~ऋषिराम पाेख्रेल~
काल्पनिक घटनालाइ पनि वास्तविक जीवनमा घटित घटनाको अनुभूति दिलाउन सक्ने सिद्धहस्त साहित्यकार एवं प्रत्येक न्यायका उपभोक्तालाइ न्यायको मर्म बुझेको अनुभूति दिलाउन सक्ने दक्ष विद्वान न्यायकर्मिद्वारा लिखत एउटा सशक्त बहुआयामिक सामाजिक उपन्यास पढ्ने अवसर मिल्यो । झण्डै आधा दशकको यो उमेरमा अध्ययन गरिएका विषयबस्तुहरुमा ‘वादी’ नामको सामाजिक उपन्यासलाइ जत्तिको रुचि पूर्वक अरु विषय वस्तुहरु सायदै पढिन मैले ।
पढ्न त मैले डायमन सम्सेरद्वारा लिखित ‘बसन्ती’ र मोदनाथ प्रश्रित द्वारा लिखित ‘देवासुर संग्राम’ पनि
रुचि पूर्वक नै पढेको हूँ । तर न्याय क्षेत्रमै लागेको भएर हो या हाम्रो सामाजिक जनजीवनको हरेक पाटो(वादी समुदाय भित्रको नथुनी तोड्ने सामाजिक प्रचलन, प्रहरी प्रशासन र स्वयम अदालतभित्रको कार्यशैली समेत)लाइ शब्द चित्रमा निष्कपट उतार्न सफल सामाजिक उपन्यास ‘वादी’ मात्रै हो भन्ने मेरो निष्कर्ष हो । वादी समुदाय भित्र रहेका महिलाहरुले आफ्नो सामाजिक संस्कारका विरुद्धमा
देखाएको पतिब्रता आचरणलाइ उपन्यासकारबाट गहिरो अध्ययनका साथ शब्द चित्रमा उतारिएको छ ।
वादी समुदाय र नथुनी
एउटा वादी समुदायमा छोरी बनेर जन्मेकी आठ कक्षामा पढ्दै गरीकी १५ बर्षीय छोरीको लिलाम गर्ने वादी समुदायकी आमाको सुखानुभूतिलाइ पनि उपन्यासमा राम्रोसंग चित्रण गरिएको छ । त्यो भन्दा कौतुहलता जगाउने खालको छ मोटो रकम तिरेर आफ्नो नथुनी (कुमारीत्व) तोडेर सरुवा भै जाने हाकिमलाइ पछ्याउँदै २५ बर्ष पछि उही शैली, स्वरुप, पोशाक, टुकीको बत्ति र शयन कक्षमा घटना स्मरण गराउने कथावस्तु ।
उपन्यासकार डा. राजेन्द्रकुमार आचार्यले एउटा इज्यत लुटिएकी वादी समुदायकी किसोरीले आफ्नै इज्यत लुट्ने पुरुषप्रति देखाएको पतिव्रता र त्यो सतित्व बचाउन गरेको संघर्ष, धैर्यता, झेल्नु परेको मुद्दा मामिला, २५ बर्ष पछि भेट हुँदा सबै कथावस्तु र पहिचान लुकाएर देखाएको आत्मियता प्रेम र सम्मानले कसको मन थामिएला र ? म अलि बढी भावुक स्वभावको मान्छे भएर होला अदालतमा न्यायाधीशले तिम्रो केही भन्नु छ कि भनेर सोध्दा ‘मलाइ जेल हालेपनि हाल्नुस् तर मलाइ मेरो लोग्नेले सिन्दुर हाल्दा दिएको साडी महिला पुलिसले लगिदिइ त्यो दिलाइ पाउँ भनेर रोएँ…….न्यायाधीशको आदेशमा आफ्नो लोग्नेले दिएको (नथुनी तोड्दा) साडी फिर्ता पाउँदा आँखामा लगाएको’ भन्ने लगाएतका धेरै प्रसंगमा मेरो गला अवरुद्ध भएर आँखा भरिएर उपन्यास पढ्ने कामै रोकिएको थियो ।
आफ्नो अवोध अवस्थामा इज्जत लुट्ने पुरुषलाइ नै आफ्नो पति परमेश्वर मानेर बस्न सक्ने पतिव्रता धर्मको चित्रणले उपन्यासकार भित्रको हाम्रो सामाजिक मनोविज्ञान बुझ्न सक्ने क्षमतालाइ उजागर गरेको छ । नथुनी तोडिन लागेकी किसोरीले ‘साथै लैजानुस् म नोकर्नि भएर बस्छु’ भनेर गरेको विलौंना भित्र झल्केको पतिब्रता र झण्डै चार दिनको बाटो हिडेर आफ्नो नथुनी तोड्ने हाकीमको गाउँलाइ माइती गाउँ बताएर खोज्दै हिडेकी किसोरीले दिन सकिएर बास बस्नु पर्ने भएपछि होटलमा बास मागेर कोठामा पुगेर सुत्दा होटल साहूले इज्जत लुट्न पठाएको मान्छेलाइ मारेर नभागि होटल मालिकलाइ दिएको इमानदार सूचनाभित्र लुकेको पतिब्रता धर्मको बर्णन गरी साध्य छैन । त्यति मात्रै होइन होटलमा मान्छे मारेर प्रहरी हिरासतमा परेकी ती वादी किसोरी माथि प्रहरी कार्यालयकै हाकिमले राती १२ बजे आफ्नै कोठामा बोलाएर अप्राकृतिक मैथुन गर्न लागेका बेला लिंग नै चपाएर चुँडाली छातीमा मुक्का प्रहार गरेर मारिदिने तर आफ्नो सतित्व बचाउने दृढ कठोरताको चित्रणले उपन्यास साँचै जिवन्त बनेको छ ।
