~दण्डपाणि जैसी~
त्यतिबेला म जनकपुरमा कार्यरत थिएँ। म र भगवान जी एउटा योजनाको नापी लिन बिहानै साइट जाने कार्यक्रम थियो त्यसैले हाम्रो ड्राइभर जनकलार्इ विहानै बोलाएका थियौं। बिहानको करीब पाँच बजे तिर चिया नास्ता तयार गर्न भनेर देवी म भन्दा केही पहिले उठिसकेकी थिइन। जहीले पनि बाहिर जाँदा घरमै केही नखाइ हिड्न हुन्न भन्ने उनको मान्यता थियो।
म पनि बिउँझी सकेको थिएँ। छोरा छोरी दुवै मस्त निद्रामा थिए। बेडरुम सँगै बाथरुम एट्याच थियो। बाथरुमको ढोकाको तल करीब एक डेढ इन्चको भाग खाली थियो। बाथरुमबाट बाहीर निस्कने ढोकामा पनि त्यस्तै खाली ठाउँ थियो। कहीले मुसा त कहीले भ्यागुता छिर्थे। त्यस भागलार्इ बन्द गर्ने तर्फ कहिलै मेरो ध्यान गएको थिएन।
‘आज यो खुट्टो कस्तो झमझमाएको होला, बोक्सीले टोकेछन् कि क्या हो’ भन्दै देवी बाथरुम तर्फ जाँदै थिइन। शरिरमा कतै नीलो डाम आयो भने या निदाएको बखत शरीरमा कुनै किराले टोकेको दाग देखियो भने बोक्सीले टोकेको भन्ने चलन थियो।
यतिकैमा देवी एक्कासी कराइन ‘हजुर मलाइ त सर्पले टोके जस्तो छ!’
म जुरुक्क उठें। हामी सुतेको खाटबाट एउटा सर्प सुल्ल तल झर्दै बाथरुम भित्र पस्यो। अषाढ महिनाको जनकपुरको गर्मीमा पनि मेरो शरिर भरी काँडा उम्रीए। देवीको वायाँ घुँडाको ठीक पछाडी पट्टी दुईवटा दाँतको दाग प्रष्ट देखियो। सर्पले ओछ्यानमै आएर डसेको रहेछ। म किंकर्तब्यविमुढ भएर उभीएँ। म आतिएको देखेपछि देवी आँफै तुरुन्त बाहीर निस्कीएर कार्यालय सहायक शिवदयाललार्इ बोलाइसकेकी थिइन्। उनको खुट्टामा रगत संचालन रोक्न घुँडा माथी एउटा कपडाले कसेर बाँधे। शिवदयाल आएर त्यो सर्पलार्इ हेर्यो। ‘अरे बाप रे! बहीर करैत छे हजुर’ भन्दै शिवदयाल करायो। करेत सर्प को नाम सुन्ने बित्तिकै मेरो पाइताला मुनीको जमीन भासीए जस्तो लाग्यो। अकल्पनिय अनिष्टको शंका गर्न थालें। शिवदयालले परालमा लटपट पारेर त्यस सर्पलाइ एउटा हर्लिक्सको बोतलमा हाल्यो।
त्यतिकैमा पल्लो क्वाटरबाट कौशल जी पनि आउनु भयो। साइट जाने भनेर जनक पनि गाडी लिएर आइपुगेको थियो। क्वाटर अघी भिड लाग्यो। पीयूष सानै थियो, पूजा भर्खर जन्मेकी थिइ। उनीहरुलार्इ कौशल जी कहाँ छोड्ने र देवीलार्इ जनकपुर अन्चल अस्पताल लग्ने निधो गरेर उनलार्इ गाडीमा राखें। मेरो होस ठाउँमा थिएन। तर देवी भने नआतिइकन मलाइ निर्देशन दिँदै थिइन, ’छोराछोरीलार्इ पनि डसेको हुन सक्छ उनीहरुलार्इ पनि लिएर जानुपर्छ।‘ त्यस्तो घोर विपतमा पनि उनको मातृत्वमा रत्तीभर कमी आएको थिएन। मृत्युको मुखमा पुगे पनि आमालार्इ आफ्नो भन्दा पनि आफ्ना सन्तानको बढी माया लाग्दो रहेछ।
