उपन्यास अंश : अनि चमार राम भयो

~शिवानीसिंह थारु~

घुर्ना र अधिकलाल साँझ आँगनमा घुर तापिराखेका थिए । दुवै जना चुप थिए । अँध्यारिंदै गएको साँझ घुरको धुवाँमा लटपटिएको थियो । गम्लङ्ग ओढनी ओढेर, जीउ कुप्राएर, काखीमा हात च्याप्दै एकलदुकल गाउँलेहरू देखिन्थे । ध्वाँसे नीलो साँझमा धुस्रोफुस्रो ओढनीहरूले निन्याउरोपन थपिदिएका थिए ।

“बाउ, पञ्चयतीमा के फैसला भयो ? ” घुर्नाले स्वरको तातोले जमेको मौनता पगाल्न खोज्यो ।

“कहाँ गुवारहरू फट्किंदै फट्केनन् पञ्चयतीमा । बइमानहरू । हमरालोग नगए भनेचाहिं सजा सुनाउँछन् । तिनीहरू नआउँदा बसेको बसे गर्नुपर्छ । दुदु घण्टा फोकटिया इन्तजार गराए । अब भन्छन्, कसैलाई नागरिकता चाहे भने नागरिकता हुनेहरूको सिफारिस चाहिन्छ रे । भला बताऊ, तिनीहरूले सिफारिस हामीलाई गरिदिन्छन् । बहिंनचोहरू ।”

घुरको भुतभुते आगोमा पतिङ्गर थप्दै घुर्नाले भन्यो, “हामी अँगुठा छापहरूसित जहाँ भी यस्तै हो ।”

“अरे भाइ, पासमा नागरिकता हुनेहरू सभ थोडै पढलिख गरेछन् रु यो जातको मामिला हो”, घुर खोस्रँदै अधिकलालले भने ।

“हाँ, ऊ त हुँदै हो । उसको माथि कोइ पढालिखा पनि छैन । तब न भन्दै छु ।”

“यो रामलील्ला जस्तो होइन, बौआ । यहाँ पढलिख गर, जे गर । यहाँ त जातले सभकुछ हुन्छ ।”

“जातपात रामलील्लामा पनि हुन्छ, बाउ । तब पनि पता छ, शुकदेव ठाकुर कम्पनीमा के भयो ? ”

“पढाइवढाइले गर्दा तिमी कलाकारी गर्न नसकेको बात ? ”

“त्यो नाइँ, बाउ । कलाकारी मैले एक्को अक्षर नचिने पनि गरें । डायलागबिनाको रोल हुन्थ्यो । तर हाँ पढलिख गरेको भए धेरै कुरा गर्न सक्थें ।

कम्पनीमा सत्र ओटा रोल गर्नेहरू पनि हुन्थे । दुदु हातले टका सोहोरिन्थे।।। दुदु हातले ।”

‘“सत्र रोल एउटै खेलामा ! ” अधिकलालले सोच्नै नसक्ने कुरो थियो त्योे । उनले भने, “बाप रे बहुत पहुँचेको कलाकार होलान् ।”

“उँह ! पहुँचेको कलाकार भन्नुहुन्छ । सारहरू डायलाग बोल्दा इस्त्रीपुरूष सब गडबडाइदिन्थे । सीता जो बानर राजा बालीको रोल पनि गर्थ्यो, त्यसले एक चोटि सीताको डायलाग बोल्दा थाहा छ के भन्यो । ‘स्वामी, मे भी वनबास जाउँगा’ रे ।”

अधिकलाल खितखिताउन थाले ।

“पब्लिकहरू पनि थपडी मार्दै हाँस्थे । सार सुग्रीवले एक दिन आधी सोसम्म गडबडाइराख्यो । भन्छ— ‘लङ्कापति मुझ से लडोगी ?’ पछि व्यासजीले पैसा नै काटिदिए ।”

अधिकलालको हाँसो झन् चर्को भयो । घुर्ना अझ फुर्का जोड्न थाल्यो— “यो केही हैन, बाउ । एक चोटि हामी आसपासको गाउँमा बिलौकी माग्न गएथ्यौं । सीता बन्नेलाई जोर से मुतास लाग्यो । रोक्नै सकेन । त जल्दीजल्दी नजदिकको आमको बगियामा गएर मुत्न थाल्यो । मुतेर जब पछाडि फक्र्यो त देख्छ एउटा छोट्का चरवाहा । बस्स, सीतौवाकै पिछा लागिहाल्यो । अनि पूरा गाउँमा हल्ला मचाइदियो कि सीताले उभ्भेर पिसाब फेर्छिन् । सार सीतौवाको जानको आफद भइहाल्यो । पछि मनेजरले सीतौवालाई सात जनम तक मुत बन्द हुने गरी गाली दियो ।”

