कविता : आउनेछ त्यो दिन

~कमल कुमार~kamal-kumar

आउनेछ त्यो दिन
जहाँ पड्किनेछन् ट्वीटहरु
बहिराको नक्कल गर्नेका
फुट्नेछन् कानका जालीहरु

आउनेछ त्यो दिन
जहाँ भित्ताभरि पोतिनेछन्
अन्धाले पनि देख्न सक्ने
गाढा, चम्किला रङहरु
र पोल्नेछ केवल रङको रापले

त्यो दिन पक्कै आउनेछ
जब भन्न सक्छौं
कालो कालो नै हो
सेतो सेतो नै हो
पक्कै आउँछ त्यो दिन
जुन दिन जङ्गबहादुरले
सिधा रुखलाई बाङ्गो भन्ने छैन

त्यो दिन
सुनिने र देखिने भएर आउँछ
जहाँ भीड र झण्डाले होइन
आन्दोलन गर्नेछन्
अक्षरहरुले
साँच्चै पड्किनेछन् ट्वीटहरु
रङ्गिनेछन् फेसबुकका भित्ताहरु

त्यो दिन
उठ्नेछन् आवाजहरु
भाते स्वार्थभन्दा धेरै माथि
खकार झैं चिल्ला र घीनलाग्दा सम्बन्धभन्दा
धेरै धेरै माथि

जहाँ सत्य जस्तै झूठ हुनेछैन
जहाँ सत्य झूठ जस्तै हुनेछैन ।।

फेब्रुअरी १५, २०१२ काठमाण्डु

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.