बाल कथा : हिरो

~ललिता ‘दोषी’~lalita-doshi

बिहानको त्यस्तै आठजति बजेको हुँदो हो । आँगनमा उभिएर ढोकातिर हेर्दै

गुप्तमायाले बोलाइन् – ‘ए , शोभा नानी ! शोभा नानी ! भित्र कोही छैन कि क्या हो ? ’

बाहिर निस्किएर सुकुल ओछ्याउदै शरद्ले भने –‘ ए ,बजै पो आउनुभएछ बस्नुहोस् न । आमा त बिहानै मेलामा जानुभयो । मेलाबाट थाकेर आउनुहुन्छ तर..।’

सुकुलमा बस्दै गुप्तमायाले भनिन्–‘ तर के बाबु ? तैँले भन्न नचाहे पनि मलाई सबै थाहा छ ।

तेरो घरमा आटोपिठो छैन होला । कष्णे झाडापखाला लागेर मरेपछि तिमीहरूको बिजोग नै भयो । भर्खर नौ वर्षको भए पनि तैले तीस वर्षे आमाको मन बुझाएको छस् । त्यसैले खुसी छे ऊ ।’

शरद्ले भने – ‘ अहो ! बजै त सूर्यजस्तै पो हुनुहुँदोरहेछ सबै कुरा देख्ने । आमा पनि मेरो मन बुझाएको छस् , भन्नुहुन्छ । घैँटोमा  एक मुठ्ठीजति पिठोरहेछ त्यसैमा धेरै गुन्द्रुक राख्छु । पानी हाल्छु, । नुनखोर्सानी हालिदिन्छु अनि पकाउँछु ।  हामीलाई पुगिहाल्छ नि ! हगि बजै ? म त आइडिया मास्टर हुँ नि !  आँखाभरि आँसु पार्दै शरद्ले पुन ः कुरा थपे । साँच्ची ,म ठूलो भएको भए बाबु मर्नु हुदैनथ्यो नि ! सरले भन्नुभएको झाडापखाला लाग्दा धेरै जीवनजल पानी , झोल चिजहरू पो खान दिनुपर्छ रे । धामीझाँक्री देखाउने हैन रे क्या ! मैले गर्दा काकाको छोरा ,रत्ने मामा,म्याउची दिदीले धामीकोमा नगई धेरै जीवनजल पानी पिउनु भयो । अहँ, मर्नु भएन नि !’

गुप्तमायाले छक्क पर्दै भनिन् –‘ए त्यसो पो हो ? मैले त यस्तो कुराको त ख्याल नै गरकी थिइनँ ।’

शरद्ले नम्र स्वरमा भने –‘यस्तो कुरा त सबैले थाहा पाउनुपर्छ रे क्या ! आमाले भन्नुभएको बाबु मोर्दा म दुई वर्षको थिए रे । मैले त केही थाहा नै पाइनँ बजै ! बाबु हुँदा त हामीले सधैँ पेटभरि भात खान्थ्यौँं  रे । बाबुले मलाई धेरै माया गर्नुहुन्थ्यो रे । बाबुले ल्याइदिनु भएको खेलौना त अभैm पनि छ । हवाइजहाज, साइकज, मोटर केके ….. । ठूलो भएपछि त मैले छिमेकीहरूका घरमा श्राद्ध हुँदा , छिमेकीका घरमा विवाह हुँदा मात्र पेटभरि खानेकुरा खाएको छु । घरमा धेरै खायो भने आमा त भोक्कै हुनुहुन्छ भनेर खान्न नि ! खेलौना किन्न त कहाँ पैसा हुनु नि ! ’

