटी रिस देखाउँदै पिट्नलाई पछि-पछि लघारिन् । कमला दौडँदै भन्दै थिईन्, “दिदी, भरे इन्दुसर आउनु हुन्छ रे, तपाईंलाई माग्न” दौडँदै दिदीले नभेट्ने गरी बगैंचा वरिपरि भाग्न थालिन् । सरलाले मु्ड्की पार्दै बहिनीलाई पछ्याउँदै गईन् । त्यसपछि बहिनी बच्चाहरु खेल्ने ठाउँ बरगाँछीतिर भागेर आँखाबाट ओझेल भईन् । सरला घरभित्र पसिन् । आफ्नो कोठातिरतिर गईन् र झ्याल खोलेर बाहिर तिरको दृश्य हेर्न थालिन् । उनको मनमा आज एकप्रकारको काउकुती, रोमाञ्च र आनन्दको अनुभूति भइरहेको थियो । सुदूर हावाखानाको डाँडा र मुन्तिरको बाटो सफा दोबासीपाराको सरलाको घरबाट देखिन्थ्यो । अलि तल इन्दुको पुरानो पाताले छाएको घर देखिन्थ्यो ।

सरला त्यस घरलाई हेरेर गत वर्षदेखिको घट्नाक्रमहरु सम्झन थालिन् । कस्तो छिटो, एक वर्ष थाह नपाई बितिसकेछ । सरलाको परिवार तुरा आएको पनि एकवर्ष भन्दा बढी भइसकेछ । आसमको सलेन्बाडी भन्ने ठाउँबाट पल्टन सरुवा भएर तुरा आउँदा सबै परिवार सँगै आएका थिए । ब्रह्मापुत्र नदी छेउको गर्मी ठाउँ भन्दा तुराको हरियाली र सौन्दर्यमयी पहाडी ठाउँ उनीहरुले मन पराए । तुरामा पहिलेदेखि नै धेरै नेपालीहरुको बसोबास भएको हुनाले नेपाली माध्यमबाट पढाउने स्कुल पनि थियो । तर, सरलाचाँहि आठकक्षासम्म मात्र आसमी भाषाको माध्यमबाट पढाउने स्कुलमा पढेकी थिईन् । तुरामा आएपछि पढाइ छोडिसकेकी थिईन् । तर, भाइहरु र बहिनीचाँहि नेपाली स्कुलमा पढ्न थाले । पल्टनको सरुवा भइरहने हुँदा पढाइमा पनि ढिलाइ भएको थियो । उनी अहिले अट्ठारह पुगिसकेकी थिईन् । यौवनले उनमत्त युवती, नयन नक्श मिलेको, गोरोवर्ण, चिटिक्क सलक्क मिलेको अग्लो शरीर, बैंश धपक्क बलेकी, उन्नत उरोजहरु र आँखामा शसक्त आकर्षण भएकी युवती थिईन् । यही उमेर हो जब युवतीहरुले आफ्नो सपनाको राजकुमारलाई मनमा साँचेर राखेका हुन्छन् र आँखामा सपना बोकेर पर्खिरहेकी हुन्छिन् । तिनले पनि सम्झँदै गईन्, पोहोर चुनभट्टीको संसारीमाईको पूजाको दिनमा पहिलो पटक इन्दुसँग चारआँखा हुँदा कसरी एकहोरिएकी थिईन् र कतिबेला मन दिइसकेकी थिईन्, थाहा नै भएन । एकदम आकर्षक जीउडाल मिलेको, उँचो ललाट, बलिष्ट भुजाहरुको धनी नौजवान इन्दुको आकर्षणमा सरला लोलाएकी थिईन् । इन्दु पनि सरलालाई देख्नेबित्तिकै कुनै अप्सरा धर्तीमा अवतरण गरेकी जस्तै मोहित भएर एकोहोरो अपलक हेर्न थालेको थियो । मान्छेहरुको उपस्थितिको अहास भएता पनि एकले अर्कालाई अरुको आँखा छल्दै ती दुबैका आँखाहरुले एकअर्काको आँखाहरु दिनभरि पछ्याई रहे । बेलुकि छुट्ने बेलासम्म एकअर्काको मनमा अड्डा जमाइसकेका थिए । अचम्म कस्तो ? सायद यही नै होला पिरती बसेको, माया गाँसेको । जानकारहरुले भन्ने गर्छन्, माया बनाउने कुरा होइन, यो त आफै हुने कुरा हो ।

