अनूदित कविता : वर्तमान

~विश्वेश्वरप्रसाद कोइराला~
अनुवादक : रक्तसागर

विगतको जिन्दगीको सम्झना हो– वर्तमान ।
वा, म भन्न सक्छु,
हामी विगतका अनुभवलाई पुनः लागू गर्न खोज्छौँ
बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो– वर्तमान ।

विगत यथार्थ हो,
वर्तमान एउटा कथा
अस्तित्व रहनुमा परिणत हुन्छ– आजको रात ।
गद्य विगत हो
कविता वर्तमान
सम्झनाले वास्तविक चित्रको प्रतिलिपि बनाउँछ
त्यही प्रष्ट चित्रको प्रतिलिपि बनाउँछ
सपना देख्नेहरू गए भने
अतध्र्यान हुनेछ– वर्तमान ।

हामी रातबाट उठ्छौँ
र दिनमा प्रकट हुन्छौँ,
त्यो दिनमा, जुन व्यतीत भइसकेको थियो ।
म मेरी स्वप्नकी उर्वशीलाई बाहुमा लिन्छु
र अङ्कमाल गर्छु,
ती मेरी प्रियतमा हुन् ।
मैले उनलाई धेरै पहिले नै अँगालो मारिसकेको छु ।
यो विगतमा जितिसकिएको विजय हो,
चुम्बन एउटा सम्झना हो ।
हाम्रो अलिङ्गन कैद भएको छ
र हामीलाई विगतको प्रगाढताबाट टाढा धकेलेको छ ।
ती विगतका करुणा हुन्,
जो पीडाका खत बनेर बाँचेका छन् ।
ती तिम्रा प्रियजन हुन्,
जसलाई तिमीले हिजो तिम्रा शत्रुका अँगालोमा देख्यौ ।

हामी दुईपटक बाँच्छौँ
हामी एकपल्ट यथार्थमै बाँच्छौँ
हामी फेरि कथा बाँच्छौँ
हामी एकपटक निबन्धमा बाँच्छौँ
हामी त्यसपछि कवितामा बाँच्छौँ
हामी विगतमा बाँच्छौँ
फेरि एकपल्ट वर्तमानमा बाँच्छौँ ।

(अङ्ग्रेजी भाषाबाट अनूदित कविता)

वी.पी.का कविता

हिन्दी साहित्यमा समेत दखल राख्ने विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यको क्षेत्रमा एक महŒवपूर्ण नाम हो । खास गरेर मनोविज्ञानलाई आधार मानेर लेखिएका उनका दोषी चस्मा, कर्णेलको घोडा, शत्रु लगायत सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यको उत्थानका निमित्त निकै ठूलो उपलब्धि मानिन्छन् । यौन–विषयक लेखन भईकन पनि श्लील रूपबाट प्रस्तुति दिन सक्नु उनको विशेष पहिचान हो ।

राजनीतिमा बीपी कोइरालाका नामबाट एउटा उँचो स्थान कायम गराएका विश्वेश्वरप्रसाद कोइरालाका केही कविता फाटुफुट प्रकाशित छन् । उनको शतवार्षिकीको अवसर पारेर, उनको डायरीमा लेखिएर रहेको प्रस्तुत शीर्षकविहीन कविताले पनि उनको श्लील लेखनको परम्परालाई अनुशरण गरेको छ ।

अङ्ग्रेजी भाषाको उक्त कविता साभारका लागि बौद्धिक व्यक्तित्व श्री प्रदीप गिरी तथा साहित्यकार श्री विमल भौकाजीप्रति म आभारी छु ।

— रक्तसागर

(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.