~राजेन्द्र पराजुली~
उडिरहेको चंगाको लयसँग मान्छेको मनलाई तुलना गर्दा उस्तैउस्तै लाग्छ मलाई । मन हरदम चञ्चल रहन्छ, तर चंगाको चञ्चलता हेर्न निश्चित समय आउनुपर्छ । मनको कुनै मूल्य छैन, चंगा मूल्यको परिधिमा कैद छ । म १० वर्षको छँदा एउटा रोज्जा चंगाको मूल्य ५० पैसा थियो ।
त्योमध्ये एउटा निश्चित समय भनेको दसैं थियो । केही दिनमा हिन्दु धर्मावलम्बीका घरमा त्यो पर्व आरम्भ हुनेछ, हरेक वर्षजस्तै । क्यालेन्डर पल्टँदै जान्छ र मध्यपृष्ठतिर सधैं दसैंले स्थान सुरक्षित गर्छ । निश्चित छ यसको आगमन, तर स्वरूप भने अनिश्चित छ । परिवर्तित स्वरूपको साक्षी बस्दै आएको मलाई केही दशकअघिका केही दसैं सम्झेर ‘नोस्टाल्जिक’ बन्न पाउँदा मन उही चंगाजस्तै हुन्छ । तिनै नोस्टाल्जियाहरूका समीप रहेर दसैं मनाउँदै आएको छु म केही वर्षदेखि ।
बाल्यकालमा मलाई दसैं तीन कारणले रमाइलो लाग्थ्यो । पहिलो, चंगा उडाउन पाइने । दोस्रो, नयाँ लुगा लाउन पाइने र अर्को कारण, मामाघरमा टीका लगाएर दक्षिणा पाइने । २०३०–३२ सालमा मामाघरमा टीका लगाउँदा ८–१० रुपैयाँ जम्मा हुन्थ्यो । ५–७ ठाउँमा टीका लगाउँदा त्यति पैसा हात पथ्र्यो । हामी सकेसम्म बढी घरमा टीका लगाउन पुग्थ्यौं । कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका थाप्न हिँडिन्थ्यो । त्यो पैसा मलाई निकै धेरै लाग्थ्यो । मासुमा मलाई त्यस बेला कुनै रुचि थिएन । त्यतिखेरसम्म त म साकाहारी थिएँ । कोटेश्वर र वरपरका काँठका अधिकांशः बासिन्दाका घरमा मासु दसैंमा मात्र पाक्थ्यो । अहिलेजसरी जहाँतहीँ मासु किन्न पनि पाइँदैनथ्यो । दसैंबाहेकको समयमा घरमा मासु खान मन लाग्यो भने किन्नका निम्ति कि त सुन्धारा, धरहरा पुग्नुपथ्र्यो कि भने मंगलबजार, ललितपुरतिर । एकपटक सुन्धारमा किनेको एक किलो मासु पाक्न घन्टौं लागेको घटना अहिले पनि ताजै लाग्छ । खसी भनेर बूढी बाख्री बेच्न मासु व्यापारीले उही बेला जानिसकेका रहेछन् । त्यसपछि भने हामी मासु किन्न सुन्धारा जान छाड्यौं । केही समयपछि नयाँ बानेश्वर र सिनामंगलमा पनि पाइन थाल्यो । दसैंको अवधिभरि घरहरूबाट निस्कने मासुका विभिन्न प्रकारका गन्ध मलाई मन पर्दैनथ्यो । त्यो गन्धले टाउको दुख्थ्यो । अझ दसैंका निम्ति भनेर धेरै दिनअघिदेखि नै घरमा ल्याएर पालिएका खसीको आवाज दर्दनाक लाग्थ्यो । जतिजति दसैं नजिक आउँथ्यो, त्यो चारखुट्टे जीवको आवाज नमिठो लाग्थ्यो । त्यसले जीवनको भिख मागिरहेको जस्तो लाग्थ्यो मलाई । यस्तो मनोदशाले मलाई कैयौं दिन निदाउन दिँदैनथ्यो । दसैंको सबैभन्दा मन नपर्ने पक्ष नै यही लाग्थ्यो मलाई । धेरै दिनसम्म लगातार मासु खानाले मान्छेहरू बिरामी परेको पनि देखिन्थ्यो । मासु खानेबाहेक दसैंका हरेक क्रियाकलाप मलाई मनपथ्र्यो ।