इन्दुलाई सरलाको आकर्षणले खिंचिरहेको थियो । उसलाई सरलाबारे केही थाहा थिएन । स्कुले विधार्थीहरुबाट सरलालाई पछि थाहा भयो, इन्दु नेपाली स्कुलमा पढाउने सर रहेछन् भनेर । तर, इन्दुलाई सरलाबारे केही थाहा थिएन । ऊ दिनरात सरलाको रुपको छवि आँखामा राखेर खोजिरहेको थियो सरलालाई । कहाँकी होली, अति सुन्दरी ती गाजालु ठूला-ठूला आँखाहरुले आफूलाई पछ्याई रहको भान हुन्थ्यो इन्दुलाई ।

सुबेदार गज बहादुर थापाले बच्चाहरु पढाइमा कमजोर रहेकोले ट्यु्सन पढाउनका लागि स्कुलमा गएर इन्दुसरलाई आग्रह गरे, कारण सलेन्बाडीबाट आएकाहरु एकैचोटि नेपाली माध्मममा पढ्दा उनीहरुलाई सकस भएको थियो । हप्ताको दुर्इदिन मात्र दुर्इ-दुर्इ घण्टा पढाउने सर्तमा इन्दुले मान्यो । गजबहादुरका छोराहरु गोवन्द, दीपक र कमला स्कुलामा पढ्दै थिए, तर, सरलाले तुरा आएपछि स्कुल छोडिसकेकी थिईन् । बाबाआमाले पढ्नलाई कर नलगाएको होइनन् आफैले पढ्ने ईच्छा नगरेकिले समय पास गर्ने माध्यम आमासँग फैमली वेलफेयर सेन्टरमा सिलाइ-बुनाइको तालिम साथै बी.एस.एफको फौजीहरुका वर्दी (कपडा) सिलाउने काम गर्थिन् । सरलाको बाबाको धेरै जसो भारत-पूर्व पाकिस्तान (वर्तमान बंगलादेश) को सिमानामा भएको हुँदा सीमा चौकीमा नै पोस्टिङ भइरहन्थ्यो ।

पहिलो दिन इन्दु पढाउन आउँदा आचनक इन्दुलाई घरमा देखेर सरला खुशी र संकोचले डल्लै परिन् । कुनै एकजना सर पढाउन आउनेछन्, उनलाई राम्रोसँग चिया चमेना बनाएर दिनु भनेर आमा छिमेकमा गएकी थिईन् । कोठा भित्रबाट उनीबाहिर निस्कनै सकिनन् । इन्दुलाई सरलाको घर हो भनेर थाहा थिएन । गज बहादुरले स्वागत गर्दै बच्चाहरुलाई बोलाए । बच्चाहरुले सरलाई चिनेको हुनाले आ-आफ्नो ब्याग लिएर बैठक कक्षामा नै बसे । सरलाले इन्दुलाई भित्रबाट पर्दाको छेल पारेर हेरिरहेकी थिईन् । गजबहादुरले सरलालाई बोलाए, “सरला छोरी, सरलाई खाजा बनाएर दिनु है, म अहिले क्याम्पतिर जान्छु” भन्दै, “सर, मेरो क्याम्पमा काम छ, तपाईं खाजा नलिई नजानुहोला” भनेर बाहिर उनी पनि बाहिरिए । सरला लाजले रातोपिरो हुँदै, “हुन्छ” भनिन्, तर, इन्दुको सामुन्ने जाने तिनलाई हिक्मत भइरहेको छैन । इन्दु बच्चाहरुलाई पढाउनमा तल्लीन थियो । चिया खाजा बनाइसकेपछि साहस बटुल्दै इन्दुको अघि पुगेर टि टेबलमा चियाखाजा राख्दै नमस्ते गरिन् र लाजले निहुँरिदै खाजा लिनलाई भनिन् । साक्षात् आँखाले खोजिरहेकी मनकी रानीलाई प्रथमपल्ट तिनको नै घरमा देख्दा एकछिनसम्म अपलक इन्दुले हेरिरहिन् । खुशी र रोमाञ्च एकैसाथ इन्दुले सरलाको अन्तरमन आँखाले पढिसकेको थियो । इन्दुले नमस्ते फर्काउनु पूर्व नै कमलाले हाम्रो सरला दिदी भनेर चिनाईन् । सरला लाजले भित्र चौकातिर गईन् ।

