पुस्तक समीक्षा : पूराको उपन्यास सानो तर पूरा

~शारदाप्रसाद शर्मा~

शारीरिक तन्दुरुस्तीका दृष्टिले सबल नदेखिए पनि इच्छाशक्तिका दृष्टिले अब्बल समिता श्रेष्ठ ‘पूरा’ को सानो साहित्यिक सौगात ‘नयाँ सोच’ नामक जुन लघु–उपन्यास शब्दयात्रा प्रकाशनले आयोजना गरेको साहित्यिक सभामा सार्वजनिक भयो, त्यो सानो भएर पनि वजनदार छ । नौ कक्षाबाट माथि जानै नपाएकी केटी, त्यसमाथि शारीरिक अस्वस्थताले अत्यन्त कष्टकर जीबन बाँचिरहेकी मान्छे, शब्दलाई साथी बनाएर ‘शब्दयात्रा’ सँग खेल्दै यात्रा गर्न खोज्ने समिता श्रेष्ठको आँट र उत्साहलाई म सलाम गर्छु । आफूलाई समाजले अपूरो ठान्दाठान्दै म के कम छु र भनेर नाम नै पूरा बनाउने ‘पूरा’ श्रेष्ठको अभीष्ट पूरा होस्, शुभकामना !

पूरा श्रेष्ठको लघु–उपन्यास ‘नयाँ सोच’ मा धेरै किसिमका नयाँ प्रयोगहरू छन् । लघुतम भए पनि यो उपन्यास बनेको छ । यसमा कथात्मक गद्य र कवितात्मक गद्य दुवैको प्रयोग भएको छ । उपन्यासकी नायिकाको नाम माया र नायकको नाम नयाँ राखिएको छ । यसै गरी नायकका साथीहरूमा उमा र अचेललाई उभ्याइएको छ । उमा भनेको शान्ति, कीर्ति र कान्ति पनि हो । यस्तै माया भनेको प्रेम हो । नयाँ र अचेल पनि उस्तै–उस्तै अर्थ बोक्न सक्ने शब्द हुन् । अचेल शान्ति भड्किएर अशान्ति बल्झिरहेका बेलामा यस उपन्यासका नायकको सोचजस्तै नयाँ सोच राखेर सिक्नका लागि विदेश गए पनि सिकेर स्वदेशमा आधुनिक कृषि–व्यवसाय गर्ने हो भने नेपालको उन्नति सम्भव छ । जहाँ प्रेम हुन्छ, त्यहाँ शान्ति र स्वतन्त्रता हुन्छ, जहाँ शान्ति र स्वतन्त्रता हुन्छ, त्यहाँ नयाँ सोचको विकास र कार्यान्वयन हुन सक्छ । यही नै यस उपन्यासको मूल सन्देश हो ।

बिदेसिएको नेपाली युवाशक्तिलाई तिमीहरू विदेश गएर केही दिन रमाउन सकेछौ भने पनि सधैँ रमाउन सक्तैनौ, बरू नेपालमै बसेर यस उपन्यासका नायकले झैँ नेपालमै कृषिकर्ममा लाग्यौ भने तिमीहरूले मात्रै होइन तिम्रा सन्तान–दरसन्तान सबै रमाउन पाउनेछन् । देशको उन्नति त्यसैमा छ, भविष्य त्यसैमा छ भनेर देख्ता सबैले थाहा पाएको, व्यवहारमा सबैले लत्याएको कृषि व्यवसायलाई उकास्ने उत्प्रेरणा नै यस उपन्यासको चुरो कुरो हो । पैसाको पछि लाग्ने बाबुआमाले छोराछोरीप्रतिको जिम्मेवारी बहन गर्न नसक्ता लागूपदार्थको दुव्र्यसनमा फसेर अचेलजस्ता युवाको असामयिक निधन भएको सन्देश पनि यसले दिएको छ ।

शब्दयात्रा प्रकाशन शब्दको यात्रामा रमाउने संस्था हो । यो प्रकाशन शब्दको यात्रामा अघि बढ्न नसकेकाहरूलाई डोहो¥याउन चाहन्छ । यात्रामा अघि बढ्न खोज्नेलाई हौस्याउन चाहन्छ । यात्रामा अघि बढिसकेकालाई सम्मान गर्न चाहन्छ । यात्राबाट विरक्तिएकालाई यात्रामा फर्काउन चाहन्छ । त्यसैले समिता श्रेष्ठले पुस्तक प्रकाशन गर्न शब्दयात्रालाई चुन्नु उहाँको सही निर्णय हो ।