गुप्तमायाले धोतीको सप्काले आँसु पुछ्दै भनिन् –‘ चुः चुः  हेर ! मेरो बुद्धिमा त कीरा नै परेकोरहेछ । तैँले पो मेरो आँखा खोलिदिइस् बाबु ! अहिले नै हाम्रो घरमा हिँड । उतै खाएर स्कुल जालास् । तँमाथि केही मलजल ग¥यो भने धर्मै लाग्ला । शोभाले केही वर्ष हाम्रो घरमा दुःख गरी भने तँ अवश्य ठूलो मान्छे बन्छस् । म शोभालाई मेलामा डाक्न आएकी थिएँ । खैर, तँसँग भेटभयो । उसले त पटक्कै पीर देखाउने होइन ।’

शरद्ले  खुसी हुँदै भने–‘ म पनि काम गर्छु नि बजै ! पख्नुहोस् , स्कुलको ब्याग लिएर आउँछु ।
आमाले पनि अब त पेटभरि भात खान पाउनुहुन्छ  हगि ?’

उठेर अगाडि लाग्दै गुप्तमायाले भनिन् –‘ भोलि राम्रो हुनेले आजै राम्रो लक्षण देखाउँछ भनेको यही हो । यति सानो उमेरमा आफ्नोभन्दा पनि आमाको चिन्ता छ । ल राम्रोसँग ताल्चा  लगाएर आइजो । तैले आमाको पीर नै नगर । शोभालाई म लिन पठाउँला । ’

दुवैजना कुरा गर्दैे घरमा आए ।  आँगनमा उभिरहेको प्रनिततिर हेर्दै गुप्तमायाले भनिन् –‘ हेर, बाबु ! को आयो, आजदेखि शरद् यही बस्छ ।’

प्रनितले रिसाउदै भने–‘ मैले यो लुतेलाई  राम्रोसँग चिनेको छु । यो हाम्रो स्कुलको हिरो हो । यसको पढाई, खेल सबै राम्रो भएकोले नव सरले हिरो भन्नुभएपछि सबैले हिरो भन्न थाले । वा ! हिरो त नोकर हुन पो आएछ । आजदेखि हिरोले डनले जे भन्यो त्यही मान्छ । आफू त डन हुँ डन….।’

गुप्तमायाले प्रनितको कपाल मुसार्दै भनिन् – ‘बाबु ! सरले भनेको ठीक हो । तिमी पनि शरद्जस्तै हिरो हुन सिक न । हिरोले त सधैँ राम्रो कामगर्छ , बुझ्यौ ? डन भन्ने गुन्डालाई पनि तह लगाउँछ । ’

हेर्नुहोस् न अब हिरोसिरो डनकोअगाडि कसरी जिरो हुन्छ भन्दै प्रनित रिसाएर स्कुलतिर हिँडे ।

बजैतिर हेरेर हँसिलो अनुहार पार्दै शरद्ले भने –‘बजै ! पीर नगर्नुहोस् । सरले भन्नुभएको सधैँ हाँस्नु पर्छ रे क्या ! अनि स्वास्थ्य राम्रो हुन्छ रे । अबदेखि आमा पनि हाँस्नु हुन्छ । दाइ पनि ज्ञानी भइहाल्नु हुन्छ नि !’
गुप्तमायाले हाँस्दै भनिन् – ‘पीर हटाउन त आइहालिस् नि बाबै !  अब पीर गर्दिनँ ।’

शरद् कक्षाभित्र पसेपछि प्रनितले शरद्तिर इसारा गर्दै भने –‘ऊ हाम्रो घरको नोकर आउनु भयो । अब त क्या आनन्द ब्याग पनि बोक्नु पर्दैनँ । लुते हिरोसँग डराउनु पनि पर्दैन ।’

सँगै बसेको स्पर्शले प्रनिततिर हेर्दै भने–‘ आनन्द होइन अब तिमीलाई त बोर हुने भयो नि यार ! नोकरचाहिँ फस्ट हुन्छ । तिमीचाहिँ बल्लबल्ल पास हुन्छौ । घरमा गाली गर्नु हुन्न त ?’