त्यतिकैमा त्यहाँ आएका सबैले एउटै कुरा भने, ‘जनकपुर अस्पताल लगेर काम छैन, उहाँलाइ सर्लाहीको गैर बाबाकहाँ लैजानु पर्छ, उनैले निको पार्छन्। सर्पले डसेको विरामीलार्इ जनकपुरबाट सबैले उतै लान्छन्।‘ यसको कारण जनकपुर अस्पताल प्रति जनताको अविश्वास र गैर बाबा प्रतिको विश्वासको नतिजा हुनु पर्छ।
जनकले पनि थप्यो, ‘मैले सर्पले डसेका धेरैलार्इ गैर लगेर ठीक भएको छ सर, उतै लगौं, यहाँ अस्पतालमा लगेर कुनै काम छैन।‘
अस्पताल लाने की गैर लाने भन्ने बिषयमा एकछिन छलफल भयो। निर्णय सही थियो वा गलत थाहा छैन तर सबैको सल्लाह बमोजिम सयौ किलोमिटर टाढा सर्लाहीको गैर लाने निधो भयो। यस्तो विपतमा साधारणतया आफ्नो निर्णय क्षमता सकिएको हुँदो रहेछ। जसले जता भन्यो उतै गइदो रहेछ। विरामीलार्इ सबैभन्दा नजिकको अस्पताल लानुपर्छ भन्ने सामान्य सिद्धान्त विपरित थियो हाम्रो निर्णय। सर्प चिने पछि उपचार गर्न सजिलो हुन्छ भनेर हर्लिक्सको बोतलमा राखेको सर्प पनि साथै लाने भइयो।
‘साथमा पैसा राख्नु भयो?’ देवीले सोधिन। मेरो होस ठाउँमा थिएन, पकेटमा पैसा पनि नराखि हिड्न लागेको रहेछु। पैसा लिएर आएँ। ‘ढोका लगाउनु भयो?’ उनले फेरी सोधिन। गाडीबाट ओर्लिएर ढोका लगाउन गएँ। उनको गम्भीरता र निर्णय क्षमता हेर्दा वास्तवमा मलाइ चाही सर्पले टोकेको र उनी सद्दे जस्ती देखन्थिन।
मैले छोराछोरीलार्इ पनि लिएर गाडीमा बसे। कौशलजी पनि बस्नु भयो। हाम्रो गाडी सर्लाही जिल्लाको गैर तिर हुँइकियो। नकटाझिज, महेन्द्रनगर, ढल्केबर हुँदै लालगड पुगेपछि गाडीको एउटा चक्का पंचर भयो। असमन्जश्यता झन बढ्यो। झन दोधारमा परियो। के गर्ने के नगर्ने। लालगडको कुनै स्वास्थ्य चौकिमा लैजाने कुरा भयो। तर त्यो पनि गरिएन। मनमा गैर बाहेक केही पनि थिएन।
सम्भावित अनिष्ट संझेर मन झन अमीलो भएर आयो। मनमनै भनें, ‘अहिलेसम्म कसैको कुभलो चिताएको छैन, कसैलार्इ दुःख दिएको छैन तर हे दैव! तैले मेरो कस्तो परिक्षा लिन लागेको होस ?‘ भगवानमा पूर्ण विश्वास थियो त्यसैले देवीको बाँच्ने आश हराइ सकेको थिएन। मनमनै ‘इन्द्रकी कालीलार्इ’ सम्झे। मेरो गाउँको घर अगाडी इन्द्रकी कालीको मन्दिर छ। मलाइ कुनै आपत पर्दा अहिले पनि उनै कालीलार्इ सम्झन्छु। विश्वासमा पनि ठूलो बल हुँदो रहेछ। काखका छोराछोरीलाइ हेर्दा मनमा गाँठो पर्थ्यो। देवीलाइ केही भइ हाल्यो भने यीनीहरुलाइ मैले के भन्ने होला भन्ने कुरा सँझदा बेला बेलामा भक्कानो छुट्थ्यो। कौशलजीले बेलाबेलामा शान्त्वना दिइरहनु