कथा : सकस

~महानन्द ढकाल~

कचहरी दोस्रो दिन पनि जारी थियो । तुलसीको मोठ अगाडि गाईको गोबरले लिपिएको भुँइ सुकिसकेको थियो । सतीदेवीको पार्थिव शरीर न त मोठनजिकै थियो न त लिपिएको ठाउँमा नै । आँगनको दुई कुनामा अन्तिम संस्कारका लागि तयार पारिएका सामानहरू छरप्रष्ट थिए । उत्तरपट्टि हरिया बाँसका घारा, बाबियोको डोरी, पिताम्बर, सेतो कोरा, धानको लावा, शंख, कुश, घ्यू, र खुद्रा पैसाहरू राखिएको थियो भने दक्षिणपट्टि काठको बाकस, एक बोरा नुन , खाडल खन्न तयार पारिएका कुटा र कोदालाहरू…..। लाग्थ्यो यहाँ दुई जनाको सँगै मृत्यु भएको छ । त्यो पनि फरक धर्म र संस्कृतिका ।

गाउँलेहरू दुई समूहमा विभाजित थिए । एकथरीले सतीदेवीको पार्थिव शरीरलाई क्रिस्चियन परम्पराअनुसार दाहसंस्कार गर्न चाहन्थे । अर्काथरीले हिन्दू परम्पराअनुसार । दुई दिनदेखि लास उठ्न सकेको थिएन । लासमाथिको विवाद लम्बिदै हात हालाहालसम्म पुग्न थालेको थियो । दुवैथरीले प्रतिष्ठाको विषय बनाएकोले समाधिले समस्याको रूप लिएको थियो ।

वैशाखको दोस्रो दिन थियो । बिहानैबाट सूर्यको ताप ह्वात्तै बढेको थियो । बिस्कुन सुकाएझैँ सतीदेवीको पार्थिव शरीर आँगनमा लम्पसार थियो । लासको शिर र गोडातिर एक–एकओटा पंखा लगाइएका थिए । झिंगाको आक्रमण तीव्र हुँदै थियो । कता कता लासबाट गन्ध आउन थालेजस्तो लाग्थ्योे । रमाकान्त मृत श्रीमतीको छेउमा बसेर भिंmगा धपाइरहेका थिए । उनको हातमा हरियो कुश वा तुलसीको हाँगा नभएर गम्छा थियो । त्यही गम्छाको सहायताले उनले झिंगाको आक्रमण विफल पार्दै थिए ।

दुई छोरा दुईतिर विभाजित थिए । गाउँलेहरूको विभाजनसँगै यो स्थिति आएको थियो । यही जयपुर गाउँ हो जुन गाउँ कुनै वेला एकताका लागि परिचित थियो । कसैले आपूmलाई एक्लो महशुस गर्नुपर्दैनथ्यो गाउँमा । दुःख सुखमा सधैँ सँगै हुन्थे । मर्दाको मलामी र जिउँदाको जन्ती भन्ने उखान सायद यही जयपुरबाट सुरु भएको थियो । तर पछिल्लो समय गाउँ गाउँजस्तो थिएन । जयपुरमा पराजयका संकेतहरू देखिन थालेका थिए । आफन्त आफन्तजस्ता थिएनन् । शंका, इष्र्या, असहयोग र स्वार्थ गाउँको चिनारी बन्दै थियो । आफ्नै देश फरक देशजस्तो । अमेरिका र तेहरानजस्तो । हिन्दूस्तान र पाकिस्तानजस्तो ।

गाउँलेहरूबीच दुरी बढ्न थालेको त्यस्तै डेढ दशक मात्रै भए होला । यो डेढ दशकले डेढ सयवर्ष पुरानो परम्परामा दरार ल्याएको प्रष्टै देखिन्थ्यो । वेला–बखत दुई समूहबीच भनाभनसमेत हुने गथ्र्योे । आज मात्रै पनि पटक–पटक भनाभन भयो । आँसु बर्सिनुपर्ने ठाउँमा तुच्छ शब्दहरूको वर्षा भएको थियो । रिसका भावहरूको खोलो बगेको थियो । सतीदेवीलाई सम्झेर रुने रमाकान्त बाहेक कोही भएन । छोराहरू पनि कठोर देखिए । सायद छोरीहरू भएको भए रमाकान्तको आँसुमा आँसु मिसाउँथे, दुःखमा दुःख बिसाउँथे । सतीदेवीले छोरीको चाहना नगरेकी होइन, तर उनैको सल्लाहमा सतीदेवीले छोरी जन्माउने बाटो बन्द गरेकी थिइन् ।

