कथा : मोड, कथा, घटना

~दुर्गा विनय~Durga Binay

हिंडिन्छ कत्ति बाटाहरू । कत्ति मोड र कत्ति गोरेटोहरूबाट कट्छ जीवन । घुम्तीहरूमा घुम्छ जीवन । एक दिन जीवन अडियो यस्तै एक घुम्तीमा पुगेर । टक्क ।

– “ओ लेखक महोदय !” एउटा आवाज आएर ठोक्कियो कानमा । चिनेको हुइनँ मैले त्यस मान्छेलाई । उसले भनिरहेको थियो । “मैले तपाईंको धेरै कथा, लेखहरू पढेको छु । घतलाग्दा छन् तपाईंका लेखहरू । मलाई तपाईंंको लेखनी मनपर्छ ।”

उसको कुरा बुझ्न घोत्लिनुपर्छ जस्तो लागेको छैन मलाई । उसले भनेका कुराको सारांश “तपाईंको कलम मलाई मनपर्छ” भन्ने मात्र हो ।

– “तपाईं घटेको कुरामात्र लेख्छु भन्नुहुन्छ । म आज तपाईंले लेख्ने कथा घटेको हेर्न आएको हुँ । आज म बुझ्न चाहन्छु कथा तपाईं कसरी कथ्नु हुन्छ भन्ने ।”

घुम्दा–घुम्दै, हिंड्दा–हिंड्दै अहिले ऊ र म । ऊ अर्थात् उही मान्छे जसले मलाई अघि बोलाएको थियो । उसको नाम रघु रहेछ । मैले अघि नै उसलाई सोधेको हुँ । यस कथाको द्वारमा उभिएका छौं । द्वार शब्दलाई काटौं (द्वार), द्वार नभनौं । प्रवेशद्वार भनौं । अहिले ऊ र म यस कथाको प्रवेशद्वार अथवा गेटको ठीक सामुन्ने उभिएका छौं । गेटदेखि उता पात्रहरूको लाम सायद उसले पनि देखिरहेको होला । गेटको माथि शिरमा लेखिएको छ– ‘म एक बुद्ध ।’ मैले बुझेको कुरा अहिले म उसलाई सुनाइरहेको छु । यो कथाको शीर्षक म एक बुद्ध हो । रहेछ (कि ?) ।

अब हामी गेटभित्र पसौं ।

पात्रहरूले क्रमशः आ–आफ्ना परिचय दिंदै जाँदैछन् ।

“म श्यामे, म रामे, च्यामे, गोपाल, हरिकृष्ण, च्याङबा, मैना, मुना, राधिका, ………..।” मैले त कसैको नाम पनि याद गर्न सकिनँ । उसले सक्यो कि ? सबै पात्रहरूको अन्तिममा एक पात्र मैले देखें । हामी त्यता लाग्यौं ।

ऊ (क) नायक रहेछ यस कथाको । लुगा, भेषभुषा एकदम आधुनिक । आधुनिक यस अर्थमा मानौं कि उसले परम्परागत लुगा लगाएको थिएन । बुद्धको जस्तो । ऊ प्यान्ट, सर्टमा इस्टकोट लगाएर सजिएको थियो । शिरमा ढाकाटोपी ढल्काएर । अनुहार ओजले भरिएको थियो । तेजिलो थियो उसको अनुहार । धपक्क बलेको उसको अनुहारको बयान म कसरी गरूँ । मैले पात्र (क) को अनुहारको वर्णन गर्ने जिम्मा ती रघुलाई नै सुम्पिदिएँ । ऊ…ऊ म रघुलाई देखाउँछु पात्र (क) को गोडाको छेउमा एउटा सानो बिरालो रहेको । हैन ….. हैन बिरालो हैन, कुकुर पो रहेछ । खान नपाएर हेर्नु कस्तरी दुब्लाएछ । विचरा !

