~डा. कुमारबहादुर जोशी~
प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । विसं १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले यो दिन हामी धनसम्पत्तिको अधिष्ठात्रीदेवी लक्ष्मीको पूजाआराधनाका साथसाथ लक्ष्मीजयन्ती वा देवकोटा जयन्ती पनि मनाउँछौं । गत ०६६ साल महाकविको जन्मशताब्दी वर्ष थियो र वर्षभरि नै स्वदेश र विदेशमा पनि अनेक कार्यक्रमहरू गरी नेपालीहरूले उनको शतवाषिर्की मनाए । तीमध्ये त्रिमूर्ति निकेतनको तत्त्वावधानमा देवकोटा शतवाषिर्की समारोह समितिको आयोजनामा काठमाडौंमा सम्पन्न पञ्चदिवसीय अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन र समितिद्वारा प्रकाशित महाकवि देवकोटा विषयक प्रकाशनहरू उल्लेखनीय रहे ।
मध्यमवर्गीय हिन्दु ब्राह्मण परिवारमा जन्मी हुर्केर अंगे्रजी पढेका असाधारण र बहुमुखी प्रतिभाका धनी देवकोटा नेपाली साहित्यका युगप्रवर्तक कवि थिए । दसै वर्षको उमेर -१९७६ साल) देखि कविता लेख्नथालेका उनले आफ्नो जीवनको अन्तिम वर्ष अर्थात् ०१६ सालसम्म नै त्यसलाई निरन्तरता दिइरहे । १९८५ साल वैशाखको ‘गोरखापत्र’मा प्रकाशित ‘वसन्त षोडसी’ उनको पहिलो प्रकाशित कविता ठहर्छ । यसरी हेर्दा उनले आफ्नो ५० वर्षे जीवनकाल -१९६६-०१६) मा लेखनका दृष्टिले ४० वर्ष -१९७६-०१६) र प्रकाशनका दृष्टिले ३१ वर्ष -१९८५-०१६) कविता-देवीको साधना-आराधनामा बिताएको पाइन्छ ।
देवकोटाको सार्वजनिक प्रकाशनपूर्वका समयावधि उनको कवित्वको पूर्वाभ्यासकाल हो र यस समयावधिमा उनले नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्ययुगको आमन्त्रण गरेको पाइन्छ । त्यसपछि १९८५ देखि ०१६ सालसम्मको ३१ वर्षे सार्वजनिक कविता-यात्राको समयावधिलाई चाहिँ पूर्वार्द्ध र उत्तरार्द्ध गरी दुई भागमा विभाजित गरेर हेर्न सकिन्छ । १९८५ देखि ००३ सालसम्मको समयावधि उनको कवितायात्राको पूर्वार्द्धकाल हो भने २००४ सालदेखि यता ०१६ सालसम्मको समयावधि चाहिँ उनको कवितायात्राको उत्तरार्द्धकाल हो ।
कवितायात्राको पूर्वार्द्धकालमा देवकोटाले ‘पूणिर्माको जलधि’, ‘गरिब’, ‘तिनको घँसिया गीत’, ‘वृद्धा’, ‘शरच्चन्द्र’, ‘बालककाल’, ‘घाँसी’, ‘सन्ध्या’, ‘मार्ग’, ‘वन’, ‘भिखारी’, ‘बादल’, ‘चारू’, ‘यात्री’, ‘सुन्दरीजल’ तथा ‘माली’जस्ता फुटकर कविताहरू ‘मुनामदन’, ‘कुञ्जिनी’, ‘लुनी’, ‘सीताहरण’, ‘म्हेन्दु’ तथा ‘रावण-जटायु युद्ध’जस्ता खण्डकाव्यहरू अनि ‘शाकुन्तल’, ‘सुलोचना’, ‘महाराणा प्रताप’, ‘वनकुसुम’ र ‘पृथ्वीराज चौहान’जस्ता महाकाव्यहरू लेखेर नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारको प्रवर्तन-प्रतिष्ठापन र उन्नयन गर्दै त्यसलाई सौन्दर्यचेतनाको उच्चातिउच्च चुलीतर्फ आरोहणशील तुल्याएको पाइन्छ । तीन महिनामा रचित ‘शाकुन्तल’, दस दिनमा रचित ‘सुलोचना’ महाकाव्य लेखन-काल -२००२ साल) देखिचाहिँ महाकवित्वका साथै आशुकवित्वसमेत प्रकट गरेको पाइन्छ । यस समयावधिका कविताकृतिहरूबाट देवकोटा मूलभूत रूपमा प्रकृतिकेन्द्री स्वच्छन्दतावादी-मानवतावादी र केन्द्रीय कविका रूपमा प्रतिष्ठापित बने ।
