संस्मरण : “रक्तिम यात्रा” का अनुभव

~नारायण शर्मा~

देशमा संविधान निर्माण हुन नसक्दा जनताले रगत पसिना र आँसुसँग साटेर ल्याएका गणतन्त्र लगायतका हक र अधिकारहरूमाथि कालो बादल मडारिइरहेको छ । देशको राष्ट्रियता दिन–प्रतिदिन सङ्कटग्रस्त बन्दै गइरहेको छ । हाम्रँे राष्ट्रिय अखण्डता र जातीय सद्भाव छिन्नभिन्न हुने सन्त्रास छाइरहेको छ । सत्ता सञ्चालनको साँचो हातमा लिएका र त्यही साँचो आफ्नो हात पार्न कस्सिएकाहरू दुवैले जनआन्दोलन र निर्वाचनको म्याण्डेडलाई बिर्सदै गइरहेको प्रतित हुँदैछ । समयले फेरि एक पटक जनताबाट सशक्त खबरदारीपूर्ण आन्दोलनको माग गरिरहेको छ ।

हो, त्यही आन्दोलनको उठानका लागि राजनैतिक दलहरूलाई समयमै लोकतान्त्रिक संविधान निर्माण गर भन्दै रक्तिम सांस्कृतिक अभियानले यति बेला देशव्यापी रूपमा “रक्तिम विविध सांस्कृतिक कार्यक्रम” सञ्चालन गरिरहेको छ । रक्तिम सांस्कृतिक अभियान तेस्रो राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक तथा जनगायक जीवन शर्माका साथमा दलबहादुर वि.क., गीता थापा, खिमा पुन, सुमन रोका, ओम श्रीस, इन्द्र पुन, ज्योती फौजा, रबिना राना, सतिष कुंवर, वन्दना राना र मीरा थापा सम्मिलित कलाकार टोलीले यो यात्रा अगाडि बढाइरहेको छ । टोलीलाई अभिभावकीय नेतृत्व राजमोका महासचिव सन्तबहादुर नेपालीले दिइरहनु भएको छ । लामो समयको अन्तरालपछि मलाई यो ‘रक्तिम यात्रा’को एक यात्री बन्ने सुअवसर प्राप्त भएको छ । प्राविधिक साथी सन्तबहादुर बर्मेल र चालक मित्र विशाल थापा मगर सहित १६ जनाको टोलीले २०७१ फागुन १३ गतेदेखि यो अभियानको सुरूवात गरेको छ । यो यात्रामा विभिन्न चुनौती र कठिनाइँहरू त छन् नै, तर पनि अहिलेसम्म टोलीले हरेक चुनौतीहरूको सामना गर्दै सफलतापूर्वक कार्यक्रम सम्पन्न गरिरहेको छ । हजारौँ हजार जनताबाट अपार माया बटुलिरहेको छ ।

अभियानका लागि झण्डै एक महिनाको अवधिसम्म कलाकार टोलीले राजमोको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलमा रिहर्सल गरेको थियो । त्यसका लागि व्यवस्थापनमा मित्र दलबहादुर वि.क. जी खटिनु भएको थियो । तर विडम्बना घ् जब टोली अभियानमा हिँड्ने दिन नजिकिँदै गयो उहाँ बिरामी हुनु भयो, फागुन ७ गते म बुटवल पुग्दा उहाँ औषधि खाँदै विस्तरामा पल्टिरहनु भएको थियो । हामीले नेतृत्वका साथीहरूसँग बसेर कार्यक्रमका बारेमा सल्लाह गर्‍यौँ । गीत र नृत्यमा रिहर्सल चलिरहेको थियो । अब त्यसमाथि एक सङ्क्षिप्त नाटक वा प्रहसन पनि थप्ने कुरा आयो । सन्तबहादुर नेपाली सर र नारायण योगीजीले प्रह्सनका लागि आफूले सोचेको खाका सुनाउनु भयो । ती दुवै खाकालाई मिलाएर “वार्ता वार्ता” नामक प्र्सन बनाउने योजना बन्यो । तर रिहर्सलमा जाँदा त्यसमा खेल्ने पर्याप्त कलाकारको अभाव खड्कियो । कलाकारहरू थप गर्ने हामीसँग समय थिएन । ‘वार्तै वार्ता’ प्रहसनका लागि पात्र सोचिएको थियो– भारतीय नेता मोदी । आखिर त्यही पात्रसँगको वार्तालापलाई नै प्रहसनको रूपमा प्रदर्शन गर्ने सामान्य सोच बन्यो । रिहर्सलको अन्तिम तयारीस्वरूप हामीले फागुन ११ मा रिहर्सल स्थल राजमोको पश्चिमाञ्चल क्ष्ँेत्रीय कार्यालय बुटवलमा ‘प्रि सो’ गर्‍यौँ । तर त्यहाँ प्रहसन भने प्रस्तुत गरिएन ।

कञ्चनपुरको महेन्द्रनगरबाट अभियानको सुरूवात गर्न हाम्रो टोली फागुन १२ गते बुटवलबाट प्रस्थान गर्‍यो । माइक, डे«सका झोला, बाजागाजा, व्यक्तिगत झोलाहरू सबै हेर्दा जिपको छतमा सामान टन्नै थियो ।भित्र पनि १४ जना सिट क्षमता भएको जिपमा हामी १६ जना थियौँ । बीच बीचमा प्रहरीले सोधखोज गर्नु कुनै अनौठो थिएन । तर हामीले आफूलाई रक्तिम अभियानको टोली बताएपछि उनीहरूले सहज रूपमै अघि बढ्न दिन्थे । जीपभित्र कतिखेर हाँसो ठट्टा त, कति बेला गम्भीर राजनैतिक विषयमा कुरा गर्दै हामी अघि बढ्यौँ । त्यस दिनको खाना हामीले दाङका साथीहरू हनुमान चौधरी र केशवराज खनालजीको गाउँ मसुरियामा गएर खायौँ । त्यहाँबाट हामीले थारू नृत्यका लागि डे«सहरू पनि लैजानु थियो । हनुमान चौधरीजीको घरबाट ती डे«सहरू लिएर हामी अघि बढ्यौँ । कैलालीको चिसापानीमा पुगेर हामीले नास्ता गर्‍यौँ । कर्णाली पुलमा फोटा खिच्यौँ र फेरि अघि बढ्यौँ । हामी महेन्द्रनगर पुग्दा साँझको ८ बजेको थियो । हाम्रो बसाइँको व्यवस्था अन्नपूर्ण होटलमा मिलाइएको रहेछ । दिनभरिको यात्राले शरीर थकान थियो । त्यसैले लोकेन्द्र लम्साल, विद्यानाथ अधिकारी लगायतका राजमो कञ्चनपुरका नेताहरूसँग सामान्य भलाकुसारी गरी हामी आराम गर्नतर्फ लाग्यौँ ।

फागुन १३ गते अभियानको पहिलो कार्यक्रमको दिन । हामी सबैको मनमा जिज्ञासा सल्बलाइरहेको थियो– पहिलो दिनको कार्यक्रम कस्तो हुने होला ? पहिलो कार्यक्रमको प्रभाव नै राम्रो हुन सकेन भने त्यसले देशभरिका अन्य कार्यक्रमहरूका लागि पनि नकारात्मक सन्देश प्रवाह गर्नेतर्फ हामी गम्भीर थियौँ । त्यसैले हामी नास्ता खाइसकेपछि स्टेज प्राक्टिस गर्न कार्यक्रम हुने स्थल कञ्चनपुर उद्योग वाणिज्य सङ्घको हलतर्फ लाग्यौँ । यस अघि हामीले अन्नपूर्ण होटलकै सभाकक्षमा पत्रकार भेटघाट कार्यक्रम गरेका थियौँ । कार्यक्रममा दिने सबै प्रस्तुतिहरूको एक चरण स्टेजमा प्राक्टिस गरियो । हलका बत्तिहरू जीर्ण अवस्थामा रहेछन् । त्यसलाई मर्मत गर्न लगाइयो । त्यहाँ टिकटहरू कार्यालयका कर्मचारीहरूलाई बढी कटाइएको रहेछ । त्यसैले कार्यक्रम पनि ४ बजेपछ मात्र सुरू गर्नु पर्ने । हामी त ४ बजेबाट नै कार्यक्रम दिने पूर्व तयारीका साथ बसेका थियौँ । तर दर्शकहरू आउने क्रम ४ बजेबाट सुरू भएकाले हामीले ५ बजेबाट मात्र कार्यक्रम सुरू गर्न सक्यौँ । कार्यक्रमको सुरूमा राजमो महासचिव सन्तबहादुर नेपालीले उपस्थित दर्शक एवं अतिथिहरूलाई स्वागत गर्दै सम्बोधन गर्नु भयो । सम्बोधनको क्रममा उहाँले कार्यक्रमको आवश्यकता र औचित्यबारे पनि प्रष्ट पार्नु भयो । बहिनी मिरा थापा र मैले कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएका थियौँ । दुई जनाले आपसमा कुरा गरेको शैलीमा कार्यक्रम सञ्चालन गर्ने—यो हाम्रा लागि नौलो प्रयोग थियो । हामीले प्रस्तुतिका लागि तयार पारेका प्रत्येक कोशेलीहरू क्रमशः प्रस्तुत गर्दै गयौँ । प्रत्येक प्रस्तुतिहरूलाई दर्शकहरूले निकै अभिरूचिपूर्वक हेरिरहेका थिए । दर्शक दिर्घाबाट जीवन शर्मालाई प्रस्तुतिका लागि स्टेजमा निम्त्याउन दबाब बढिरहेको थियो । त्यो दबाबलाई झेल्दै हामीले कार्यक्रम अघि बढाइरहेका थियौँ । प्रहसनका लागि भारतीय नेता मोदी बन्न हामीसँग कुर्ता पाइजामा त थियो तर ‘नेहरू कोट’ थिएन । यो समस्या हामीले लोकेन्द्र लम्सालजीलाई पहिल्यै सुनाएका थियौँ । उहाँले कार्यक्रम हेर्न आउने एक दर्शकबाट सापटी खोजेर त्यस्तो कोट ल्याइदिनु भयो । हामीले प्रहसन पनि प्रस्तुत गर्‍यौँ । मोदीको क्यारिकेचर मेरो अभिनय यात्रामा नयाँ प्रयोग थियो । झण्डै बिस मिनेट हामीले त्यो प्रहसन दियौँ । दर्शकहरूबाट राम्रै प्रतिक्रिया प्राप्त भयो । त्यसपछि हामीले यसलाई कार्यक्रममा निरन्तरता दिने निधो गर्‍यौँ । कार्यक्रममा जीवन शर्माको प्रस्तुतिलाई हामीले विशेष प्रस्तुतिको रूपमा राखेका थियौँ । जीवन दाइले “चाहिंदैन मलाई”, “फोक्ल्याण्डको टापुबाट”, “आकासैमा बादलु छैन” र “सिमली छायाँ” गीत प्रस्तुत गर्नु भयो । उहाँका प्रत्येक प्रस्तुतिहरूलाई दर्शकहरूले निकै मन पराएको देखिन्थ्यो । कार्यक्रम सकिएपछि स्थानीय आयोजक साथीहरू सहित समीक्षा बैठक बसियो । सबैतिरबाट कार्यक्रम निकै सफल रहेको प्रतिक्रिया आयो ।

पहिलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि कलाकार साथीहरूमा थप उत्साह जागेको थियो । त्यही उत्साहका साथ १४ गते बिहान हामी कञ्चनपुरकै बेलौरीतर्फ लाग्यौँ । एक बिहानैदेखि आकासबाट पानी परिरहेको थियो । रिमझिम वर्षातकै बीचमा हाम्रँे यात्रा अघि बढिरहेको थियो । वर्षातले पक्कै पनि आज कार्यक्रम गर्न दिने छाँट छैन । हामी सबैका मनभरि यही प्रश्न खेलिरहेको थियो । हामी बेलौरी पुग्दा वर्षा पनि रोकियो । बेलौरी ७ स्थित राजेन्द्र श्रेष्ठको गोदाममा कार्यक्रम दिनका निम्ति मञ्च बनेको रहेछ । त्यहाँ दर्शकका रूपमा स्थानीय जनताको उपस्थिति रहेको थियो, जहाँ थारू समुदायका मानिसहरू बढी हुनु हुन्थ्यो । त्यसैले त्यहाँको कार्यक्रममा हामीले थारू गीत “मितबारे भैया” दिन छुटाएनौँ । गीति नाटक ठूलीको गीत “उर्लेर आउँदा”, मिनी अपेरा रातो लालटिन, मोदी रूपमा प्रहसन, देश जान थाल्यो, क्रान्ति आफै आउन्न लगायतका पहिलो दिनको कार्यक्रमको सेड्युलमा रहेका आइटमहरू नै हामीले त्यहाँ पनि प्रस्तुत गर्‍यौँ । जीवन दाइले त्यहाँ पनि ५ वटा गीतहरू नै प्रस्तुत गर्नु भयो । कार्यक्रमको सुरूमा पानीले बिथोल्न खोजेको थियो तरपछि रोकियो र कार्यक्रम निरन्तर अघि बढ्यो । समग्रमा त्यहाँको कार्यक्रम पनि राम्रो रहेको साथीहरूको मूल्याङ्कन सुनियो । कार्यक्रम सकेर साँझ हामीले साथी भोजलाल चौधरीजीको घरमा खाना खायौँ । सुताइको व्यवस्था साथीहरूले विभिन्न घरहरूमा बाँडेर मिलाउनु भएको रहेछ । खानापछि स्थानीय साथीहरू सहित कार्यक्रमको समीक्षा बैठक बसी हामी आ–आफ्नो विस्तरातर्फ लाग्यौँ ।

१५ फागुनको दिन हामीले लामो यात्रा गर्नु थियो– सुर्खेतको वीरेन्द्रनगरसम्म । बिहानको चिया हामीले राजमो कञ्चनपुरका सचिवालय सदस्य मानप्रसाद जैसीजीको घरमा पियौँ भने नास्ता पुनर्वासमा पुगेर लोकेन्द्र लम्सालजीका भाइ हरि लम्सालजीको घरमा खायौँ । त्यसपछि हामी भारतीय सीमा नजिक हुँदै धनगढीतर्फ लाग्यौँ । अत्तरियामा चिसापानी हुँदै दिनको ३ बजे बाँकेको कोहलपुर पुगेर साथी भीम श्रेष्ठको होटलमा हामीले खाना खायौँ । सुर्खेतका साथीहरूले ५ बजेबाट पत्रकार सम्मेलन राखिएकाले छिटो आउन बारम्बार ताकेता गरिरहनु भएको थियो । तर हामी उक्त समयमा त्यहाँ पुग्ने कुनै सम्भावना थिएन । कोहलपुरबाट हामी हिँड्दा ४ बजिसकेको थियो । हामी वीरेन्द्रनगर पुग्दा घडीमा साँझको ७ बजिसकेको थियो ।

वीरेन्द्रनगरमा हाम्रँे बसाइँको व्यवस्था साथीहरूले पानस होटलमा मिलाउनु भएको रहेछ । त्यहाँ सुरूमा हामीलाई साथीहरूले राजमोको कार्यालयमा लैजानु भयो । राजमोका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, राजमो सुर्खेतका अध्यक्ष धनप्रसाद देवकोटा, दैलेखका राजमो अध्यक्ष्ँ मायाराम अधिकारी, रक्तिमकै सहयोद्दा मित्र जीवन शाही र नेकपा (मसाल) का सुर्खेत जिल्ला प्रवक्ता बालकृष्ण सुनार लगायतसँग त्यही मिठो भेटघाट भयो । १६ फागुनका दिन बिहान कार्यक्रम सुरू हुनु पूर्व हामी सुर्खेत बुलबुल ताल घुम्यौँ । त्यहाँ केही फोटाहरू खिचायौँ र मित्र जीवन शाहीको घरमा पुगी खाना खायौँ ।

सुर्खेतको कार्यक्रम सबै कोणबाट उत्कृष्ट रह्यो । कार्यक्रममा प्रस्तुति, दर्शकको उपस्थिति र प्रतिक्रिया, सबै पक्षमा निकै प्रभावकारी थियो । सुर्खेत विरेन्द्रनगरको त्यो कार्यक्रम । घण्टाघर पार्कभित्र बनाइएको आर्कषक मञ्च, मञ्च अगाडि टेण्टमुनि सजाइएका कुर्सी र त्यहाँ बसिरहेका दर्शक, खुल्ला आकासमुनिको त्यो रमणीय दृश्य ती सबै देख्दा हाम्रँे मन त्यसै पनि हर्षित थियो । सबै साथीहरूले खुलेर आफ्ना प्रस्तुति दिनु भयो । सुर्खेत अभियानमा हामी सँगैकी यात्री मिरा थापा बहिनीको जिल्ला थियो । कार्यक्रम सञ्चालन गर्दा मैले उनीसँगै सुर्खेतको बारेमा धेरै कुरा गरे । कार्यक्रममा कलाकारहरूको लगातारको जोशिलो प्रस्तुति देखेर दर्शक दिर्घाको अघिल्लो पङ्क्तिमा बसेकी एक दर्शकले मित्र जीवन शाहीलाई सोध्दै थिइन्– “हैन, ए भतिज, तेरा यी कलाकारहरू कहिल्यै थाक्दैनन् ? नाँच्न पनि कति सकेका हुन् है यिनीहरू ।” त्यहाँ झण्डै १,५०० को सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो । जीवन दाइले “सिमली छायाँ” प्रस्तुत गर्दा दर्शक दिर्घाबाट तिन जना वृद्धहरूलाई बोलाएर मञ्चमै राखेर वृद्ध वृद्धालाई हेला होइन, माया गर्न आह्वान गर्दा मास पुरै भावुक बनेको थियो । तिन घण्टासम्मको अवधिमा दर्शकहरूले नचल्मलाइकन कार्यक्रम हेरे । साँच्चै नै निकै, निकै निकै नै प्रभावकारी सुर्खेतको त्यो कार्यक्रम साँझ समीक्षा बैठकमा पनि साथीहरूले त्यस्तै कुरा सुनाउनु भयो । अर्को दिन विहान त्यहाँबाट निस्किएका स्थानीय पत्रपत्रिकाहरूले हाम्रो कार्यक्रमको समाचारलाई प्रमुखताका साथ प्रस्तुत गरे । साझा बिसौनी दैनिकले त ब्यानर न्यूजकै रूपमा लेख्यो– “संविधानका लागि सांस्कृतिक दबाब ः ‘मोदी’ ले हँसाए, जीवनले नचाए ।”
सुर्खेतको त्यो प्रभावकारी कार्यक्रम सकेर १७ फागुनको बिहान ११ बजे हामी बुटवलतर्फ लाग्यौँ– अर्घाखाँचीको कार्यक्रममा जानका लागि ….।

नयाँ स्थानमा नयाँ नयाँ अनुभवहरू बटुल्दै हाम्रो यात्रा अघि बढिरहेको थियो । जीपभित्रको दनिभरकिो खदिलो यात्राले जिउ त्यसै त्यसै थकिन हुन्थ्यो । तर गन्तव्यमा पुगिसकेपछि त्यहाँका साथीहरूसँगको भेटले हामीमा छुट्टै उर्जा र उमङ्ग सञ्चार हुन्थ्यो । अभियान अवधिका बीचका खाली दिनहरूमा हमीले बुटवललाई आराम स्थल बनाउने योजना पहिल्यै बनाएका थियौँ । किनकि त्यहाँ हाम्रो आफ्नै साङ्गठनिक भवन थियो । फागुन १७ गते विरेन्द्रनगरबाट आएका हामी बुटवल कार्यालयमै बस्यौँ ।

