कथा : सन्तरे

~पुष्कर रिजाल ‘पुष्प’~

कठै ! विचरा । सन्तरेलाई देख्ने बित्तिकै जो कसैको जिब्राले यही फट्कार्थ्यो । ऊ किन सबैको विचरा बन्यो त । को हो सन्तरे ? करिब १० वर्ष पहिले मेरा मनमा यस्तै प्रश्नले डस्थे ।

नेपालको उच्च पहाडी भेग सधैं जाडो हुन्छ । देवकोटाले पहाडी जीवन निबन्धमा पहाडको पारख गरेकै छन् । सन्तरे पहाडतिरै जन्मेको रहेछ । उसका बाजे बराजु सबै भरिया रहेछन् । उसका दाजुभाइ पनि भरिया । उसलाई आफ्नो गाऊँ सम्झना भएन । भन्थ्यो बाले ऐलानी जग्गा अलिकति चर्चेका थिए । हामी छ–छ भाइलाई बा’को त्यो सम्पत्ति के काम । उमेर चालिसतिर हुँदो हो । फाटेका लुगाले छोप्न नसकेको उसको शरीर जाडोले  लुगलुग काम्दै थियो । हुन पनि यो तराईको पुस–माघ किन आउँछ होला सन्तरेहरूलाई । उखानै छ ‘बुढापाका माघलाई बलियाबाङ्गा बाघलाई’ । सन्तरेलाई बाघ चाहिंदैन माघले नै लाने छाँट देखेर बटुवा सबै विचराको निश्वास गर्थे ।

फुर्सदिलो समय निकालेर मैले सन्तरेसँग कुरा गरें ।

नामै सन्तरे नै त होइन होला ?

पहाडमा अमिलो जातका फलफूल खुबै फल्थे । सुन्तला पनि उस्तै । उसले सुन्तलाको भारी भारे डोकामा जाली खकन हालेर बोक्न सकेजति तराईको बजारमा झाथ्र्यो । बिक्री नभएमा सुन्तला गाउँगाउँमा डुलाउँथ्यो । उसका सुन्तला निकै रुचाइन्थे । मधेसीहरू उसलाई देख्ने बित्तिकै सन्तरे भन्थे । मलाई यो शब्द खुबै मनपर्यो !

सन्तरे, क्या गजब ! पहाडियाहरू साइकलमा आलु, बदाम घरघर डुलाउने मधेसी मुलका बेपारीलाई भैया भन्छन् । यो शब्द मायालु भन्ने कि हेपेको भन्ने । सन्तरे पनि मायाले भनेको कि हेपेर । म अलमलमा परें । सन्तरेले आफ्ना सबै कथा व्यथा सुनायो । पण्डितले राखेको उसको नाम हरिप्रसाद रे । आफ्ना बारेमा कसैले यति चासो गर्छ होला भन्ने कल्पनासम्म नगरेको सन्तरे मैले चासो राखेकाले दङ्ग पर्दै आफ्नो कथा भन्न थाल्यो ।

ऊ भारी बोकेर सडकमा हिंड्दै थियो । पछाडिबाट कुनै जँड्याहाले चलाएको गाडीले ऊ बाटोमै ढल्यो । उसको दायाँ हात भाँचिएछ ।  बायाँ गोडा थिलोथिलो भएछ । रगत त कति बग्यो कति । उसका सुन्तला बाटोमै गुडे । कति बटुवाले टिपे । कति गाडीले किचे । हो सन्तरे चाँहि बाँच्यो । अब उसको जीवन निष्पट अँध्यारो नै भयो । उसको उपचार कसले गरिदेओस् ।

करिब छ महिनापछि एकदिन एकजना महात्मा उसका भगवान भएर आएछन् । उनले खोलेको वैदिक अध्ययन केन्द्रले यस्तै असहायहरूलाई सहयोग गर्ने रहेछ । सन्तरेले उपचार पायो । उसको हात जोडियो । तर खुट्टा भने जोडिएन । सन्तरेकै सहमतिमा उसको कृत्रिम खुट्टा हालियोे । ऊ अब फेरि हिड्न सक्ने भयो । अब उसले सुन्तला बोक्न सकेन । तर उसलाई देख्नेले सन्तरे भन्न छाडेनन् ।

पाँच वर्ष पहिले सन्तरेसँग भेट भयो । लोकतान्त्रिक आन्दोलनको फाइदा सन्तरेको भागमा पनि परेछ । उसले खुसी हुँदै सुनायो ।

मैले सोधें तिमी पनि आन्दोलनमा ?

