~चन्द्र घिमिरे~
नहुनु भयो!
संसारको एक कुनामा
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार विजेता छानेकै दिन
अर्को कुनामा मान्छे भटाभटी रोगाए
पुच्छर पलाउने रोगले
बानी अनुसार, अग्लो घरबाट
अल्छे स्वास्थ्य विभागले होचो विज्ञप्ति निकाल्यो–
खबरदार, संक्रमण कहालीलाग्दो छ
उपचार छैन
संक्रमित मान्छेलाई कुखुरा झै नष्ट गर्नुपर्छ।
बस्तीमाथि आतंकको बाढी बग्यो
जहाँ तैरिरहेका थिए, अन्योलहरू―
नानीहरू पढ्न पठाउने नपठाउने?
बजार किनमेल जाने नजाने?
बिमारी अस्पताल लैजाने नलैजाने?
गौंडागौंडामा निगरानी बढाएको भट्याए पनि
लुरे सरकारी सूचनाले भर दिएन
घरमै लुके पनि, मान्छेहरू साँपलाई पालेर राखेको भ्यागुता भन्दा सुरक्षित थिएनन्!
पुच्छर पलाएको मान्छे खोज्न
देशी विदेशी स्वयंसेवी जुटे
फोटो पत्रकार छरिए
दलबलसहित खोजमा म पनि ओर्लिएँ
आखिर गत साल मेरो छातीमा
समाजसेवाको ठूलै विदेशी तक्मा आएर बसेको थियो।
अस्ति बिउझिंदा
असजिलो मानेको अङ्ग छाम्दा
हातले भेट्यो, राति पलाएको मेरो आलो पुच्छर
कसैलाई नभनी त्यो दिन पनि
पुच्छर पलाएको मान्छे खोज्न म
झन् साह्रो उर्लिएँ
झन् साह्रो कुर्लिएँ।
लुकाएका कत्ति कुराका झ्यालढोकाहरू
ओछ्यानमा अर्धाङ्गिनीसामु उधि्रन्छन्
पुच्छर दर्शनलगत्तै विक्षिप्त भइन्, देउता गुहारिन्
गुपचुप पुच्छरपतन गराउन
बालसखा डाक्टर थियो
भोलि नै नर्सिङहोम पुर्याइन्
घरको जग खलबलिने गरी हाँस्दै डाक्टरले देखायो–
सप्रँदो काँक्रो जस्तो उसको लुकाएको पुच्छर!
पुच्छरवाला मान्छेलाई नछाड्ने उद्घोष दिनहुँ गर्छ
खोजी अभियानको केन्द्रीय संयोजक छ ऊ।
(स्रोत : हिमालखबर १-१४ कात्तिक २०७२)