अर्घाखाँचीमा कार्यक्रम १९ र २० गते थियो । हामी १८ गतेको साँझ आरामसँग पुग्दा हुन्थ्यो । बीचको समय हामीले नुहाइधुवाइ र सामान्य रिहर्सलमा लगायौँ । सुर्खेतको कार्यक्रमपछि बहिनी मीरा थापा हाम्रो टोलीमा थिइनन् । घरायसी काम विशेषका कारण उनी सुर्खेतमै बसेकी थिइन् । कार्यक्रम सञ्चालन त एक्लै गरौँला, तर प्रहसन “रक्तिम मोदी” मा पत्रकार कसलाई बनाउने ? जीवन दाइ र हामीले सल्लाह गर्‍यौँ । कलाकार बहिनी ज्योती फौजालाई पत्रकारको भूमिका दिने कुरा भयो । उनी जीवनमा कहिले पनि माइक्रोफोन समातेर स्टेजमा बोलेकी थिइनन् । तर उनले हाम्रो प्रस्तावलाई नकार्न सकिनन्, सहज रूपमा स्वीकारिन् । १७ गते साँझ उनलाई सामान्य रिहर्सल गराइयो । १९ गते अर्घाखाँचीको सन्तोष चलचित्र मन्दिर सन्धिखर्कमा कार्यक्रम प्रस्तुत गरिरहँदा मेरो मनमा त्यही प्रश्न सल्बलाइरहेको थियो । साँच्चै ज्योती बहिनीले पत्रकारको भूमिका कस्तो गर्ने होलिन ? तर उनले हाम्रो विश्वासलाई डग्न दिइनन् । सोध्नु पर्ने सबै प्रश्नहरू कार्यक्रममा उनले सरासर राखिन् ।

अर्घाखाँचीको त्यो सन्तोष चलचित्र मन्दिरको स्टेज सारै साँघुरो थियो । पहिले हामीले गीति–नाटक ‘पूजा’ र ‘ठूली’ पनि त्यही हलमा देखाएका थियौँ तर त्यति बेला स्टेज अलि ठूलो थियो । अहिले पछाडिको स्क्रिन पर्दा अगाडि सारेको रहेछ । स्टेजको त्यो अवस्था देखेपछि सुरूमा त साथीहरूले हल बदल्ने प्रयत्न पनि गर्नु भयो, तर त्यो सम्भव भएन । सानो स्टेजमा पनि मिलाएर जसरी कार्यक्रम प्रस्तुत गरियो । त्यो बाध्यतालाई दर्शकहरूले पनि बुझे । कार्यक्रम हेरिसकेपछि स्थानीय विकास अधिकारी ……..ले साथीहरूसँग भन्नु पनि भएको रहेछ– “त्यति सानो स्टेजमा पनि कलाकारहरूले निकै राम्रो प्रस्तुति दिए । ठूलो स्टेज भएको भए अझ कति खुलेर नाच्दा हुन ?”

अर्घाखाँचीमा फागुन १९ गते र २० गते गरी हामीले दुई सो कार्यक्रम दियौँ । दुवै कार्यक्रमहरू प्रभावकारी रहे । कार्यक्रम पश्चात् स्थानीय आयोजक साथीहरू सहितको समीक्षा बैठक हामी अर्घाखाँचीमा पनि बस्यौँ । दर्शकहरूबाट आएका प्रतिक्रिया र स्थानीय साथीहरूको मूल्याङ्कनमा कार्यक्रम निकै राम्रो भएको पाइयो । राजमो अर्घाखाँचीका अध्यक्ष झविलाल थापा भन्दै हुनु हुन्थ्यो ः “अर्घाखाँचीमा रक्तिमका धेरै केन्द्रीय टोलीहरू आए । तर अहिलेको जस्तो अनुशासित मिलिटेन्ट र स्फूर्तिलो टोली हामीले देखेका थिएनौँ ।” उहाँहरूले कार्यक्रमलाई अझै सुन्दर बनाउन हामीलाई केही सुझाव पनि दिनु भयो, जसलाई पछिल्ला कार्यक्रमहरूमा हामीले कार्यान्वयन पनि गर्‍यौँ ।

अर्घाखाँचीका दुई सो सकेपछि हाम्रो टोली काठमाडौँ जानका लागि २१ फागुनको बिहान सन्धिखर्कबाट अगाडि बढ्यो । सुपा देउरालीमा केही बेर अडिएर हामीले तस्विरहरू खिचायौँ । त्यस दिन दिउँसोको खाना हामीले बुटवल कार्यालयमा आएर खायौँ । दिउँसो दुई बजेतिर हामी बुटवलबाट काठमाडौँका लागि प्रस्थान गर्‍यौँ । काठमाडौँ कपन कार्यालयमा पुग्दा साँझको ९ बजेको थियो । अभियानका लागि काठमाडौँबाट हिँडेको १५ दिनपछि म पनि आफ्नो कोठामा पुगेँ ।

काठमाडौँको कार्यक्रमप्रति हाम्रो टोली विशेष सचेत थियो । काठमाडौँका दर्शकहरू राजनैतिक रूपले सचेत, कला र साहित्यबारे पनि राम्रो दखल राख्ने हुन्छन् भन्ने हामीलाई थाहा थियो । हामीले कलाकार साथीहरूलाई त्यो स्थितिबारे बारम्बार जानकारी गराइरहेका थियौँ । सबै साथीहरू सचेत र गम्भीर हुनु हुन्थ्यो । काठमाडौँमा कार्यक्रमको दिन १०५ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस परेको थियो । यसर्थ कार्यक्रममा नारी अधिकारसम्बन्धी गीतहरू थप्ने योजना हामीले बनाएका थियौँ । फागुन २४ गते राष्ट्रिय नाँचघर जमल काठमाडौँमा कार्यक्रम सुरू गर्दा हामीले देख्यौँ ः राजमो अध्यक्ष चित्रबहादुर के.सी., उपाध्यक्ष्ँ एवं प्रवक्ता दुर्गा पौडेल, कोषाध्यक्ष भैरव रेग्मी, नेकपा (मसाल) का प्रवक्ता विमल शर्मा, नेपाली काङ्ग्रेसका नेता तारिणीदत्त चटौत, नेकपा (एमाले) र एमाओवादीका नेताहरू दर्शक दीर्घाको अघिल्लो पङ्क्तिमा बस्नु भएको थियो । उहाँहरूको उपस्थितिले हामीलाई एकातर्फ उर्जा र हौसला मिलिरहेको थियो भने अर्कातर्फ, गम्भीर बनाइरहेको थियो । कथङ्कदाचित कार्यक्रममा प्रस्तुति राम्रो हुन सकेन भने त्यो स्वयं कलाकार र सङ्गठनकै लागि पनि लज्जाको विषय बन्थ्यो । त्यसकारण गम्भीर मुद्रामा सचेततापूर्वक हामीले कार्यक्रम अगाडि बढायौँ । हामीले देखिरहेका थियौँ ः हाम्रँ प्रत्येक प्रस्तुतिहरूलाई अतिथिहरूले निकै अभिरूचिपूर्वक हेरिरहनु भएको थियो । कार्यक्रमका प्रत्येक प्रस्तुतिहरूपछि हामीले उहाँहरूका मुहारमा नियाल्थ्यौँ । उहाँहरूको मुहारमा झल्किएको उज्यालोपनबाट हामीले बुझ्यौँ ः कार्यक्रमले राम्रो प्रभाव पारिरहेको छ । त्यस दिन अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस पनि परेकाले हामीले कार्यक्रम सेड्युलभन्दा वाहेक २ वटा नारीसम्बन्धी गीतहरू दियौँ । निलिमा पुनजीले “आएन परदेशी” र “आँशु झार्दै आँखाबाट” बोलका गीतहरू प्रस्तुत गर्नु भयो । काठमाडौँको कार्यक्रममा जीवन दाइका प्रस्तुति, मिनिअपेरा ‘रातो लालटिन’ र प्रहसन “रक्तिम मोदी” लगायतका सबै प्रस्तुतिहरू प्रभाव छोड्न सफल रहे । कार्यक्रम सकिएपछि विभिन्न पार्टी सङ्गठनका नेतागण र साहित्यकार, कलाकारहरूले हामीलाई भेटेर बधाइ दिनु भयो । कार्यक्रम हामीले सोचेभन्दा पनि राम्रोसँग सफल भयो ।

काठमाडौँको कार्यक्रम सफल पारेपछि २५ फागुनको विहान हामी नारायणगढतर्फ लाग्यौँ । त्यहाँ २६ र २७ गते दुई सो थियो । नारायणगढ बजारमा रहेको नारायणी कला मन्दिरमा कार्यक्रम राखिएको रहेछ । त्यहाँ स्थानीय साथीहरूले तयारी राम्रै गर्नु भएको रहेछ । मञ्च पनि ठिक्क मिलेको थियो । दुवै दिन हलमा दर्शकहरू खचाखच भरिएका थिए । दर्शक दीर्घाको अघिल्लो पङ्क्तिमा राजमोका केन्द्रीय नेताहरू चन्द्रबहादुर के.सी., राजेन्द्र ढुङ्गाना, डम्बर पुरी, एमाओवादीका सभासद डि.आर. पौडेल, पत्रकार महासङ्घ शाखा चितवनका अध्यक्ष हरि पोख्रेल, बिबिसीका संवाददाता ईश्वर जोशी, नागरिक दैनिकका संवाददाता मित्र रमेश पौडेल लगायतका विशिष्ट व्यक्तिहरू बस्नु भएको थियो । त्यहाँ पनि सबै प्रस्तुतिहरू राम्रो भयो । जीवन दाइले गाउँदा डिआरजीहरू मञ्चमै पुगेर नाच्नु पनि भयो । नारायणगढको कार्यक्रममा निलिमाजीले पनि २ वटा गीतहरू दिनु भयो । कार्यक्रमपछि स्थानीय साथीहरू सबै प्रफुल्ल देखिनु हुन्थ्यो । आर्थिक हिसाबले पनि त्यहाँ राम्रो भएको बुझियो । शायद हाम्रो अभियानभरिको कार्यक्रममा सबैभन्दा बढी आम्दानी त्यहीँ भएको थियो ।