रघुले ठीक भनेको छ अहिले । ऊ पनि एक पात्र हुनुपर्छ यस कथाको । नायक जस्तो देखिने पात्र हाम्रो नजिक आउँदै छ । हामी सतर्क बसौं है उसले के भन्ने हो ।

– “नमस्कार !”

– “नमस्कार !!” (रघुले कत्ति छिट्टो नमस्ते फर्कायो ।)

– “जम्मै यिनेरूको भेलाले मलाई नायक बन भनेर कर गरे । तर हेर्नु न, न मेरो लुगै मिल्छ, न मेरो के मिल्छ । म कसरी नायक बनुँ । कस्ता छन् भने । कथा अनुसार त ऊ …. त्यो (उसले कसलाई देखाएको हो, म ती रघुलाई इशारा गरेर सोध्छु) पो नायक हुनुपर्ने हो । लु ! तपाईंहरू नै भन्नुहोस् ।”

– “कथा कस्तो छ, सुनौं न अनि थाहा हुन्छ नि नायक को रहेछ भन्ने ।”

– “कथा त अब मञ्चन हुन्छ ।”

– “कहाँ ?” (मैले रघुलाई केही बोल्ने इशारा गरें)

– “यहीँ नि ।”

– “यहीँ ?”

– “अँ”

– “यति सानो ठाउँमा !”

– “कथा हुनलाई कुनै ठाउँ विशेष हुुनुपर्छ भन्ने हामीलाई लागेन । घटना जहाँ पनि घट्न सक्छ । घटना जहाँ पनि हुनसक्छ ।”

– “अब कति समय लाग्ला ?”

– “अब भै’हाल्छ, तपाईंहरू त्यहाँ माथिबाट हेर्नुहोला ।” उसले हामीलाई अग्लो डील देखाएर भनेको हो ।

– “त्यहाँ माथिबाट हामी शारीरिक हावभावमात्र देख्न सक्छौं, घटनाले पु¥याएको पीडा देख्न सक्दैनौं । त्यसैले हामी घटना यहीँबाट हेर्छौं ।” (घत लाग्दो कुरा रघुले ग¥यो । त्यहाँ माथिबाट हामीले देख्ने त हिंडेको, बसेको, उठेको, कुदेको मात्र हौं । आँशु झरेको, अनुहारमा खुशी छाएको कसरी देख्नु ? मलाई उसको कुरा मन प¥यो ।)

– “ठीकै छ ।” अलि पर पुगिसकेको ऊ फेरि फर्केर आउँदैछ है । के सोचेर फक्र्यो होला हगि ? हेरौं के भन्छ । “तर एउटा कुरा, हामीले मनमनै सोचेको कुरा तपाईं कसरी थाहा पाउनु हुन्छ नि ? हामीले सोचेको एउटा, तपाईंले थाहा पाएको एउटा भयो भने त खत्तम हुने भो’नि ।”

यो प्रश्नको त मसँग उत्तर नै पो रहेनछ । साँच्चै हामी कसरी थाहा पाउँछौं हँ उसले सोचेका कुराहरू ।

– “मलाई थाहा छ, तपाईसँग यो प्रश्नको जवाफ छैन । तपाईंले यो कथा लेखिसकेपछि हामीलाई देखाउनु होला । हामीले सोचेको ठीकठीक रहेछ भने तपाईंको कथा पास । हैन भने रद्द ।”

चौतारो रहेछ “जाऔं त्यता । त्यहीं बसौं एकछिन् ।” मैले रघुलाई अनुरोध गरें । एकजना गेटबाट फुत्तै बाहिर निस्केर गएको रघुले थाहा पाएनछ । ऊ अहिले भर्खरै बाहिर गएकी छे । रिसाएर हिंडेकी हो कि ? उसलाई आप्mनो भूमिका मन नपरेको पो हो कि ? चिया आएछ; खाऔं हैन !