भएको थियो। ड्राइभरले अर्को चक्का फेर्यो र हाम्रो गाडी पुनः गैरको लागि हिड्यो। हाम्रो गाडी बर्दीबास बजारमा पुगेको थियो गाडीको अर्को चक्का पनि पंचर भयो। अब फेर्नलार्इ अर्को चक्का थिएन। म पूर्णरुपमा निराश भइसकेको थिएँ। ड्राइभरलाइ नयाँ चक्का किन्न पठाएँ। विपतिको बेलामा मानिसले अनिष्ट नै बढी सोच्दो रहेछ। अब चाही मैले देवीको बाँच्ने आश मारिसकेको थिएँ। सबै बाटो बन्द भए जस्तो लाग्यो। आफ्नो कर्मलाइ धिक्कारें। एकपटक छोराछोरीको मुखमा हेरें। फेरी भक्कानो फुट्यो।
छोराछोरीले विहान देखि केही खाएका थिएनन्। पूजालार्इ आमाको दुध दिने कुरै भएन। भोकाइ सकेकी थिइ। उसलार्इ केही खुवाउन जरुरी थियो। हाम्रो गाडी एउटा चिया पसलको अघी रोकिएको थियो त्यही पसलमा लगेर छोरीलार्इ दुध खुवाउने विचारले गाडीबाट ओर्लिएँ र पसलमा गएँ। हाम्रो अस्तव्यस्तता देखेर पसलकी दिदीले सोधिन, ‘बच्चाको आमालार्इ के भएको हो र ?’
मैले भनें ‘सर्पले टोकेर उपचारको लागि जान लागेको।‘
‘कहाँ लान लाग्नु भएको हो ?’
‘गैर बाबा कहाँ।‘
उनले भनिन, ‘हुन त तपाइ सही ठाउँमा जान लाग्नु भएको हो, तर आजकल बाबा गैरमा छैनन्, एक महिनाको लागि तीर्थ गर्न बाबाधाम गएका छन्। यहाँ बर्दिबासमा सर्पले टोकेका बिरामीहरुलार्इ पनि गैर लाने गरिन्थ्यो तर केही दिनदेखि जनकपुर तिर लाने गरिएको छ, तपाइ उल्टो आउनु भएछ, जनकपुर फर्कनु होस।‘
मेरो दिमाग शुन्य भइ सकेको थियो। तर पनि पूजालार्इ दुध ख्वाएँ। पीयूषले पनि दुध र विस्कुट खायो।
पसले दिदीले भनिन, ‘मसँग एउटा जहर मोहरा छ, सर्पले टोकेको रहेछ भने यस्ले नीको पार्छ।‘
यति भनेर उनले सिन्दुरको डीब्बामा राखेको एउटा चेप्टो कालो ढुँगो निकालिन। मलार्इ यस्तो ढुँगामा विस्वास थिएन। तर डुब्न लागेकोलार्इ सिन्काको साहारा भने जस्तै जस्ले जे भने पनि मान्नु भन्दा बाहेक मसँग कुनै विकल्प थिएन। उनले त्यो ढुँगो देवीको घाउमा राखिन। त्यसपछि अचम्म भयो। त्यो ढुँगो घाउमा चुम्बक टाँसिदा झैं टाँसियो। दिदीले भनिन, ‘सर्पले डसेकै रहेछ नी। तर नआत्तिनु होस यसले सबै बिष चुसेर ठीक पार्छ।‘ मेरो मरीसकेको आश फेरी पलायो। पुन इन्द्रकी कालीलार्इ सम्झेँ र मेरी प्रियतमको जिवनको भीख मागे।
दुईपटक सम्म चक्का किन पंचर भएको रहेछ भन्ने कुरा बल्ल स्पष्ट भयो। बर्दीबासमा दोस्रो पटक पंचर नभएको भए हामी सर्लाही तिर हानिइसकेका हुन्थ्यों। बाबा नभएपछी उपचार हुने कुरा पनि थिएन। त्यसपछि देवीको बाँच्ने कुनै सम्भावना रहने थिएन। मेरो र छोराछोरीको भाग्य, देवीको आत्मविश्वास र इन्द्रकी देवीको कृपाले भन्नुपर्छ हामीलार्इ बर्दीबास भन्दा अगाडी जानबाट रोकेर जहरमोहरा भएको पसल अगाडी पुर्याएको थियो। भगवतीका असीम भक्त कौशल किशोरजी ले मलाइ तथा देवीलार्इ शान्त्वना दिइरहनु भएको थियो।
