समीक्षा : संयमका प्रतीक गोविन्द गोठाले

~इन्द्र माली~

गोविन्दबहादुर मल्ल ‘गोठाले’ नेपाली वाङ्मयका एक शिखर पुरुषको नाम हो । उनको योगदान नेपाली साहित्यमा मात्र हैन नेपालभाषामा पनि रहेको पाइन्छ । हुन त गोठालेको दुवै भाषामा लेखन हुनु कुनै आश्चर्यको कुरा छैन । यो एक किसिमको पुर्ख्यौली परम्परा भने पनि सायद अत्युक्ति हुन जाने छैन । किनभने आजभन्दा एकसय बाह्र वर्षअगाडि बनारसबाट निस्केको निर्गुण भजनमा हिन्दी, नेपाली र नेपालभाषाका गीतहरू समावेश भएको थियो । उक्त गीतहरूका प्रणेता गोविन्द गोठालेका हजुरबा सुब्बा वीरबहादुर मल्ल हुन् । उनले जीवनमा निकै सङ्घर्ष गर्नुपर्यो । उनको इमान्दारिता र कर्तव्यनिष्ठताका लागि तत्काल राणा शासकको कोपभाजन बन्नु परेको थियो । नेपाल प्रवेशको अनुमति पाएका थिएन । आफ्ना परिवार र बालबच्चाबाट टाढिएर बस्दा, दुःख र अभावसँग सामना गरी बस्दा मर्माहतलाई भुल्न नै उनले गीतको रूपमा भजनलेखनमा आफूलाई केन्द्रित गरेको पाइन्छ । उनका साधना र सिर्जनाले गर्दा नेपाली भाषाका माध्यमिककालका एक कविको रूपमा प्रतिस्थापित भएको पाइन्छ । नेपाली भाषामा मात्र हैन नेपालभाषामा पनि उनको स्थान माध्यमिक कालमा रहेको पाइन्छ । उनले रचना गरेको साँसारिक जीवनबाट वैराग्य र चेतनाको उद्बोधन गरेको भजन गीत तत्काल उपत्यकाका टोल-टोलको भजन घरमा अभयानन्दको गीतसरह निकै गुञ्जेको पाइन्छ । यसबाट यस गीतको लोकप्रियता निकै भएको चाल पाइन्छ । हुन त यस्तै गीत हरिभक्त माथेमाको पनि निकै लोकप्रिय भई गुञ्जेको पाइन्छ । यी तीन कविका गीत अहिले पनि भजन घरमा गुञ्जिने गरेको पाइन्छ । सुब्बा वीरबहादुर मल्लले नेपाल फर्कने अनुमति पाएर भक्तपुरमा वि.सं. १९६६ ताक बस्न आए । मूत्र रोगका कारणले उनको देहावसान वि.सं. १९७० मा पशुपति आर्यघाटमा भएको थियो । गोविन्द गोठालेका पिता र परिवारका सदस्यहरूको पालनपोषण र शिक्षादीक्षा बागदरबारमा भएको थियो । पछि ओमबहालमा सुब्बा विष्णुचरण श्रेष्ठले किनेर बाँकी रहेको आधा घर खरिद गरी त्यहीँ बस्न थाले । यसपछि पाको पोखलड्याङ्गमा घर किनी सुब्बा ऋद्धिबहादर मल्लले प्रेससमेत सञ्चालन गर्न थाले ।

