पुस्तक समीक्षा : ‘स्मृति’ भित्रको प्रेम बहस : एक समीक्षा

~प्रकाश थापा मगर~

प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले २०७१ को अन्ततिर एउटा खण्डकाव्य प्रकाशित गरेका थिए : “स्मृति” । २०७२ सालको वैशाखमा शक्तिशाली भूकम्प आएकाले र २०७२ असौज ६ गतेदेखि भारतले नाकाबन्दी लगाएपछि नेपाली जनताले इतिहासमा कहिलेकाहीँव्यहोर्नु पर्ने अकल्पनीय पीडा व्यहोर्नु परेको छ । यस्तो प्रतिकूल परिस्थितिका वावजुद तैपनि छिटपुट साहित्य प्रकाशन भइरहेकै छन् । त्यसमाथि विमर्श भइरहेकै छन् । यो नेपाली जनताको जीवन सौन्दर्य नै हो– अकल्पनीय पीडाका बीच पनि मुस्कुराउने । आखिर, हामी पानी मात्र खाएर देश बचाउन लड्ने वीर गोर्खालीका सन्तान न हौँ ।

खण्डकाव्यका प्रकृतिले पुरीको यो दोस्रो कृति हो । यसभन्दा पहिले उनका “ग्रहण नलागोस्” शीर्षकको खण्डकाव्य प्रकाशित भइसकेको छ । उनका “विचरण”, “अक्षुण्ण” र “सङ्कल्प” जस्ता महाकाव्य र “नानीकी आमा”, “सच्चाइको गीत” र “बनमाराका बुटाहरू” जस्ता उपन्यास पनि प्रकाशित छन् । पुरी विशुद्ध साहित्यकार मात्र होइनन्, उनी पेसेवर क्रान्तिकारी पनि हुन् । उनका पत्रपत्रिकामा प्रशस्त सैद्धान्तिक, वैचारिक प्रकृतिका लेख प्रकाशित भएका छन् । यसरी पुरी अनुभवी र पाका लेखक ठहरिन्छन् ।

पुरीका लेखनको मुख्य विधा काव्य हो । तत्सम शब्दहरूको प्रयोग गर्दै बिम्ब, प्रतीक र अलङ्कारको सुन्दर संयोजन गर्नु, त्यसो गर्दा वैचारिक रूपमा पटक्कै बाटो नबिराउनु उनको विशेषता हो, नत्र हामीकहाँ साहित्य र राजनीतिलाई आपसमा प्रतिद्वन्दी नै ठान्ने प्रवृत्ति छ । साहित्यले राजनीतिको खिल्ली उडाउनुमै मुख्य ध्यान केन्द्रित गर्ने वा राजनीतिले साहित्यलाई खालि मन बहलाउने साधन ठान्ने अवस्था पनि छ । पुरीले साहित्य र राजनीतिबीच सुमधुर मित्रताको सम्बन्ध बनाइदिएका छन् । राजनीतिप्रति आगो ओकल्नुलाई मुख्य पेसा बनाएका साहित्यकारलाई यो “नारावाद” पनि लाग्ला, तर प्रस्तुत पुस्तकको भूमिकामा गोविन्दप्रसाद आचार्यले लेखे जस्तै पुरीले यो तथ्यको राम्ररी खण्डन गरेका छन्– ‘प्रगतिवाद साहित्यका नाममा नारावाद लेख्छ’ । उनले वैचारिक लिकलाई अलिकति पनि नछोडिकन यति सुन्दर काव्य सृजना गरेका छन्– अझै पढ्न पाए हुन्थ्योभन्दा भन्दै पुस्तक सिद्धिन्छ† आखिर यो खण्डकाव्य न हो । मैले उनका महाकाव्य पनि पढेको छु । त्यस आधारमा भन्न सक्छु– एक पटक पढ्न सुरू गरेपछि उनका महाकाव्यले पनि पाठकलाई बेग्लै संसारमा विचरण गराउँछन् । पुस्तक नसिध्याई उठ्नै मन लाग्दैन । “स्मृति” खण्डकाव्य पनि यस्तै कलात्मक छ ।