चंगा उडाउनु दसैंको सबैभन्दा मनमोहक मनोरञ्जन थियो, तासजुवा नखेल्नेका निम्ति त्यस बेला । फनफनी घुम्दै आकाशमा परपर पुग्ने चंगा हेरिरहन मलाई औधी मनपथ्र्यो । चंगा लडाउन भने उतिसारो मन पर्दैनथ्यो । किनकि मलाई आफ्नो चंगा चेट भएकोमा निकै दुःख लाग्थ्यो । ठूलै कुरा गुमेको महसुस हुन्थ्यो, आफ्नो चंगा चेट हुँदा । एउटा चंगा चेट हुँदा धागोसमेत गुमाउनुपथ्र्यो । फेरि धागो र चंगा किन्न कुनैकुनै वर्ष त अर्को दसैं नै कुर्नुपथ्र्यो । त्यसकारण पनि चंगा लडाउने रुचि थिएन । मसँग चंगा लडाउन कोही प्रतिस्पर्धी आइलाग्यो भने म आफ्नो लट्टाईं हतारहतार आफूतिर घुमाउँदै सुरक्षित पार्थें, कि त चंगा बसालिदिन्थेँ भुइँ वा धानखेतमा । त्यसपछि त्यो प्रतिस्पर्धी आफ्नो चंगालाई अन्तै मोड्थ्यो । जोरी खोज्दै जान्थ्यो अर्को चंगासँग । अर्काको चंगा चेट गर्न पाउनुलाई ठूलै जित मानिन्थ्यो । युद्ध जितेजसरी कराउँथे चंगाबाजहरू । हार्नेचाहिँ उँधोमुन्टो लगाएर चेट भएको आफ्नो चंगा हेरिरहन्थ्यो । ठूलै कुरा गुमेको अनुभूतिमा ऊ निराश बन्थ्यो ।
चेट भएको चंगाले कहाँ गएर विश्राम गर्छ थाहा हुँदैनथ्यो । चेट भइसकेपछि त्यो आकाशमै केही बेर गति र लय गुमाउँदै लहराइरहन्थ्यो । र, दुर कतै अदृश्य स्थानमा पुगेर विश्राम लिन्थ्यो, चुरोटको धुवाँजस्तै । अथवा मान्छेको जिन्दगीजस्तै । चेट भएको चंगा र मरेको मान्छे मलाई उस्तैउस्तै लाग्छ । विश्रामको पत्तो नै नहुने ! न त खोजी गर्न मिल्ने न त खोजेर नै पाइने ! ‘धुवाँ’, ‘जिन्दगी’ र ‘चंगा चेट’ को लयात्मक साइनो खोज्न मन लाग्छ ! सायद यिनै र यस्तै मनोभावका कारण चंगा लडाउनुमा मलाई कहिल्यै उत्साह पलाएन ।
काठको लट्टाईंमा टन्न भरिएको धागोबाट देशी कागजले बनेको झिल्के चंगा उडाउने मेरो रहर निकै पछिमात्र पूरा भयो । त्यसअघि गोल्टिन (टिन) को बट्टामा धागो बेरेर लट्टाईं बनाइन्थ्यो । चंगा पनि पुच्छर हालिएको हुन्थ्यो । धानका हरिया पातका पुच्छर आकाशमा उड्ने चंगाको सन्तुलनको आधार बन्थ्यो । अग्रजहरूले पुच्छरबिनाका ठूला आकारका चंगा काठका लट्टाईंबाट उडाएको देख्दा आफूले कहिले त्यसो गर्न पाउने होला भन्ने लाग्थ्यो । चाँडै नै ठूलो मान्छे हुने रहर पलाउँथ्यो । तिनका छेउमा बसेर कहिलेकाहीँ लट्टाईं छुन पाउँदा पनि आनन्द आउँथ्यो । कहिलेकाहीँ तिनका हात थाक्थे सायद, मलाई एकै छिन उडाउन दिन्थे । म पुलकित हुन्थेँ र कुनै दिन आफू पनि त्यसरी नै चंगा उडाउने सोच्थेँ ।