मसँग उहाँले दिनुभएको पाण्डुलिपि छ र शब्दयात्रा प्रकाशनले त्यो पाण्डुलिपिलाई बान्की मिलाएर प्रकाशित गरेको पुस्तक पनि छ । यी दुईको तुलना गर्दा जोसुकैले भन्न सक्छ समिताले जम्मा गरेको कच्चापदार्थबाट शब्दयात्राले सामग्री उत्पादन गरेको रहेछ । शब्दयात्राले पूरा श्रेष्ठको अपूरो सामग्रीलाई पूरा गरेको हो । पुस्तकमा भएको विचार समिताको हो, परिष्कार ‘शब्दयात्रा’ को हो । खान्की समिताको हो, बान्की ‘शब्दयात्रा’ को हो । वास्तवमा पूरा श्रेष्ठले टेब्लेटमा युनिकोडमा लेखेको सामग्रीलाई ‘शब्दयात्रा’ ले शब्दशिल्पको जलप लगाइदिएको, व्याकरणको विधानले बाँधेको र साहित्यको सिद्धान्तमा ढालेको, उपन्यासको आकृतिमा उभ्याएको हो । त्यसैले यो सुन्दर र सुललित बनेको छ । समिताको यो पहिलो प्रयास हो । युनिकोडबाट भाषिक शुद्धता निस्किन सक्तैन । त्यसैले ‘शब्दयात्रा’ ले यति गर्नु आवश्यक थियो र ग¥यो । नगरेको भए यो पुस्तक यति सुन्दर र अर्थबोधी नहुन सक्थ्यो, सबल र सङ्ग्रहणीय नहुन सक्थ्यो ।

शब्दयात्रा प्रकाशन शबै शब्दयात्रीलाई अघि बढाउन चाहन्छ । समिता श्रेष्ठजस्ता व्यक्तित्वलाई त अझ बढी प्राथमिकतासाथ तान्न र उचाल्न चाहन्छ । कच्चा फलामका रूपमा प्राप्त सामग्रीलाई इस्पातका रूपमा समाजमा समर्पण गर्न चाहन्छ । सिकारुलाई सक्षम बनाएर समाजमा स्थापित गराउन चाहन्छ । सफल भइसकेका शब्दसाधकलाई खोजिखोजी सम्मान गर्दै समाजमा उत्प्रेरणा भर्न चाहन्छ ।

साहित्यले पेट पाल्न सकिँदैन, शब्दको यात्राले जीवनको गति चल्दैन, शब्दको खेतीले राष्ट्रको उत्थान हुन सक्तैन भन्नेहरू छन् । होइन भने व्यक्तिले, समाजले, राष्ट्रले साहित्यमा लगानी गर्न किन हिच्किचाउँथ्यो ? हामी यो गलत मान्यतालाई हटाउन चाहन्छौँ । साहित्यलाई व्यवसायका रूपमा स्थापित गरेर देखाउन चाहन्छौँ । साहित्य एउटा उद्योग हो भन्ने मान्यता कायम गर्न चाहन्छौँ । साहित्यले जीवन धान्न मात्रै होइन, देश हाँक्न पनि सक्छ भन्ने देखाउन चाहन्छौँ । त्यसैले समिता श्रेष्ठजस्ता फरक क्षमताका लेखकहरूलाई खोजिखोजी परिष्कार गर्न बाँकी रहेका सामग्रीलाई बिनिबिनी उत्कृष्ट बनाएर छाप्ने गर्दछौँ । यो पुस्तक हामीले प्रकाशित गरेको ९५ औँ पुस्तक हो । सरकारले साहित्यलाई वास्ता नगर्ने नेपालजस्तो मुलुकमा संस्था स्थापनाको सवा ६ वर्षभित्र ८ दर्जन पुस्तक छाप्नु चानचुने कुरा होइन । यस अतिरिक्त यस संस्थाले ‘शब्दसञ्चार’ नामक साप्ताहिक रेडियो कार्यक्रम, विचारप्रधान ‘नेपालभूमि’ साप्ताहिक पत्रिका, ‘अक्षरधाम’ साहित्यिक मासिक पत्रिका, ‘कर्मयोद्धासँग शब्दसंवाद’ साप्ताहिक छलफल कार्यक्रम सञ्चालन गरी वर्षमा १८ विधाका १८ स्वनामधन्य व्यक्तित्वहरूलाई सम्मान समर्पण गरिरहेको छ । आफ्नो बखान आफैँले गरेझैँ हुन सक्छ तापनि म यति गर्न सक्छु, गर्दैछु, गरेको छु भनिएन भने अरूले कसरी थाहा पाउने र हामीलाई अरूले कसरी प्रयोग गर्ने ? हो, हामी प्रयोग हुन र सेवा दिन चाहन्छौँ ।