मैले त बाटोमा सबै कुरा सोचेर आइसकेँ । कुरा सिम्पल छ । तँ फेल भइनस् भने हाम्रो घरमा बस्नै पर्दैन भनिदिन्छु भै हाल्छ नि !
रोजीले अगाडिको बेन्चबाट पछाडि फर्किँदै भनिन्–‘गुड आइडिया ! त्यसकी आमाले दुःख
पाउलिन् भनेर पनि त्यो फेल हुन्छ । खूब आमाको कविता लेखेको थियो नि !

जूनभन्दा राम्री छिन्
पूmलभन्दा राम्री
सबैभन्दा राम्री छिन्
यिनै आमा हाम्री ।

जान्न पनि कति जानेको नि ! ऊ राम्रो भएको कारणले सधैँ हामीले पो गाली खानुपर्छ । सबै सरमिसको जिब्रोमा लुते  हिरोकै नाम झुन्डिएको छ । लुतको मुखमा उसको आमाको नाम भुन्डिएको छ ।’

कक्षा कोठामा मिस आएपछि सबै विधार्थी गुड मर्निङ्ग, मिस  भनेर उठे । सिट डाउन भनेपछि सबै
बसे । कृपा मिसले  शरद्तिर हेर्दै  भनिन्  –‘ आज शरद्को मुख त निक्कै उज्यालो छ । किन शरद्
, हामी पनि सुनौँ न ?’

प्रनितले उत्तर दिए –‘ आज उसले मीठोमीठो खानेकुरा खान पाएको छ । उसकी आमाले पनि मीठो खान पाउनुहुन्छ भनेर खुसी भएको होला ।’

मिसले शरदतिर हेर्दै भनिन् –‘हो शरद् , खास कुरा त्यही हो ?’

शरद उठेर हाँस्दै भने –‘हो, मिस ! आजदेखि आमाले पेटभरि मीठो खान पाउनुहुन्छ । मलाई पढ्दा, हिँड्दा पनि गाह्रो हुन्थ्यो । आज त गाह्रो नै भएको छैन भन्या ! अब आमालाई पनि काम गर्दा गाह्रो हुँदैन होला । आजदेखि हामी प्रनित दाइकोमा बस्ने । बजैले, अन्टीले कति माया गर्नुहुन्छ । आन्टीले त मलाई नयाँ ड्रेस सिलाई दिने रे । आमालाई पनि …. ।’

प्रनितले रिसाउदै भने–‘चुप लाग् , म तेरो दाइसाइ कोही होइनँ । दाइ भनिस् भने  हाम्रो घरबाट नै निस्किनु पर्ला बुझिस् ?’

कृपा मिसले सम्झाउदै भनिन् –‘ प्रनित, तिमीले शरद्जस्तो भाइ पाउनु त भाग्य हो । तिमीहरू राम्रोसँग मिल । शरद् तिमी सधैँ यसरी नै  खुसी होऊ । ल अब किताब पल्टाऊ ।’

स्कुल छुट्टीपछि बाहिर निस्किएर प्रनितले शरद्लाई ब्याग दिँदै भने –‘ला लुते !  ब्याग घरमा राखिदे । म साथीहरूसँग खेलेर आउँला । ’

शरद्ले प्रनितलाई सम्झाउँदै भने–‘ हुन्छ , म ब्याग बोकिदिन्छु तर मसँग घर हिँड । पर्सिदेखि जाँच छ । तिमी पढाइमा कमजोर छौ  म पढ्न सिकाइदिन्छु ।’

स्पर्शले उस्काउँदै भने  – ‘हेर ,प्रनित तिम्रो घरमा बसेको एक दिन भएको छैन । हुकुम पो चलाउन थाल्यो माग्नेले अब के गर्छौ  ?’
शरदलाई मुक्का कसेर हान्दै प्रनितले  भने –‘हुकुम चलाउने मुखलाई ला यसरी हान्छु बुझिस् ?’