नारायणगढपछि अब चैत्र २ गतेसम्म हाम्रो कार्यक्रम लगातार परेको थियो । बीचमा आरामका लागि कुनै दिन बाँकी थिएनन् । त्यसैले २७ फागुनमा कार्यक्रम सक्नासाथ सामानहरू पोको पारेर रातारात हामी पोखरातर्फ लाग्यौँ । पोखरा पुग्दा रातको १० बजिसकेको थियो । पोखरा सभागृहमा हामीले फागुनको २८ र २९ गते कार्यक्रम प्रस्तुत गर्‍यो । पहिलेको दिपेन्द्र सभागृह, जो अहिले पोखरा सभागृहको नामले चिनिन्छ, सारै जीर्ण अवस्थामा रहेछ । त्यहाँ पर्दा, लाइट, माइक केही पनि थिएन । हलका कुर्सीहरू पनि अधिकांश भाँचिएका अवस्थामा थिए । हलको त्यो अवस्था देख्दा सारै नमज्जा लाग्यो । पोखराको त्यो हलमा पहिला हामीले धेरै पटक कार्यक्रम गरेका थियौँ । गीति–नाटक ‘ठूली’ एकाङ्की नाटक ‘कालो हतियार’ लगायत विभिन्न समयमा हामीले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थियौँ । त्यति बेला हल सारै सुन्दर थियो । अहिले भने पूरा उजाड भएको रहेछ, पुरै भग्नावशेष जस्तो । तर पनि बाहिर टेण्टबाट सामानहरू ल्याएर साथीहरूले मिलाउनु भयो र हामीले कार्यक्रम प्रस्तुत गर्‍यौँ । कार्यक्रम सुरू गरिरहँदा हामीलाई रक्तिमको कार्यक्रमको सिलसिलामा त्यहाँ घटेको २०६१ सालको घटनाले झस्कायो । द्वन्द्वकालको त्यो अवधिमा हामी दुवैथरि बन्दुकहरूको अतिवादका विरुद्धमा देशव्यापी सांस्कृतिक यात्रामा थियौँ । पोखरामा २०६१ माघ १५ र १६ गते कार्यक्रम तय भएको थियो । सम्पूर्ण तयारी पूरा गरेर कार्यक्रम देखाउन जाँदा १५ गते बिहान हामीलाई पहिल्यै बुक गरिसकिएको हल पनि “हल उपलब्ध गराउन नसकिने” सूचना सुनाइएको थियो । त्यसपछि हामीले हल बाहिर सडकमा नै मञ्च बनाएर कार्यक्रम गरेका थियौँ । खुल्ला सडकमा ‘टिकट सो’–यो नेपालको इतिहासमै शायद पहिलो घटना थियो । हाम्रा लागि त्यो राम्रै भयो ।भित्र हलमा भएको भए त्यही बाह्र÷पन्ध्र सय दर्शकले हेर्ने थिए । बाहिर सडकमा हजारौँले हेर्न पाए । त्यो घटनाको भण्डाफोर गर्दै हामीले सडकमा त्यसरी टिकट सो गरेका थियौँ । कार्यक्रममा दर्शकहरूको ओइरो लागेको थियो ।पछि थाहा भयो ः तत्कालीन माओवादीका एक स्थानीय नेताको धम्कीका कारण हामीलाई त्यो हल नदिइएको रहेछ ।

यस पटक पोखरामा कार्यक्रम प्रस्तुत गर्दा हामीले उक्त घटनाको पनि स्मरण गर्‍यौँ । हलको अवस्था त्यस्तो भए पनि दर्शकहरूको उपस्थिति त्यहाँ राम्रै रह्यो । दर्शक दीर्घामा बौद्धिक वर्गका प्रतिनिधिहरू बाक्लै देखिन्थे । त्यहाँ पनि हामीले दुवै दिन आफ्ना सेड्युलभित्रका सबै प्रस्तुतिहरू दियौँ । बागलुङसम्मको कार्यक्रमका लागि निलिमाजी पनि टोली सँगसँगै जानु भएको थियो । तर राती (फागुन २७ गते राती) उहाँ बिरामी पर्नु भयो । उहाँ पहिले बिरामी अवस्थामा रहेका कारण टोलीमा सहभागी हुन सक्नु भएको थिएन र कोठामै आराम गरिरहनु भएको थियो । काठमाडौँको कार्यक्रमपछि डाक्टरहरूको समेत परामर्श लिएर हामीले उहाँलाई टोलीमा हिँडाएका थियौँ । खानपिन र बसाइँमा सक्दो ख्याल गरिएकै थियो । तर त्यस दिन राती अचानक उहाँको शरीरबाट रगत बग्न थाल्यो । हामीहरू सबै आत्तियौँ । स्थानीय साथीहरूको सहयोग र काठमाडौँकै डाक्टरहरूको फोनबाट परामर्श लिएर उपचार गरियो ।पछि क्रमशः उहाँलाई ठीक हुँदै गयो र हामी कार्यक्रम स्थलतर्फ लागेका थियौँ । पहिलो दिनको कार्यक्रममा निलिमाजीलाई आराम गर्न लगाइयो । दोस्रो दिन भने उहाँले दुई वटा गीत गाउनु भयो । पोखरामा पनि दुवै दिनका प्रस्तुतिहरू बेजोड रहे । जीवन दाइले गीत गाइरहँदा त्यहाँ पनि दर्शक दीर्घाबाट मञ्चमा नाँच्ने मान्छेहरूको ओइरो लाग्यो । कार्यक्रम पश्चातका प्रतिक्रियाहरू पनि राम्रै प्राप्त भए । स्थानीय आयोजक साथीहरू सबै खुशी देखिनु हुन्थ्यो । पोखरा बसाइँको क्रममा हामीले फेवातालको रमणिय दृश्यावलोकन गर्ने अवसर पनि पायौँ, गर्न पनि छुटाएनौँ । २८ फागुनमा हामी सबै टोलीका साथीहरू फेवाताल घुम्न गयौँ । त्यहाँको प्रँकृतिक सौन्दर्यताको आनन्द लिंदै केही तस्विरहरू पनि खिचायौँ ।

पोखराको कार्यक्रम सकेर २९ फागुनको राती नै हामी बागलुङतर्फ लाग्यौँ । बागलुङ एक प्रकारले रक्तिमको उद्गम स्थल नै थियो । राजमो अध्यक्ष चित्रबहादुर के.सी. र रक्तिम अध्यक्ष जीवन शर्माकै गृह जिल्ला बागलुङले रक्तिमका कैयौँ कलाकारहरू उत्पादन गरेको छ । अहिलेकै हाम्रो टोलीमा पनि बागलुङकै साथीहरूको बाहुल्यता थियो । बागलुङ प्रवेश गर्दा हामीलाई साँच्ची नै आफ्नो लाल किल्लामा प्रवेश गरेको अनुभूति भइरहेको थियो । त्यहाँ हामीले व्यवस्थापकीय कार्यमा केही भन्नु पर्ने अवस्था रहेन, स्थानीय साथीहरूले सबै मिलाउनु भयो । बागलुङ बजारस्थित राधाकृष्ण मन्दिरको सभाहलमा कार्यक्रम राखिएको रहेछ । बागलुङको सन्दर्भमा हल अलि सानै थियो, त्यस्तै पाँच÷छ सय दर्शकहरूमात्र अटाउने । हलमा दर्शकहरू खचाखच भरिएका थिए । रक्तिमलाई निकै माया गर्ने दर्शकहरू हुनु हुन्थ्यो । ३० फागुनमा दिउस १ बजेदेखि ४ बजेसम्म हामीले कार्यक्रम प्रस्तुत गर्‍यौँ । त्यहाँ पनि दर्शक एवं स्थानीय साथीहरूबाट राम्रै प्रतिक्रिया आयो । कार्यक्रम सकेर सोही दिन साँझ हामी म्याग्दीतर्फ लाग्यौँ ।

साङ्गठनिक हिसाबले म्याग्दी केही कमजोर जिल्ला थियो । तर त्यहाँ पनि साथीहरूले तयारी राम्रै गर्नु भएको रहेछ । हाम्रो टोलीमा सहभागी कलाकार बहिनी खिमा पुन म्याग्दी जिल्लाकै थिइन । बेनी पुगेपछि उनी पनि व्यवस्थापकीय कार्यमा लागिन । चैत्र १ गते दिउँसो १ बजेबाट हामीले त्यहाँको एक फिल्म हलमा कार्यक्रम सुरू गर्‍यौँ । दर्शकहरूको राम्रै उपस्थिति थियो । बेनीमा कार्यक्रम हेर्नका लागि बागलुङबाट पत्रकार साथीहरू ताराप्रसाद शर्मा र विजय राना, अनि रक्तिमकै कलाकार बहिनी पवित्रा बुढा पनि आउनु भएको थियो । कार्यक्रम सकेर हामी तनहुँतर्फ लाग्ने क्रममा मालढुङ्गासम्म उहाँहरू पनि हामीसँगै आउनु भयो । बाटामा रमाइला कुरा भए ।