हाम्रो गाडीको चक्का तयार भइसकेको थिएन। त्यतिबेला अहिलेको जस्तो टेलीफोन मोबाइलको सुविधा पनि थिएन। कसैलाइ फोन गर्ने कुरा पनि सम्भव थिएन। त्यतिकैमा संयोगले महोत्तरी लोक थापाजीको ट्रक त्यही आइपुग्यो। त्यही ट्रकमा बसेर जनकपुर फर्किने कुरा तय भयो। जनकपुर फर्किनुभन्दा अघी सम्म त्यो जहरमोहरा घाउमा चुम्बक टाँसिए जस्तै टाँसीरहेको थियो। दिदीले भनिन, ‘यो अहीले निस्किँदैन, जहर सकिएपछी आफै झर्छ। म एकजना मानिसलार्इ जनकपुर पठाउँछु, उसैको हातमा फिर्ता पठाइदिनु होला।‘
हामी महोत्तरी कार्यालयको ट्रकमा बसेर जनकपुर फर्कियौ। जहरमोहरा लिन आएका मानिस साथै थिए। तर घाउमा जहरमोहरा थिएन। झरीसकेको थियो। जताततै खोजियो तर भेटीएन। ती मानिस रित्तै फर्किए।
देवीलार्इ अस्पतालमा भर्ना गरियो। डाक्टरहरुले एण्टीभेनम लिन पठाए। एण्टी भेनम दिनु भन्दा केही समय अब्जर्भेसनमा राख्नु पर्दो रहेछ। डाक्टरहरु बीच छलफल भयो घाउको माथी कसेर बाँधेको कपडा फुकाउने वा खोल्ने। एकजना डाक्टर फुकाउनु पर्छ भन्दै थियो भने अर्को चाही बाँधेरै उपचार चलाउनु पर्छ भन्दै थियो। अन्ततः बाँधेको कपडा फुकाएर उपचार गर्ने निर्णय गरे। कपडा फुकाइयो र स्लाइन पानी दिइए अब्जरभेसनमा राखियो। चार पाँच घण्टा अब्जरभेसनमा राखेपछि देवीलार्इ साँझपख डीस्चार्ज गरीयो। कुनै एण्टी भेनम लगाउन परेन। जहर मोहराले आफ्नो काम गरीसकेको रहेछ।
मेरो बुबा भन्ने गर्नुहुन्थ्यो ‘भगवानले हात थापेपछि कसैको केही लाग्दैन बाबु।‘ शायद देवीलार्इ बचाउन त्यस दिन भगवानले हात थापेकै हुनुपर्छ।
आज पनि उक्त घटना बराबर सँझने गर्छु र मनमनै आफैसँग सोध्ने गर्छु।
यदि ओछ्यानबाट सर्प झर्दै गर्दा नदेखेको भए के हुन्थ्यो होला ?
यदि म साइट गइसकेको भए के हुन्थ्यो होला ?
यदि लालगड र बर्दिबासमा दुईपटक चक्का पंचर नभएको भए के हुन्थ्यो होला ?
यदि हाम्रो गाडी बर्दिवासको त्यस पसल अगाडी नरोकिएर कुनै अर्कै पसल अगाडी रोकिएको भए के हुन्थ्यो होला ?
यदि त्यस पसलमा जहर मोहरा नभेटिएको भए के हुन्थ्यो होला ?
कुनै अनिष्ट भएर छोरा छोरीले ‘वुवा हाम्री ममी कहाँ हुनुहुनु हुन्छ?’ भनेर सोध्दा छोराछोरीलार्इ मैले के जवाफ दिन्थेँ होला ?
त्यो घटना सँझदा अहिले पनि आँग सिरिंग हुन्छ।
‘काल नआर्इ मरिन्न’ भनेर बुढापाकहरु भन्थे कुरा ठीकै रहेछ।
(स्रोत : सेतोपाटी डट कम)