शरद्ले रुदै भने –‘ ऐया मरे नि ! ओठबाट रगत नै आयो ।’

महेशले, हाँस्दै भने’–‘ पिटाइले बल्ल लुतेको मुख बन्दभयो । जाऊ चौतारोमा खेल्न भन्दै हिँडे । ’शरद् अँध्यारो मुख लगाएर घरतिर आए ।

शोभा पिँढीमा चामल केलाउँदै थिइन् शरदलाई देखेपछि आत्तिँदै भनिन्–‘    लौन, के भयो बाबुको ओठमा ? ’
बजैले भित्रबाट निस्किँदै भनिन् –‘ हरे शिव ! ओठ नै काटेर आएछ । आइजो औषधि लगाइदिन्छु । के भयो  ? प्रनित खोइ त ?’

शरद्ले  भने–‘ म स्कुलबाट आउँदा लडेर ओठ काटेको हो । धेरै दुखेको छैन । प्रनित अहिले आउँछन् रे । साँच्ची आमा ,तपाईँ पनि म जस्तै खुसी हुनुहुन्छ हगि ?’

शोभाले शरद्लाई मुसार्दै भनिन् –‘साह्रै खुसी छु बाबु ! छोराले के खाएर स्कुल जाला भनेर पीर गर्दै मेला गएकी थिएँ । बजैले त मेरो सबै पीर हटाइदिनु भएछ । ’

शरद्ले पिँढीमा बस्दै भने –‘ म पनि ठूलो भएपछि आमा, बजै, आन्टी, अङ्कल प्रनित दाइ सबैलाई खुसी दिन्छु । प्लेनमा घुमाउँछु ।’

‘तेरो इच्छा भगवान्ले पु¥याउँन् । ल खाजा ल्याइदिन्छु भन्दै । बजै घरभित्र पसिन् ।’

शरद् प्रनितको घरमा बसेको दुईतीन महिना भए पनि प्रनित शरदलाई पटक्कै मन पराउदैनथे । सधैँ जसो निहुँ  खोजेर  पिट्थे ।  एकदिन स्कुल छुट्टीपछि घर फर्किदै थिए महेशले कुलोतिर हेर्दै भने–‘ ला ! बिहानसम्म त कुलामा साँगु थियो । अहिले त साँगु नै बगाए छ । अब यो कुलो कसले पहिले तर्छ ?’

स्पर्शले फुक्र्याउदै भने –‘जो डन हो त्यही पहिला कुलो तर्छ । हाम्रो साथीहरूमा सबैभन्दा बलियो डन त प्रनित नै हो क्यार !’

शरद्ले सम्झाउँदै भने –‘पख प्रनित , यस्तो ठूलो भेलमा जानु हुँदैन । कुलो फराकिलो छ, फड्किन सकिँदैन ।   कोही ठूलो मान्छे आएपछि सँगै तरौँला । पोहोर वर्षामा रत्न भाइ यस्तैमा परेर त मरेका हुन् नि ! बिर्सियौ ?’
शरद्लाई धकेले लडाउदै प्रनितले भने –‘तँ जस्तो डरछेरुवा मात्र मर्छन् । हामीलाई त यति जाबो पानीले केही गर्दैन बुझिस् लुते ? या हु,  ला….भन्दै प्रनित कुलोमा हाम फाले ।’

प्रनितलाई कुलोले बगाउन थालेपछि महेश र स्पर्श  घरतिर कुलेलम ठोके ।  शरद् आऊ, साथीहरू प्रनितलाई बचाऔँ भन्दै,  उनलाई बगाएतिर दौडिए  ।

कुलोमा बगेका प्रनित  केही तल पुगेपछि  ठूलो ढुङ्गामा अड्किए । शरद्ले बल गरेर प्रनितलाई
कुलोबाहिर निकाले । त्यतिबेलासम्म अरू चारछ जना ठूला मान्छेहरू पनि जम्मा भए ।   शरद्ले
रुदै भने –‘दाइलाई केही भयो भने के गर्नुृ ? आँखा पनि खोलेका छैनन् । काकाहरू छिट्टो पेटमा
थिच्नुहोस न ।’

काकाले पेटमा थिच्दै भने –‘पीर नगर शरद्, यो छट्टुलाई केही हुँदैन । ऊ पानी पनि ओकल्यो ।’

गुप्तमाया रुदै आएर प्रनितलाई मुसार्दै भनिन् –‘    लौन, के भयो  मेरो बाबालाई ? उठ बाबा ! उठ ! घरमा कोही छैनन् । सबै बजार गएका छन् अब के गर्नु ?’