मज्जा मानिराखेका अधिकलाललाई होसै रहेन दायाँ हात बिसेक नभएको । हाँस्दाहाँस्दै हात मोडिन जाँदा उनलाई चस्क्यो । पीडाबाट सम्हालिएपछि बल्ल उनले सोधे, “यो कुन कम्पनीमा भएको थियो । शुकदेउवाकहाँ ? ”

“न्न ! यो पहिलाबला रामचरन कम्पनीमा हुँदा भएको । शुकदेउवाकहाँ अरु अचम्म भयो । त्यहाँको राम बन्ने कलाकारै चमार थियो ।”

“चमार ! ” अधिकलाल छक्क परे ।

“हँ त ! विरञ्ची चमार । तर ऊ चमार भए पनि पढेलिखेको थियो । यहीं मधुपट्टी सप्तरीको हो । पहिला कुनौलीमा किसनलील्लामा काम गर्थ्यो । जब शुकदेउवा कम्पनीको मनेजरले देख्यो, त रामलील्लाका लागि मनाइहाल्यो । मनेजरवाले अरु जातको राम बन्नेलाई दिनेभन्दा कम पैसा दिएर उसलाई राम बनायो । विरञ्चीलाई पनि चाँदी भइहाल्यो । पैसा कम दिए पनि के, किसनलील्लामा दिनेभन्दा ज्यादा ही थियो । त्यसैले यता घुसिहाल्यो ।”

साँझ गहिरिंदै थियो । बत्तीको टिलपिल छेउछाउका घरमा बल्न थालेका थिए । तर घुर्नाहरू ढिबरी नबाली बिन्दास गफिइराखेका थिए । यस्तोमा बाबुको आँखा ठम्याउन खोज्दै घुर्नाले भन्यो, “जब मुकुटउकुट लगाएर विरञ्ची राम बनेर मञ्चमा उतारिन्थ्यो, सभले राम भनेर आरती उतार्थे ।

बिलौकीमा पनि जब राम बनेर जान्थ्यो, सार एक से एक बाभनको घर छुछा गरेर बर्बाद गथ्र्यो । कोनोले पता पाउँदैन्थ्यो । फेरि जब कम्पनीमा फर्केर आउँथ्यो त बहिं चाह खाना सभ दूरदूर । गुस्सा र हँसी एकै चोटि उठ्थ्यो मलाई ।”

“अच्छाऽऽ !”

“हँ त ! पहिला मलाई लाग्यो, विषबिनाको हरहरा साँप हो, विरञ्ची । बहुत रिस उठ्थ्यो । बोलाउने बेला मलाई पनि मास्टर भन्थे । तर व्यवहार वही । चाहपानी र खाना खाने बेला कुकुरजस्तै दूर बसेर खानुपथ्र्यो । सारहरू गाउँको घरमा छुवाछूत गरवाउँदा ढेउवाको भूत चढेको हुन्थ्यो । कम्पनीमा फर्केपछि बाभन बन्थे । पता छ बाउ, गुरूमहाराजले मलाई बेटा जस्तो गर्छु भन्नुहुन्थ्यो नि रु तर उनी पनि।।। त्यस्तै थिए ।”

“बौवा, वही भएर कम्पनी छोडेको ?”

“रामचरन कम्पनीमा यहीसभ कारणले हो । तर शुकदेउवाकोमा हुँदा आँखी खोलिदियो विरञ्चीले ।” आत्तुर घुर्ना भन्दै गयो, “एक दिन खाना बनाउनेबला भण्डारीले म र विरञ्ची बसेको गुन्द्रीबाट खाना पस्किन सुरू गर्‍यो । अरु बेला हामीलाई सभैभन्दा पछि खाना दिन्थे । ऊ दिन भण्डारीले जल्दीमा हाम्रोतिरबाट खाना पस्कियो । हामी पनि खपाखप खान थाल्यौं । अरु जातबलाहरूले रिसले खानावाना सभ फालिदिए । उसको बादमा भण्डारीमाथि हाथ उठाउन लागे । बस्स।।। म चुप लागेर बस्नै सकिनँ । भण्डारीलाई बचाउन दौडें । जातको मामिलामा बोल्न आयो भनेर तिनीहरूले मलाई घिसारेर लातैलात जमाए । कहाँको मास्टर, कहाँको घुरन । चमरा सार, ढोलपिट्टा भन्दै खुब मारे । तब् बल्ल विरञ्चीको खुन जाग्यो ।”

“तब् ? ”