पहिलापहिला सादा चंगामात्र पाइन्थ्यो काठमाडौंमा । तर जब भारतीय सीमाक्षेत्रका बजारहरूबाट नेपालमा चंगा भित्रन थाल्यो, त्यसपछि भने बहुरंगी चंगा राजधानीमा पाइन थाल्यो । भारतबाट ल्याइएका विभिन्न आकार–प्रकारका चंगा मनमोहक देखिन्थे । त्यस्ता चंगामा पुच्छर पनि हाल्नु पर्दैनथ्यो । नयाँ बानेश्वरमा तराईतिरका एक जना व्यापारीको पसल थियो । उनलाई पर्वे व्यापारी भन्दा हुन्थ्यो । दसैंमा चंगा–लट्टाईं, तिहारमा आतिसबाजी तथा रंगीबिरंगी फूल, फागुपूर्णिमामा पिच्कारी, बेलुन तथा रङको व्यापार गर्थे उनी । जनै पूर्णिमा र रक्षा बन्धनमा पनि उनको पसल भरिभराउ हुन्थ्यो । केही समयपछि उनी विवाह समारोहका गाडी तथा मञ्च सजावटको काम गर्न थाले ।
म ८ कक्षामा पढ्थेँ त्यो बेला । त्यही बेला मैले अंग्रेजीमा ‘लभ’ लेखेको चंगा पहिलोपटक उही नयाँ बानेश्वरको पसलबाट किनेर ल्याएको थिएँ । त्यसअघिसम्म कोटेश्वरमा कसैले लभ लेखेको चंगा उडाएको मैले देखेको थिइनँ । सुरुमा त कसैले देख्लान् कि भनेर लाज पनि लाग्यो । त्यस बेलासम्म ‘लभ’ उच्चारण गर्नु वा कतै त्यो शब्द लेख्नु समाजविरोधी कार्यजस्तो थियो । त्यसमाथि साना उमेरका बालबालिकाका मुखबाट उक्त शब्द निस्कनु नै अचम्मलाग्दो हुन्थ्यो । त्यसैले यस्सो कोल्टे पारेर छोपेर घरसम्म ल्याएर त्यसलाई मैले आकाशमा उडाएको थिएँ । तर त्यो चंगा मेरो अधीनमा लामो समयसम्म रहेन । मेरो हातबाट यति चाँडो त्यो गुम्यो कि त्यसपछि मैले धेरै दिनसम्म चंगा नै उडाइनँ । मेरो इच्छाविपरीत त्यो चंगासँग कोही अपरिचित चंगाबाजले प्रतिस्पर्धा गरिदियो । मेरो धागोमाथि उसको धागो नारिदियो । अब परेन फसाद् ! म नचाहेरै पनि आफ्नो चंगालाई त्यो विरोधी चंगासँग लडाउन थालेँ । केही बेरसम्म त मेरो चंगाले प्रतिस्पर्धा ग¥यो । विरोधी चंगा निकै ठूलो थियो । अन्ततः मेरो चंगाले हा¥यो । मेरो मनले हा¥यो, म स्वयं नै हारेँ । त्यो चंगासँग मेरो गम्भीर प्रेम थियो । सानैदेखि भावुक र लजालु स्वभावको मान्छे म, त्यो चंगाको मेरो लट्टाईंबाट सम्बन्ध विच्छेद हुँदा कुनै प्रिय मान्छेसँग अलग्गिनुपरेको अनुभूति भएको थियो । मलाई अधिक माया गर्ने मान्छेसँग छुट्टिनुपरेको जस्तो महसुस भएको थियो । मेरो चंगा चेट भयो । चेट हुँदा आकाशमा त्यो धेरै बेर लहराइरह्यो । सुरुमा मैले लभको ‘एल’ देख्न छाडेँ । त्यसपछि पूरै चंगा अनन्तमा बिलाएजस्तो लाग्यो । कहाँ गएर त्यसले विश्राम लियो मलाई थाहा भएन । त्यसलाई खोज्न जाने कुरा पनि भएन !
