~हरिप्रसाद भण्डारी~
“भइहाल्छ नि हजुर, यसो चियासिया खुवाउन पनि पाइएन त्यसैले…. । हजुर केन्द्रमा बस्ने सरहरूले हाम्रो ख्याल नगरिदिए त हाम्रो को नै पो छ र हजुर ?”
यसरी जिल्लाबाट आउने कर्मचारीहरूले बिस्तारै बिस्तारै सम्पर्क गर्दै जान थालेका थिए ।
सुरु सुरुमा आदर्श र इमान्दारीको घेराभित्र बाँधिएको भए पनि वरपरका अरूहरूलाई हेर्दै जाँदा मेरो मन पनि बिस्तारै बिस्तारै कमलिँदै जान थालेको थियो । महँगीले दैनिक जीवन चल्न नसक्नुको बाध्यताले पनि मभित्र विद्यमान नैतिकताका बन्धनहरू खुकुलिँदै गएका थिए । झिनो मासिक तलब र त्यस्तै फाट्टफुट्ट सहयोगले गर्दा रासनपसले तथा घरपट्टीको नियमित कचकच क्रमशः कम हुँदै जान थालेको थियो ।
दशैँ नजिक नजिक आइरहेको थियो । सधैँ दशैँमा घर जाँदा मर–मसला पनि पु¥याउन नसकेको बाध्यताबाट यसपटक राहत मिल्लाजस्तो लागेको थियो । त्यसैले यसो कहिलेकाहीँ विचार गर्दा सन्तोषको लामो सास निस्कन्थ्यो मुखबाट ।
घर पुगेको साँझ सन्चोबिसन्चो र त्यस्तै सामान्य कुराकानी मात्र भए । अर्को दिन खाना खाएर आँगनमा बसेको बेला बा–आमाले घरायसी कुरा निकाले ।
“कस्तो छ त बाबु ?, पैसासैसा के–कति ल्याइस् ?, यहाँ त धेरै गाह्रो पो छ त घरव्यवहार चलाउन ।” बुबाले विरक्त हुँदै दुखेसो पोख्नुभयो ।
मैले जिज्ञासापूर्ण भावले उहाँतिर हेरेँ । बुबाले अगाडि भन्नुभयो, “हेर बाबै ! गाउँमा बस्न त साह्रै गाह्रो पो भयो त, महँगीले कुनै चिज छुन सकिँदैन । ऋण काढ्यो चर्को ब्याज । फेरि हेरन अड्डाअदालतमा कुनै काम परेर गयो भने पैसा नभई बोल्दा पनि बोल्दैनन् कर्मचारीहरू । अस्ति तेरै अफिसमा काम परेर गएको थिएँ, पैसा नभई कामै गरिदिएनन् । तेरो नाम लिएपछि काम गर्न सजिलोपर्ला भनेर मेरो छोरा केन्द्रमा छ भनेको त झन् ‘के गर्नु त बुबा हामीले तपाईहरूसँग पैसा उठाएर उहाँहरूलाई समेत भागपु¥याउनु पर्छ’ पो भने । उनीहरूको कुरा सुनेर म त दङ्ग परेँ । अचम्म लाग्यो मलाई । के त्यस्तो हुन्छ र बाबु ? के उनीहरूले भनेको कुरा सही हो त ?”
बुबाको कुराले मेरो मुटु सिरिङ्ग ग¥यो, हातगोडा फतक्क गले र मन आत्तियो । तैपनि आफूलाई सम्हाल्ने प्रयत्न गर्दै विस्तारै भनेँ— “हुँदैन हुँदैन कहाँ हुनु त्यस्तो ।”
मैले त्यसो भन्दा मेरो खल्तीको पैसाले म आफैलाई भतभती पोलिरहेको महसुस भयो मलाई । म पश्चात्तापको रापमा ह्वारह्वारी बल्न थालेँ ।