“विरञ्चीले मनेजरलाई बोलाएर ल्यायो । अनि जाइकन हुल्लडबाजी बन्द भयो । त्यसपछि मनेजरले छोटामोटा पञ्चयती बसाल्यो । भण्डारीसित माफी मग्वायो । जब उनीहरूले उसलाई माफ गरिदिए, भण्डारीले बस्दिनँ भनेर छाडेर गयो कम्पनी । मैले र विरञ्चीले पनि छाड्छु भन्यौं । मनेजरवा सार डराइगयो । मेरो कारणले होइन, विरञ्चीले छोड्छु भनेर । हरामी पैसा खसोटुले सस्तो दाममा रामको रोल गर्ने कहाँबाट पाउँथ्यो । त के ग¥यो रु मनेजर हामीकहाँ आयो र एक्लैमा विरञ्चीको खुट्टा ढोगेर उनीहरूको तरफबाट माफी माग्यो । विरञ्ची बल्ल मान्यो । म त एकदुतीन मानेको थिएन । तर विरञ्चीले भन्यो—यति गर्नु पनि बहुत ठूलो बात हो ।”

चुइँक्क बोलेका होइनन् अधिकलाल । गाउँलेहरूलाई यो कुरा भन्यो भने पत्याउँछन् होला त रु यस्तै सोचिराखेका थिए सायद ।

“बाउ, त्योपछि मैले ठानिलिएँ, म पनि विरञ्चीजस्तै बन्छु । मलाई बढिया लाग्ने रावणको रोल गर्न जे गर्नुपर्छ, वही गर्छु । आखिर रावणको रोलको वजन रामजत्तिकै हुन्छ । तर सुन्छौ, विरञ्चीले मलाई के भन्यो रु” मुहार उज्यालो हुने गरी मुस्कायो घुर्ना, “उसले भन्यो, उसको भाउ रामको रोल गरेर पक्कै भएको हो । तर यदि उसले पढेवढेको नभए ऊ कहाँ राम बन्न सक्थ्यो रु ऊ पनि म जस्तै कि ढोलक कि नाल बजाउँदै इस्टेजको मास्टरजी बन्थ्यो । र कम्पनी छोड्छु भन्दा कसैलाई कुछ फरक पर्दैनथ्यो । जस्तो कि मलाई भयो रामचरन कम्पनीमा । उसैले मलाई सम्झायो, बुझायो । भन्यो, अगर सक्छौ भने अलि पढ्लिख गर । तब् जहाँ पनि जम्न सक्छौ । अनि मैले सोचें, म जरूर पढ्छु । तबै गुरूमहाराजकहाँ नफर्केर यतै आइहालें सोझै ।”

अधिकलाल केही सोध्न लाग्दै थिए । तर घुर्ना एकसुरेजस्तै बोल्दै गयो ।

“के भनूँ, बाउ । जब मनेजरले विरञ्चीको पावँ ढोगेको देखें, मनलाई बहुत चैन आयो । भला चमारसँग ठूलो जातकाले माफी मागेथ्यो कहीं । अहिलेसम्म जति पनि छिछि दुरदुर सहेको छु, त्यति बेला सभको हिसाब चुक्ता भए जस्तो लाग्यो । मलाई त्यही छिनबाट धेरै कुरा साफ भयो, बाउ । मैले ठानें।।।,” बोल्दाबोल्दै घुर्ना रोकियो । बाबुको मुहार कतै टोलाइराखेको थियो । उसको ढाड चिसो भएर आयो । ऊ फेरि रामलीलामा फर्किदिए हुने भन्ने सोचिराखेका होलान्, घुर्नाले अड्कल्यो । एकाएक स्याँठले हाने जस्तो भयो । ऊ घुरलाई ठोस्न थाल्यो ।

घुरमा काँचो छेस्का पड्कियो, चटाकचुटुक गरी । फिलिङ्गो हावामा लप्क्यो । अधिकलाल अलि पछिल्तिर सरे । घुर्नालाई पोलिनेको वास्ता भएन । उसलाई भित्रभित्रै पोलिराखेको थियो, शुकदेव ठाकुर कम्पनीमा पैसाका लागि ढोलकियाबाट नचनियाँ बन्नुपरेको बाध्यताले, नचनियाँ बनेर नाच्दा हिजडा भनेर हेपिएको पीडाले, जुन उसले बाबुलाई भन्न सकिराखेको थिएन । पैसाका लागि यति सब बेहोर्नुपर्दा पनि आमालाई बचाउन नसकेको निरर्थकताले उसलाई पोलिराखेको थियो ।

(शिवानीसिंह थारुको उपन्यास “काठमाडौंमा एकदिनको” अंश)

This entry was posted in पुस्तक अंश and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.