यसरी हप्ताको दुर्इदिन पढाउन आउने क्रममा सरला र इन्दु नजिकिँदै गयो । दुबैको माया झ्याङ्गिदै मौलाउँदै गयो । दुर्इ माया गर्ने मुटुहरु दुर्इ तन एकमन हुँदै गयो एकआपसमा लीन कहिले भयो, थाह नै भएन । मिलनको घडिमा आतुर हुन थाल्यो । उनीहरुको प्रेमराग घरपरिवार र वरपरका सबैले सुने । अन्ततः सुबेदार गजबहादुर दम्पतिले नै पहल गरे, “इन्दु बाबु हामी बिन्ति गर्छौं, हाम्रो छोरीको रोजाइमा हामी खुशी छौं, यदि तपाईंलाई समस्या नभए हामी चाँडै तपाईं र छोरीको बिहे गरेर ढुक्क हुन्छौं, लोकलाजको डर हामीलाई भयो” भनेर प्रस्ताव राखे । इन्दु पढेलेखेको र तुरा शहरमा उसलाई एकजना मेहनती युवाको रुपमा चिनिन्थ्यो । उसले तुरुन्त, “बुवा हजुरहरुले फिकर नगर्नुहोला, म छिट्टै आफन्त लिएर सरलाको हात माग्न आउँछु” भनेर जवाफ दियो । सरलाले यो कुरा सुनिरहेकी थिईन् । एउटा नया“ जीवनको शुरुवातको कल्पनामा डुबिन् ।

इन्दुको बुवाआमा ऊ किशेार अवस्थाको हुँदा नै बितेको हुनाले उसको यस दुनियामा कोही थिएन । बडो दुःख गरेर ससानो काम गर्दै आफ्नो पढाइलाई निरन्तर दिएर आफ्नो खुट्टामा उभिन सफल भएको थियो । जब उसको कोही साहारा थिएन, उसलाई कसैले वास्ता गरेनन्, तर, ऊ अहिले आफ्नो खुट्टामा उभेर सक्षम एकजना युवाको रुपमा देख्दा यही समाजबाट छोरी दिने कैयौं ललायित छन् । सरला यिनै कुराहरु सम्झिन् । बुवासँग अस्ति कुरा भएको पछि दुबै जना सातौं आकाशमा खुशीको विमान चढेर कल्पनामा सयर गरिरहेका थिए । आज इन्दुले नै कुनै आफन्तसँग हात माग्न आउने हुँदा घरमा पनि खुशीको माहौल थियो । गजबहादुर दम्पति बजारमा सौदा गर्न बिहानै गएका थिए । सरला हतार-हतार घरको सफाइ गर्न थालिन् ।