साहित्यकारले आफ्ना रचनाको कथावस्तु आफू उभिएको समाज वरिपरिबाट नै उठाउँछ । फरक यत्ति छ– कल्पनावादी साहित्यकारले त्यही यथार्थमा बिम्ब, प्रतीक र अलङ्कारको सहायताले रचनालाई काल्पनिक बनाइदिन्छन् । उनीहरूले राजा÷महाराजा जस्ता सामन्त वा सम्भ्रान्त वर्गको गुणगान गाउँछन् । यता यथार्थवादीहरू भने आफ्ना साहित्यमा बिम्ब, प्रतीक र अलङ्कार जस्ता सौन्दर्यको भरपूर संयोजन गर्दछन्, तर त्यसो गर्दा कल्पनावादको सहारा लिँदैनन् । आफ्नो सृजनाका पात्र, संवाद वा सिङ्गो कथावस्तुले यथार्थ समाजकै प्रतिबिम्ब उतार्छन् । उनीहरू सामन्त वा सम्भ्रान्तको होइन, शोषित, पीडित विपन्न वर्गको पक्ष लिन्छन् । पुरीका साहित्यले निर्भिकतापूर्वक विपन्न वर्गको पक्षधरतालाई स्वीकार गर्दछ । विपन्न वर्गको मुक्ति सिद्धान्तलाई गर्वपूर्वक आत्मसात गर्दछ र उक्त सिद्धान्तको औचित्यता पुष्टि गर्ने गरी यसरी सौन्दर्य सिर्जना गर्दछ कि विपन्न वर्गले पुरीका साहित्यबाट शक्ति प्राप्त गर्दछ । उनका साहित्यमा यस खालको सन्तुलित संयोजन देखिन्छ ।

आधारभूत रूपमा “स्मृति” प्रेम बहसका लागि लेखिएको काव्य हो । लेखकले लेखकीयमा नै यो स्थिति सार्वजनिक गरेका छन् । प्रेम पनि यस्तो प्रेम, दुई विवाहितबीचको—खालि यत्ति स्थितिमाथि विचार गर्ने मानिसहरू एक सेकेण्डमै भन्न सक्छन्– यो प्रेम होइन, व्यभिचार हो । तर पुरीले यति हल्का र उपरी प्रकारले कृति रचना गरेका छैनन् । उनले यस्ता दुई पात्रका बीच प्रेमको जुन परिकल्पना गरेका छन्, त्यसको आधार यौन बिनाको प्रेम हो । प्रस्तुत काव्यभित्र यस्तो प्रेमलाई समान वैचारिक दृष्टि भएकाबीचको आपसी सहयोगको नाम पनि दिइएको छ । आफ्नो यस्तो आपसी सहयोग, शुभेच्छामा अभिव्यक्त भएको पे्रमले यौनसम्म विस्तार नपाओस् भन्ने सतर्कता काव्यमा देखिन्छ । प्रेमका दुवै पात्रहरू भरिपूर्ण परिवारका जिम्मेवार सदस्य हुन् । एउटा कसैको श्रीमती र नानीहरूको पिता हो भने अर्काे कसैकी श्रीमती र सन्तानकी मातृत्व पनि हो । खालि समान वैचारिक समझदारी भएकाले उनीहरू एक निश्चित समयसम्म एक–अर्काको नजिक आउँछन् । एक–अर्काको अनुकूल र प्रतिकूल समयका साथी बन्छन् । तर उनीहरूलाई थाहा छ– विद्यमान समाजका लागि यस्तो सम्बन्ध व्यभिचार मानिने छ । त्यसकारण उनीहरू आफ्नो सम्बन्धलाई दीर्घ कालसम्म लम्ब्याउन चाहन्नन् । अन्ततः उनीहरूको सम्बन्धमा “विदाइ–विसर्जन” हुन्छ ।