प्रेस सञ्चालनसँगसँगै नेपाली भाषामा “शारदा” नामक साहित्यिक मासिक पत्रिकाको सञ्चालन र प्रकाशनसमेत उक्त प्रेसबाट हुन थाल्यो । यसबाट उक्त प्रेसमा एक किसिमको साहित्यिक वातावरण सिर्जना हुन थाल्यो । यस किसिमको साहित्यिक वातावरण कवि योगवीर सिंहका कपडा पसलमा पनि एकताक भएको थियो । त्यस कपडा पसलमा भएका गतिविधिका अभिलेखलाई कविता सङ्कलनको रूपमा शरत्चन्द्र शर्माले गरिसक्नुभएको छ । त्यहाँको साहित्यिक वातावरण लाइब्रेरी पर्वले गर्दा तहसनहस हुन गएको देखिन्छ । सुब्बा कृष्णप्रसाद कोइराला भीम शम्शेरसँग निकटतम् हुँदा आफ्ना भाइ धरणीधर कोइराला र भाञ्जा रामचन्द्र अधिकारीसहित योगवीर सिंहको पसलमा गई भँसारबाट पास भएका पत्रिका र पुस्तक राख्ने गरी एउटा पुस्तकालय स्थापना गर्ने, त्यसका लागि स्वीकृतिको चाँजोपाँजो सबै मिलाउने जिम्मा सुब्बा कृष्णप्रसाद कोइरालाले लिई भाइ धरणीधर कोइरालालाई निवेदनको ब्यहोरा लेखाइ उक्त निवेदन सारेर इच्छुक व्यक्तिहरूको हस्ताक्षर गराउने जिम्मासमेत योगवीर सिंहलाई दिएर गए । योगवीर सिंहका शिष्य चित्तधर उपासक पनि यस कार्यमा सक्रिय भए । पछि उनी बिरामी हुँदा बैकुण्ठप्रसाद लाकौल सक्रिय भई त्रि-चन्द्र कलेजमा अध्ययन गरिरहेका आफ्ना सहपाठीहरूलाई हस्ताक्षर गराउन थाले, साथै आफ्ना गुरु लक्ष्मीप्रसाद देवकोटाको घरमा साथीहरूसँग गई हस्ताक्षर गराए । हस्ताक्षर भएका अभिलेख सुब्बा कृष्णप्रसाद कोइरालाको हात परे । केही समयपछि उक्त निवेदनमा हस्ताक्षर गर्ने केही व्यक्तिहरूलाई धरपकड गर्न थाले । सरकारी स्वीकृति नलिई पुस्तकालय खोल्ने प्रयास गरिरहेका जाहेरी सुब्बा कृष्णप्रसाद कोइरालाका भाञ्जा रामचन्द्र अधिकारीबाट भएको र तत्कालीन शासक भीमशम्शेरले उनलाई दण्डबाट प्राप्त आधा रकम इनामस्वरूप प्रदान गरेकोले पनि यस कुराको पुष्टि हुन जान्छ । साथै मकै पर्व पनि सेलाएको थिएन । केही कार्य गर्न खोज्दा आफूमाथि विपत्ति आइपर्ने परिवेश र राजनीतिक वातावरण थियो ।

सुब्बा ऋद्धिबहादुर मल्लले “शारदा” पत्रिका प्रकाशन गर्दा निकै चुनौतीपूर्ण समय थियो । यस किसिमको वातावरणबाट सुरक्षित भई पत्रिका प्रकाशन र सञ्चालन गर्न निकै कठिन थियो । त्यसबेला “शारदा” प्रकाशनका लागि समालोचक रत्नध्वज जोशी, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल आदि आवद्ध भई कार्य गरेका थिए । पछि नेपाली कथा साहित्यका शिखर पुरुष भवानी भिक्षुको पनि त्यतिकै योगदान रहेको छ । यसरी विभिन्न साहित्यिक पुरुषहरूको आवद्धताले गर्दा प्रेसमा साहित्यिक र बौद्धिक वातावरण सिर्जना भइरहेको थियो । सुब्बा ऋद्धिबहादुर मल्लका जेठो छोराको रूपमा गोविन्दबहादुर मल्लको जन्म वि.सं. १९७९ असार २६ गते भएको थियो । बाल्यजीवन सुख सयलमा बितेको थियो । साथै साहित्यिक वातावरणमा हुर्के भन्नेमा कुनै अत्युक्ति हुने छैन । घरमा साहित्यिक पत्रिकाको प्रकाशन र साहित्यिक वातावरणले गोठालेलाई साहित्य साधनामा उत्प्रेरित गरेको देखिन्छ । गोठाले र अन्य लेखकहरूमा केही भिन्नता छ, त्यो के भने गोठालेले जुन वातावरण पाए त्यस्तो वातावरण अन्य लेखकलाई त्यति सरलरूपमा उपलब्ध भएन । उनका रचनालाई प्रेसमा कार्यरत वरिष्ठ साहित्यकारहरू प्रथम पाठक भई रचनाको समीक्षा हुने र त्यसको समयोचित सुधार गर्ने अवसर उनले पाएका थिए । साथै सिद्धिचरण श्रेष्ठ, रत्नध्वज जोशी मात्र हैन भवानी भिक्षुजस्ता व्यक्तिहरूको सहयोग र सुझावबाट उनले आफूलाई धेरै परिस्कृत र परिमार्जित गर्ने अवसर पाएथे । पछि समालोचक माधवलाल कर्माचार्य, चित्तरञ्जन नेपाली, श्यामदास वैष्णव, भाइ विजय मल्ल आदिको सान्निध्यबाट पनि परिस्कृत हुन र विश्व साहित्यको अध्ययन र चर्चा-परिचर्चा गर्न अवसर पाउँदा समयानुकूल रचना दिन सामर्थ्य भए ।

