~चन्द्रकुमार हतुवाली~
‘लेम्लेम्मा’ बान्तावा भाषाको शब्द हो । लेमलेम भनेको गुलियो, मिठास र माको अर्थ हुन्छ महिला । अर्थात् मीठो बोलेर आकर्षण गर्ने र प्रभावमा पार्ने मानव रूप महिला नै हो । लेम्लेम्मा मानवका थरीथरी रूप धारण गर्न सक्ने दैविक जीव हो । किराँत राई जाति मिथकका लागि सम्पन्न छ । यो जातिमा अनेकौँ मिथक पुस्ता दरपुस्ता प्रचलनमा रहँदै आएका छन् । यस्ता मिथक जीवजन्तु, रुखबिरुवा, ढुङ्गा, खोलानाला, वनजङ्गल आदिसँग सम्बन्धित छन् । अन्य विषयमा आत्मगत, भूतप्रेत, राक्षस आदिका बारेमा छन् ।
पहिलेका मानिसको जीवन निर्वाहको मुख्य माध्यम खेतीपाती, बस्तु पालन र सिकारी पेसा थियो । यी पेसाबाट निर्वाह गर्नका लागि बारी र खेतको मेलो, गोठालो, दाउरा घाँस गर्नु र सिकारमा जानु पर्दथ्यो । रातिको समयमा बाघ भालुको आक्रमणबाट बस्तुभाउ जोगाउनलाई ठूलाठूला मुढा जोड्दै आगो बालेर साथीभाइसँग आगो ताप्दै मीठा मिथकहरू भनेर जीवनको एक पाटोलाई मनोरञ्जनपूर्ण र सन्सनीपूर्ण बनाइन्थ्यो । यही मिथकको एक सशक्त पात्र लेम्लेम्मा थियो ।
अझै पनि किराँत बसोवास क्षेत्रमा लेम्लेम्माहरू बस्ने लेम्लेम्मा ओढार, लेम्लेम्मा भीर, लेम्लेम्मा दुलो, लेम्लेम्मा ढिकी आदि नामका ठाउँ प्रशस्त छन् । त्यसमध्येको भोजपुर जिल्लाको दक्षिणी क्षेत्र आम्चोकको यूँ गाविस वडा नंं. २, मा रहेको लेम्लेम्माहुत (लेम्लेम्मा दुलो) चर्चित छ । यस लेम्लेम्माहुतमा धेरै समयसम्म लेम्लेम्माहरू बसेर वरपरका गाउँलेलाई खुबै सताएको मिथक पाइन्छ ।
वरपर गाउँका बच्चा सधैँ हराउन थालेपछि एक जना मान्छेले जुक्ति निकाले । शरीरभरि पिना दलेर मरेको अभिनय गर्दै घर नजिक लम्पसार परेछन् । दुई जना लेम्लेम्माहरू कुरा गर्दै आइपुगे । लम्पसार परेको मानिसलाई यताउति हेरे । नचट्पटाएपछि मरेको सम्झेर बोकेर लेम्लेम्माहुत लगेछन्् । लेम्लेम्माहुत सानो भएकोले छिराउन गाह्रो भएकोले बिसाएर भित्र जाँदा त्यो मानिस भागेर गाउँ आएछन् । उनले गाउँका बच्चाहरू हराउनुको कारण लेम्लेम्माहरू भएको र उनीहरू बस्ने ठाउँ पत्तो पाए । यसपछि गाउँलेसँग सल्लाह गरेर गाउँभरिको खुर्सानी भेला पारेर धुँवा लगाएछन् । खुर्सानीको धुँवाले केही लेम्लेम्माहरू भागेछन् भने कत्ति त्यही मरेछन् । त्यसपछि भने गाउँमा बच्चाहरू हराउन छाडेछन् ।
यो लेम्लेम्मासम्बन्धी एउटा मिथक मात्र हो । लेम्लेम्मासम्बन्धी यस्ता धेरै मिथक छन् । किराँत राई मिथकको लेम्लेम्मा केन्द्रीय मिथक हो । उहिले, किराँत गाउँहरूमा सन्तानले साह्रै रोएमा आमा बुवाहरूले ‘लेम्लेम्मा आउन लाग्यो है ! तिमीलाई लैजाला नि’ भनेर तर्साउने गर्दथे । लेम्लेम्माको नाम सुनेर बच्चाहरू चुप लाग्थे । यस आधारमा लेम्लेम्मा एक खल पात्रको रूपमा चर्चित थियो । लेम्लेम्मा मानव स्वरूप भएको जीव हो तर उसमा चामत्कारी शक्ति भएको मिथकमा पाइन्छ । भीर पहरामा निश्चित थलो बनाएर बस्ने लेम्लेम्मा मानव रूपकै हुन्थ्यो । मिथकहरूमा उसको शारीरिक वर्णन गर्दा लेम्लेम्मा महिला भएको पाइन्छ । कालो, लामो केशले जीउ ढाक्ने, स्तनहरू तल तल लत्रिने हुँदा काँधमाथि राख्ने र खुट्टा पछाडितिर फर्केको हुन्थ्यो । कुनै चिजवीज थाप्दा हत्केला उल्टो पारेर थाप्ने गर्दथिन् ।