सरलालाई माग्न आज इन्दु आफ्नो अलि टाढाको साईनोमा काका पर्ने लिलाबहादुर प्रधान र सुबेदार दम्पतिको आग्रहअनुसार पण्डित बाजे भोलानाथ शर्मा र साथी लखनलाई लिएर आएको थियो । समाजको साक्षी भनेझैं आएको मात्र थिए, तर, मञ्जुरी पहिले नै थियो । पण्डित बाजेले चिना हेरेर अति राम्रो सरलाको जीवनमा उज्यालो नै उज्यालो छ भनेर विवाहको लगन, दिन सबै हेरेर बताए । सुबेदार दम्पति ढुक्क भए । इन्दु र सरला आतुर भएर विवाह दिनको प्रतीक्षामा बसे ।

केहीदिन भित्र विवाह धुमधामसँग भयो । युग युग, जन्म जन्मान्तर सँगै बाँच्ने एकअर्काको भएर रहने वाचाका साथ दुबैको वैवाहिक जीवनको शुरु हुन्छ । मधुमास बितेर गयो । छुट्टी पनि सिद्धियो । इन्दु पढाउन स्कुल जान थाल्यो । सरला दिनभरि घरसफाइ, लुगाफाटाको सफाइ, सौदा, चुल्हाचौका गर्दै बेलुकि इन्दुको बाटो हेरेर बस्थिन् । हिजोसम्मको चेली आज कसैको भाग्य भएर जीवनरथ हाँकिरहेकी थिईन् । इन्दुको जीवनको एकलोपन अब रहेन । ऊ पुर्णरुपमा सफल जिन्दगी बिताउन थाल्यो । कसको सपना हुँदैन, एउटा सानो घर होस्, मायालु पत्नी र आफू पछिको सन्ततिलाई निरन्तर दिनलाई सन्तान सुख । यो अनुभूतिले सबै मान्छेलाई प्रेरित गरेको हुन्छ । त्यस्तै इन्दु र सरलाको पनि एउटा सन्तानको प्रबल ईच्छा पलायो । तल्लो घरको लिलाको दुर्इजना बच्चाहरु झोला बोकेर स्कुल गएको देख्दा सरलाले सन्तानको सपना आँखामा बुन्न थाल्थिन् । कहिलेकाँहि अत्यारलाग्दा लिलाको घरमा जान्थिन् । लिलाको पतिले डिस्ट्रिक्ट कौंसिलको बस चलाउँथ्यो । उनीहरुको जीवन सफल र सुखमय थियो । लिलाको एकजना देवर राजु थियो, कहिलेकाँहि ऊ दाइ-भाउज्यूकोमा आएर बस्थ्यो । ऊ बेकार थियो र दाइ-भाउज्यूसँग पैसा मागेर सताउँथ्यो । सरलालाई देख्ने बित्तिकै ऊ सरलाको रुप लावण्य देखेर दंग परेर एकटक लगाएर हेरिरहन्थ्यो । यस्तो अपूर्व सुन्दरी उसले आफ्नो जीवनमा कहिले पनि देखेको थिएन । भर्खरै विवाह भएर आएकी दुलही एक्लै घरमा बोर भएको बेलामा लिलाको गएर बस्ने गर्थिन् । त्यसैबेला राजुको नजर सरलामाथि परेको थियो । राजुको आचरणबारे अनभिज्ञ सरलाले उसलाई भाइसरह नै मान्थिन्, तर, राजु सरलाको रुप लावण्यमा आसक्त भएको थियो ।