मलाई बाल्यकालमा तासजुवा खेल्न आउँदैनथ्यो । मेरो छिमलका अन्य कतिपय साथी भने तास, ओखर, पायाँ, लंगुरबुर्जा खेल्थे । जुवा खेल्न मलाई डर लाग्थ्यो, अरूले खेलेको हेर्न भने खुब मन लाग्थ्यो । त्यही डरका कारण जुवा खेल्न पनि आउँदैनथ्यो, सिक्ने प्रयास भने गर्थें । लंगुरबुर्जाचाहिँ खेल्न आउँथ्यो । तर त्यो पनि ५–६ कक्षामा पुगेपछि मात्रै खेलेको हुँ मैले । ३–४ कक्षामा पढ्दासम्म एक महिनाको खाजा खर्च एक रुपैयाँ पाउँथेँ मैले । निलो रङको एक रुपैयाँको त्यो कटकटे नोट हातमा पर्दा मेरो मुटु फुलेर आउँथ्यो । केही दिन त संसारको सबैभन्दा धेरै पैसा भएको मान्छे म नै हुँजस्तो लाग्थ्यो । समकालीन साथीहरूमा सबैभन्दा धनी मान्छे आफूलाई सोच्थेँ । खाजा खर्च जोगाएर धेरै दिनसम्म राख्थेँ । त्यो नोट साट्नुपर्दा नमज्जा लाग्थ्यो ।
विद्यालयमा शुक्रबार आधा बिदा हुन्थ्यो । त्यसैले २० दिनजति मात्रै विद्यालयमा खाजा खानुपथ्र्यो । दिनको ५ पैसाका दरले घरबाट महिनाको एक रुपैयाँ दिने गरिन्थ्यो मलाई । ५ पैसामा एक ठूलो मुठ्ठी भुटेको चना वा केराउ अथवा बकुला पाइन्थ्यो । म विद्यालयमा प्रायः खाजा त्यही गेडागुडी खान्थेँ । प्रायः दसैंमा विद्यालय एक महिना बिदा हुन्थ्यो । र, दसैंले आफू सबैका घरआँगनमा आउन लागेको जानकारी पनि एक महिनाअघि नै दिन्थ्यो । म दसैं जतिजति नजिक आउँथ्यो उतिउति फुर्कन थाल्थेँ । फुर्कनुको प्रमुख कारण उही ३ वटा नै हुन्थे ।
त्रिभुवन विमानस्थलसँगै जोडिएको दक्षिण–पश्चिम कुनाको कोटेश्वर सुञ्चोटारको डाँडो कुनै बेला चंगा उडाउनका निम्ति सबैभन्दा उपयुक्त स्थान थियो । एमाओवादीले आफ्नो केन्द्रीय कार्यालय त्यहाँ राखिदिएपछि हाल त्यो डाँडो ‘पेरिस डाँडा’का नाममा चर्चित छ । चंगा उडाउन र उडाएको हेर्न त्यहाँ बालक र किशोरहरूको बाक्लो जमघट हुन्थ्यो । त्यो अग्लो स्थानमा मध्याह्नदेखि नै हावा चल्न थाल्थ्यो, त्यसैले चंगा उडाउन उपयुक्त थलो थियो त्यो । विशेषगरी चंगा लडाउनेहरूको त्यहाँ ताँती लाग्थ्यो । ललितपुरको मंगलबजार तथा नयाँ सडक, टुँडिखेल आसपासका क्षेत्रबाट चेट भएर आउने चंगाहरू प्रायः त्यही डाँडो अथवा उत्तरतर्फको वाग्मती फाँटमा आएर विश्राम लिन्थे । कुनैकुनै त विमानस्थलको बीच भागमै हवाइजहाज ल्यान्ड गरेजसरी उत्रन्थे । धेरैमाथिबाट आएका चंगा पूर्वतिरको मनोहरा फाँटसम्म पनि पुग्थे । कुनै भने वाग्मती फाँटमै अड्कन्थे । खेतमा धानका बाला लहराइरहेका हुन्थे । बालक तथा किशोरहरू धान माड्दै चंगा
३० असोज, २०७२
(स्रोत : नागरिक – शनिबार)