~रन्जु ‘मार्ग’~
उनी अर्कोसँग विवाह गरेर गए पछि उनलाई नदेखेको धेरै भैसकेको थियो। एक दिन उनी हस्याङ्ग फस्याङ्ग गर्दै मेरो कार्यालयमा आइपुगिन्। उनलाई एक्कासी त्यसरी देखेपछि मेरो मानसपटल तरङ्गित भयो।
उनको पहिले जस्तै गोरो अनुहार, सलक्क परेको नाक, चन्चल आँखा अनि महँगो चमकदार कपडाले उनी निकै आकर्षक देखिएकी थिइन्।
‘तपाईँ यहाँ?’ उनको आकर्षक व्यक्तित्वसँग चिरपरिचित हुँदै म सोध्छु।
‘मेरो पारिवारिक डाक्टरले तपाइँकै नाम सिफारिस गरेको थिए,’ उनले कागज देखाउँदै भनिन्।
‘तपाईँलाई डिप्रेसन?’ मेरो छाती चसक्क बिझायो।
‘कहिले देखि यस्तो भयो?’, म डाक्टरको कागज हेर्दै सोध्छु।
‘खै? कहिलेबाट भयो थाहा छैन। तर आजभोलि झनै बढिरहेको जस्तो लाग्छ। डाक्टरले भनेका छन् यसको बेलैमा उपचार गरेन भने झनै पछि ठूलो समस्या देखा पर्दै जान्छ रे!,’ उनले निरास हुँदै भनिन्।
‘तपाइँको श्रीमानसँग झगडा हुन्छ?’, म उनको पारिवारिक समस्या उत्खनन् गर्न सुरु गर्छु।
‘मेरो श्रीमान् सारै सोझो र असल हुनुहुन्छ। उहाँ मलाई बुझ्ने, मेरो भावनाको सम्मान गर्ने गर्नुहुन्छ। त्यस्तो मान्छेसँग किन पो झगडा गर्नुपर्छ होला र?’, उनले आफ्नो श्रीमानको प्रशंसा गर्दै भनिन्।
‘तपाइँको छोराछोरीहरुसँग?’
‘मेरा छोराछोरीहरु पनि सारै असल स्वभावका छन्। भनेको मान्छन्। आजसम्म मलाई कुनै दुःख दिएका छैनन्।’
‘तपाइँको आफन्तहरुसँग केही समस्या पो छ कि?’
‘सबैसँग राम्रो सम्बन्ध छ? सबैले मलाई माया गर्छन्। आदर गर्छन्। सबैसँग म खुशी छु तर पनि मेरो मन किन-किन खिन्न भै रहन्छ?’
‘तपाइँलाई राति निन्द्रा लाग्छ?’, म उनको स्वास्थ्य सम्बन्धी जानकारी लिन थाल्छु।
‘केही छिन त निदाएको जस्तो हुन्छु तर जब ब्युँझन्छु, त्यसपछि निन्द्रा लाग्दैन।’
‘ननिदाएको बेला के गर्नु हुन्छ?’
‘छोरीलाई हेर्छु, उसको ओछ्यानमा गएर ढल्कन्छु।’
‘छोरीको ओछ्यानमा? किन उनी एक्लै सुत्न डराउँछिन् र?’
‘उनी एक्लै सुत्छिन्,……तर मेरो मन मान्दैन …!!’
यति भन्दै उनले लामो सुस्केरा छोडिन् र भनिन्-‘मलाई डर लाग्छ। चिन्ता लाग्छ। मनमा कुरा खेल्छ। आगोले पोले जस्तो हुन्छ। छटपटी भएर आउँछ।’
त्यसपछि उनी आफ्ना दुबै आँखा चिम्लिँदै भलभली रुन थालिन्। उनको आँसु देखेर मेरो मन पनि गाँठो परेर आयो। एकै छिनको पीडा तरल बनाई पोखेपछि उनले आफ्नो भिजेका आँखा हातले पुछ्दै भनिन्-
‘त्यो छोरी उनको होइन तपाइँको हो , यो यथार्थ कहिलेसम्म लुकाउँ….?’