आज रमाकान्तलाई निकै गाह्रो भएको छ । संसारमा आपूm एक्लो भएको महशुस हुँदैछ । हुन त केही वर्षदेखि रमाकान्त सतीदेवीबाट टाढा थिए । भान्सा र बिस्तरा अलग अलग थियो । एक्लो भएर पनि यसभन्दा पहिला कहिल्यै यस्तो महशुस भएको थिएन । आफ्नै छोराहरू आफ्नाजस्ता लागेका थिएनन् भने गाउँलेको कुरा त झन् टाढाको कुरा ।

एकपटक उनी लामो समय बिरामी परेका थिए । अस्पतालको औषधिले पनि काम नगरेपछि धामी झाँक्रीको सहारा लिएका थिए । औषधि खाने काम र झारफुक गर्ने काम सँगसँगै चल्दै थियो, तर निको भएको थिएन । हरेस खाइसकेका उनी जेठा छोराको सल्लाहमा चर्चमा पुगेका थिए । उनका जेठा छोरा राजिव केही वर्षदेखि क्रिश्चियन बनेका थिए । केही समयपछि खै केले काम गर्यो उनको स्वास्थ्यमा सुधार आयो । अन्ततः राजिवको आग्रहमा रमाकान्तले पनि धर्म परिवर्तन गरेका थिए । कान्छा छोरा विदुर र सतीदेवीलाई भने जति फकाए पनि जति सम्झाए पनि परिवर्तन गराउन सकेका थिएनन् ।

सतीदेवीसँग बिताएका विगतका मिठा अनुभवहरू आँखा वरिपरि चलचित्रजस्तै घुमिरहेका थिए । उनीमाथि सतिदेवीको अथाह माया थपिँदै थियो । आपूmले जति सम्झाउँदा पनि धर्म परिवर्तन गर्न नमानेकी सतिदेवीको मृत शरीरलाई धर्म परिवर्तन गराएर दाहसंस्कार गराउन उनको मनले छुट दिइरहेको थिएन ।

बाबु र आमाको भान्सा डेढ वर्षदेखि अलग भएको थियो । भान्सासँगै बेड बिस्तरा अलग भएका थिए । घन्टौँसम्म गफिने उनीहरूको बोलीचाली औपचारिकतामा सीमित हुन थालेको थियो । यस्तो लाग्दै थियो मानौँ, उनीहरू कहिल्यै श्रीमान श्रीमती भएनन् । दुःख सुखमा कहिल्यै सहभागी भएनन् । बाबु जेठो छोरातिर थिए भने आमा कान्छो छोरातिर । कुनैवेला मिलेको परिवार भनेर नाम कमाएको रमाकान्तको परिवार छिन्नभिन्न भएको थियो ।

समय घर्किसकेको थियो । रमाकान्त सतीदेवीको मृत शरीर रुंगेर बसेका थिए । कुनै न कुनै निचोडमा पुग्नु बाध्यता बनिसकेको थियो । सहमतिका लागि दुवै समूहबाट दुईदुई जनालाई समस्या समाधानको जिम्मा दिइयो । उनीहरूको निर्णय मान्न दुवै भाइ तयार भए ।
निर्णय आइसकेको थिएन । एक घण्टाभन्दा बढी भइसकेको थियो चार जना एकान्त कोठामा बसेको पनि । तर निर्णय आएन । लामो बहसपछि एउटा सहमति बाहिर आयो । मृत शरीरको दाहसंस्कार सतीदेवीका श्रीमान् रमाकान्तको इच्छाअनुसार गर्ने ।