२००४ देखि ०१६ सालसम्मको आफ्नो कवितायात्राको उत्तरार्द्धकालमा आएरचाहिँ देवकोटाले स्वच्छन्दतावादकै वृत्तभित्र रही काव्य सिर्जना गरेका भए तापनि त्यहाँ व्यंग्यविद्रोही एवं क्रान्तिकारी र प्रगतिवादी प्रवृत्तिको मुखरता पनि प्रकट गर्न थालेका थिए । अर्कातिर विशुद्ध स्वच्छन्दतावादी कृतिहरूका साथै स्वच्छन्दतावादसित प्रगतिवादको संश्लेषण पनि गर्नथाले । यस समयावधिमा उनको ‘प्रभुजी भेडो बनाऊ’, ‘झञ्झवीर’, ‘पहाडी पुकार’, ‘चरी’, ‘लीला पहाड’, ‘दाल-भात-डुकु’- ‘बाघपर्वतको एक प्रभात’ ‘पागल’, ‘हामी नेपाली’, ‘पूर्णचाकी स्वास्नी मरी’, ‘गधा बोल्छ’, ‘भूतलाई झटारो’, ‘हुरीको गीत’, ‘अतिथिहरू’, ‘शाहजहाँको इच्छा’, ‘ज्वरशमना प्रकृति’, ‘वसन्तपूणिर्माप्रति’, ‘मानिस विराट’, ‘एक बिहान’, ‘गौंथली र देवकोटा’, ‘दोर्जेलिङको बाघ चुलीमा’, ‘एक सुन्दरी वेश्याप्रति’ तथा ‘शून्यमा शून्यसरीजस्ता अनगिन्ती कविताहरू’, ‘मायाविनी सर्सी’, ‘सृजामाता’, ‘झञ्झावर्णन’, ‘मैना’, ‘वसन्ती’, ‘नवरस’जस्ता -‘मैना’ काव्य संग्रहमा परेका र नपरेका समेत) अनेकानेक काव्य-खण्डकाव्यहरू अनि ‘प्रमिथस’जस्तो महाकाव्य पनि लेखेको पाइन्छ । यस समयावधिका कविताकृतिहरूबाट चाहिँ देवकोटा स्वच्छन्दतावादीमात्र होइन, अपितु व्यंग्यविद्रोही, क्रान्तिकारी प्रगतिवादी, मानवतावादी कविका रूपमा पनि प्रतिष्ठापित बने ।
आफ्नो कवितायात्राको पूर्वार्द्धकालमा देवकोटा विषयगत दृष्टिले प्रकृतिप्रेम र परमेश्वर तथा मानवताप्रति विशेष रूपमा केन्दि्रत थिए । आफ्नो उत्तरार्द्धकालमा चाहिँ उनी समाज, सामाजिक यथार्थ र विकृति-विसंगतितिर उन्मुख रहँदै हास्यव्यंग्य र व्यंग्यविद्रोहको झटारो हान्न र शंखनाद गर्न मानवतावादको स्वर सुसेल्नमै ज्यादा तल्लिन रहेका देखिन्छन् । यसैगरी पूर्वार्द्धकालमा लय वा छन्दका दृष्टिले कवि विशेषतः मात्रिक, वर्णमात्रिक र लोकलयतर्फ आकषिर्त थिए । उत्तरार्द्धकालमा चाहिँ उनी गद्यकवितातर्फ नै आकषिर्त रहेको पाइन्छ । मन्त्रीसमेत भएका भए पनि राजनीतिलाई उनले परदेश सम्झेका र पछि त्यो परदेशबाट स्वदेश अर्थात् कवितातर्फ आफू र्फकेको बताएका छन् । उत्तरार्द्धकालको पछिल्लो चरणतिर अर्थात् ०१० सालदेखि यता आएरचाहिँ उनी आफ्ना कविताकृतिको परिष्कार र परिमार्जन गर्नपट्ट िपनि निकै सचेत र सक्रिय देखापरेका हुन् । यस समयावधिमा उनका ‘पागल’, ‘शाहजहाँको इच्छा’, ‘ज्वरशमना प्रकृति’जस्ता उत्कृष्ट कविताहरू अनि ‘मायाविनी सर्सी’ र प्रमिथस’जस्ता उत्कृष्ट खण्डकाव्य-महाकाव्य उनको उक्त परिष्कार र परिमार्जनकै परिणति हुन् ।
