~योगेन पौडेल~
म गङ्गामाया बर्ष ५३,
बेहोशीमै बर्बराउछु,
आँशुले लेखेको मेरो कहानी
आज तिमीलाई सुनाउछु।
यो चीसो बेड भन्दा अली पर
यो अस्पताल भन्दा अझै पर
यी चीसा मनहरु भन्दा धेरै पर
एउटा न्यानो घाम झुल्केको होला,
फुजेलको मेरो बारीको कान्लामा
एउटा फूल फुलेको होला,
त्यो घाम जस्तै तेजीलो थ्यो मेरो छोरो
अस्तायो ।
त्यो फूल झैँ भर्भराउँदो थ्यो मेरो छोरो
निमोठीयो, अकालमै।
दिमागले धमीलो-धमीलो यत्ति सम्झन्छ,
मानौँ यो अघिल्लो जन्मको कहानी होस।
साच्ची, पुनर्जन्म सम्भव छ? थाहा छैन
जन्मेको सम्झिन्न,
तर शायद पुनर्मरण सम्भव छ
यो एकै जिन्दगीमा पटक पटक मर्न सम्व्हव छ।
उ जन्मदा थोरै मरेकी थे क्यारे
पीडाले,
च्याँ गरेर रोएको आवाज सुन्नासाथ
पीडा हरायो।
जब निमोठीयो नी मेरो कलिलो मुना
जब कुल्चिईयो नी मेरो कोमल मुटु
अनी अर्को पटक मरें, फेरी पीडाले
त्यसपछी? साँच्चै कति पटक मरें म?
बुढीएको अनपढ गाउँले दिमाग
सम्झीन सक्दिन।
सायद पटक-पटक?
सायद अनगीन्ती?
सायद कहिले थोरै-थोरै, कहिले पुरै?
सायद अनेक पटक मरें होला म।
न्याय खोज्दा खोज्दै मरें क्यारे, धेरै पल्ट
तातो घामले, बालुवाटार अगाडी मरें क्यार
पुलीसले धपाउदा, सिंहदरबार अगाडी मरें क्यार,
न्यायको आशले मरेँ क्यारे, मान्छेको लज्जाहिनताले मरेँ,
अनेक पटक मरेपछी,
तिम्रो न्याय त मानसीक अस्पतालमा छ भने,
म नी कस्ती हुस्सु होला क्यारे भनें
पछी पो बुझें,
मर्नु भन्दा बोलाउनु निको भन्ठानेछन्,
नमरुन यी भनेर बरु बहुलाउन पठाएछन्।
तर हगी मर्न सक्केको भए बरु फिसिक्क?
बरु त्यही छोराको ठाउँमा?
कुरै सक्किन्थ्यो,
आफु त बहुलाउन तिर लागीएछ,
यो बौलाही आँसुको के मोल?
यो बौलाहीको पीडाको के गन्ती?
अनि खान छोडेको सम्झन्छु,
सलाईनका डब्बा र तीखा सुईहरु सम्झन्छु,
भेट्न आउने ठुलाहरुले
न्याय ल्याएको आश गरेको सम्झन्छु।
बिस्तारै कमजोरीले बेहोस बनाउन थालेपछी,
कानमा अनेक आवाज आउन थाले।
घर पछाडी स्याल कराएको सुन्थें,
ब्युझदा, मान्छे जुस-जुस भन्दा रहेछन।
बाँसझ्यांगमा हाब्सीलो कराएको सुन्थें,
ब्युझदा न्याय न्याय भन्दा रहेछन,
पैसा-पैसा भन्दा रहेछन।
भन्नेले नी के-के भने के-के?
करोड की अरब के मागे रे नन्दले
हज्जारका दर्जन नोट गरुङ्गो मान्ने तीनको हात,
अरबका शुन्ना गन्न नभ्याएको तिनको दिमाग,
के गर्थे होलान तीनले अरब पाए, र माग्थे?
पैसाको बिछ्यौनामा बेफिक्री सुत्थे?
या पैसाको बिटोको झोल पकाएर
आफुले लाउने सलाइनको डब्बामा भर्थे?
बरु करोड र अरबको मोल बुझेकालाई
सजिलो बनाईदिन खोजे की?
अरब दिन भन्दा न्याय दिन सजिलो मान्लान
अनी न्याय पाईएला भन्ठाने की?
अब उठ्छु सायद
प्रश्न धेरै छन उत्तर खोज्नु पर्ने
मेरो छोरोको पहिचान खोज्नु छ,
त्यो मकै पिस्दा पिस्सिएको घुन मात्र थियो?
वा निहत्था मारीएको निर्दोष किशोर?
मेरा पति र मैले के गर्दा न्याय पाउथ्यौं जान्नु छ,
सोध्नु छ, हामी न्यायको लडाई लड्दै थियौं
वा साँच्चै बहुलाएका थियौ?
मेरा पति,
के साँच्चै छोराको मृत्युसंग पैसा साट्ने दलाल थिए?
वा बिद्रोह गर्दा गर्दै मृत्यु भएका शहीद?
तीनको मृत्यु आत्महत्या हो की हत्या?
म गंगामाया बर्ष ५३,
बेहिशीमै बर्बराउछु .
(स्रोत : रचनाकारको ब्लगबाट सभार)