साँझ ५ बजे बेनीबाट हिँडेका हामी राती १० बजे मात्र तनहुँको चिन्तुटार भन्ने ठाउँमा पुग्यौँ । साथीहरूले त्यहाँ नै हाम्रो बसाइँको प्रबन्ध मिलाउनु भएको रहेछ । पुष्पलाल श्रेष्ठ र श्रीकुमार श्रेष्ठ लगायतका साथीहरूले बारम्बार आग्रह गर्दा पनि घर जाने बाटो परे पनि तनहुँका साथीहरूसँग मेरो त्यसभन्दा अगाडि बसाइँ हुन पाएको थिएन । अहिले अभियानको क्रममा त्यो अवसर मिल्यो । लगातारको रातीको हिँडाइ, दिनहुँ कार्यक्रम—यी सबै कारणले गर्दा शरीर त थकित थियो तर पनि साथीहरू भेट भएका बेला मनले मानेन र राती अवेरसम्म कुरा गर्दे बसियो ।

अर्को दिन बिहानै मञ्च व्यवस्थापनका लागि स्थानीय साथीहरूसँग म कार्यक्रम स्थल दमौलीतर्फ लागँे । दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा रहेछ, कार्यक्रम दिनु पर्ने । मञ्च राम्रै थियो तर डे«सिङ कोठा बनाउनु पर्ने रहेछ । हामीलाई दिउँसो ३ बजेपछिका लागि मात्र हल दिइएको रहेछ । दिउँसो १२देखि २.३०सम्म फिल्म चल्ने । हामीले मञ्च व्यवस्थापनको अन्य तयारी पनि त्यो फिल्म छुटेपछि मात्र गर्‍यौँ । लाइट, माइक, डे«सिङ रूप सबै तयार गरी कार्यक्रम सुरू गर्दा ३.३० बजेको थियो । तनहुँ पनि साङ्गठनिक हिसाबले हाम्रो त्यति बलियो ठाउँ थिएन । तनहुँमा कार्यक्रम दिने बेला हाम्रो मानसपटलमा २०५४ सालको एक घटना घुमिरहेको थियो । त्यति बेला तनहुँको व्यास नगर पालिका–५, कुमालटारीमा रक्तिम सांस्कृतिक अभियानको सांस्कृतिक शिविर चलिरहेको थियो । प्रशिक्षणका लागि केन्द्रबाट मित्र डम्मर भण्डारीलाई पठाइएको थियो । शिविर चलिरहेकै बेला प्रशासनले एक्कासी हस्तक्षेप गर्‍यो । सहभागी सबै कलाकार साथीहरूलाई गिरफ्तार गरी प्रहरी कस्टडीमा पुर्‍यायो । पार्टी सङ्गठनको पहलकदमीमापछि साथीहरूलाई हिरासतबाट मुक्त गराइएको थियो । अहिले दमौलीमा कार्यक्रम प्रस्तुत गरिरहँदा हामीले उक्त घटनाको पनि भण्डाफोर गर्‍यौँ ।

हामीले त्यहाँ त्यति धेरै दर्शकहरूको अनुमान गरेका थिएनौँ । तर हलमा उपस्थिति हामीले सोचेभन्दा धेरैमाथि थियो । दर्शकहरूको त्यो उपस्थिति देखेर कलाकार साथीहरू सबै उत्साहित हुनु हुन्थ्यो । त्यही उत्साहका बीचमा नै हामीले कार्यक्रम प्रस्तुत गर्‍यौँ । हाम्रा सबै प्रस्तुतिहरूलाई दर्शकहरूले निकै अभिरूचिपूर्वक हेरिरहेका थिए । कार्यक्रम हेरिसकेपछि त्यहाँ पनि हामीलाई बधाइको ओइरो लाग्न थाल्यो । विभिन्न पार्टी आवद्ध नेता कार्यकर्ताहरू आएर हामीलाई “कार्यक्रम एकदमै राम्रो लागेको” बताइरहेका थिए । स्थानीय साथीहरू पनि साह्रै खुशी देखिनु हुन्थ्यो । कार्यक्रम सक्दा ७ बज्न लागिरहेको थियो । त्यस रात हामी दमौलीकै गण्डकी होटलमा बस्यौँ । राती अबेरसम्म स्थानीय साथीहरूसँग बसेर कार्यक्रमको समीक्षा गरियो ।

अब हाम्रो कार्यक्रम चैत्र ६ गते उदयपुरमा थियो । हामीले ३ गते बुटवल पुग्ने र ४ गते त्यही आराम गरेर ५ गते मात्र उदयपुर जाने योजना बनायौँ । ३ गते विहान तनहुँकै गुनादीस्थित मित्र विन्दु कुंवरको धौलागिरी कटेजमा खाना खाएर स्याङजा हुँदै बुटवल जानका निम्ति हामी पोखरातर्फ लाग्यौँ । हाम्रो यात्राको क्रममा बीच बीचमा प्रहरीहरूले रोकेर सोधखोज प्रायः स्थानमा गरेका हुन्थे । हामीले आफ्नो सङ्गठनको परिचय दिँदै अभियानका बारेमा बताएपछि उनीहरूले हामीलाई सहज रूपमा नै अघि बढ्न दिन्थे । तर त्यस दिन हामीले कास्कीको लेखनाथ नगरपालिका प्रवेश गर्नासाथ विचित्रका ट्राफिक प्रहरीहरूको सामना गर्नु पर्‍यो । मोटर साइकिलमा आएका उनीहरूले बीच बाटोमा एक्कासी हाम्रँे जीप रोके । म गाडीबाट उत्रिएर उनीहरूको सामु गए । “यो जीपको सिट पास कति हो ?”, “छतमाथि यति धेरै सामान किन राखेको ?” “गाडीमा यस्तरी नेपालको झण्डा फहराउँदै हिँड्न पाइन्छ ? “थाहा छैन, नेपालको झण्डा कस्तो कस्तो ठाउँमा प्रयोग गर्न पाइन्छ ?” उनीहरूमध्ये एक जनाले यसरी प्रश्नको वर्षा गर्न थाल्यो । मैले हाम्रँे सङ्गठन र अभियानबारे उसलाई बताउँदै गए । मेरो कुरालाई बीचमा काट्दै ऊ फेरि बोल्न थाल्यो– “थाहा छ मलाई रक्तिम परिवारका बारेमा । मेरो घर पनि पर्वतको लिमुवा हो । नाम हेर्नुस् यी (आफ्नो छातीको नेम प्लेट देखाउँदै) असई केशरबहादुर मल्ल हो ।….. अरू जे होस् गाडीमा यसरी झण्डा हल्लाउँदै हिँड्न पाइँदैन । त्यसलाई निकाल्नुस ।” उसको कुरा सुनेर मलाई रिस उठिरहेको थियो । तर सकेसम्म रिसलाई नियन्त्रण गर्दै सम्भ्य भाषामा नै मैले कुरा राखे– “सरी सर, हामीले यो झण्डा निकाल्न सक्दैनौँ । यो राष्ट्रिय स्वाधीनताको रक्षार्थ अघि बढेको रक्तिम यात्रा हो । हामी राष्ट्रिय अखण्डतालाई जीवित राख्न यो अभियान चलाइरहेछौँ । देशलाई खण्डित हुन नदिन जनचेतना जगाउँदै हिँडिरहेका छौँ । तपाईहरू बरू तलब लिएर ड्युटी गर्दै हुनु हुन्छ तर हमी निस्वार्थ देशभक्तिपूर्ण भाव बोकेर यो अभियानमा सरिक भैरहेका छौँ । आफ्नो देशको राष्ट्रिय झण्डा फहराउँदै हिँड्ने हामीलाई पूर्ण हक छ । हाम्रो त्यो हक कसैले खोस्न सक्दैन ।…” मेरो कुरा बीचमा काट्दै ‘असइ साप’ फेरि बोल्न थाले– “ल ल ती सबै कुरा थाहा छ हामीलाई, मैले अरू केही जान्दिनँ यो झण्डा ननिकालिकन यो जीप अगाडि बढाउन पाइदैन ।” हाम्रा बीचमा विवाद बढ्दै गएको देखेर राजमो महासचिव सन्तबहादुर नेपाली पनि जीपबाट उत्रनु भयो र असई मल्ललाई सम्झाउने कोशिस गर्नु भयो । तर हाम्रो उसलाई सम्झाउने सबै प्रयत्न ‘भालुलाई पुराण सुनाए जस्तै’ भयो । असई मल्लले पटक्कै मानेनन् । उनले हाम्रँ चालक भाइ विशाल थापालाई झण्डा उतार्न लगाए । राष्ट्रिय झण्डा निकालिएको यो घटनाले हामी सबैलाई पिरोलिरहेको थियो । माथिबाट उतारिएको त्यो राष्ट्रिय झण्डालाई जीवन दाइले समाउनु भयो र जीपको झ्यालबाट बाहिर फहराउँदै हामी अगाडि बढ्यौँ ।

हामी पोखरा, स्याङ्जा, वालिङ हुँदै गल्याङ बल्पुक पुगेर हाम्रै घरमा नास्ता गर्‍यौँ । टोलीलाई बुटवलतर्फ पठाएर त्यस रात म आफ्नै घरमा बसे । अर्को दिन बिहान बुटवल पुग्दा थाहा लाग्यो– हिजो हाम्रो जीपबाट राष्ट्रिय झण्डा उतार्न लगाउने असई मल्लसँग जिल्ला प्रहरी कार्यालय कास्कीले स्पष्टीकरण लिएछ । स्वयं असई मल्लले पनि पोखरामा रहनु भएका राजमो उपाध्यक्ष शङ्कर बराललाई फोन गरेर घटनाप्रति क्षमायाचना गरेछन् ।

विभिन्न बाधा, व्यवधान र चुनौतीहरूको सामना गर्दै हाम्रो अभियान टोली अघि बढिरहेको थियो । साङ्गठनिक हिसाबले कमजोर होस् या बलियो, तय भएका सबै ठाउँमा हामीले दिने कार्यक्रमहरू एकै प्रकृतिका हुन्थे । सर्वहारा वर्गीय सांस्कृतिक आन्दोलन, देशको तत्कालीन राजनैतिक अवस्था, जनताको आकर्षण र रूची आदि विषयहरूलाई मध्यनजर गर्दै हामीले कार्यक्रममा दिने सांस्कृतिक प्रस्तुतिहरू तय गरेका थियौँ ।