इन्दु र सरलाको सपना विवाह भएको तेश्रो महिनामा पूरा भयो । इन्दु गर्भवती भईन् । सरलाको स्याहार-सुसारमा इन्दुले केही कमी राखेन । ऊ स्कुलमा पढाउँदा पनि उसको मन घरमा नै हुन्थ्यो । बेलाबखत बाबाआमा र भाइबहिनीहरु दोबासीपाराबाट भेट्न इन्दुको घर हावाखानामा आउँथे । जीवनको स्वर्णिम क्षणहरु अत्यन्त सुगमता साथ बितिरहेका थिए । यसैबीच अवसर पारेर राजु पनि सरलाको घर आउँथ्यो । सरलाले भाइसरह नै इज्जत दिन्थ्यो । दिन बित्न कति बेर लाग्छ ? सरलाको गर्भमा रहेको बच्चाको महिना पुग्यो । तुराको मिशन अस्पतालमा एउटा स्वास्थ्य सुदर्शनरुपी तेजस्वी छोरो जन्माईन् सरलाले । इन्दु र सरलाको जीवनमा प्रतीक्षित ठूलो खुशी छोरा बनेर भित्रियो । इन्दु भावविभोर भयो । आफ्नो प्रियषी पत्नीलाई सुमसुम्याउँदै ललाटमा स्नेही चुम्वन नयनभरि खुशीको आँशु छचल्काउँदै भन्यो, “मैले तिमीबाट सबै सुख पाएँ, एउटा छोरा दियौ तिमीले, म पूर्ण भएँ” । अहिले एक्लो जीवनको आभास इन्दुलाई पटक्कै छैन । परिवारको तीन सदस्य खुशीको भवसागरमा आनन्दित सैर गरिरहेका थिए । उनीहरु आफ्नै भाग्यमा दङ्ग थिए । सुबेदार दम्पतिको पनि मनोकामना पूरा भयो । नाति जन्मेपछि खु्शी भएर धेरै सौगात लिएर परिवारका सबै जना आए । बच्चाको नामाकरण गर्दा पण्डितले दिएको नामबाहेक बोलाउने नाम धेरेले धेरै नाम दिएता पनि आखिरमा इन्दु र सरलाले दुबैको नामको अघिको शब्द चयन गरेर “इसर” राख्यो । साँच्चै मान्छेहरुमा गर्भधारण गरेपछि बच्चाको नाम राख्ने उत्सुक्ता निकै प्रवल हुन्छ । बच्चा जन्मेपछि बढ्न बेर लाग्दैन । तोतेबोलीमा घरै थर्काउने खिलखिलाहटमा घर उज्यालो भएको थियो । मानौं, सुखी संसारको पर्याय त्यो घर बनेको थियो । राजु पनि आइरहन्थ्यो र भाउज्यू साइनो गाँसेर मदद्त गर्ने निहुँमा आउथ्यो । इन्दु र सरलाले उसको दाज्यु भाउज्यूकोमा आउँदा कहिलेकाँहि आफ्नो घरमा पस्दा उनीहरुलाई केही आपत्ति थिएन ।

एक वर्षको भयो इसर । वार्षिक परीक्षा सिद्धिएलगत्तै शीतयामको स्कुले विदा भयो । यसपल्ट बच्चापनि निकै ठूलो भएकोले इन्दु र सरलाले पनि यो स्कुलको विदामा शैक्षिक भ्रमणमा आफूहरु पनि जाने सल्लाह गरे । यसपटकको शैक्षिक भ्रमण दार्जिलिङ्ग जाने योजना थियो र शिक्षकहरुबाट दुर्इजना शिक्षकहरु जाने बन्दोबस्त मिलाएइका थिए । ती शिक्षकमध्ये एकजना महिला शिक्षिका पुष्पा क्षेत्री र इन्दुलाई स्कुलको प्रशासन फाँटले हेडमास्टरको शिफारिसमा मिलाइएको थियो । सरला निकै खुशी देखिन्थिन् । भ्रमणमा जाने दिन पनि आयो । जुन दिन भ्रमणमा हिँड्नु थियो, त्यस रातभरि इसरलाई ज्वरो आयो । राति नै अस्पताल लगेर जँचायो । रातभरि बेचैन रहेर जागाराम बसे दुबै जना । विहानपख बच्चाको ज्वरो हरायो, तर, डाक्टरले बच्चालाई राम्रो ख्याल गर्ने सल्लाह दिँदै यतिखेर मौसमको कारणले गर्दा बच्चाहरु बिमार हुन्छन् । बच्चालाई बाहिर हावामा धेरै नडुलाउनु भनेर डाक्टरले सल्लाह दिए । इन्दुले भ्रमण रद्द गर्ने कोशिस गर्‍यो तर अन्तिम समयमा यो मुश्किल थियो । सरलाले नै भनिन्, “इसरको लागि केही फिकर नगर्नु अर्कोपाला भ्रमणमा जाउँला, यसपटक हजुर जानुहोस्, स्कुललाई अप्ठ्यारो नपारौं भनेर सल्लाह दिईन् । हालतलाई देखेर आफ्नो प्राणभन्दा प्यारो बच्चा र पत्नीलाई छाडेर इन्दु विधार्थीहरुलाई लिएर दार्जिलिङ्गको शैक्षिक भ्रमणमा निस्क्यो ।