घर कति राम्रो छ हगी ? घरको दुई छेउमा पारीजातको रूख । आगनभरि पारीजातका पूmलहरू झरेका । मगमग भएको छ घर । धुपीको रूख पनि छ । घर पनि सानो, चिटिक्क परेको । आहा ! मलाई त साह्रै मन प¥यो घर ।
अँ ! हो, रघुले भनेको ठीक हो । घरलाई रङ्गले पनि सुहाएको छ ।

“हामीलाई पात्रहरूले कथा सुनाउने हैन देखाउने भए ।” मैले रघुतिर फर्केर भनें ।

“तपाईं कथा कसरी देख्नु हुन्छ म त्यो हेर्न आएको हुँ ।” रघु मतिर नफर्की बोलिरहेको थियो । उसको अनुहार त्यो घर, त्यसको वरिपरिको वातावरण हेर्नमा मस्त थियो ।

“कथा बारे केही कुरा गरौं ?”

“हैन, केही कुरा नगरौं । जे देख्छौं त्यही हेरौं । र तपाईं जे देख्नुहुन्छ सोही लेख्नुहोस् । लेख्दै जानुहोस् ।” उसले मेरो हातमा कापी र कलम थमाइदियो । मैले देखेको चीजहरू लेख्दै जाने विचार गरें ।

“बाटो छेउमा घर टक्क अडिएको छ । कुन्नि कत्ति वर्षदेखि हो, त्यो घर त्यसरी नै अडिरहेको छ । उभिइरहेको छ । ठिङ्ग । नहल्लिई, नचटपटाई वर्षौंदेखि उभिएको घर अहिले पनि उभिएको छ । उभिन्छ अझै केही वर्षसम्म । उभिनु उसको कर्तव्य, उसको काम, उसको जीवन जे भने पनि हुन्छ । अनुहारभरि, जीउभरि सबैतिर कालो पोतिएको छ घरको । भन्नुको अर्थ घरमा कालो रङ्ग लगाइएको छ हो । साह्रै साना–साना छन् झ्यालहरू । घरभित्रका कोठाहरू अँध्यारा होलान् । मेरो यस्तो अनुमान छ । बाहिरबाट हेर्दा घरका कोठाहरू पनि साना नै होलान् कि ? अर्को अनुमान यस्तो पनि छ ।

घर सानो छ । तर आँगन फराकिलो छ । आँगनको एक छेउमा दाउराहरू चाङ मिलाएर राखिएका छन् । बेमौसमी झरीले आँगनमा हरियो लेउ लागेको छ । अहिलेसम्म आँगनमा धेरै नै चिप्लेर लडे होलान् । लेउ देखेर अड्कल्छु । आँगनको छेउमा पारीजातको रूख छ । पारीजात पूmल पनि आँगनभरि भएर छरिएको छ । तर पानीले गर्दा त्यसको सुगन्धले अलिक काम गरेको छैन । राति त त्यसको सुगन्ध आउँछ होला ।” मैले लेखेको उसले हेरिरहेको छ । मैले उसलाई हेरें । उसले “ठिकै छ” भन्यो ।

“तपाईंले अलि स्पष्ट लेख्नु भयो जस्तो लागेन मलाई ।” धेरैबेरपछि उसले भन्यो ।

“कसरी ?” मैले प्रश्न गरें ।

“हेर्नु त, तपाईंले दाउराहरू चाङ मिलाइएर राखिएको छ भन्नु भयो, तर त्यसो छैन यहाँ । दाउराहरू फ्यालिएका छन् जहींतहीं । अर्को कुरा तपाईंले घर कसरी सानो देख्नु भयो ? यत्रो टाँडे घर छ, मान्छेहरू कत्ति दुःखले सानो–सानो झुप्रामा जीवन बिताउन बाध्य छन् । तिनीहरूको अगाडि यो त सानो छैन नि । तपाईंले घर मझौलो छ, ठिक्कको छ, वा अरू त्यस्तै केही भन्नुपथ्र्यो । पानी अलिअलि परेको छ तर आँगन लेउ लागेर चिप्लेर लडिहाल्ने भइहालेको छैन ।”

