~विप्लव प्रतीक~
गरम महीनाको एक रात
प्राण जान गाह्रो परेको बिरामीझै
रात प्रातःको सँघारमा शनैःशनैः सर्दैछ।
शहर, दिनभरि दौडिएर
अहिले मुर्दासमान सुतिरहेको छ
कुकुरहरुको सामूहिक गान थामिएको
एक निमेष मात्र भएको छ।
हुनसक्छ, एकैछिनपछि फेरि बेमतलब हुरूरू भुक्नेछन्
र, एउटा बालक फेरि बिउँझनेछ―
दूधको बदला दूध किन्न गएकी हुन सक्नेछिन् एउटी आमा।
यता म कोठामा निद्रा हराएर टोलाइरहेछु
यहाँभित्र दिमागमा छिर्न नसकेका ज्ञान
असरल्ल छन्
तन्ना कात्रोझै बेरिएको छ पलङमा
ढिकुरोझै तकिया एकातिर लडिरहेको छ
जिन्दगीलाई सरल बनाउन जटिल विचारहरु
कोठाको एक भित्ताबाट अर्को भित्तामा ठोक्किंदै
तातो चिममा डामिएर छट्पटिएका पुतलीझै
गलैंचाभरि पसारो परेका छन्,
त्यही गलैंचामा थुप्रिएका विचारका झुस लागेर
मेरो शरीरभरि डाबर उछि्रन्छ,
लुतोझै ख्वार–ख्वार कन्याइरहन्छु– निद्रा कोसौं पर छुटेको छ।
गरम महीनाको रात
गरम महीनाको एउटा बाफिएको रात।
(स्रोत : हिमाल खबर पत्रिका ८-२१ असोज २०७४)