~केशव प्रसाद पाण्डे~
च्याटिङकै बिचमा उसले भनी, ‘व्यालेन्स सकिन लाग्यो आजलाई वाई है!’
यताबाट जवाफ,
दिउँसो टाईममै हाल्नुपर्छ नी? भोलि त हाल्नु है।
उताबाट उत्तर आयो ,कहाँबाट हाल्नु? मसँग भए पो।
मेरो पालो,
बाबालाई भनेर हालन, एक्ली छोरी हौ क्यार! बरू दाईजो कम लिउँला नी!
उसले म्यासेज गरी,
हिहि!! बाँदर।
प्रतिउत्तर दिएँ,
ऐना हेरत! त्यसकै उद्वविकास हौ, बादर्नी!
त्यसपछि मिस यू ,लव यू ….गुडनाईट भन्दै शुक्रबार राति,१०:४३ को अन्तिम म्यासेजबाट आजलाई छुट्टीयौं।
अस्तीको बुधबार दिउँसोमात्र बल्लबल्ल केही घण्टा समय मिल्यो र कीर्तिपुरमा भेटेका थियौं। भर्खरै कीर्तिपुरकै होस्टलमा बसेर पढ्न थालेकी। उसले, एकदिनको लागि कीर्तिपुर बोलाई। सँगै मात्र कीर्तिपुर दरबारको डाँडो घुम्ने अड्डी थियो उसको। मेरै कारण दूई साता पछि धकेलिएको थियो।
त्यो समय उसलाई एकेडेमिक बुक्स अगाडि बोलाएँ। ऊ अली छिट्टै आईसकिछ। बाईक पार्किङ गरेँ। केही कलहरू मिस्कलमा परिणत भईसकेछन्।
उसले देख्नेबित्तिकै रिसाउँदै भनी, ‘कति व्यस्त छौ है? कहिलै पनि समयको ख्याल र फुर्सद नहुने!’
तिम्रो पो दादा बेलायत छन्। एक्ली छोरी कमाउन पर्दैन। बाबाको खर्चमा पढ्ने मात्र न हो! आफू त अर्काको नुनको सोझो नगरी, न जिन्दगी चल्छ,न पढाई,न वाईक चल्छ,’ मैले भनेँ।
उसले कड्किँदै भनी, ‘ल, ल भो भन्न पायो भन्दैमा बेसी चै हैन है!’
‘हस! मेडम लेक नै भो’, मैले जीस्कँदै भनेँ।
उस्ले प्याट्ट हिर्काई ,मेरो पाखुरामा। मैले नी फर्काएँ, जिस्कदै।
अनि केही थान किताबहरू किनिसकेपछि पुस्तकालय छिरियो। त्यसपछि लागियो नयाँ बजारतर्फ। पिपलको चौतारी नजिकै उसकै साथी शोभाको कोठा पर्दो रैछ। शोभासँगको भेट पहिलो भए पनि फेसबुक र फोनमा गफगाफ भईरहन्थ्यो। एकैछिन रमाईलो गफ भयो।
स्मृती र म बिच +2 देखिको सुन्दर र प्रेमिल सम्वन्धबारे सबै जानकार छे ऊ पनि।
स्मृती रिसाउँदा, फोन ,म्यासेज नआउँदा उसैसँग जानकारी लिन्थेँ।
कहिले मौका मिलाएर जिस्काउँदै भन्थी,‘ उसले त अर्कै केटा मनपराउँछे ! तिमि के गर्छौ?’
‘तिमि छौ नी!’ म पनि के कम!
‘अ भै हाल्छ नि’ भनेर टार्थी।
अब तीन जना भएर डाँडाको बाटो लागियो। कीर्तिपुर दरबार पुगेपछि इतिहासका पाना पल्टिए,कहि कतै गफैगफमा, पृथ्वीनारायण शाहदेखि अहिले सम्मका।
त्यहाँबाट देखिएको रमणीय दृष्यलाई पृष्ठभूमि बनाएर केही फोटा लिईयो। मैले पोजमा भन्दानी लगातार थरिथरी फोटो लिईरहेपछि ऊ झम्टिन आउँथी। बाँदर! कस्तो नराम्रो आयो होला।
‘खै त ,जोडीको मात्र फोटो त लिएको?’, शोभाले जिस्क्याई।
खै! म लिईदिन्छु। मैले भने, ‘भैगोनी सबैको आको छ।’
स्मृतीले मानीन, ‘हामी लिउन के!’ मैले सुरूमा त नमानेझै गरेँ। अब उसैकै समिपमा टाँसिदै उभिए। उभिदा ऊ मेरो काँधभन्दा अली माथि मात्र आई। मैले भने, ‘डल्ली’
के के डल्ली नी? उसले भनि।
हो त दुई ईन्चको हिल लाउँदानी दूई ईन्च कम छौ त।
हिहि!! केटीभन्दा केटा अग्लो भाको नै राम्रो नी! उसले भनि।
‘नभएनी के त! ऊ बेला कम्प्लान खाको भए हुन्थ्यो अब त बढे’पो,’ मैले रिसाउँने बनाई दिए।
शोभाले थपी, ‘डल्लीलाई डल्ली भन्दा के भो त?’ अब चै आगो भई।
एक एक वटा फ्रुटी हातमा लिएर ओरालो झर्दै शोभाको कोठामा आयौं। यो बेलासम्ममा स्मृतीको स्फूर्ति फर्किसकेको थियो। अब खाजा खुवाउन तम्सिए दुवै। अन्तमा जित डल्लिकै भयो।
उसले बाईबाई चाउचाउमा अण्डा हालेर पिरोपिरो, मीठो खाजा बनाई। छुट्ने बेला पिपलबोटसम्म दुवै आए। दुवैसँग हात मिलाए। स्मृतीको हात अली कसेर समाएँ, ऊ ऐया! ऐया! भन्न थाली। म बाईक स्टार्ट गरेर हाँस्दै कुलेलाम ठोकेँ।
ताहाचल नजिक आएपछि ठूलो हुरी चल्न सुरू भयो। मैले चस्मा उतै भुलेछु हुरीले आँखामा धुलो पर्यो। वाईक अनियन्त्रित हुने हुरी थियो, वाईक साइड लगाएँ। लगातारको आधा घण्टाको हुरि शान्त भयपछि म लागेँ।
बेलुका फेसवुकमा म्यासेज गरेँ, ‘आजको भेट झण्डै अन्तिम नभाकोनी! कम्ता विजोग भएन। तिमिलाई नै हेरेर आ’को आँखामा धुलोले अझै बिझाउँदैछ।’
उस्ले भनी, ‘मैले मिस गरेँ फोन गर्दा नी उठाएनौ। अन्तिम हुन नी वेला हुनुपर्छ नी!’