प्रस्तुत खण्डकाव्यमा “स्मृति” विवाहित नारीको प्रतीक हो । बादलको प्रतीक उभ्याएर काव्यमा पारिवारिक, सांसारिक सम्बन्धतर्फ इङ्गित गरिएको छ । ‘बादलभित्र छ नायक’ जस्ता शब्दावली प्रयोग भएबाट पारिवारिक, सांसारिक सम्बन्ध नभएको भए प्रेमले दाम्पत्य जीवनसम्म विस्तार पाउन खोजेको हो कि भन्ने लाग्दछ । समान विचार भएकाले काव्यका दुवै नायक–नायिकाको कार्यक्षेत्र एउटै हुन्छ । विपरीत लिङ्गीय आकर्षणले गर्दा उनीहरूबीच प्रेममय हाउभाउ पनि प्रस्तुत हुन्छ । तर त्यो हाउभाउको यौनसम्म विकास नहोस् भन्नेतर्फ उनीहरू सतर्क छन् । यस अर्थमा लेखकले जोखिमपूर्ण विषयवस्तु चयन गरेका छन्, काव्यका लागि ।

काव्य अध्ययन गरिसकेपछि पाठकका माझमा एउटा प्रश्न उभिन्छ ः दुई विवाहित पुरूष–स्त्रीबीच यौन बिनाको प्रेम सम्बन्ध कायम रहनु सम्भव छ ? लेखकले यस विषयमा बहस होस् भन्ने चाहेका छन् । स्वयं माक्र्सवादले जहाँ प्रेम हुन्छ, त्यहाँ यौन सम्बन्ध स्वाभाविक हुन्छ भने प्रेम बिनाको यौन सम्बन्ध व्यभिचार हुन्छ भन्ने मत राखेको हुन्छ । यस्तो अवस्थामा प्रेम भएर पनि यौन सम्बन्धदेखि निरपेक्ष हुनु सम्भव हुन्छ ? यो बहसको गम्भीर विषय हो । जहाँ प्रेम हुन्छ र त्यस आधारमा यौन सम्बन्ध हुन्छ, त्यो अवस्था भनेको दाम्पत्य जीवनको हो । त्यसका विपरीत प्रेम सम्बन्ध हुने तर यौन सम्बन्ध नहुने अवस्थालाई के भन्ने ? यस्तो स्थिति समाजमा विरलै पाइन्छ, तर असम्भव भने होइन । यस प्रसङ्गमा हिन्दी फिल्म ‘अमर प्रेम’ को कथावस्तुको प्रसङ्ग उल्लेख गर्नु अन्यथा हुने छैन ।

‘अमर पे्रम’ मा नायकको श्रीमतीसित प्रेम छैन, तर खालि यौन सम्बन्ध मात्र हुन्छ । नायिका पातर हुन् । उनको पति छैन । उनको घरपरिवार भत्किसकेको हुन्छ । त्यसपछि उनी कोठामा पुगेकी हुन्छिन् । उनले नायकलाई प्रेम गर्दछिन्, तर यौन सम्बन्ध हुन्न । नायिकाले नायकलाई यो सर्तमा प्रेम गर्दछिन्– नायकको घरपरिवार नबिग्रयोस् । यसरी यहाँ यौन सम्बन्ध बिनाको प्रेम देखा पर्दछ । नायकले आजीवन नायिकासित उनको पुरानो व्यवस्थित गृहस्थ जीवनको अपेक्षा गर्दछन् । नायिकाले पनि आजीवन नायकको घरपरिवार नभत्कियोस् भन्ने चाहन्छिन् ।

ठीक यस्तै प्रकृतिको कथावस्तु छ, “स्मृति” खण्डकाव्यमा । फरक यत्ति छ– प्रस्तुत खण्डकाव्यमा नायक–नायिकाको प्रेम सम्बन्धको आधार समान विचार पक्ष छ । उनीहरू दुवै समाजमा आमूल परिवर्तन हुनु पर्ने र उक्त विचारका लागि आजीवन काम गर्ने वाचा गर्दछन् । उनीहरूले आफ्नो यो अवस्थालाई दीर्घ कालसम्म कायम राख्न नचाहेकाले आफ्नो सम्बन्धमा विराम दिएको देखिन्छ ।

