~नाकारा~
तिमी र म फरक फरक ठाउमा नजन्मेको हो भने
कसरी बन्थ्यो र यो दोभान !?
र , तयार हुन्थ्यो
साझा लक्ष्य चुम्ने महान यात्रा !?
भेट भएको छ –
चलिरहने हावासङ्गै
हिडिरहने बाटोसङ्गै
बगिरहने नदिसङ्गै
ए कान्छी !
नथाक है !
पुग्नु छ निक्कै माथी –
हाम्रो अपहरित जुनतारा टिप्न
टुङ्ग्याउनु छ लामो यात्रा –
खोसिएको स्वर्ण बिहान ल्याउन !
पाइला पोल्न खोज्नेहरु
झोस्दै गरून्
बाढी छाद्न खोज्नेहरु
मच्चिदै गरून् !
भत्किए पनि बाटाहरु
ताछिए पनि हत्केलाहरु
लाछिए पनि पाखुराहरु
बलिरहने आगो सङ्गै भेट भाको छ हाम्रो !
के दुखेसो गर्छौ !
एकै ठाउमा
एकै समयमा
जन्मिएन रहेछौ भनेर !
आखिर तिमी
पल्लो डिलबाट
र म वल्लो डिलबाट
अघि पछि नजन्मेको भए
एसरी काँ दोभान हुन्थ्यो र हाम्रो फुलिरहने फुलसङ्गै !?
ए कान्छी !
लामो नबिसाऔ है !
हिँडी हाल्नुपर्छ
चम्किरहने घामसङ्गै…
निरन्तर… , निरन्तर
अरु नि थुप्रो दोभानहरु भेट्न !
(स्रोत : एबिसिखबर डट कम)