हाम्रा प्रस्तुतिहरू विश्वभरि र नेपालमै पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको तथ्य धेरैलाई अवगत भएकै विषय हो । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नामेट पार्नका निम्ति विश्वभरिका प्रतिक्रियावादी शासकहरू मात्र होइन, कम्युनिस्ट आन्दोलनभित्रैका दाहिने र देब्रे अतिवादीहरू पनि निरन्तर लागि परिरहेका छन् । उनीहरूले सच्चा क्रान्तिकारीहरूका विरुद्धमा विषवमन गर्दै दुषित हावाहरू फैलाइरहेका छन् । तर सही सिद्धान्त र नीति बोकेका क्रान्तिकारीहरूले हरेक प्रहारहरूको सामना गर्दै सच्चा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाइरहेका छन् । सङ्ख्यात्मक रूपमा उनीहरू अहिले कमजोर होलान्, तर सही सिद्धान्त र नीति बोकेकाले अन्ततः अन्तिम जीत उनीहरूकै हुनेछ । यो यथार्थतालाई समेटेर हामीले मिनि अपेरा “रातो लालटिन” तयार पारेका थियौँ । जसमा सर्वहारा वर्गीय मुक्ति आन्दोलनको प्रतीक रातो लालटिनलाई जोगाउन क्रान्तिकारीहरूले खेलेको भूमिकाको कलात्मक वर्णन गरिएको थियो । यस अपेराभित्र ‘रातो लालटिन’, ‘हुरी चराको गीत’ ‘छिया छिया पारेर’, ‘म वीर नारी हुँ’, ‘समयसँग सम्झौता होइन’ र ‘झन्‌भन्दा झन् उच्च हुन्छ’ बोलका गीतहरूलाई सङ्क्षिप्त रूपमा समेटिएको थियो । रातो लालटिन मिनि अपेरा अहिलेको हाम्रो अभियानको विशेष प्रस्तुति थियो ।

कम्युनिस्ट आन्दोलन एउटा कठिन दीर्घकालीन मार्ग हो, जसबाट नहिँडिकन श्रमजीवी वर्गले आफ्नो साँचो राज्यसत्ता प्राप्त गर्न सक्दैन । तर यो कठिन काडेतारको मार्गमा हिँड्ने यात्रीहरू कतिपय बीचैमा गलेको, ढलेको र तर्किएर अन्यत्रै लागेका दृष्टान्तहरू पनि हामीले प्रशस्तै देखेका छौँ । केही मानिसहरू गल्दैमा, केही यात्रीहरू बिकाउ माल हुँदैमा यो आन्दोलन कमजोर भएको हुँदैन । कुनै पनि पार्टी सङ्गठनको भविष्य उसले बोकेको नीति र सिद्धान्त कति सही छ भन्ने तथ्यमाथि टिकेको हुन्छ । सच्चा क्रान्तिकारीहरू निरास हुनुपर्ने कुनै कारण छैन, एक दुई कायरहरूले घुँडा टेक्दैमा, एक दुई मोर्चाहरूमा हार हुँदैमा समग्र युद्धको हार भएको हुँदैन । अन्ततः जीत तिनै योद्दाहरूको हुन्छ जो देश र जनताप्रति समर्पित हुँदै निस्वार्थ भावले क्रान्तिपथमा लम्किरहेका हुन्छन् । यो यथार्थताको बोध गराउन हामीले “साक्षी छ हाम्रो इतिहास” बोलको गीतलाई छानेका थियौँ, जसमा एक आकर्षक अपेरा नृत्य तयार पारिएको थियो ।

देशको मुहार बदलियोस्, दुःखी गरिबहरूको राज्यसत्ता आओस, देशमा क्रान्ति होस्—यस्तो चाहना राख्ने धेरै हुन्छन् । तर क्रान्तिका लागि आफूले दिनु पर्ने योगदान दिन प्रायः मानिसहरू हिच्चकिचाउने गर्छन् । निम्न पूँजीवादी चिन्तनबाट मुक्त नभएसम्म हामीले साँचो अर्थमा क्रान्तिको सेवा गर्न सक्दैनौँ । देशमा क्रान्ति चाहने हो भने हामीले व्यक्तिगत महत्वाकाङ्क्षा र रङ्गिन सपनाहरू त्याग्न सक्नै पर्दछ । “क्रान्ति आफै आउन्न रगतको आहुति दिनै पर्छ–कर्तव्यको बेदीमा । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा रचित तथा प्रगतिशील सांस्कृतिक आन्दोलनका धरोहर जनगायक जीवन शर्माद्वारा सङ्गीतवद्ध र स्वरबद्ध गरिएको उच्च क्रान्तिकारी भाव बोकेको उक्त गीतलाई पनि हामीले कार्यक्रमको सेड्युलमा राख्न छुटाएका थिएनौँ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित रहेका “त्यहाँ फुट्छ ज्वालामुखी” र “जिन्दगीले झेल्दैछ फेरि” बोलका गीतहरूमा तयार पािरएका नृत्यहरू पनि हाम्रो कार्यक्रमको सेड्युलमा थिए ।

देशको राष्ट्रिय अखण्डता खण्डित हुने त्रासले जनतालाई अहिले पनि सताइरहेको छ । हिमाल, पहाड र तराईबीचको सुन्दर एकतालाई छिन्नभिन्न पार्नका निम्ति एकथरि तत्वहरू लागि परिरहेका छन् । हाम्रो राष्ट्रिय अखण्डतालाई कमजोर पार्न र जातीय विद्वैषको आगो सल्काउन देशमा झस्केलाबाट भित्राइएको सङ्घीयताको जालमा जान वा अन्जानमा यहाँका धेरै पार्टी र नेताहरू फसिरहेका छन् । हाम्रो जस्तो यति सानो मुलुक, आर्थिक रूपले विपन्न मुलुक, १२५भन्दा बढी जातिहरू रहेको मुलुक, सङ्घीयताको जालमा त्यसमा पनि जातीय सङ्घीयताको जालमा फस्यो भने के होला ? निश्चित छ ः त्यो बेला हाम्रो राष्ट्रिय अखण्डता र जातीय सदभाव जोगिन सक्ने छैन । देशलाई टुक्रा टुक्रा परेर विस्तारवादको आहरा बन्न नदिनका लागि सम्पूर्ण देशभक्तहरूलाई हातेमालो गर्दै अघि बढ्न आह्वान गर्नु हाम्रो कर्तव्य थियो । यसका लागि हामीले “देश जान थाल्यो” र “मधेशी पहाडी” बोलका गीतहरूलाई आफ्ना प्रस्तुतिहरूको लिष्टमा राखेका थियौँ ।

विस्तारवादी हस्तक्षेपको पीडा देशले वर्षौंदेखि खेप्दै आइरहेको छ । हाम्रो सुदुरपश्चिमको कालापानीमा भारतीय सेनाहरूले वर्षौंदेखि राज गरेर बसिरहेका छन् । हाम्रो सुस्तामा हजारौँ हजार हेक्टर जमिन लुटिएको छ । हाम्रा दक्षिणतिरका सीमा स्तम्भहरू सारिएका छन् । सिमानाका नेपाली वस्तीहरूले वर्षौंदेखि भारतीय पक्षको ज्यादती भोग्दै आइरहेका छन् । यो यथार्थतालाई उजागर गर्न हामीले “छोड छोड विस्तारवाद नेपाल भूमि छोड” र “के हेर्छौँ युवा विदेशी सेना नेपाल भित्रिँदा” बोलका गीतहरू राखेका थियौँ । ती गीतहरूले विस्तारवादी हस्तक्षेपका विरुद्धमा जनतालाई जुर्मुराएर उठ्न आह्वान गरिरहेका थिए ।

देशभित्रै रोजगारीको अवसर नपाएपछि हाम्रा लाखौँ लाख युवाहरू प्रदेशि भूमिमा पुगेर आफ्नो रगत र पसिना बगाउन बाध्य भइरहेका छन् । प्रदेशिएका ती नेपाली दाजुभाइहरूलाई स्वदेश फर्किएर आफूलाई पर्देसिन बाध्य पार्ने यहाँको थिति र व्यवस्था बदल्ने अभियानमा लाग्न आह्वान गर्नका निम्ति हामीले “नेपाली माटोले भन्छ तिमीलाई” बोलको गीत राखेका थियौँ । तराईका आदिवासी श्रमजीवी थारू समुदायहरूलाई मुक्ति मार्ग चिनाउनका निम्ति हामीले वरिष्ठ प्रगतिशील सांस्कृतिककर्मी नारायण योगीद्वारा रचित थारू भाषाको “मितवा रे भैया” बोलको गीत राखेका थियौँ । रक्तिम परिवारको चर्चित गीतिनाटक ठूलीको महत्वपूर्ण गीत ‘उर्लेर आउँदा’लाई कार्यक्रमको सुरूमै दिने गरी हामीले सेड्युल तयार पारेका थियौँ ।

विदेशी ‘प्रभु’ का पाउमा लम्पसार पर्ने देशका शासक वर्ग र प्रमुख भनिने पार्टीहरूका मूल नेतृत्वको दास मनोवृत्तिलाई कटाक्ष गर्न हामीले प्रहसन “रक्तिम मोदी” तयार पारेका थियौँ । यस प्रहसन मार्फत हामीले भारतीय विस्तारवादले हाम्रो भूगोल र राजनीतिमाथि गरिरहेको हस्तक्षेप, हाम्रा नदीनालाहरूमाथिको विस्तारवादी गिद्दे दृष्टि, उपचारको नाममा विदेश शयर गर्दै देशको ढुकुटीमाथि नेताहरूले गरिरहेको रजाइ,ँ लगायतका विषयहरूमाथि कसिलो व्यङ्ग्य गरेका थियौँ ।

