निबन्ध : जीवन शब्द र जीवनको अनुभूति

~कृष्ण सिंह पेला~

रेश्मा ! मैैले तिमीलाई तिम्रो पत्रमा लिखित शब्दहरुको बीचको अवकाशमा बडो धैर्यताका साथ पढें । तिम्रा शब्द र भावको कोमलताले तरंगित भएको मेरो हृदयसागरमा जुन आनन्दका लहरहरु उठे तिनलाई म पुनः शब्दहरुमा अनुवाद गर्दैछु । विचार,अभिव्यक्ति र वास्तविक अनुभूतिमा यदि संगति छ, सामञ्जस्य छ, समानता छ भने यौटा कुरा अति सुन्दर लेखिएको छ त्यो के भने “फरक भनेको सोचले मात्र पर्ने रहेछ” । वास्तवमा ज्ञान र अज्ञानमा फरक त्यतिकै मात्र छ । जीवन त जति प्रकारका व्यक्ति छन् त्यति प्रकारले परिभाषित हुन सक्छ तर के जीवन त्यति प्रकारको हुन सक्छ त ? जीवन त एउटै हो । जीवनप्रतिको धारणा फरक फरक हुन सक्छ , जीवनशैली फरक फरक हुन सक्छ । जस्तो एउटा दुःखी र निराशावादी व्यक्तिले सागरलाई हेर्दा उसले आँसुको सागर देख्छ भने एउटा आनन्दित व्यक्तिले सागरलाई आनन्दको सागरको रुपमा देख्छ । फरक वास्तवमा सोचाइले मात्र पर्दछ । फरक केवल धारणाले मात्र पर्दछ । हामीले पर्दा पछाडिको दृश्यको बारेमा कल्पना मात्र होइन कि अनुमान लगाउँदै विश्वस्त भइसकेका छौं कि दृश्य यो हो । जब पर्दा उठ्छ, हामी आफूले सोचेअनुसारको, ठानेअनुसारको पाउँदैनौं । अब त्यहाँ कुनै थोक परिवर्तन भएको छैन । हामी पनि उही छौं, दृश्य पनि उही छ, खाली धारणा जुन बनेको थियो त्यो समाप्त भयो । अहिले दृश्यसँग हाम्रो प्रत्यक्षीकरण भइसक्यो । अब हामी विश्वासमा हुँदैनौं । कुनै मान्यतामा हुँदैनौं । अहिले हामी दृश्य जे जस्तो छ, त्यसलाई यथार्थ रुपमा देखिरहेका हुन्छौं । त्यही नै यथार्थमा देख्नु हो , त्यही नै दर्शन हो ।

तसर्थ हामीले कुनै पनि वस्तुलाई अरुले भनेका आधारमा न त्यो वस्तुभन्दा कम देख्नुपर्छ न त्यो वस्तुभन्दा बढी । किनकि हामीले जति माने पनि, जति पूजा गरे पनि नदीले डुबाउन या बाढी ल्याउन छोड्ने होइन । त्यस्तै हामीले नमान्दैमा या हामीले तुच्छ ठान्दैमा जल जीवन हो भन्ने तथ्य झूठो हुन सक्तैन ।

शब्दहरुको जालमा पनि मन अल्झिएको हुन्छ । संज्ञा, विशेषण, क्रिया आदि शब्दहरु जुन केवल व्यवहारिक संकेत मात्र हुन्,तिनले पनि हामीभित्र भाव उत्पन्न गराउन सक्छन् । पूर्ण वाक्य विना पनि एउटा स्वतन्त्र शब्दले हामीलाई प्रसन्न तुल्याउन सक्छ, हामीलाई उदास पनि बनाउन सक्छ, हामीभित्र क्रोध पनि उत्पन्न गर्न सक्छ, हामीभित्र कामवासना पनि उत्पन्न गर्न सक्छ । फेरि पनि यसलाई निरपेक्ष रुपमा शब्दको सामर्थ्य भन्न मिल्दैन । किन मिल्दैन ? यसको कारण के हो भने एउटै शब्दले विभिन्न व्यक्तिहरुमा समान असर उत्पन्न गराउन सक्तैन । अझ कैयौं शब्दहरु यस्ता छन् कि तिनको प्रयोगसँगै विशिष्ट भाव यदि उत्पन्न हुँदैन भने शब्दहरु निर्जीव सरह हुन्छन्, अर्थहीन हुन जान्छन्, असरहीन हुन जान्छन् । जस्तै प्रार्थनाको अर्थ आजसम्म जसले बुझेका छन् तिनले भन्छन् कि स्तुति गान भनेको प्रार्थना होइन, भजन कीर्तन भनेको प्रार्थना होइन । फूल, अक्षता इत्यादिले यन्त्रवत् गरिएको. क्रिया न त पूजा हो न त प्रार्थना नै । आँखिर प्रार्थना हो के त ? प्रार्थना यही हो भनेर भन्न सकिन्न । यसप्रकार प्रार्थना शब्दको प्रयोगसँगै यदि हामीभित्र प्रार्थनाको भाव उत्पन्न भएन भने त्यो शब्दले के गर्ने ? त्यसलाई जतिसुकै परिभाषित गरे पनि अर्थ बुझाउन सकिन्न र जति बुझ्ने कोशिष गरे पनि अर्थपूर्ण हुँदैन । जस्तो नीलकमल मैले देखेको छैन भने त्यसको विषयमा तपाईं जति सफलतापूर्वक, कलापूर्वक र भावपूर्वक कविता लेख्नुस्, वर्णन गर्नुस्, मैले त्यसको यथार्थ अनुभूति गर्न सक्तिन । जस्ताे एक क्षणका लागि मान्नुस् मैले सूर्य देखेकाे छैन तर सूर्यकाे बारेमा धर्म र विज्ञानका कुराहरु पढ्दा पढ्दा र सुन्दा सुन्दा म प्रकाशकाे व्याख्याता बन्न सक्छु । त्यो प्रकाशको व्याख्याता जुन प्रकाश मेराे आफ्नो जीवनमा छाउन सकेको छैन, जुन प्रकाशको अनुभव स्वयम् मलाई छैन ।

