कविता : प्रसन्नता

~प्रतीक ढकाल~

प्रसन्न चित्त हुन्छु रे प्रसन्न चित्त सुन्छु रे
प्रसन्न चित्त ली सधैं परोपकार गुन्छु रे
प्रसन्नता समूल हो प्रसन्न चित्त ‘फूल’ हो
प्रसन्न चित्त बस्छु लौ यही मेरो कबूल हो ।। १ ।।

प्रसन्न चित्त ईश हो प्रसन्नता परम् खुशी
प्रसन्न चित्त सृस्‍टिको सुरम्य सुन्दरी सखी
प्रसन्नता हो ‘कौमुदी’ प्रसन्नता सधैं सुखी
प्रसन्नता गुमेपछी बनिन्छ दारुणी दु:खी ।। २ ।।

म गाउँछु र नाच्छु रे म हाँस्दछु र बाँच्छु रे
नराखी क्लेश चित्तमा प्रसन्न बन्न सिक्छु रे
प्रसन्नता त रत्न हो, सुकर्मले उज्यालिने
प्रसन्नता सुगन्ध हो सुकीर्ति दूर फैलिने ।। ३ ।।

प्रसन्न हौं प्रसन्न हौं प्रसन्न हौं सधैं सुखी
प्रसिद्ध रामवाण यै पवित्रता, महौषधी
प्रसन्नता ‘सुकर्म’ हो अनूभुती र ‘धर्म’ हो
प्रसन्नता जितेपछी जितेन्द्रीय बनिन्छ हो ।। ४ ।।

बचाउँ यै प्रसन्नता कमाउँ यै प्रसन्नता
थपौं थपौं सधैंंभरी मनैभरी प्रसन्नता
प्रसन्न चित्त ज्योतिले प्रफुल्ल हुन्छ जिन्दगी
प्रसन्नता गुमेपछी अनर्थ हुन्छ जिन्दगी ।। ५ ।।

प्रसन्नता ‘हिमाल’ हो प्रसन्नतै ‘विशाल’ हो
प्रसन्नता त ‘जीत’ रे प्रसन्नतै ‘कमाल’ हो
प्रसन्नता र शान्तिमै छ ‘प्रेम-ओतप्रोत’ रे
प्रसन्नता र प्रेरणा सबै कुराको श्रोत रे ।। ६ ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.