पुस्तक समीक्षा : प्रवासको ‘रेडियो जिन्दगी’

~क.दी.~

अनेक प्रकारले ‘इन्टरेष्टिङ’ छ यो किताप। एक जना खाँटी राष्ट्रवादी नेपालीले छिमेकी देशमा चार दशक सरकारी सेवामा बिताएको कथा हो यो। खान लाउन दुःख नभए पनि उनले त्यहाँ काटेको कहरको कथा हो ‘रेडियो जिन्दगी’। सप्तरीको राजविराजमा जन्मेको मध्यवित्त ब्राह्मण परिवारको एकजना केटो नेपालको राजधानीको मुखै नदेखिकन भारतको राजधानी पुग्छ। त्यहीं बसेर पढ्छ, जागिर खान्छ अनि रिटायर भएपछि मात्र नेपाल उक्लन्छ। उसले त्यहाँ अनागरिक जस्तो ‘विदेशी’ भएर खेप्नु परेको पीडा बोलेको छ पुस्तकको पानाले।

प्रकाशप्रसाद उपाध्याय (दाहाल) को आत्मकथात्मक तर आख्यानपरक किताप हो यो। यो पढ्दा धेरै ठाउँमा कथा या उपन्यास पढेजस्तो लाग्छ। पाठकको मनलाई तान्छ त्यसले। अल इण्डिया रेडियोको नेपाली प्रभागमा काम गर्दा प्रकाशप्रसादको भेटघाट र चिनजान भारत र नेपालका ठूल्ठूला हस्तीहरूसँग हुन्छ। कितापमा उनले ती प्रसङ्ग प्रस्तुत गरेका छन्। साथै आफ्नो पारिवारिक कथाले सार्वजनिक परिवेशलाई छोप्न दिएका छैनन् उनले। ‘घोष्ट राइटिङ नेपाल’ ले प्रकाशित गरेको भए पनि यो पुस्तक समग्र लेखककै कलमबाट निस्किएको होला भन्ने बुझिन्छ। त्यो पनि यो कितापको एउटा ‘प्लस प्वाइन्ट’ मान्नुपर्छ।

एकजना पत्रकारको सेवा–कथा भएकोले यो ‘रेडियो जिन्दगी’ मा लेखकका सम्पर्क भएका र यहाँ उल्लेख भएका व्यक्तिहरूको संख्या निकै लामो छ। ती व्यक्तिहरू कुनै सामान्य स्तरका छन्, कुनै ठूला स्वनामधन्य पनि। तिनका बारेमा पछि केही केही पढ्न, हेर्न खोज्यो भने फेरि फेला पार्न हम्मे पर्छ। लेखकले अलि मिहिनेत गरेर यसमा उल्लिखित व्यक्तिहरूको नाम र पृष्ठसंख्या अकारादि क्रममा परिशिष्टमा दिएको भए कितापको उपयोगिता अझ्ा बढ्ने थियो। त्यो नहुँदा यो पुस्तक एक पटक पढी मनोरञ्जन लिइसकेपछि थन्काउने खालको भएको छ भन्नुपर्छ।

पुस्तक : रेडियो जिन्दगी
लेखक प्रकाशप्रसाद उपाध्याय
प्रकाशक घोष्ट राइटिङ नेपाल
पृष्ठ १७५,
मूल्य रु.२५०

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.