~मुकुन्द आचार्य~
अस्पतालका सबै चिकित्सकहरूको एक आकस्मिक गोप्य बैठक बस्यो । अस्पतालमा भर्ना भएका कुनै रोगीको अनौठो रोगबारेमा गहन छलफल भयो । तर रोगको सिङ–पुच्छर क्यै पनि अत्तोपत्तो लागेन । चिकित्सकहरूलाई पनि आआफ्नो निजी क्लिनिकमा जान हतार थियो । रोग र रोगीलाई यथावत् छाडेर बैठक सकियो ।
के गर्नु, रोग पनि त अचम्मकै थियो । रोगीको दुवै हात नमस्कारको मुद्रामा जोडिएका थिए । बुझिन्थ्यो, फेविकोलले दुवै हातलाई टाँसिदिएको छ । रोगीको अनुहारमा स्थायीरूपमा मधुर मुस्कान विद्यमान थियो । दुवै हात नमस्कार मुद्रामा टाँसिएको टाँसिएकै ज्यान गए हात छुट्टिन मान्दैनन् । अनुहारको मुस्कान पनि त स्थायी । रोगी सुतेको अवस्थामा वा बेहोसीका बखतमा पनि बत्तिसी देखिने गरी मुक्त मुस्कान विराजमान “शोभायमान” कुनै चिकित्सकले त यी रोगीको नाम पनि ‘हंसमुख’ राखिसकेका थिए । विचरा बेहोस बिरामीलाई के था ?
चिकित्सकहरूले अनौठो पक्षघात ठानेर त्यसकै ‘हाई डोज’ औषधि चलाइराखे । तर रौं बराबर फाइदा भएन । सोही अस्पतालको एकजना पुरानो पाको पियन राजनीतिको अखडामा पनि कुस्ती खेल्न पोख्त रै’छ । रोगीको मर्म बुझेर आफू पियन भएर पनि आफ्नो धर्म सम्झेर रोगीको कानमा बेस्सरी चिच्यायो– चुनाउ सकियो नेताजी १ अब हातलाई आराम दिए हुन्छ । तपाईं विजयी हुन नसके पनि यस्तो जाबो जनतालाई के खाएर नमस्कार गरिरहनुपर्यो । दुवै हात तल झारे हुन्छ । मुस्कानलाई पनि ठेगान लाए हुन्छ । अब त्यसको पनि के काम छ र ? चुनाव लड्छु भनेर सेठ साहुकारहरूसँग असुलउपर गरेको रकमले मोज गरे हुन्छ ।
यो भनाइले रामवाणको काम गर्यो । रोगीको दुवै हात र मुखमुद्रा क्रमश: स्वाभाविक अवस्थामा आउन थाल्यो । यस्तो अनौठो रोगलाई के भन्ने भनेर चिकित्सकहरूले गहन छलफल गरी नयाँ नाम दिए– ‘पोलिटिकल पारालाइसिस’ । र, यस रोगलाई निर्वाचनको ‘साइड इफेक्ट’ भनेर मानियो ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)