हुन त गोठालेको साहित्य यात्रा विक्रम संवत् १९९६ सालमा ‘ममता’ नामक कविताबाट भएको थियो । यस कविताको प्रकाशनसँगै सिंहदरवारबाट हप्की खानु पर्दा उनलाई गोठाले उपनाम राखी साहित्य साधनातिर अग्रसर हुन भवानी भिक्षुको प्रेरणा र मार्गदर्शन पाए । उनको कथा यात्रा आरम्भ हुनुभन्दा झण्डै चार वर्षअगाडि कथा कुसुमको प्रकाशन भइसकेको थियो ।

नेपाली कथालाई परम्परागत कथा यात्राबाट मुक्त गरी गुरूप्रसाद मैनालीले आधुनिक कथाको बाटोमा डोर्याइसकेका थिए । विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कथामा फ्रायड विचारधारालाई सँश्लेषण गरी कथाको प्रयोग बढाइसकेका थिए । बालकृष्ण शमशेर, पुष्कर शमशेरका आगमनले नेपाली कथामा नयाँ कलेवर आइसकेको थियो । भवानी भिक्षुको सान्निध्यबाट उनले कथायात्रा प्रारम्भ गरेको देखिन्छ । उनको पहिलो कथा ‘उसको भाले’ छापेपछि कथाकार व्यक्तित्व मुखरित भएको देखिन्छ । पहिलो कथा यात्रादेखि उनको कथाले नयाँ चाहना, नयाँ विम्बप्रति आकषिर्त भएको देखिन्छ । उनले थुप्रै कथा लेखे जसमध्ये कथासङ्ग्रह (२००२), कथैकथा (२०१६), प्रेम र मृत्यु (२०३९), बाह्र कथा (२०५२) र जङ्गबहादुर र हिरण्यगर्भकुमारी (२०६१) मा पुस्तकको रूपमा प्रकाशित भएका छन् । यसरी उनका जीवनकालमा पाँच कथासङ्ग्रह प्रकाशित हुन सकेको देखिन्छ ।

कथा यात्रामा मात्र गोठाले सीमित छैनन् । २०११ सालमा ‘त्यो बाँच्छ’ नामक नाटकको प्रकाशनले उनको नाटककार व्यक्तित्व राम्ररी मुखरित भएको पाइन्छ । भुसको आगो (२०१३), च्यातिएको पर्दा (२०१६), दोष कसैको छैन (२०२७) र भोको घर (२०२७) छापिएका छन् । यी नाटकको प्रकाशनले उनलाई नेपाली नाटककारको एक विशिष्ट स्थानमा पुर्याएको पाइन्छ । कथालेखनमा भवानी भिक्षुबाट प्रभावित भएझैँ नाटकलेखनमा गोपालप्रसाद रिमालबाट प्रभावित भएको पाइन्छ । नेपाली नाटक क्षेत्रमा गोपालप्रसाद रिमालले विजारोपण गरेको समस्यामूलक यथार्थवादी धारालाई यिनले निकै विकास गरेको पाइन्छ । गोपालप्रसाद रिमालभन्दा एक कदमअगाडि गएर यिनले नेपाली सामाजिक जीवनको समस्यामा मात्र केन्द्रित रहेन साथै नारी समस्यामा मात्र गुजुल्टिएन, पात्रको अन्तर्मनको विश्लेषणबाट सामाजिक परिवेशमा हुर्केका पात्रपात्रीको भावनालाई पनि प्रतिनिधित्व गर्न सफल भएको पाइन्छ । यसैले यिनका चारै वटा नाटकसङ्ग्रह निकै चर्चित रहेका छन् ।