निर्णय रमाकान्तको काँधमा आएर अड्कियो । उनलाई निर्णय गर्न निकै सकस भयो । धेरै लम्ब्याउनु पनि उचित थिएन । उनले यताउति हेरे । आफ्ना उमेरका दौतरीहरू सबै कान्छाका पक्षमा थिए । पूजा कोठातिर नजर दौडाए जहाँ हरेक दिन सतीदेवी घण्टौँ बसेर पूजा गर्थिन् । बाहिर तुलसीको मठले केही दिनदेखि पानी पाएको थिएन । उनले पुज्ने देवताहरूले कतै प्रसाद पाए पाएनन् ? उनले हरेक दिन चढाउने अघ्र्यको अभाव सूर्य नारायणले महशुस गरे गरेनन् ? यो रमाकान्तलाई थाहा भएन, तर सतीदेवीले हरेक दिन चढाएको पानीले हलक्क भएका तुलसीका बोटहरू ओइलाएका थिए । जमिनतिर शिर झुकाएका थिए । रमाकान्तको नजर चारैतिर दौडिरहेको थियो मनसँगसँगै ।
सतीदेवीको मृत शरीरमाथि घात गर्न मनले मानेन । धर्मप्रतिको कट्टरता राम्रैसँग थाहा थियो रमाकान्तलाई । धर्म परिवर्तन गर्न न त सम्झाउँदा मानेकी थिइन् न त थर्काउँदा नै ।

उनले हिन्दू परम्परामा रहेर दाहसंस्कार गर्ने निर्णय सुनाए । जुन मरे पनि सतीदेवीको हकको कुरा थियो । कान्छा छोरा विदुर खुसी हुँदै सतीदेवीको पार्थिव शरीरनजिकै गए । तुलसीको मोठनजिकै गोबरले लिपिएको ठाउँमा सतीदेवीलाई राखियो । केही गाउँलेहरू अन्तिम संस्कारका लागि तयारी गर्न थाले भने केही निन्याउरो अनुहार लगाएर आँगनको दक्षिणपट्टि राखिएका सामानहरू पन्छाउनपट्टि लागे ।
सतीदेवीको मृत शरीर बबई नदीको तटमा चितामाथि लतमन्न थियो ।

सतीदेवीजस्ता सतीका भक्तहरू धेरै जलिसकेका थिए यो तटमा । सायद सतीदेवीलाईजस्तो जल्नका लागि तपस्या अरूलाई कहिल्यै गर्नुपरेन । छोराहरू विभाजित थिए । जेठाको नजर पानीमा थियो कान्छाको नजर आगोमा । विभाजित छोरा र गाउँलेहरूले मृत शरीरमाथि पानी छर्के । नमस्कार गरे । कान्छा छोरा विदुरले चिता जलाउन दागबत्ती समाते । तर जेठा छोरा राजिव पछि हटे ।
चिता जल्न सुरु भयो । विदुर जलिरहेको चितानजिकै थिए । राजिव केही टाढा थिए केही समूहसँगै । रमाकान्तलाई जेठासँगै फर्कन पनि गाह्रो भयो । कान्छासँगै बस्न पनि सकस भयो ।

यतिबेला रमाकान्तसँग न त जेठा थिए न त कान्छा छोरा नै । सँगै मर्ने कसम खाएकी सतीदेवी पनि धुँवा बनेर आकाशमा उडिरहेकी थिइन् । गाउँलेहरूको सान्त्वना पनि पाइरहेका थिएनन् रमाकान्तले । सबैलाई धर्मको नशाले लठ्ठ्याएजस्तो लाग्यो उनलाई । सबै अफिम खाएजस्ता, सबै निकोटिन लिएजस्ता । डेढ वर्षदेखि बस्दै आएको जेठा छोराको घरको ढोका कतै बन्द हुने पो हो कि भन्ने चिन्ता बढिरहेको थियो उनलाई । मलामीहरू दाहसंस्कार सकेर सरासर घर फर्कंदै थिए । रमाकान्तलाई घरतिर फर्कन पनि सकस हुँदै थियो ।

(स्रोत : सौर्य दैनिक)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.