लेम्लेम्मा दिउँसो प्रायः खोला, खोल्सी र एकान्त ठाउँमा बस्दथे । उहिले राईहरू यस्ता ठाउँमा एक्लै जाँदैनथे । गएमा हुल बनाएर मात्र जाने गर्दथे । लेम्लेम्मा छ कि छैन भनेर थाहा पाउने माध्यम केही हुँदैनथ्यो । थाहा पाउने माध्यम कि त ऊ कराउनु पर्दथ्यो कि कुनै ढुङ्गामाथि पूरा केशले छोपेर बस्नुपथ्र्यो । लेम्लेम्माले खोला खोल्सीतिर खोजी खाने क्रममा ‘तिरित… तिरित…..’ कराउँदथ्यो । यसरी लेम्लेम्मा भेटेमा वा बसेको थाहा पाएमा आफू टाप कस्नु पर्दथ्यो ।
लेम्लेम्माका पेटपाला गर्ने ठाउँहरू पनि निश्चित हुन्थे । लेम्लेम्मा मानवभक्षी थियो । बच्चा उसको प्रिय भोजनमा पर्दथ्यो । बेलाबेलामा बच्चा खोजी खान गाउँ चाहथ्र्याे । यस बेला उसले बच्चाको आमाको सम्पूर्ण स्वरूप लिएर आउँथ्यो । बच्चाले आफ्नी आमा सम्झेर जाँदा झुक्याइ लगेर खाने गर्दथ्यो रे । आमाबुबाले ज्ञान छिप्पिएका बच्चालाई आमा र लेम्लेम्मा छुट्याउने आधार भनेको ‘उल्टो थाप्न लगाउने र खुट्टा पछाडि फर्केको’ बाट चिन्नुपर्छ भनेर सल्लाह दिन्थे । ठूलो मान्छेलाई भने हत्तपत्त खाँदैनथ्यो । एकान्तमा एक्लै दुक्लै फेला पारेमा भने बाँकी राख्तैनथ्यो । उनका अन्य खानेकुरामा गड्यौला, सानो खालको खैरे खपटा भएको गगँटा, राति गोठमा आएर दूध दुहेर खाने र तरुल पनि उसको प्रिय भोजन थियो । योबाहेक खस्रे खनिउँ पनि खाने गर्दथ्यो । त्यसैले राई बान्तावाले खस्रे खनिउँलाई लेम्लेम्मा खुक्सी नामले बोलाउने गर्दछन् ।
लेम्लेम्माको भाले वा पुरुषलाई भने झाँक्री भनिन्थ्यो । झाँक्रीको वर्णन चाहिँ सकारात्मक पाइन्छ । झाँक्रीलाई विद्याको स्रोतको रूपमा लिएको पाइन्छ । यसले पनि गाउँका बालकहरूलाई छानेर जङ्गल लाने गर्दथ्यो । तर लेम्लेम्माले झैँ खानका लागि नभई झाँक्री विद्या सिकाउनलाई लाने गर्दथ्यो रे । झाँक्रीले लगेको केही समय, दिन वा महिनापछि बालकलाई आफ्नो विद्या सिकाएर शक्तिशाली धामी झाँक्री बनाएर फर्काइदिन्थ्यो । यी झाँक्रीबाट दीक्षित चेला झाँक्री धामीहरू धेरै शक्तिशाली हुन्छन् भन्ने विश्वास थियो ।
अझै पनि झाँक्री नाच्ने ढुङ्गा भोजपुर जिल्लाको बासिखोरा गाविसको वडा नं. ४, भञ्ज्याङको जङ्गलबीच विशाल झाँक्रीढुङ्गा छ ।
किराँत राई गाउँमा साह्रै लोकप्रिय रहेको मिथक लेम्लेम्मा लोप हुने अवस्थामा छ । यो लोप हुनु भनेको किराँत मौलिक साहित्यको एउटा सशक्त पाटो लोप हुनु हो भने राष्ट्रकै पनि लोक साहित्यको एउटा अंश लोप हुनु हो । वास्तवमा कथित साहित्यभन्दा लोकमा सिर्जना भएका लोक साहित्यहरूको संरक्षणले तत्कालीन मानव विकास र सामाजिक परिवेशलाई झल्काउने हुँदा यस्ता मिथकीय मौलिक लोक साहित्यको जगेर्ना गर्नु आवश्यक छ । यति मात्र होइन यी मिथकहरूलाई कुनै ठाउँ विशेषमा चित्र कोरेर तथा मूर्ति कुँदेर प्रदर्शन गर्न सकेमा आर्थिक लाभ पनि गर्न सक्ने सम्भावना छ ।