“तपाईंको हेराई र मेरो हेराईमा धेरै फरक छ । हुन्छ नै । हरेकको दृष्टि फरक हुन्छ । तपाईंले देख्नुभएको कुरा मैले नदेखेको हुनसक्छु र मैले देखेको कुरा तपाईंले नदेख्न सक्नुहुन्छ । लेखकले अलि–अलि त केही थपिहाल्छ नि । अलिकति आफ्नो कला पनि केही परोस् लागेको हो मलाई ।”

“तपाईंले आफ्नो केही नहाल्नोस् । विशुद्ध लेख्नुहोस् । जे देख्नुहुन्छ सोही लेख्नुहोस् । थपघट गरेर घटनालाई कृत्रिम नबनाउनुहोस् । देखेको कुरा लेख्ने तपाईंको काम हो । तपाईंले थपघट गरेकोले पात्रहरू, हामीहरू भम्रमा पर्न सक्छौं ।” उसले हामी भन्दा दाहिने हातको चोर औंलाले छातीमा घोचेको थियो ।

० ० ० ०

एक्कासी होहल्ला सुनियो । हामी चौतारोबाट उठेर आवाज आएको ठाउँतिर गयौं । मान्छेहरू थुप्रै भेला भएका थिए ।

एउटाले आएर भन्यो– “कथा शुरू भइसकेको छ । लेख्दै गर्नु । हामी अहिले भरे हेर्नेछौं । नायक पनि त्यतिखेरै छुट्टिने छ ।” म छक्क परेर उसलाई हेरिरहें । ऊ पनि भीडमा गएर मिसियो । आफ्नो अभिनय गर्न थाल्यो ।

“तपाईं आफ्नो काम गर्नुहोस् । म पर चौतारोबाट हेर्नेछु ।” रघु (पाठक) पनि चौतारोतिर लाग्यो ।

पात्र एकातिर लाग्यो । पाठक एकातिर लाग्यो । मेरो अगाडि पात्रहरू मञ्चन गरिरहेका थिए । पाठक पछाडिबाट नियालिरहेको थियो । मैले बीच्चमा बसेर कथा टिपोट गर्नुपर्ने भयो । कुनै पत्रकारले घटना टिपोट गरे जस्तो ।

एक्कासीको हल्लाले सबैको ध्यान त्यतातिर गयो । “के को हल्ला हो ?” कौतुहलता सबैको मनमा थियो । भर–अभर छिमेक चाहिने भनेकै यस्तै बेलामा हो । कोही हिलै हात त्यहाँ पुगे । कोही खाली खुट्टै त्यहाँ पुगे । कोही दाँत माझ्दै पनि पुगेका थिए ।

“के भएको हो किन यस्तो हल्ला ?” एक छिमेकले आत्तिंदै सोध्यो ।

“अपराधीले पार्नु बिजोक पा¥यो नि । दशैंको मुखमा ।” अनुहार कालो थियो । ऊ न रून नै सकेको थियो । न हाँस्न नै सकेको थियो । ठूलै आपत् परेको थियो उसलाई । उसको अनुहारले सोही कुरा जनाइरह्यो ।

“हैन भ’को चैं के हो त ?” अर्को छिमेकीले सोधे ।

“यस्ता अपराधीले अरूलाई किन दुःख दिनु ?” ऊ फेरि बोल्छ ।

“भ’को चैं के हो किन भन्दैनौं ?” अघि सोध्ने छिमेकी अब जङ्गियो ।

“के हुनु नि, अस्ति बर्खामा काम गर्न बसेको दशाहारी माथि भँडार कोठामा झुण्डिएछ ।” माथि भँडार कोठा दाहिने हातले औंल्याउँदै उनी बोले । घरका अरूले पनि थाहा पाएका रहेनछन् । सबै छक्क परे उसका कुराले । भेला भएका छिमेकहरू पालैपालो माथि जाँदै झुण्डिएको लाश हेर्दै आउन थाले ।