स्कुलका विधार्थीहरु दुर्इवटा बस रिजर्भ गरेर हाँस्दै गाउँदै आफ्नो गन्तव्य दार्जिलिङ्गतर्फ लागे, तर, इन्दुको मन आफ्नो बच्चा र पत्नी सरलाको चिन्तामा सहज थिएन । कारण सरलाको बुवाको पोस्टिङ भएर दुर्इ महिनापहिले अगरतल्ला गइसकेका थिए । आमा, भाइहरु र बहिनी पनि एक सप्ताहपहिले जाँच सिद्धिएलगत्तै बाबासँगै गएका थिए । फौजी जिन्दगीमा ठाउँ-ठाउँमा तीन-तीन सालको अन्तरालमा प्राय स्थानान्तरण हुने चलन छ जसले गर्दा कतिपए जेहेन्दार विधार्थीहरुको पढाइमा वाधा हुन्छन्, तर, कसै-कसैलाई यस कुराले फरक पार्दैनन् । पल्टनको पनि स्थानान्तरण समयसापेक्ष ढिलो चाँडो हुने गर्छ । तुराबाट अगरतल्ला निकै टाढा र फेरि नौकरी गर्ने मूलमान्छे नभएपछि त्यतिबेला आवास सुविधा दिने थिएन । यसैले गर्दा वाध्य भएर पूरा परिवार नै लिएर जानु पर्ने वाध्यता गजबहादुरलाई पनि आयो । सरलालाई परिवार यसरी जाँदा दुःख लागेता पनि पति र बच्चाको सानिध्यले सन्तोष बन्न कर लाग्यो ।

विधार्थीहरु रंगोरा हुँदै गौहाटी पुगे । एकदिन गौहाटीमा बिताएपछि भोलिपल्ट दार्जिलिङ नै पुग्ने गरी सखारै रवाना भए । विधार्थी जिन्दगीको सुनौलो क्षण, ती विधार्थीहरु रमाइरहेका थिए । हाँस्दै गाउँदै बसभित्र रमाइरहेका थिए । उनीहरु पूरा संसार भुलेर साथीसँगीहरुको रमाइलो माहोलभित्र डुबेका थिए । इन्दुले उनीहरुलाई साथ दिइरहेता पनि पल-पल सरला र इसरको यादले इन्दुलाई तड्पाइरहेको थियो । यता घरमा सरलाको त्यही हाल थियो । बाबाआमा, परिवार, पति सबै टाढा थिए । अहिले सरला एक्लै इसरलाई भुलाउँदै पतिको प्रतीक्षामा थिईन् । दिन र रात धेरै लामो प्रतीत भइरहेको थियो सरलालाई ।