प्रनित होसमा आएपछि आँखा खेलेर  यताउता हर्दै भने –‘ ऐया मरे नि ! खोइ, महेश, स्पर्श  उनीहरू नभएकोभए म आज मर्ने नै थिएँ आमा ! ’

काकाले    रिसाउदै भने –‘ खोइ,  अरूलाई त हामीले देखेनाँै  । शरद्ले आत्तिँदै बचाओबचाओ भनेकोले हामी आयौँ । कुलोको डिलैडिल यही कुद्दै थियो । धन्न यो पनि कुलोमा खसेन । ज्यानको बाजी लगाएर बचाउने शरदे् नै हो ।’

हिलाम्य भएर काँपिरहेको शरद्लाई गुप्तमायाले मुसार्दै भनिन् –‘यो त देवता नै हो । यसको गुन गाएर नै सकिन्नँ । हैन, कसरी कुलोमा परे नाति  ?’

शरद्ले डराउदै भने–‘ हेर्नुहोस् न मैले गर्दा नै प्रनित कुलोमा हाम फालेका हुन् ।’

शरद्लाई पिट्न हात उठाउदै गुप्तमायाले  भनिन् –‘ पाजी ! मैले तँलाई यही गर्न घरमा ल्याएकी होइन् ?’
सुतेको ठाउँबाट ज¥याकजुरुक उठेर हजुरआमाको हात समात्दै प्रनितले  भने–‘ होइन ब्यारे ! शरद्ले त कुलोमा जानु हुँदैन भनेर मलाई समात्दै थिए । साथीहरूले डनलाई केही हुँदैन भने, उनलाई धकेलेर म नै कुलोमा गएको हुँ । हिरो नभएको भए डन त  मर्ने पो रहेछ । अस्तिन पनि उनी लडेर ओठ काटेको होइन नि  ! उनले जाँच छ , पढ्नुपर्छ भन्दा मैले नै मुक्का हानेको हुँ । तँ जाँचमा फेल भइनस्  भने घरबाट निकालिदिन्छु भन्दा शरद्ले म फेल हुन्छु भनेका थिए । उनकी आमा दु ःखी हुनुहोला भनेर सबै कुरा लुकाएका हुन् । मैले धेरै सताउदा पनि भाइले बचाए । आजदेखि भाइ शरद्ले भनेको सबै कुरा मान्छु । धेरै पढ्छु । म पनि राम्रो काम गर्ने भाइजस्तै हिरो बन्छु ।’ प्रनितको कुरा सुनेपछि शरदको मायाले सबैका आँखा रसायो ।

शरद्को टाउको मुसार्दै गुप्तमायाले भनिन्–‘ उफ ! कुरा यति गहिरो पो रहेछ । झन्डै पिटेकी म मूर्खले ।  शरद्ले गर्दा एउटै भएको नातिलाई गुमाउनु परेन । सज्जनसँगको भेटले गर्दा महा मूर्ख प्रनितले सुध्रिने मौका पाए  । सबैले सहयोग ग¥यौ म साह्रै खुसी छु । यो गुन कहिल्यै  भुल्ने छैन । आजदेखि मेरा दुइटा नाति भए ।’

प्रनितले भने –‘हो आमा !  मलाई पनि अब अरू डन साथीहरू चाहिँदैनँ । हिरो भाइ भए पुग्छ ।’
प्रनितको कुरा सुनेर सबै खुसी हँुदै हाँसे । गुप्तमाया ,शरद् र प्रनित कुरा गर्दै अगिअगि लागे ।
अरू सबै शरद्को तारिफ गर्दै आ–आफ्नो बाटो लागे ।

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.