जे भए पनि यो
जिन्दगीको यात्रा हो
कहिलेकाहीँ जिन्दगीले
आफ्नै जन्ती भएर
हर्षबढाइँ गर्नु पर्छ
कहिलेकाहीँ जिन्दगीले
आफ्नै मलामी भएर
शोकमग्न यात्रा हिड्नु पर्छ (पृ. ३८)

यो पङ्क्तिले यही बताउँछ ।

कला पक्ष
सोध्छे– मसक्क मस्किएर
‘ए हजुर खाना खानु भयो ?
कति शक्तिशाली छ प्रेमको आँखा (पृ. १३)

यस्तो प्रसङ्ग काव्यमा धेरै पटक दोहोर्‍याइएको छ । यसको अर्थ हो– कविले यस्ता सामान्य संवाद मार्फत् कथावस्तु अगाडि सारेका छन् । यस्तो संवादभित्र उनले प्रेमालापको प्रतीक आरोपित गरेका छन् । खण्डकाव्यमा कला पक्ष उत्कृष्ट छ । केही उदाहरण हेरौँ ः

एउटा सयपत्री फूलको देशमा
भमराको सङ्गीतमा
नाचिरहेका नयाँ सपनाहरू (पृ. १४)

जीवनप्रतिको दृष्टिकोण कलाको रसमा†
सम्झेपछि फूल हो जीवन
हिलोमा पनि फुल्ने
बिर्सेपछि भूल हो जीवन
बहारमा पनि आगो लाग्ने (पृ. ६२)

प्रकृति र प्रेमको सुन्दर सम्बन्ध†
अनि कोइलीको गुञ्जनले
बोलिरहेछन् बसन्तको गीत
त्यही गीतमा मेरी स्मृति
भाका बनेर गुञ्जिदिँदा (पृ. २७)

प्रेममा सुन्दर सपनाको संयोजन†
स्मृति घ्
म तिम्रो स्वर व्यञ्जन टिपेर
प्रेमको माला बनाउँछु
तिम्रा आँशुका थोपाहरूको
एउटा विशाल सागर बनाउँछु
त्यसमा तिम्रो प्रेम उचाइको
एउटा हिमाल उभिने छ,
र, भावनाको पृष्ठभूमिमा
एउटा अमर प्रमकथा (पृ. ११)

प्रेममा उन्मुक्तताको माग
खण्डकाव्यका नायक–नायिका दुवै विवाहित भएकाले जब उनीहरूका बीचमा प्रेम भाव उत्पन्न हुन्छ, त्यतिखेर पनि उनीहरूलाई आफ्नो वास्तविक अवस्थाले स्वतन्त्र छोडिदिन्न । सामान्य रूपमा गुजारा चलिरहेको जीवन, श्रीमान÷श्रीमती, सन्तानले गर्दा उनीहरू पखेटा फिँजाएर उड्न सक्दैनन् । यस्तो वास्तविकता माझ उनीहरू प्रेममा उन्मुक्तताको माग गर्दछन् ।

स्मृति ¤
विवश छु म आफ्ना बाध्यताको ¤
तिम्रो जीवनको फूलबारीमा
भमरा भएर घुम्ने इच्छा मलाई थियो ¤
माली भएर पानी हाल्ने सपना थियो ¤
जीवन बादलभित्र छ (पृ. १८)

त्यस्तै अर्काे स्थानमा†
स्वतन्त्रताको कुनै उउटा भूगोलमा
प्रेम गर्दै हिड्ने खुला कानुनको
कुनै देश होला कि नहोला ? (पृ. २८)

अझै अर्काे स्थानमा†
लाग्छ,
अनुत्तरित छु प्रेमको चोकमा ¤
नैतिकवानहरू यसलाई छाडा भन्लान्
विचारवानहरू यसलाई नाजायज भन्लान् (पृ. ३२)

