कविता : मेरो अनुपस्थिति दशैंमा

~दीपेन्द्र के.सी. ‘अपजसी’~

हो !
यसपालि पनि
म आउन पाउँदिन
दशैंमा ।

यसै सिजनमा
भिक्टोरिया क्रस खोज्नुछ
अफगानिस्तान वा इराकतिर
परमवीरचक्र खोज्नुछ
कारगिल, जम्मू वा यतै कतैतिर ।
म आफनै सीमामा उभिएर
देशलाई जमराले सिँगार्नुपर्ने वेला
दिनभरी अलकायदा खोजेर
रातभरी अनिदो वसेर
त्यतिवेला
म लडेको हुनेछु
ह्वीस्कीको मातले
वा
ढलेको हुनेछु गोलाले,
मेरो माटोले मलाई खोज्दा…..
या,
म पुगेको हुनेछु
भिक्टोरिया क्रससँगै बसाई सरेर
या,
म आईपुग्नेछु
कफिनमाथी परमवीरचक्र वोकेर
त्यसैले साँच्चै हो
म आउन पाउँदिन यो दशैंमा !
तिम्रा आशीर्वादहरु
आँशुमा डुवाई वगाइदिनु उसैलाई
वा
सम्झी आफनै
दिनु कसैलाई ।

कुकुरलाई पनि
जुठेल्नाभरि बग्रेल्ती
हड्डीहरु भेटिने वेला
म आउन पाउँदिन दशैंमा
एकछाक मीठो गास
खुशी सँग व सेर खान तिमी सँग
म आएँ त्यहाँ भने–
रौनकताहरु हराउनेछन
यूूरोप, अमेरिका, अष्ट्रेलियाका
जुठेल्नाहरुमा यहाँ,
म नआएर त्यहाँ
ल्याइदिनुपर्नेछ दशैं
जुठेल्नाहरुमा यहाँ
त्यसैले, साँच्चै
म आउन पाउँदिन यो दशैंमा !
तिम्रा कोसेली र सगुनहरु
सम्झी आफनै
बाँडिदिनु अरु कसैलाई ।।

नभएपनि खोजेर
हातमा राखिदिने वेला,
म आउन पाउँदिन दशैंमा
एकफेर ढोग भेटेर
दुईचार सय राखिदिन तिमीलाई !
बाँधिएका छन् हातखुट्टा
यूरो, डलर, पौण्डले
छेकिएको छ बाटो
रियाल, दिनार, रिङ्गिट, ऐन, वन वा भारुले
त्यसैले, साँच्चै
म आउन पाउँदिन यो दशैंमा !
काढेर ऋण, उधारो दशैं
तमसुक राखिदिनु उसैलाई
सम्झी आफनै, वोलाई
मनका दक्षिणा
आशीर्वाद दिनु कसैलाई ।।।

बडादशैं २०१२
वागलुङ, हाल ओस्टण्डे, बेल्जियम

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.