~किरण दहाल~
बसेर नयाँ आलीको डिलमा
चोबलेर एउटा खुट्टा
पानी भरिएको खेतमा
म हेरिरहेछु–
भर्खरै जोतेका आफ्नै गोरूका
थकित मुहार
र, आफैले कोरेका हलोका धमिला धर्साहरू
फलाउनुछ यसपालि अलि बढि धान
देशमा फल्नै आँटेको संबिधानजस्तै
पुरानो रेडियो
बढि गनगनाउँछ अचेल
केके जाति अनौठा शब्दहरु
–संघीयता
–शासकीय स्वरुप
–बहुलवाद
–धर्म निरपेक्षता
पोहोर गाउँमा आएको
‘कुइरे’ले बोल्ने भाषाजस्तो
सरकार !
म केही बुझ्दिनँ
लहराजस्ता बटारिएका शब्दहरु
बस्, यति बुझेको छु–
नयाँ संविधान बन्दैछ देशमा
म यो मुलुकको तेस्रो भुगोलको मान्छे
श्रीमतीका च्यातिएका फरियामा
म यो देश भत्किएको देख्छु
प्रत्येक दिन
भोकाएको मेरो छोरोको
दाम्रीएका पेटका धर्काहरूमा
म देशको नक्सा देख्न सक्छु
गुराँसजस्ती मेरी छोरीको
स्कुल जाने रहरमा
म यो देशकै भविष्य खुट्याउन सक्छु
बुढा बाबाले ओच्छ्यानबाटै
मध्यरातमा तारा हेर्दै
रातभर खोक्ने खोकीमा
म यो देशको स्वासप्रस्वासमा
गडबडी देख्छु
सरकार !
बुझ्नु भयो नि मेरा कुरा !
आजकाल हाम्रा गाउँघरतिर पनि
ठुलाबडाहरु गफ गर्छन् संबिधानकै
कहिले खुसी हुन्छन्,
कहिले दुख मानेजस्तो गर्छन्
जिन्दगीमा कहिल्यै धर्म नगरेकाहरु
एकाएक धार्मिक बन्दैछन् आजकाल
म उनीहरूभन्दा अलग जातको मान्छे
अलग देउतालाई गुनासो पोख्छु
मेरो भाषा उनीहरू बुझ्दैनन्
सरकार !
नयाँ संविधान–
मेरो पुजा कोठामा सजाउन सक्छु ?
मेरो पुर्खालाई भेट्छु त्यहाँ ?
मैले मेरै भाषामा पढ्न पाउँला ?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)