यस प्रकार प्रारम्भमा काव्यका नायक–नायिकाको रवैया स्वच्छन्दताको रहेको पाइन्छ ।

वास्तविकताको स्वीकारोक्ति तर उनीहरू अन्ततःपछि हट्छन् । उनीहरूलाई आफ्नो कमजोरी महसुस हुन्छ । उनीहरूलाई समाजको संस्कार र सीमा पुनस्र्मरण हुन्छ । यस प्रकारको दुखान्त भाव काव्यभित्र छरप्रस्टै छरिएको पाइन्छ ।

प्रिय स्मृति ¤
तिम्रो आलिङ्गनमा
तिम्रो स्वीकृति भए पनि
मेरो इच्छा भए पनि
पानी लहराले जेलिएको जीवन
संस्कारका साङ्लाहरूले बाँधिएका छन् खुट्टाहरू
म कैदी हुँ समाजको
म श्रीमान हुँ कसैको
शायद तिमी पनि
कसैकी श्रीमती हौ
कसैकी आमा हौ (पृ. २२–२३)

नायक–नायिकामा आफ्नो यस प्रकारको वास्तविकताको आत्मस्वीकृति छ । प्रेमको यो प्रयासले उनीहरू तल खसेको महसुस गर्दछन् ः

एउटा राम्रो जिन्दगीलाई दाउमा राखेर
जोडी मिलेको जीवन साथीमाथि घात गर्दै
गौँथली जस्ता मायालाग्दा सन्तानहरू
माक्र्सवादले सिकाएको जीवन दर्शन
कुन्नि कताको दोबाटोमा बिर्सदै
सङ्घर्षले उठाएको कदको छतबाट खसेँ ¤ (पृ. २९)

काव्यमा नायिकाकोतर्फबाट एउटा संवाद छ । उक्त संवादमा नायिकाले आफ्नो नारी मनमा चोट नलागोस् भन्ने कामना गर्दछिन् । त्यसपछि उनीहरू सतर्क हुन्छन् ः

एउटा प्रश्न लिएर
जब स्मृति प्रेमको मञ्चमा उक्ली,
अनि मेरो मन–मथिङ्गल हल्लायो मेरो
ए मेरो माया ¤
ए मेरो हृदय ¤
मेरो नारी मनमा कहिल्यै चोट नलागोस् है ¤ (पृ. ३५)

त्यसपछि उनीहरूको प्रेमबाट पछिहटाइ सुरू हुन्छ ः

हेर मात्रै
स्पर्श गर्न हात नबढाउ
वैँशका फूलहरू हेर्न अधिकार छ तिमीलाई
तर टिप्न मिल्दैन भन्ने हेक्का राख (पृ. ३७)

त्यसपछि उनीहरू इतिहास, सभ्यताको शिक्षा स्मरण गर्न थाल्दछन् ः

नियमको उल्लङ्घन गरी
उठ्दैन होला सभ्यताको पर्खाल
संस्कारलाई कुल्चिएर
बन्दैन होला नैतिकता
विचारलाई बिर्सिएर
फेरिदैन होला धर्ती (पृ. ४१)

अब उनीहरूको प्रेममा दिशा बदलिन थाल्छ । अब त्यागले इतिहास बनाउने तर्क गर्न थालिन्छ ः

अँगालेर नै बाँचेका छैनन्
सबै प्रेमका इतिहासहरू
त्याग गरेर पनि
रचिनु पर्दछ प्रेमको इतिहास (पृ. ४५)

नायिकाले नायकलाई होश नगुमाउन आग्रह गर्दछिन् ः

अटल हिमालहरू
ध्यानमग्न भए जस्तै
स्थिर रहनु पर्छ मनको भूमि
धैर्यताको दाम्लोले
नियन्त्रण गर
छरिएको मनलाई
मेरो नायक ¤
होश नगुमाउ (पृ. ४७)