रक्तिमका अध्यक्ष्ँ तथा जनगायक जीवन शर्माका साथमा रक्तिमको केन्द्रीय टोलीले कार्यक्रम दिँदै थियो । जीवन दाइका प्रस्तुतिहरूलाई कार्यक्रमको अन्तिममा राख्ने र उहाँले दर्शकहरूको चाहना अनुसारका गीतहरू दिने गरी हामीले सेड्युल बनाएका थियौँ । हामीलाई थाहा थियो ः जीवन दाइले ‘सिमली छायाँमा’, ‘झरनाको चिसो पानी’, ‘फोकल्याण्डको टापुबाट’ जस्ता गीतहरू नगाइकन सुखै पाउनु हुन्थेन । किनकि ती रक्तिमका सर्वाधिक चर्चित गीतहरू थिए । त्यस वाहेक जीवन दाइले भ्रष्टाचारका विरुद्धमा रचिएको “चाहिँदैन मलाई सुनको दरबार”, विश्व प्रसिद्ध चिनियाँ साहित्यकार लुसुनको कवितामा आधारित “यो दुर्दिनमा जन्मिएर मैले” शीर्षकको गीत पनि तयारी गर्नु भएको थियो । गणतन्त्र आइसकेपछि पनि जनताका दुःख र पीडाहरू उस्तै रहेकोप्रति कटाक्ष गर्दै जनतालाई जालमा पार्ने नयाँ जालहारीहरू चिन्न आह्वान गरिएको “आकासैमा बादलु छैन” बोलको गीत पनि दाइले प्रायः छुटाउनु हुँदैन थियो भन्ने हामीलाई विश्वास थियो र दाइले छुटाउनु भएन पनि ।

उदयपुरको कार्यक्रम

सबै स्थानका कार्यक्रमहरूमा हामीले दिने प्रस्तुतिहरू तिनै हुन्थे । अन्यत्र झै उदयपुरको गाईघाटमा हामीले चैत्र ६ गते आफ्नो प्रस्तुति दिनु थियो । उदयपुरको पछिल्लो साङ्गठनिक अवस्था खासै राम्रो नरहेको साथीहरू सुनाउनु हुन्थ्यो । इमान्दिारितापूर्वक भन्ने हो भने उदयपुरको कार्यक्रमलाई लिएर अभियान टोलीका प्रायः साथीहरूको मनमा शङ्का र उपशङ्काहरू सल्बलाइरहेका थिए । हामीलाई लागिरहेको थियो ः ‘यो अभियानभरिको सबैभन्दा नाजुक कार्यक्रम गाईघाटमै हुने होला ।’ मनमा यस्तै प्रश्नहरू खेलाउँदै बुटवलदेखि १३ घण्टाको जिप यात्राबाट हामी ५ चैत्रको राती गाईघाट पुगेका थियौँ । तर मनमा जे जस्ता शङ्काहरू उब्जिए पनि तिनलाई भित्रै दबाएर झनै जोश र स्फुर्तिका साथ प्रस्तुतिहरू दिन हामीले साथीहरूलाई बारम्बार सम्झाइरहेका थियौँ । गाईघाट पुग्दा स्थिति अर्कै देखियो । स्थानीय साथीहरू प्रचार प्रसारमा मसिनो गरी लाग्नु भएको रहेछ । राजमोको केन्द्रबाट हिमलाल पुरीजी पहिल्यैदेखि गएर खटिनु भएको रहेछ । छिमेकी जिल्लाहरूबाट आएर काजिलाल वाइबा, मानबहादुर लो र विष्णु थिङ लगायतका साथीहरू पनि हप्ता दिनदेखि तयारीमा जुट्नु भएको रहेछ । लिलकुमार राई लगायतका स्थानीय साथीहरू अहोरात्र खटिनु भएको रहेछ । साथीहरूको त्यो खटाइ देखे सुनेपछि हाम्रो उत्साह बढ्न पुग्यो । गाईघाटको सिटी हलमा चैत्र ६ गते दिउसो २ बजेबाट हामीले कार्यक्रम सुरू गर्दा हल दर्शकहरूले खचाखच भरिएको थियो । त्यहाँ पनि बौद्धिक व्यक्तित्वहरूको बाहुल्यता देखिन्थ्यो । जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि, नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी, नेकपा (एकीकृत) लगायतका पार्टीहरूका स्थानीय नेता÷कार्यकर्ताहरूको दर्शक दीर्घामा बाक्लो उपस्थिति थियो । त्यहाँ हामीले सोचेभन्दा बढीको सङ्ख्यामा दर्शकहरू उपस्थित थिए । हामीले सोचेभन्दा कैयौँ धेरै माथिल्लो स्तरमा त्यहाँको कार्यक्रम सफल भएको थियो ।
गाईघाटमा कार्यक्रमको सफलताले अभियान टोलीका हामी सबै साथीहरू हर्षित थियौँ । अब फेरि अभियानको अन्तिम कार्यक्रमका लागि हामी बुटवल फर्कनु थियो । चैत्र ७ गते बिहान उदयपुरकै लालपट्टामा साथी गङ्गाध्वज कार्कीको घरमा हाम्रो खानाको प्रबन्ध मिलाइएको रहेछ । सुरेन्द्र भण्डारीजीको परिवार पनि त्यहीँ बस्नु हुँदो रहेछ । हामी बिहान ८ बजे त्यहाँ पुगेका थियौँ । गङ्गाध्वजजी, सुरेन्द्रजी, उहाँकी जहान सबै मिलेर खानाको तयारी गरिरहनु भएको थियो । त्यहाँ पुगेपछि कलाकार साथीहरूले पनि खाना बनाउन सघाउनु भयो । साच्चै नै त्यो दिनको खाना खाँदा त्यहाँ पारिवारिक पिकनिकको वातावरण थियो । खानापछि हामीले त्यो घरपपिरवारका सदस्यहरूसँग सामुहिक तस्विर खिचायौँ र ११ बजे बुटवल जानका निम्ति त्यहाँबाट अगाडि बढ्यौँ ।
बुटवलको कार्यक्रम
चैत्र ९ गते बुटवलमा आयोजित कार्यक्रम हाम्रो अभियानको अन्तिम कार्यक्रम थियो । बुटवल हाम्रा लागि नौलो ठाउँ थिएन । रक्तिम नाच्दै खेल्दै हुर्की बढेको आँगन थियो बुटवल । इतिहासमा रक्तिमले चलाएका राष्ट्रिय सांस्कृतिक अभियानहरूको पूर्व तयारी प्रायः हामीले बुटवलमै गरेका हुन्थ्यौँ । यस पटक पनि त्यही गरिएको थियो । अन्य स्थानका कार्यक्रमहरूको सफलताले रूपन्देहीका स्थानीय साथीहरू पनि उत्साहित हुनु भएको थियो र त्यही प्रकारले कार्यक्रमको तयारीमा जुट्नु भएको थियो । हामीले पनि अन्तिम कार्यक्रम ‘अविश्मरणीय’ बनाउनु पर्छ भन्ने सोच बनाइसकेका थियौँ । रक्तिमकी वरिष्ठ गायिका लक्ष्मी गुरुङ दिदी बुटवलमै रहनु हुन्थ्यो । हामीले कार्यक्रमको सेड्युलमा उहाँको गीत पनि थप्ने निधो गरेका थियौँ । अभियानको उद्देश्यलाई समेटेर राजमो महासचिव सन्तबहादुर नेपालीले एउटा गीत कोर्नु भएको थियो ः “हाम्रो संविधान, राम्रो संविधान, बन्नै पर्छ अग्रगामी नयाँ संविधान” जसमा दिदी लक्ष्मी गुरुङ र रेम रानाजीले मिलेर सङ्गीत भर्नु भएको थियो । प्राविधिक कारणवश अन्य स्थानका कार्यक्रमहरूमा यो गीत प्रस्तुत गर्न सकिएको थिएन । हामीले त्यस गीतलाई पनि बुटवलको कार्यक्रमको सेड्युलमा राख्यौँ । मित्र दलबहादुर वि.क., जो एक प्रतिभाशाली सांस्कृतिक योद्धा हुनु हुन्थ्यो, अभियानमा साथमै रहेता पनि बिरामी अवस्थामा रहेका कारण अन्य स्थानका कार्यक्रमहरूमा उहाँको प्रतिभाले प्रस्फुटन हुने अवसर पाएको थिएन । हामीले उहाँको जेल जीवनमा आधारित रक्तिमको गीत “पाखुरी यिनै हुन्” उहाँले नै प्रस्तुत गर्ने गरी कार्यक्रमको तालिका बनायौँ । अभियान अवधिमा स्थानीय साथीहरूले आफ्नै किसिमबाट कार्यक्रमको भिजुअल त अन्य ठाउँमा पनि गर्नु भएको थियो, तर हामी आफैले योजनावद्ध किसिमले यस अघिका कुनै पनि स्थानका कार्यक्रमहरूमा भिजुअल गरेका थिएनौँ । त्यो अन्तिम कार्यक्रमको भिजुअल पनि गर्ने निधो गर्‍यौँ हामीले । सम्पूर्ण तयारी पूरा गरेपछि चैत्र ९ गते दिनको १ बजेबाट बुटवलस्थित रूपन्देही व्यापार सङ्घको हलमा हामीले कार्यक्रम सुरू गर्‍यौँ ।