नेपाली उपन्यास साहित्यमा गोविन्दबहादुर मल्ल ‘गोठाले’को “पल्लो घरको झ्याल” निकै चर्चित र प्रशंसनीय उपन्यास हो । यस उपन्यासको प्रकाशनले नेपाली उपन्यास साहित्यमा यौन मनोविज्ञानको प्रस्फुटन भएको मानिनु पर्दछ । यसभन्दा अगाडि नेपाली उपन्यासमा यौन मनोविज्ञानको झिल्कोसम्म आउन सकेको थिएन । “पल्लो घरको झ्याल” उपन्यास जति चर्चित भयो सायद त्यति गोठालेको अरू कृतिले चर्चा भएको देखिँदैन । यस उपन्यासले उपत्यकाको मध्यमवर्गीय समाजको यथार्थ चित्र प्रस्तुत गर्न निकै सफल भएको छ । हलुका प्रवाह, अतृप्त अनुभूति, पारिवेशिक विवशता र प्रतिकूल निर्णयको ओतमा यसको यौन मनोविज्ञान सक्रिय रहेको छ । नैतिक/अनैतिकजस्ता सामाजिक मान्यतासित प्रतिबद्ध व्यक्ति पनि अस्वेच्छित कर्म गरिदिन्छ भने यो उसको अचेतनका अज्ञात आग्रहको दुर्दान्त परिणामको रूपमा रहेको हुन्छ भनी समालोचक कृष्णचन्द्रसिंह प्रधानले निरुपित गरेका छन् । साथै उनको ठम्याइजस्तै यौन समस्या र विपरीत परिस्थितिमा जेलिनेको इच्छित जीवनको अनिच्छित परिणामको यथार्थ चित्रण होे “पल्लो घरको झ्याल” । यस उपन्यास लेखनमा उपत्यकाको जनजीवन, सामाजिक घात-प्रतिघातलाई जसरी गोठालेले आत्मसात गरी उपन्यासमा उतारे यसपछिका उपन्यास सौन्दर्य र परिमार्जनको दृष्टिले उन्नयन भए पनि “पल्लो घरको झ्याल”को लेखनजस्तो भएको पाइएन ।

गोविन्दबहादुर मल्ल ‘गोठाले’ नेपाली भाषाका मात्र लेखक हैनन् । उनले आफ्नो मातृभाषा नेपालभाषामा पनि जुन कथाहरू दिए, त्यसबाट उक्त भाषामा उनको योगदान उल्लेखनीय रहेको छ । नेपालभाषामा मल्ल परिवारको योगदान यसभन्दा अगाडि उनका बाजे वीरबहादुर मल्लबाट श्रीगणेश भएको मान्नुपर्दछ । उनी नेपालभाषा माध्यमिक कालका चर्चित कवि हुन् । नेपालभाषामा गोठालेका दुई वटा कथा निकै चर्चित रहेका छन् । “पल्लो घरको झ्याल” नेपाली भाषामा जति चर्चित भयो त्यसभन्दा बढी नेपालभाषामा प्रकाशित उनको कथा “जि मचा” र “जि जुजुमान” कथा भएको छ । हुन त दुवै कथा धेरै समयपछि नेपालीमा रूपान्तर भएको पाइन्छ । “जि मचा” नेपाल संवत् १०७० (वि.सं.२००७) मा रत्नध्वज जोशीको उत्प्रेरणाले लेखेका हुन् । यहीँबाट नेपालभाषा कथा साहित्यमा बाल मनोविज्ञानको प्रवेश हुन सकेको देखिन्छ । यसभन्दा अगाडि बाल मनोविज्ञानमा आधारित कथाको प्रारभ्म नै भएको थिएन । यसपछि “जि जुजुमान” कथाले यौटा नयाँ आयामको सिर्जना हुन गएको छ । “जि जुजुमान” कथाले पुनर्जागरणकालमा परिवर्तन हुन नसकेका, हीनभावनाग्रन्थीको मनोविश्लेषण गरेको पाइन्छ । साथै उनको कथामा मध्यमवर्गीय सहरीया जीवनको घातप्रतिघात, कुण्ठा, चरित्र प्रतिपादनमा जुन निपुणता पाइन्छ, त्यसभन्दा पर गई चित्रण गर्दा अन्य कथा त्यति सशक्त भएको महसुस हुँदैन ।

“जि जुजुमान” कथाका पात्र जुजुमान उपत्यकासँग टाँसिएको गाउँको एक साधारण व्यापारी हुन् । साँढुभाइ राजनीतिमा आवद्ध भएकोले तत्काल शासकले जेलमा हाल्छ । आफ्नो लोग्ने जेलमा परेकोले दिदी कहाँ दुःख पोख्छ, दिदीको अगाडि रुन्छ । नचाहिने काम गरेर हिँड्या भनेर जुजुमानले टीकाटिप्पणी गर्दछ । पछि राजनीति परिवर्तनका साथ साँढुभाइले मन्त्रीको सचिव भई कार्य गर्ने अवसर पाउँछ । सचिवका घरमा भोजको आयोजना हुन्छ । साढु दाजु र दिदीलाई पनि निम्तो गर्दछ । दिदीचाहिँ सुत्केरी भएकीले साँढु दाजु एक्लै भोजमा जान्छ । स्वास्नी चाहिँले रक्सी धेरै खाएर नआउ भन्छे । साढुभाइको घर पहिल्याउन उनलाई अलि गाह्रो पर्दछ । घरले कलेवर फेरिसकेको रहेछ । यौटा घरमा मानिसहरू हूलका हूल पसिरहेको र निस्किरहेको देखेर यही घर होला भनेर अन्दाज गरी पस्छ ।