रमणीय दृश्य दार्जिलिङ शहरको पहाड, हिमश्रृंखला, रमाइला स्थानहरु, चियाबारीहरु, टाइगर टापबाट देखिने झुल्के घाम, सानो छक्-छक् गर्दै गु्ड्ने रेल र स्वागत आतीथ्य सत्कार गर्ने दार्जिलिङवासीहरुलाई मनमा राखेर रमाइलो भ्रमण पूरा गरेर विधार्थीहरुलाई सुरक्षित तुराको लागि एक हप्ते भ्रमण पछि फर्के । गौहाटीमा एकरात बिताएर फेरि भोलिपल्ट तुराको लागि फर्के भ्रमणदल । सबै विधार्थीहरु एक राग एक सुरमा रमाउँदै गाउँदै थिए । गाडीले दुधनाइ पार गरेर गारो पहाडको पहाडी भूभाग हुँदै तुरातर्फ बढ्दै गन्तव्य छोट्याउँदै थियो । भनिन्छ दुर्घटना र दुर्दशा संकेत दिएर आउँदैन । गाडी द्रूत गतिमा बढिरहेको बेला पहाडी नागबेली बाटोको घुम्तीबाट आचनक गाडीको सन्तुलन बिग्र्यो ड्राइभरले नियन्त्रण गर्दागर्दै गाडी तल सयमिटर खोंचमा पल्टिँदै खस्यो । विधार्थीहरुको चिच्याहट् र रोदनमा मानौं, पहाडै थर्कियो । अर्को गाडी रोकेर मदद्तको लागि तल झरे । त्यतिबेला फोनको सुविधा थिएन । केवल फाटफुट गाडीहरु चल्थे । अर्को गाडीको विधार्थीहरुको मदद्तबाट घायल विधार्थीहरुलाई सडकमा ल्याउने कठिन प्रयास रह्यो । सूर्यदेव पश्चिमतिर भयभित विधार्थीहरुलाइ अन्धकारमा छाडेर डुब्दै थियो । चोट नलागेको कोही थिएनन् । सबैभन्दा गम्भीर चोट ड्राइभर र इन्दुलाई लागेको थियो । उनीहरु दुबै विहोस थिए । हतार-हतार घायल विधार्थीहरुसहित विहोस भएका इन्दु र ड्राइभरलाई अर्को बसमा तुराको सिभिल अस्पताल ल्याउँदै गरेको बेलामा बीएसएफका केही फौजी गाडीहरु आएको देख्यो । सहायताको लागि कन्वाइ कमाण्डरले बाँकी रहेका विधार्थीहरुलाई लिएर तुरा आए । गाडीको दुर्घटनाको खबर आगो सरह तुराभरि फैलियो ।

सरलाले यो खबर पाउने बित्तिकै अस्पतालमा बच्चालाई च्यापेर दौडिँदै अस्पताल पुगिन्, तर, त्यतिबेलासम्म इन्दुको जीवनदीप बुझिसकेको थियो । सरला निस्तब्ध भईन् । हिजोसम्म हाँसिरहेको जीवन अहिले रोदनको अविरल आँशुको भेलमा हराउँदै गयो । एउटा अन्धकारमयी अनिश्चित भविष्य सरलाको अघि थियो । उनी एक्लो भईन् । स्कुलका सरहरु, विधार्थीहरु र केही शुभचिन्तकहरुले केही दिन सान्त्वना र ढाडस दिए, तर, उनी शून्यतामा इन्दुलाई खोजिरहिन् । यौवनको भरभराउँदो उमेरमा नै विधवा बनिन् । अब बाँचेर के अर्थ जब जीवनसाथीले नै छाडेर गयो । शून्यातामा इन्दुले बोलाएजस्तै भान हुन थाल्यो । केहीदिनसम्म बौलाही जस्तै भईन्, आत्महत्याको सोच पलायो मनमा जब उनी एक्लै थिईन् । डोरी पासो हालेर मर्ने आँट गरेर डोरी घाँटीमा सिउरिने बेलामा इसर नींदबाट ब्युझेर जोरजोरले रुन थाल्यो । डोरी घाँटीबाट निकालेर दौडँदै आएर बच्चालाई पक्रेर घरै थर्काउन्जेल रोईन् । सरलालाई भान भयो मैले इन्दुको नासोलाई छाडेर जान हुँदैन, यदि म नै मरेर गए मेरो कलेजोको टुक्डाको के हाल होला भन्दै विवश नारी बच्चालाई समातेर रुन थालिन् ।