निरन्तर पुनरावृत्तिले गर्दा मस्तिष्कमा एउटा क्षमता उत्पन्न हुन्छ । हाम्रो मनले त्यस्तो कुरा पनि ग्रहण गर्न सक्छ जुन हाम्रो बुझाइको घेराभित्र पर्दैन । जस्तो र्इश्वर शब्दको निरन्तर पुनरावृतिले गर्दा बर्षौंपछि हामीलाई यस शब्दको अर्थ मानौं ज्ञात भइसकेको हुन्छ किनकि त्यसपछि हाम्रो मनमा उक्त शब्दले कुनै संदेह ल्याउँदैन, कुनै प्रश्न उठाउँदैन । जे जस्तो अर्थ बताइएको हुन्छ, व्याख्या गरिएको हुन्छ, हाम्रो मनले बडो श्रद्धाका साथ उक्त अर्थलाई ग्रहण गर्दछ । हामी यस कुरामा आश्वस्त हुन्छौं कि हामीलाई सबथोक ज्ञान छ । तत्पश्चात् यथार्थप्रति अनभिज्ञ भएको कुरा हामी सहजै स्वीकार गर्न सक्तैनौं । आफूलाई अज्ञानीहरुको पंक्तिमा उभ्याउनु साह्रै कष्टकर हुन्छ । हाम्रो आस्तिकता प्रमाणिक छ वा छैन त्यसको वोध त हामीलाई भित्री संशयबाट नै थाहा हुन सक्छ तर त्यसका लागि स्वयम् प्रति संदेह गर्नु जरुरी छ । प्रश्न उठाउनु भनेको त्यसको शल्यक्रिया गर्नु हो । प्रश्न उठाउनु भनेको विज्ञान हो र यथार्थमा जो आस्तिक र धार्मिक बन्न सकेका छन् तिनको अनुभव के छ भने विना नास्तिकताको अग्निबाट गुज्रेर कोही पनि आस्तिक बन्न सक्तैन । आस्तिकता पैतृक सम्पत्तिको रुपमा पाइँदैन ।

भन्छन् पूर्णता त अपरिभाषित कुरा हो । पूर्णता प्राप्त गर्न नसकिने कुरा हो । यो त्यस्तो गन्तव्य हो, त्यस्तो शिखर हो जसमाथि पुग्न त सकिन्छ, चढ्न त सकिन्छ तर जे जति गरे पनि केही न केही शेष रहिरहन्छ । त्यहाँ कुनै स्थान यस्तो आउँदैन जहाँ पूर्णविराम लगाउन सकियोस् । यहाँसम्म कि मृत्युसमेत जीवन यात्राको एउटा अवस्था मात्र हो, पूर्णविराम होइन । तसर्थ यहाँ सबै प्रक्रियामै हुन्छन् सधैं, पूर्णतामा होइन । भौतिक जगतको यो बाह्य दौडधुपमा त पूर्णता भन्ने कुरा पूर्णतया भ्रामक कुरा हो । आन्तरिक दौडमा भने केही हदसम्म यो शब्द अर्थपूर्ण मान्न सकिन्छ किनकि ध्यानको आनन्दले व्यक्तिलाई पूर्णताको निकट पुर्याएर त्यसको अनुभूति प्रदान गर्न सक्छ । पूर्णताको विपरीत अपूर्णता हो र यो अपूर्णता नै जीवनमा सर्वाधिक बिझ्ने र दुख्ने कुरा हो । यो रिक्तता नै व्यक्तिको मानसिक एवम् शारीरिक अस्थिरता र अस्तव्यस्तताको मूल कारण हो । भनिन्छ : कि पढेर जानिन्छ, कि परेर जानिन्छ । तर अन्तर्जगतका तथ्यहरु पढेर जानिंदैन । पढ्नु भनेको अझ शब्द जाल नै हो । शब्दले अनमोल अनुभूति प्रदान गर्न सक्दैनन् । अनुभूतिले नै व्यक्तित्वमा एक प्रकारको स्थिरता र गाम्भीर्य प्रकट हुन्छ । यो स्थिरता र गाम्भीर्य भनेको जडता वा अकर्मण्यता होइन । याे त्यस्तो स्थिरता हो जसको वरिपरि अत्यधिक तर सुनिश्चित गतिशीलताको आभामण्डल छाएको हुन्छ । रेश्मा!पत्र अलि लामो भएर पनि कुरा चाहीं शेष नै रहे । अब अर्को पत्रमा भेटौंला ।

रचनाकाल २०६१ असोज १७ गते

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.