उनीहरू अब पश्चातापको यात्रामा निष्कर्ष निकाल्छन् ः

व्यभिचारको देशमा
वेश्यावृत्ति फष्टाउँछ
अराजकताको मुलुकमा
आतङ्कको हुण्डरी मच्याउँछ
नीँदहराम गर्ने
किन चाहियो स्वतन्त्रता ?
आफैलाई पोलिदिने
किन चाहियो प्रेम ? (पृ. ५४)

अझै अगाडि उनीहरू भन्दछन् ः

नीति–नियमको कसीमा
हिँडाउनु पर्छ दृष्टिकोण
यथार्थको आलिङ्गनबाट फुत्केर
वास्तविकताको पाइला पछ्याउनु पर्छ
(पृ. ६१)

त्यस्तै अर्को स्थानमा लेखिएको पाइन्छ†
जे जे लागे पनि
जे जे फलाके पनि
कुँडिएको मन बोकी
स्वीकार्नु छ चेतनाको आविष्कार
नैतिकताको गर्भबाट आएको
नाङ्गै नाच्नु हुन्न भन्ने नियम (पृ. ६४)

अर्को एक स्थानमा भनिएको छ ः

नाङ्गो पार्नु हुन्न सभ्यतालाई
ढाक्नै पर्छ विवेकको वस्त्रले
ताक्नु हुन्न वासनाको शरीर (पृ. ७०)

यस प्रकार प्रारम्भका उनीहरू पे्रम भावनामा बग्न खोजे पनि अन्तमा उनीहरू आफ्नो दृष्टिकोण अनुसार सम्हालिन्छन् र नैतिक बाटोमा कायम हुन पुग्दछन् ।

अश्लीलता÷अराजकता ?

काव्यका केही स्थानमा अश्लील प्रकृतिका शब्दावली प्रयोगमा आएका छन्, यद्यपि यो काव्यको मूल प्रवृत्ति भने होइन । सम्पूर्ण काव्यमा संयमता, शिष्टता छ । यी केही पङ्क्ति हेरौँ ः

तर पनि समर्पित आफ्नो नायकप्रति
दारिमको रूखमा हेर्दै
दारिमका फलहरू
कुत्कुत्याउँछन् छातीभित्र ¤
दुई स्तन भएर झुल्किएका (पृ. २१–२२)

त्यस्तै अर्को स्थानमा†
छोराछोरीको आमा बनेकी
तिम्री जीवन सङ्गिनीको
टम्म परेको हिजोको छाती
आज झोलिएको होला (पृ. ३६)

त्यसै गरी खण्डकाव्यमा केही स्थानमा अराजकता पनि देखा परेको मान्न सकिएला, यी पङ्क्तिलाई हेर्दा†

कुमार इच्छाहरूलाई
भड्किनबाट रोकेपछि मात्रै
पतनको खाडल
गन्तव्य बन्दैन हाम्रो यात्रा (पृ. ६२)

आत्मस्वीकृतिपछिको निष्कर्ष
आफ्ना कमजोरी स्वीकारेपछि काव्यमा नायक–नायिका आगामी भविष्यका लागि बाटो निश्चित गर्दछन् । सरल शब्दमा तलका पढौँ ः

मनको मझेरीमा
जिम्मेवारीलाई बिर्सिएर
प्रेमको बत्ति बाल्नु हुन्न
जिन्दगीका मूल्यहरूलाई
त्यसै खेर फाल्नु हुन्न
पर्ख ए साथी
धैर्यताले बाँध है मन
विचारले सोच है जीवन
आचारले खोज है संस्कार
आधारमा रोप है प्रेम
भोलि रूने नहोस् र्है खुसी
विगतलाई सम्झिएर (पृ. ४१)

त्यस्तै, अर्को स्थानमा उनीहरूले भविष्यको सुन्दर समाज निर्माणका लागि प्रतिबद्ध हुने निष्कर्ष निकाल्छन् ः