एक्लो आमा कसैको साहारा थिएन । बच्चालाई हुर्काउने अठोट् लिएकी सरलाले धेरै ठोकर खानु पर्‍यो । स्कुलबाट केही राहत र संचयकोषको रकम् र बीमाको रकम प्राप्त भयो, तर, त्यो रकम जीवन धान्नपर्याप्त थिएन । यो दुःखद समाचार सुनेर सरलाको बाबाआमा उनलाई लिन आए र त्रिपुरा लिएर जाने कर गरे । सरलाले बाबाआमाको सुझावलाई मानेनन् । उनी तुरामा नै बसेर बच्चालाई पालेर बस्ने अठोट् गरिन् । कारण सरलालाई इन्दुको घरको प्रत्येक इट्टा र भित्ताहरुसँग माया थियो । इन्दुले छाडेर गएता पनि घरको छायामुनि इन्दुको अनुभूतिले उनलाई छाडेको थिएन । जीवन संघर्ष गर्ने अठोट त्यही घरमा नै बसेर इन्दुको नासो इसरको लागि ३० वटा बसन्त पार गरिन् आज उनले । सरलाको भरभराउँदो यौवनको लालसामा समाजका केही बदमास र धनढ्याहरुले फकाउने प्रयास गरे, कतिले फकाएर बिहे गराउने प्रयास पनि गरे तर सरलाको एउटै लक्ष्य इन्दुको नासो इसरलाई लालानपोषन गरेर सक्षम मान्छे बनाउने थियो । अबला नारीलाई मदद्तको लागि कही न कहीबाट ईश्वरले हेर्ने गरिन्छ । मास्टरनी बज्यै पुष्पादेवीले सरलाको जीवनमा बाँच्ने आधार बनाइदिईन् । उनी पनि सेवानिवृत्त एक्लो महिला थिईन् जसले इन्दुलाई आफ्नो छोरोसरह माया र स्नेह गर्ने गर्थिन् । मास्टरनी बज्यैले इसर दुर्इ वर्षको भएपछि सिभिल अस्पतालमा आफ्नो भाइ डाक्टर तेजमार्फत काममा लगाइदिईन् । पछि त्यसै अस्पतालबाट नर्स तालिम गरेर अस्पतालमा नर्सको रुपमा काम गर्दै थिईन् । छोरालाई पढाउँदै गईन् । इसर पढ्नमा तेज थियो र सधै उत्कृष्ट अंक लिएर पास हुँदै गयो । जीवनको सबै संघर्षहरु पार गरेर आज सरला एकजना सक्षम डाक्टर छोराको आमा पनि भईन् । छोरा डाक्टर भएपछि आमालाई नर्स सेवाबाट सेवा निवृत्त गरायो ।

आज इन्दु बितेर ३० वर्ष भयो । सरलालाई नाति वरदानले, “बजु आमा ! बाबा आमाआउनु भयो” भनेर दौडँदै आएर पाखुरामा समात्यो । सरला अतीतबाट आफूलाई नातिको निर्दोष चोखो हँसिलो मुहारमा पाउँछिन् । उनी मनमनै इन्दुको फोटो हेर्दै भन्छिन्, “प्राणनाथ तपाईंको नासो इसरले मेरो एकलो जीवनमा मुस्कान ल्याएको छ” छोरा इसर र बुहारी निर्मलाले, “आमा” एकैचोटि भन्दै भित्रिए । इसर अहिले त्यही तुरा सिभिल अस्पतालको डाक्टर सार्जनको हैसियतमा काम गर्दैछन् । बुहारी तुरा हाइकोर्टको सरकारी वकिलको हैसियतमा काम गर्दैछिन् । सबैको मुहारमा खुशी र प्रसन्नता थियो । सायद यही नै हो जीवनको मुस्कान ।

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.