“हन कस्तो दशाहारी र’छ ? दशैंका बेलामा अर्काको घरमा किन झुण्डिनु । यस्ताले आफ्नै घरमा झुण्डिनु नि ।” लाश हेरेर आएको एक छिमेकी बोल्यो ।

“संसारमा त्यसले अरू कुनै झुण्डिने ठाउँ नै देखेन छ कि क्या हो ?” लाश हेरेर आउने अर्को छिमेकी बोले ।

“दशैंको बेला दुःख दियो नि दशाहारीले ।” प्रतिक्रियाहरू अनेक आए टिप्नै नसकिने गरी । एक एक गरी टिप्नु पनि कति जनाको । कत्ति प्रतिक्रियाहरू एकैचोटी आउँछन् अलमल्ल हुने गरी ।

“हैन, यसलाई त देखिंदैन थियो, कहिले आएको थियो ?” एकजना घर नजिकै हुने छिमेकीले सोधे ।

“हिजो आ’को थियो । बिरामी भएर घर पठाइ दिएको थिएँ । जाति नभई आइपुगेछ ।”

“ओच्छ्यान नलाई झुण्डिएको र’छ । हिजो राति नै पो झुण्डिएको हो कि क्या हो ?” एकजनाले शङ्का व्यक्त गरे ।

“हिजो राति नै झुण्डेछ नि ।”

हल्ला निकै परसम्म फैलिसकेको रहेछ । निकै परका पनि मान्छेहरू आउन थाले । हुँदाहुँदै घरभरि, बाटाभरि मान्छे नै मान्छे भए । घर पस्दै लाश हेर्दै फर्कंदै गर्न थाले कत्ति । कत्ति बाहिरै बसेर “कस्तो छ ? कसरी झुण्डिएको छ ?” सोध्दै पनि थिए ।

“अब लाश यसरी घरभित्रै झुण्डिन दिनु हुँदैन ? गएर निकालौं ।” भीडहरूबाट एक जना बोल्यो ।

“कहाँ तेसै निकाल्नु हुन्छ ! पुलिसलाई बोलाउनुपर्छ । पुलिसले मुचुल्का बनाउँछ । के के गर्छ अनिमात्र निकाल्नुपर्छ ।” वास्तवमा कुरा यो ठीक हो ।
हेर्ने मान्छेहरू थुप्रै भइसकेका थिए । राम्रो कसैले भनेनन् । भन्नू पनि कसरी ? लाश हेर्दै निस्कनेहरू भन्थे– “भर्खरको मान्छे र’छ, त्यसले किन आत्महत्या गरेछ ।”

“बिरामी भइस्, काम गर्न सक्दैनस् भनेर मैले तेसलाई अस्ति नै घर पठाइदिएको । हिजो आयो । जिउ पहेंलो थियो । जण्डिस् लागेको भन्थ्यो । ‘काम गर्न सक्दैनस् किन आइस् ? घर जा’ भनें मैले । ‘हैन सक्छु’ भन्न थाल्यो । हिजो राति खाना खाएन । एक गिलास दूध दिएकी थिई बूढीले । दूध खाएर झुण्डिएछ अपराधी ।” दुई चार जनाका बीचमा घरमूली बोलिरहेका थिए ।

“अए गोपाल ! जा जा नानी ! पुलिसलाई खबर गरेर आइज ।” एक छिमेकले गोपाललाई अह्रायो ।

“किन जानु पुलिसलाई खबर गर्न, श्यामे गइसकेको छ ।”

“दादा तैंले हेरिस् । कस्तरी झुण्डिएका नि ?” सानो भाइले उसको दाजुलाई सोधिरहेको थियो ।

“छैन, हेरिनँ । जान्न ।”

“यो मान्छेको नाम के थियो अरे ?” घरमुली छिमेकीलाई सोध्छन् ।

“थाहा छैन नि, मलाई के थाहा । मान्छे चैं राई (मगर) हो ।” छिमेकी भन्छ ।

“घर चैं कहाँ हो त ?”