आउनु होस् नाता जोडौँ वर्गीयताको
यात्रा हिँडौँ न्याय र समानताको
दाम्लाहरू चुडाल्दै
भेद र विभेदका नियमहरूमाथि धावा बोल्दै
एउटा न्यायपूर्ण युद्ध लडौँ
अनि एक दिन
हजुरको प्रेम बगैँचामा
मुस्कुराउने छ सभ्यताको बिहान (पृ. ७५)

प्रसङ्गको क्रम
काव्य सर्सर्ती बगेको छ । फेरि पनि शीर्षक अनुसार आख्यानका प्रसङ्ग तल–माथि परेका छन् । “उद्गम–उद्बोधन”, “सङ्गम–सम्बोधन” र “विदाइ–विसर्जन” गरी खण्डकाव्यलाई तिन भागमा विभक्त गरिएको छ । यस विभाजन अनुसार “सङ्गम–सम्बोधन”भित्र प्रेमालाप चरम रूपमा हुनु पर्ने थियो । “उद्गम–उद्बोधन” मा प्रेम पूर्वको परिस्थितिको अलिकति बयान भएको भए राम्रो हुन्थ्यो । तर प्रेमालाप यी दुवै खण्डभित्र छरप्रष्टै छन् । “विदाइ–विसर्जन” तुलनात्मक रूपमा प्रसङ्ग मिलेको छ । फेरि पनि नायक–नायिकाले आफ्नो प्रेमप्रतिको आत्मस्वीकृति भाव “विदाइ–विसर्जन” भित्रै पारेको भए उचित हुन्थ्यो कि ¤ तर आत्मस्वीकृतिका भाव दोस्रो खण्डमा पनि देखिएका छन् ।

निष्कर्ष

रोजा लक्जमबर्गसित छलफल गर्दै लेनिनले प्रेमका लागि आन्दोलन नै चलाउने मागलाई असामयिक बताएका थिए । उनले प्रेममा उत्ताउलोपना पूँजीवाद भएको बताए । त्यसका साथै प्रेम बिनाको यौन व्यभिचार हुन्छ भन्ने उनको धारणा थियो । कम्युनिस्ट आन्दोलनभित्र पनि खास गरी युवा जनवर्ग माझ “पेटिकोटकापछि दगुर्ने” प्रवृत्ति रहेको उल्लेख गर्दै लेनिनले यस्तो प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नोक्सान पुर्‍याएको बताएका थिए । पुरीको प्रस्तुत खण्डकाव्यले मूलतः प्रेमसम्बन्धी लेनिनको निष्कर्षलाई आत्मसात गरेको छ । अन्ततः प्रेमलाई वर्गसङ्घर्ष र सुन्दर, शोषणविहीन समाज निर्माणको लक्ष्यसित जोड्ने गरी खण्डकाव्य सृजना गरिएको छ ।

यहाँनेर एउटा बहस आवश्यक देखिन्छ । प्रेमका लागि आन्दोलन नै चलाउने कार्य असामयिक त हो, तर प्रेम भने सधै सामयिक हुन्छ । यो दृष्टिबाट हेर्दा पुरीले यस्तो खण्डकाव्य लेख्नु पनि एकथरिका लागि असामयिक हुन सक्ला, तर न प्रेमसम्बन्धी बहस असामयिक हो, न वर्गसङ्घर्षको माझमा गरिने प्रेम । पुरीले यो खण्डकाव्य मार्फत कठिन परिस्थितिका बीचमा पनि प्रेमको आवश्यकतामा जोड दिएका छन् । प्रेम बिना जीवन सम्भव छैन । यो मानव समाजको अहिलेसम्मको विकासबाट प्राप्त निष्कर्ष हो । त्यसका अतिरिक्त माक्र्सवादीहरू भन्दछन्– निस्वार्थ र उन्मुक्त प्रेम वर्गविहीन समाजको स्थापनापछि मात्र सम्भव हुन्छ । पुरीले प्रस्तुत खण्डकाव्य यही उद्देश्यमा मद्दत पुगोस् भन्ने मनसायका साथ लेखेका छन् ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ५ – Dec. 16, 2015 – २०७२ पौष १ गते, बुधबार)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.