ऊ मुस्कायो । हो नि हजुर म त नेता नै बनें आन्दोलनको । त्यतिबेला सडकलाई मान्छे चाहिएको थियो । सडक त्यसै कहाँ तात्छ र ।

उसको भाषामा मैले नेताकै गुणहरू पाएँ ।

ऊ भन्दै गयो । सरकारले आन्दोलनकारीलाई सुरुमा दबायो । पछि कहाँ सक्यो र । मैले त्यतिबेला इन्डियाबाट कति आन्दोलनका सामग्री व्हीलचेयरमा गुडाउँदै नेपाल ल्याई पुर्याए । अशक्त केन्द्रको अध्यक्ष भएपछि त मैले देशका ठूला नेतासँगै भाषण गर्ने अवसर पनि पाएँ । कति सभामा म प्रमुख अतिथि पनि बनेको छु । उसले मैले उसको दुःखमा सहयोग गरेको कुरा पनि सम्झियो ।

‘आज सभासदज्यूबाट नगर सभाहल उद्घाटन हुँदै ।’ बिहानै अखबारमा सभाहल भवनको फोटोसहितको समाचार पढें । अरु अरु समाचार पनि थिए । मैले त्यसमा खासै चासो दिइन् । आफ्नो पढाइका कारण पाँच वर्षपछि यो सहरमा आएको हुनाले आफ्नो उमेरका चिनेका मान्छे पनि खासै थिएनन् । २०७४ को संघ र प्रदेशसभा चुनावका बेला आफ्नो मतको सदुपयोग गर्न घर आएको थिएँ । हरिप्रसादका राम्रा कामहरू प्रचार गरेको सुनेको थिएँ । भोट पनि हालियो । तर उनीसँग चिनजान भने थिएन । फुर्सद भएकाले दुईचार जना साथी पनि भेटिएलान्, सभासदका कुरा पनि सुन्न पाइएला भनेर म कार्यक्रमतिर डोरिएँ । सभा सुरु भएको थिएन  । मंसिरको जाडो दिउँसोको घाम निकै प्यारो थियो । आधा किलो सुन्तला किनेर म घाममा खाँदै थिए । मान्छेहरू जम्मा हुँदै थिए । सुन्तलाको स्वादले मलाई सन्तरेको कथा याद आयो । सन्तरे कहाँ छ होला भन्ने ? प्रश्न पनि कताबाट आयो ।

यतिकैमा स्टेजबाट माइक घन्कियो । चहुरमा तालीको आवाज आयो । भर्खरै जितेका सभासद शुभचिन्तकहरूको नमस्कार फर्काउँदै थिए । नजिकका मानिससँग हात पनि मिलाउँदै थिए । गलामा माला र हातमा फुलका थुँगा थिए । अबिरले उनको अनुहार ढाकिएको थियो । म उभिएर उनको स्वागतका लागि हात जोडेँ । नजिकै आएपछि कतै चिनेजस्तो लाग्यो । उनी सरासर मकहाँ आए । पहिले अँगालामा बाँधे अनि दरोसँग हात मिलाउँदै कार्यक्रमपछि भेट्ने बताउँदै उनी स्टेजतिर लागे ।

आहा ! लोकतन्त्रको सौन्दर्य उही सन्तरेलाई सभासद बनाएको रहेछ । मन प्रसन्न भयो ।

(स्रोत : समाचार दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.