देवकोटाले निबन्ध, नाटक, कथा, उपन्यास तथा समालोचनाजस्ता कविताइतर क्ष्ाेत्रमा पनि प्रशस्त योगदान गरेका छन् । निबन्धका क्ष्ाेत्रमा त उनी आत्मपरक निबन्धका प्रवर्तक-प्रवर्द्धक नै मानिन्छन् । तर कविताइतर क्षेत्रमा उनले गरेका योगदानलाई यतिखेर अलग्गै राखेर कविताक्षेत्रमा मात्रै उनले गरेका योगदानलाई हेर्ने हो भने गुणात्मक र परिमाणात्मकता दुवै दृष्टिले उनी नेपाली साहित्यमा अहिलेसम्मकै सर्वाेच्च र महान कवि प्रमाणित हुन्छन् । देवकोटा अन्तर्राष्ट्रियस्तरका नेपाली महाकवि हुन् र नेपाली साहित्यलाई पहिलोपटक अन्तर्राष्ट्रियक्षेत्रमा परिचित गराउने (देवकोटाले गरेका इन्द्रेनीकालीन कविताका अंग्रेजी अनुवाद र तासकन्द सम्मेलनमा उनले गरेको भाषणको सम्झना) तथा अन्तर्राष्ट्रिय क्षेत्रका साहित्यलाई नेपालीहरूमाझ परिचय गराउने (देवकोटाका अनुदित कृति ‘म्याक्बेथ’ प्रसिद्ध प्रबन्ध संग्रह आदिको सझना) अपूर्व प्रतिभा पनि उनै थिए ।
अंग्रेजीमा शुद्ध महाकाव्य -‘शकुन्तला’ एपिक) लेख्ने महाकवि देवकोटाले अपूर्ण छाडेका महाकाव्यको गन्ती नगरिकन पनि उनका प्रकाशित पूर्ण महाकाव्य नै ६ वटा छन् भने खण्डकाव्यहरू दुई दर्जनभन्दा बढी छन् । अनि फुटकर कविताहरू त उनले हजारौं लेखे होलान् । तर तिनको संख्या भने यति नै भनेर यकिन गर्नसक्ने स्थिति छैन । ’cause उनले आफूसँग कविता माग्न आउने कतिलाई कविता लेखेर दिए, उनले लेखेका कति कविताहरू उनी आफैंले सिँगान पुछेर फाले, कति हराए, कतिले आफ्नो घरमा लगेर सेफभित्र थन्क्याएर राखे, कतिले आफ्नो नाममा छपाए, त्यसको कुनै हिसाब-किताब छैन । यसो त यस पंक्तिका लेखकले ०४२ सालमा उनको कवितायात्राका विषयमा विद्यावारिधी शोधकार्य सम्पन्न गर्दासम्म भेटिएका उनका प्रकाशित-अप्रकाशित फुटकर कविताहरूको संख्या ६४४ भनेर किटान गरेको हो । त्यसपछि पनि उनका अनेकानेक कविता प्रकाशित-अप्रकाशित भेटिएकाले उनले उक्त संख्याभन्दा धेरै कविता लेखेको तथ्य स्पष्ट हुनआउँछ । जे होस्, उनका कविताहरू संग्रहका रूपमा पनि प्रकाशित छन् ।
देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता संग्रहहरूमा ‘भिखारी’ कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ‘शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिकृतिका रूपमा लिन सकिन्छ । उनको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा ‘लक्ष्मी कविता संग्रह’लाई, काव्य-खण्डकाव्यहरूमा ‘मायाविनी सर्सी’ खण्डकाव्यलाई र महाकाव्यमा ‘प्रमिथस’ महाकाव्यलाई प्रतिनिधिकृति मान्न सकिन्छ । यसैगरी देवकोटाका बालकविताहरूका प्रतिनिधिकृतिका रूपमा उनका ‘सुनको बिहान’ र ‘पुतली’ बालकविता संग्रहलाई अघिसार्न सकिन्छ भने उनका हाँस्यव्यंग्य कविताहरूको प्रतिनिधित्व उनको ‘मनोरञ्जन हाँस्यव्यंग्य कविता संग्रहले अनि गीति कविता वा गीतहरूको प्रतिनिधित्वचाहिँ उनको ‘लक्ष्मी गीति संग्रह’ले गर्छ भन्न सकिन्छ । यस सन्दर्भमा देवकोटाका विशुद्ध प्रगतिवादी क्रान्तिकारी कविताहरूको प्रतिनिधित्व गर्ने ‘पहाडी पुकार’लाई र उनको रोमान्टिक प्रगतिवादी क्रान्तिकारी गीति नाट्य ‘कृषिबाला’लाई पनि हामी बिर्सन सक्दैनौं ।
– २०६७ कार्तिक २० ०९:०९
(स्रोत : कान्तिपुर)