शब्दयात्रा प्रकाशन काभ्रे जिल्लालाई वाङ्मयिक अनुसन्धानको सर्वोपयोगी केन्द्र बनाउने महàवाकाङ्क्षी योजना लिएर आएको छ । हामी बनेपाको ६ नं. वडास्थित नीलकण्ठेश्वरधाममै जोडिएको कृष्ण–गीता परिसरमा बहुआयामिक अनुसन्धान प्रतिष्ठान स्थापना गर्न लागिपरेका छौँ । यसका लागि स्थानीय कृष्णमणि कुइँकेलले बनेपाजस्तो ठाउँको राजमार्गमा जोडिएको ५ आना जग्गा निःशुल्क दिनुभएको छ । कार्यालय सञ्चालनका लागि स्थानीय नीलकण्ठेश्वरधाम संरक्षण समितिले आफ्नो पक्की ढलानको दुईतले घर निःशुल्क उपलब्ध गराएको छ । हामी उत्साही छौँ । त्यहाँ हामीले जनस्तरका प्रथम नेपाली शिक्षासेवी बालागुरु षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद सुब्बा कृष्णलाल अधिकारी, नेपाली गीत रेकर्ड गर्ने प्रथम महिला मेलवादेवी गुरुङ र राष्ट्रिय पुरस्कार प्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारतीको सालिक स्थापना गर्न लागेका छौँ । झन्डै १२ लाख रुपियाँको लागतमा पाँचवटै सालिक तयार भइसकेका छन् । निर्माणस्थलमा शिलान्यास भइसकेको छ । निर्माणकार्य जारी छ । ढिलोमा यही फागुनभित्र पाँचवटै सालिकको अनावरण गरिसक्ने हाम्रो तयारी छ । त्यसै ठाउँमा शब्दयात्रा स्तम्भ बनाउने पनि योजना बनाएका छौँ ।

हामीले प्रस्ताव गरेको दीर्घकालीन गुरुयोजना सम्पन्न गरी काभ्रेलाई वाङ्मयिक अनुसन्धानको केन्द्र बनाउन ३ वर्षअगाडिको मूल्यमा ३ अर्ब रुपियाँ लाग्ने आकलन गरेका छौँ । हामीसँग पैसा छैन, जग्गा छैन, प्रविधि छैन । तर हामीलाई थाहा छ इच्छाशक्ति भएमा समिता श्रेष्ठजस्ताले लेख्न सक्छन्, झमककुमारीजस्ताले गर्न सक्छन्, धुलिखेल खानेपानी, धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालयजस्ता उदाहरण हामीसँग छन्, आदिकवि भानुभक्त, युवाकवि मोतिराम, गौतम बुद्ध, अरनिको जस्ता प्रेरणाका स्रोत हाम्रै देशका हुन् भने हामीले किन नसक्ने ? सक्छौँ । आउनुहोस् । सघाउनुहोस् । बिसे नगर्ची जस्ताले त्यो बेलाको एक–एक मोहोर दिएर एकीकरण अभियानमा होमिएको नेपालमा तीन करोड नेपालीको चाहना मिल्यो भने यो बेलाको जाबो ३ अर्ब रुपियाँ के हो र ! हामी अभियानमा छौँ । हामीलाई रकम आवश्यक छ । प्रविधि आवश्यक छ । विचार आवश्यक छ । जनशक्ति आवश्यक छ । श्रम आवश्यक छ । सामग्री आवश्यक छ । जसले जे सक्नुहुन्छ, सघाउन हामी सबैसँग आग्रह गर्दछौँ । तपाईंहरू सघाउनुहोस्, हामी व्यवस्थापन गर्छौं । व्यवस्थापनमा साथ दिन आउनुहोस्, हामी स्वागत गर्छौं । उत्कृष्ट काम गरेर देखाउनुहोस्, हामी सम्मान गर्छौं ।

अन्त्यमा, सानै भए पनि विचारोत्तेजक ‘नयाँ सोच’ पुस्तक लेख्नुभएकोमा समिता श्रेष्ठ ‘पूरा’ लाई बधाई छ । यस्तो राम्रो पुस्तक प्रकाशन गर्न शब्दयात्रा प्रकाशनलाई जिम्मेवारी दिनुभएकोमा पनि उहाँलाई धन्यवाद छ ।

(शब्दयात्रा प्रकाशनको आयोजनामा २०७४ पुस २४ गते सोमबार समिता श्रेष्ठ ‘पूरा’ को लघु–उपन्यास ‘नयाँ सोच’ सार्वजनिक गरिएपछि प्रस्तुत मन्तव्यको मुख्यांश)

(स्रोत : नेपालभूमी – २०७४ माघ २ गते मङ्गलबार प्रकाशित अङ्कबाट)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.