हिराशत र प्रशासन भित्रको चित्रण
उपन्यासकारले हाम्रो हिरासत भित्र हुने गरेका अमानवीय यातनालाइ पनि इमानदार रुपमा चित्रण गरेको पाइन्छ । हाकीमले इज्जत लुट्न खोजेको घटना, हिरासतबाट अदालत लाने प्रहरीले अभियुक्त किसोरीको कपडाको पोको खोलेर राम्रो साडी लुटिदिएको, सट्टा सारी अस्वीकार गरी आफ्नै साडी फिर्ता गर्न अनुरोध गर्दा बढ्ता बोले मारी दिन्छु भनेर बन्दुक तेर्साएको, कारागार प्रशासनले बच्चा बुझाउन घरबाट मान्छे बोलाउन दिएको तनावको चित्रण पनि यथार्थ परक छ । अदालतमा आज हामीले देखिएका मुद्धाले नै ती काल्पनिक घटनालाइ यथार्थ चित्रण गरिरहेका छन् । कारागार भित्र जन्मेको नावालकलाइ संरक्षण गर्न संघ संस्थालाइ दिदाँ विदेशीलाइ दिने खतराको चित्रण पनि उपन्यासको यथार्थ सामाजिक जिवनकै चित्रण हो । ‘सोढषी युवतीमा लम्की रहेको मेरो यौवनमा खटिएका पुलिसले त राम्ररी आँखा गाड्थे । पुलिश भन्ने वित्तिकै मलाइ राक्षस उपमा दिन मन लाग्छ’ जस्ता काल्पनिक शब्दचित्रबाट उपन्यासले हरेक पीडितको अन्तरवेदना पोखिदिएको छ । ‘पच्चिस हजारको नागरिकता’ को प्रसंगले पनि हाम्रो भोगाइको यथार्थ सामाजिक चित्रण गरेको छ ।
अदालती संस्कारको चित्रण
उपन्यासमा पीडितको बुझाइको अदालत र न्यायकर्मीको बुझाइको अदालतको सटिक चित्रण पाइन्छ । पीडितको दृष्टिमा ‘जहाँ न्याय तथ्याङ्कमा मापन गरिन्छ त्यो देशमा धरापमा नपरेर कहाँ परिन्छ’ भन्ने टिप्पणि मलाइ साह्रै मार्मिक लाग्यो । यो तथ्याङ्कको प्रसंग मलाइ किन पनि मार्मिक लाग्यो भने हाम्रो अदालत कार्यक्रममा भनौं या अनुदानमा सिंचित हुन थालेपछि, नेपाली पहिचानको मुलुकी ऐनलाइ विस्थापित गर्न खोजेपछि मलाइ पनि हाम्रो न्याय साँच्चै धरापमा परेको आभाष भैरहेको छ । ‘आफैले कानून खोजेर न्यायालय पुग्नु पर्दछ । सोझा सिधा निमुखा निर्धन आफै कानून खोज्न सक्दैनन् । कानून खोज्ने वकिलले चाहिएको फिस नपाएसम्म कानून भेटाउँदैन’ जस्ता उपन्यासमा प्रयोग भएका वाक्यांशले हाम्रो न्याय प्रणालीको यथार्थ शब्दचित्रमा उजागर गरेको लाग्छ मलाइ । न्यायकर्मिको दृष्टिमा ‘भावना विनाको न्याय निरस हुन्छ। कानूनका कठोर वाक्यांशमा यदि भावना प्रवेश गर्न सकेन भने त्यस अवस्थामा गरिएको फैसला नै कठोर हुन जान्छ । …पथ्थरहरू पग्लेला तर न्याय पग्लिन सकेको छैन’ भनेर चित्रण गरिएको छ । यसमा असहमत हुनु पर्ने अवस्था स्वार्थ र पेशागत मर्यादा बचाउने परिवन्दमा मात्रै आउन सक्छ ।
अन्यमा, उपन्यास हरेक पक्षबाट सामाजिक छ । हाम्रो समाजको धेरै पक्षको यथार्थ सामाजिक धरातलमा टेकेर काल्पनिक समाजको चित्रण गर्न उपन्यासकार सफल भएको ठहर मैले गरेको छु । उपन्यासकारको विद्वता उपन्यासको भाव बुझ्ने सबैले आँकलन गर्दछ । उपन्यासकारको साहित्यीक कुशलता र दक्षतालाइ पनि यो ‘वादी’ उपन्यासले उजागर गरेको छ । अध्ययनशिल हरेक पाठकको लागि उपन्यासको मूल्य पनि खर्चिलो छैन । एक दिनको सामान्य खाजाको मूल्य पनि हामीले बुझाउँछौ नि एक सय पचास त ।
(श्रोत : तनहुँ आवाज साप्ताहिकमा २०७४-३-१ प्रकाशित)