मटानमा सालीसँग जम्काभेट हुन्छ, सालीले ढोग्न आउँछे भनेर ऊ अलि पछि हट्छ तर सालीले पहिलेजस्तै ढोग्न आउँदिन । बैठक कोठामा जान ईशारा गर्दछे, ऊ कोठामा पस्दापस्दै कसैले सोध्छ ऊ को ? सान्दिदीको लोग्ने । उनलाई भिनाजु नभनी सान्दिदीको लोग्ने भन्दा अलि असजिलो अनुभव हुन्छ । त्यहाँ डुमरिया चुरोट बट्टा राखीछाडेको र मन्त्रीकी छोरी पनि भोजमा आएको र बैठक कोठामा गफ छाँटिरहेका थिए । मन्त्रीकी छोरी भोज आएको ठाउँमा भोज खान आउन पाएकोमा जुजुमानलाई मनमनै गर्व लाग्छ । सबैले डुमरिया चुरोट बट्टाबाट झिकी पिएको देखेर जुजुमानलाई पनि तलतलले च्याप्छ । उसले आफ्नो खल्तीबाट फुलमार चुरोट निकाली सल्काउँछ । फुलमार चुरोट खाए पनि जुजुमान, नखाए पनि जुजुमान । साढुभाइ कोठामा आउँछ झटपट जुजुमानले अरुले जस्तै उनलाई नमस्ते गर्छ । पछि सोच्छ-कसले पहिले नमस्ते गरेको साढुभाइ वा उसले ? जसले गरे पनि आखिर ऊ जुजुमान नै हो । भोज खान सबै उठ्छन्, एकजनाले उसलाई पनि हिँड भन्छ, ऊ पनि अरूसँगै जान्छ । बफे डिनरमा राखी छोडेको परिकार देखेर जुजुमानको मुखबाट पानी निस्कन्छ । यतिको परिकार पचाउन रक्सी त खानै पर्छ भनी सोच्छ ।

यसैबेला सालीको भदै पर्नेले पछिल्तिरबाट औँलाले घोचेर उसलाई अर्को कोठामा जान आग्रह गर्दछ । चिनाजान नभएका मानिसहरूसँग बसेर खान उसलाई पनि अलि असजिलो भएकोले ‘हुन्छहुन्छ’ भनी अर्को कोठातिर लाग्छ । त्यस कोठामा सुकुल ओछ्याइराखेको र पातमा चिउरा, अलिकति अचार भाग राखी छाडेको देखेर ऊ जिल्ल पर्दछ । त्यहाँ भोज खान बसेकामध्ये कसैले उसलाई पनि आएर बस्न निम्ताउँछ । त्यहाँ भोज खान बसेका अधिकाँश मानिसहरू काम गर्ने र उपहार बोकेर आएका घरायसी कामदारहरू थिए । भित्र डाक्नेलाई ‘हुन्छ-हुन्छ’ भनी जुजुमान जुत्ता लगाएर तल ओर्लिन लाग्छ । कसैले उसलाई सोध्छ कहाँ जाने ? पिसाव फेर्ने भनी ऊ तल आउँछ । सोझै घरतिरको बाटो लाग्छ । जुजुमानले मनमनै भन्छ खाए पनि जुजुमान, नखाए पनि जुजुमान ।

मनमा अतीतका कुरा खेलाएर फर्कन्छ । पदचाप सुनेर स्वास्नी चाहिँले सोध्छे फर्कनु भयो ? फर्के भनी जवाफ दिन्छ । राम्रोसँग खाएर आएँ भनी स्वास्नीलाई जवाफ दिन्छ । यसरी जुजुमान कथामा हीनग्रन्थीको विश्लेषण मात्र भएको छैन, तत्कालीन समाजमा अभिजात्य वर्गले गर्ने विभेद, साथै शक्तिमा पुगेपछि कुम्ल्याएर आर्थिक स्थिति सुधार गर्नेहरूको चित्रण राम्रो रूपले गरेको पाइन्छ । जुजुमान कथा त्यस परिवेशको कथा हैन, यो नेपालीको आमप्रवृत्तिको कथा हो । आज पनि लाखौँलाख जुजुमानहरू छन्, यो ती जुजुमानहरूको कथा हो । जुजुमानले यथार्थमा नेपालीको चारित्रिक विशेषतालाई प्रतिनिधित्व गरेको छ । त्यसैले यो कालजयी कथा बनेको छ ।

(स्रोत : मधुपर्क २०६७ फागुन – गोविन्द गोठाले विशेष)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.