“खुदुनाबारी”

“तेसको परिवारलाई खबर गरिदिनु प¥यो नि । को जाने हो ?” कसलाई पठाऊँ र को चाहीँ जान राजी हुने हो त्यसको पीर थियो घरमुलीलाई । बल्लबल्ल एक छिमेकी केटो जान राजी भयो । बडा अफ्ठ्यारो मान्दै त्यस केटोसँग घर देख्ने मान्छे जान राजी भयो ।

“अब त यो घर भत्काउनु पर्छ । यसरी मान्छे झुण्डिएको घरमा बस्नु हुँदैन ।” लाश हेरेर फर्केको एक मान्छेले आफ्नो साथीलाई भन्दै गरेको थियो ।

“मोरोले जम्मै आलुभरि मुतेछ ।” एउटा हाँस्दै आयो ।

निकै हल्लीखल्ली भयो । अनेक कुराहरू भए । सबैले घरमुलीलाई सान्त्वना दिए । यस्तो विपत्ति परेकोमा नआत्तिन सुझाव पनि दिए ।

अघि गेटबाट बाहिर निस्किएर गएकी आइमाई अहिले आएर भीडमा मिस्सिई । “के भयो अपराधी झुण्डिएछ कि क्या हो ?” ऊ आँत्तिदै कराई । घरमुलीकी स्वास्नी रहिछ ऊ । अनुहार अँध्यारो हुँदैगएको थियो उसको ।

“तिमीले कसरी थाहा पायौ ?” गाउँका अरू एक दुई आईमाईहरूले सोधे उसलाई ।

“कहाँ थाहा पाउनु नि ? बिहान म हिंड्दा उठेकै थिएन । सँधै ढिलो उठ्थ्यो, ढिलै उठ्छ होला जस्तो लागेको थियो । अघि फर्केर आउँदा पो बाटामा फलानाको काठको घरमा काम गर्ने मान्छे झुण्डियो भनेको सुन्दा शङ्खा ला’गो त ।” आपूmलाई लागेको कुरा ऊ दुई–चार आईमाईहरूलाई सुनाउँदै थिई ।

यत्तिकैमा पुलिस आइपुग्यो । कुना कुनाबाट फोटो खिच्यो । आपूmले गर्नुपर्ने सबै कर्तव्य सकेर पुलिसले लाश गाडीमा हालेर लिएर गयो ।

मैले यति लेखिञ्जेलसम्ममा पात्रहरू पनि सबै आ–आफ्ना नित्यकर्ममा लागिसकेका थिए । यद्यपि ती घरकाहरूको भने थप अलिकति कथा बाँकी नै छ । त्यो के भने तिनीहरूको त्यो दिन, साता अथवा महिना त्यही चिन्तामै गयो । नजिकै आएको दशैं पनि सके, त्यही चिन्ताले गर्दा नरमाइलो पो हुने हो कि भन्ने लागिरह्यो यो लेखकलाई ।

रघु (पाठक) मेरो छेउमा आइसकेको थियो । उसले कथा परैबाट हेरेछ । “कसरी लेख्नुभयो खै हेरौं ।” उसले मेरो हातमा रहेका कागजहरू तानेर हेर्न थाल्यो । अघिको त्यो इष्टकोट लगाउने महाशय हामीतिर आइरहेका थिए । नजिक आइपुगेपछि उनले सोधे “ल लेखक महोदय ! अनि तपाईं पाठक पनि लु भन्नुहोस् यस कथाको नायक को हो ?” उसको प्रश्नको उत्तर दिन नपाउँदै अर्को एक पात्र आएर लेखिएको कागज लिएर गए । अलिपर पुगेपछि भनेको सुनियो “तपाईंले लेख्नुभएको हामी हेर्छौं र रद्द हो वा ठीक हो, निर्णय गर्छौं ।”

पाठक पनि एकातिर लागिसकेको रहेछ । इष्टकोट लगाएको पात्रले मलाई हेरिरहेको थियो । म केही बोल्न सकिरहेको थिइनँ ।

० ० ० ०

दुर्गा विनय / झापा

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.