हलमा दर्शकहरू खचाखच भरिएका थिए, बीचमा ओहोरदोहोर गर्न अलिकति पनि ठाउँ थिएन । दर्शक दीर्घाको अघिल्लो पङ्क्तिमा राजमो, नेकपा (एमालें), एमाओवादी र नेपाली काङ्ग्रेस लगायतका दलका स्थानीय नेता, नेपाल पत्रकार महासङ्घ शाखा बुटवलका अध्यक्ष शेरबहादुर के.सी., उपाध्यक्ष यानेन्द्र जिसी, पूर्व सभापति डि.आर. घिमिरे लगायतका पत्रकार साथीहरू हुनु हुन्थ्यो । उहाँहरूको उपस्थितिले हामीलाई थप उर्जा प्रदान गरिरहेको थियो । हामीले क्रमशः सेड्युलभित्रका कार्यक्रमहरू दिँदै गयौँ । प्रत्येक प्रस्तुतिहरूलाई दर्शक दीर्घाबाट तालीको गडगडाहट सहितको समर्थन प्राप्त हुँदै गयो । बुटवलमा गर्मी निकै बढेको रहेछ । हाम्रा नृत्युहरू फेरि कडा खालका, नृत्य गर्दा कलाकार साथीहरूका डे«सहरू पसिनाले निथु्रक्कै भिजेका हुन्थे । तर पनि कलाकार साथीहरूले आफ्नो जोश र क्रान्तिकारी स्प्रिटमा कुनै कमी आउन दिएनन् । कतिसम्म भने शरीरबाट बगेको पसिना मञ्चमा पोखिंदा कलाकारहरू चिप्लिएर लड्न पुग्थे । सीमित कलाकारहरू प्रत्येक प्रस्तुतिहरूका बीचमा डे«ेस बदल्न मुश्किलले ३ मिनेटको समय हुन्थ्यो, तर पनि साथीहरू तयार भैहाल्थे । कलाकारहरूको त्यो जोश, जाँगर र क्रान्तिकारीपन देख्दा हेर्ने दर्शकहरू अचम्मित परिरहेका हुन्थे । अन्य स्थानमाभन्दा बुटवलको कार्यक्रममा तिन वटा प्रस्तुतिहरू थपिएका थिए । लक्ष्मी दिदीले रक्तिमको चर्चित गीत “उत्तरबाट बादल आउँदा” प्रस्तुत गर्नु भयो । जीवन दाइले “मधेशी–पहाडी”, “आकासैमा बादलु छैन” र “सिमली छायाँ” लगायतका पाँच वटा गीतहरू प्रस्तुत गर्नु भयो । जीवन दाइको अन्तिम गीतमा मञ्चमा गएर नाच्ने दर्शकहरूको त्यहाँ पनि ओइरो लाग्यो । प्रहसन “रक्तिम मोदी” पनि प्रस्तुत गरियो । समग्रमा हामो अभियानको त्यो अन्तिम कार्यक्रम निकै प्रभावकारी र अविश्मरणीय नै रह्यो । कार्यक्रम हेरिसकेपछि त्यहाँ पनि हामीलाई बधाइ दिने मान्छेहरू प्रशस्तै हुनु हुन्थ्यो । जाँदा जाँदै नेपाल पत्रकार महासङ्घ शाखा रूपन्देहीका पूर्व सभापति डिआर घिमिरेले मसँग हात मिलाउँदै भन्नु भयो ः “ल नारायणजी, कार्यक्रम धेरै राम्रो र प्रभावकारी छ । तपाईहरूलाई बधाइ छ । त्यो रातो लालटिन अपेराले त हाम्रो आँखाबाट आँशु झारिदियो । सबै कलाकार भाइबहिनीहरूलाई हाम्रो बधाइ सुनाइ दिनु होला… ।”

समग्र अभियानको समीक्षा

बुटवलको अन्तिम कार्यक्रम सकेपछि सोही दिन साँझ कम्युनिस्ट सङ्ग्रहालय नेपालको केन्द्रीय कार्यालय भवन चाँदमारीमा समीक्षा बैठक सहितको अभियान समारोह गरियो । कार्यक्रममा राजमो महासचिव सन्तबहादुर नेपाली, नेकपा (मसाल) का पूर्व केन्द्रीय प्रवक्ता हरि आचार्य, रक्तिमकै नेता नारायण योगीजी, वरिष्ठ गायिका लक्ष्मी गुरुङ, अखिल (छैठौँ) का महासचिव विमल पोख्रेल, राजमो रूपन्देहीका नेताहरू बद्रे आलम, दीपक पौडेल, चेतनाथ आचार्य, भीमलाल पोख्रेल लगायतका अतिथिहरू हुनु हुन्थ्यो । मैले कार्यक्रमको अध्यक्षता गरेँ । बहिनी खिमा पुनले सञ्चालन गरिन् । अभियानमा सहभागी कलाकार साथीहरूले अभियान अवधिभरिको आफ्नो अनुभव क्रमशः सुनाउँदै गए ।

धेरै कलाकार भाइबहिनीहरूका लागि राष्ट्रिय स्तरको यो “रक्तिम यात्रा” पहिलो थियो । जीवन शर्मा जस्ता प्रगतिशील सांस्कृतिक आन्दोलनका धरोहर सँगसँगै यात्रा गर्न पाएकोमा आफू गौरवान्वित भएको र अभियानबाट आफूले धेरै कुराहरू सिक्न पाएको प्रायः कलाकारहरूको भनाइ थियोे ।

सबै कलाकारहरूको कडा मेहेनतबाट मात्र यो अभियान सफल भएको थियो । अभियान अवधिमा सबै कलाकार साथीहरूले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएका थिए । व्यक्तिगत र पारिवारिक समस्या त सबै साथीहरूका हुँदा हुन्, तर पनि ती समस्याहरूलाई तेस्र्याएर अभियानमा अप्ठेरो पार्ने काम कुनै कलाकारहरूले पनि गरेनन् । उमेरमा आला देखिने भाइबहिनीहरू पनि व्यवहारमा धेरै पाका थिए । कुनै पनि अभियानका यात्रीहका बीचमा भावनात्मक एकता बलियो हुन सकेन भने त्यो अभियान निकै पट्यारिलो र बोझिलो बन्न पुग्छ । तर हामीलाई त्यस्तो महशुस पटक्कै भएन । अहिलेको हाम्रो अभियान टोलीको टिम स्प्रिट मिलेको थियो । हाम्रा बीचमा भावनात्मक एकता प्रगाढ थियो । यो अभियान मार्फत हामीले एउटा सन्देश दिन चाहेका थियौ ः रक्तिम अब आफ्नो पुरानो लयमा फर्किदै छ । साच्चै नै यो अभियानमा आफ्ना गीत, नृत्यको शैली, अनुशासन आदि मार्फत हामीले त्यो सन्देश दिने प्रयत्न गर्‍यौँ । बाहिर मञ्चमा हामीले जुन प्रस्तुति दियौँ, त्यो त धेरैले देखे, तर त्यस्तो प्रस्तुति दिनका निम्ति जुन साथीहरूले पूर्व तयारी गर्नु भएको थियो, त्यो धेरैलाई थाहा नहुन सक्छ । काठमाडौँ रक्तिमको कार्यालयमा हप्ता दिनसम्म सर्वहारा सांस्कृतिक क्रान्ति कालीन चिनियाँ अपेराहरूको भिजुअल हेरेर नवलपरासीका कलाकार भाइ सुमन रोकाले नयाँ शैलीका अपेरा नृत्यहरू तयार पारेका थिए । रक्तिमकी पुरानी कलाकार बागलुङकी गीता थापाको सशक्त अभिनयले रातो लालटिन अपेरालाई मार्मिक र हृदयस्पर्सी बनाएको थियो । खिमा पुन, ज्योति फौजा, बन्दना राना र सिर्जना राना बहिनीहरू, जसलाई अपेरा डे«स लगाएर तेहमी कट कपालमा मञ्चमा उतार्दा कतिपय स्थानमा दर्शकहरूले भन्ने गर्थे रे ः “ओहो ¤ कलाकारहरू त चीनबाटै ल्याएका रै’छन् कि क्या हो ?” उनीहरूको नृत्य मात्र होइन सहयोगी र मिजासिलो व्यवहार साँच्चै विर्सन नसकिने खालको थियो । स्पूmर्तिला कलाकार भाइहरू ओम श्रीस, सतिष कुंवर र इन्द्र पुनको सशक्त नृत्य, स्वयंसेवी भावना र अनुशासित कार्यशैली अनुकरणीय नै थियो । यी सबै कलाकारहरूको एकताबद्ध प्रयासबाट मात्र कार्यक्रम यसरी प्रभावकारी बन्न सकेको थियो । अभियान समापन समारोहलाई सम्बोधन गर्ने अतिथिहरूले पनि कलाकार साथीहरूको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि यही स्प्रिटका साथ प्रगतिशील सांस्कृतिक अभियानमा लागिरहन हौसला दिनु भयो ।

कलाकार साथीहरू र पार्टी सङ्गठनका कमरेडहरू सबैको संयुक्त प्रयत्नमा हामीले एउटा अभियान सफलतापूर्वक सम्पन्न गर्‍यौँ । यस अभियान मार्फत हामीले समयमै लोकतान्त्रिक संविधान निर्माणका लागि सशक्त दबाव सिर्जना गर्न जनतालाई आह्वान गर्‍यौँ । राजनैतिक, सांस्कृतिक र आर्थिक—तिनै कोणबाट यो अभियान अत्यन्त सफल रहेको छ । अभियान सकिएको यतिबेला झण्डै दुई हप्ता बितिसकेको छ । तर अहिले पनि मेरो मानसपटलमा ‘रक्तिम यात्रा’का तिनै दृश्यहरू घुमिरहेका छन् । साँच्चै नै अविस्मरणीय थियो त्यो ‘रक्तिम यात्रा’ । सर्वहारा वर्गीय सांस्कृतिक आन्दोलनलाईमाथि उठाउनका लागि यस किसिमका अभियानहरूलाई हामीले निरन्तरता दिनु जरूरी छ । रक्तिमका कलाकारहरूले अहिलेको अभियानमा जुन उच्च क्रान्तिकारी स्प्रिट देखाए, त्यसलाई निरन्तरता दिन सके भने हामी आत्मविश्वासका साथ भन्न सक्छौँ ः सर्वहारा वर्गीय सांस्कृतिक आन्दोलन अब छिट्टै नयाँ उचाइमा उठ्ने छ ।

(समाप्त)

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.