फोन गर्दा उस्को होस्टलमा डिस्टर्व हुन्छ भनेर प्राय राति डाटाबाटै चलाएर फेसबुक च्याट गर्थ्यौ।
अनी शुक्रबारको च्याटमा उसले भनेकी थिइ। हामी आउँदैछौ। टाईम मिलाउ है। सिभिल ट्रेड सेन्टरमा सपिङ गर्ने अनी घुम्ने त्यता सुन्धारा तिरै। धेरै जोड गरेकी थिई तर मेरो अफिसमा छुट्टी मिलेको थिएन, ‘म ट्राई गर्छु’ भनेर टारेँ।
शनिबार बिहान म अफिसै हुँदा ११:१७ बजे फोन आयो। मसँग आउँछु भन्न जवाफ नभएकाले उठाउन गाह्रो लागेर उठाईन। एउटा म्यासेज नि आयो मैले वास्तै गरिनँ।
यसपछि लगभग आधा घण्टापछि रिंगटा लागेजस्तो अनुभव भयो। केही दिनदेखि सन्चो थिएन। टाउको दुखेजस्तो भईरहेको थियो। सोचेँ कमजोर भइएछ। त्यतिन्जेल सबै हल्लिन थालिसकेको थियो।
ईमेल लेख्दै गरेको कम्प्युटर नी हल्लियो। सबै साथीहरू कराउन र भाग्न थालिसकेका थिए। पानीको जार घोप्टियो मैले केही सोच्न सकिनँ। दौडदै गर्दा झ्यालबाट काठमाडौं पिङ खेलेर मच्चिएजस्तो देखियो।
लरवरिदै रोडमा आईपुगेँ। कसैको होस हवास ठेगानमा थिएन। सवैतिर कोलाहल र कोही डाको छोड्दै रोडमा जम्मा भए। नजिकैको पूरानो घर भत्किएर धुलाम्य थियो, मान्छे परेको लख काटियो। कतै जमिन फाटेका, कतै घर, अफिससँगै जोडिएको घरले पनि ठाँउ छोडेछ। आकार परिवर्तन भएछ। कोही दौडिँदा घाइते भएछन्। काठमाडौं धरापजस्तो भएछ।
सबैले घरपरिवार र आफन्तलाई सम्पर्क गर्न खोज्दै थिए। मैले पनि मोवाईल निकालेँ मोवाईलको स्क्रिन लक खोले पहिला अघि नहेरेको म्यासेज थियो हेरेँ स्मृतीको रहेछ।
लेखिएको थियो, ‘तीमी नआए नआउ,अब तिमीलाई कहिले पनि भेट्दिँन। हामी धरहरा चढ्दैछौं।’
त्यता त्यति नै वेला मोवाईलमा रेडियो सुन्दै थिए पहिलो समाचार थियो धरहरा ढल्यो….बसन्तपूर….समाचार सुन्नेवितिकै मेरो हंशले ठाऊ छोड्यो पहिलो फोन ट्राई उसैलाई गरेँ। कसै गरी फोन लागेन।
त्यसपछि आफूलाई सम्हाल्न सकिनँ धरहरातर्फ दौडिॅए भत्किएको र भत्किन लागेका घर, मान्छे कसैको वास्तै नगरी।
सवैतिर कोलाहल र त्रास मात्र थियो। भत्किएका घरका भग्नावशेषमा खोतलिॅदै थिए,घाईतेको उद्धार गर्न। मैले ठम्याउन सकिनँ। मात्र स्मृतीको नाम मुखमा आएछ। स्मृती स्मृती….।
धरहरा वरपर भव्य भीड थियो। स्काभेटर चल्दै थियो। कोही उद्दार गर्दै छन् सेना पुलिससँगै कोही फोटा र सेल्फी हान्दैछन्। यस्तै घाईतेहरू र सर्वसाधारणको चिच्याहट उस्तै छ बाटाभरी एम्बुलेन्सको आवाज आइरहेको छ। उद्धार गर्दै
पुलिससँगै मिलेर घाईतेलाई दौडाईदै रहेछन्।
टुँडिखेलसमेत टम्म छ घाईते र घर छाडेका सर्वसाधारणले। कोलाहल र चित्कारले भरिएको काठमाडौंको कहालिलाग्दो दृष्य देखिन्थ्यो। गर्लम्म ढलेको धरहराको टुप्पो र रेलिङ अली वर आईपुगेको थियो। केही मान्छेको उद्धार हुँदै थियो, निकालिदै थियो।
एउटा जोडिले एउटै अंगालोमा प्राणत्याग गरेको विभत्स लास नीकालिदै थियो। कोही थिचिएका मान्छेका कपडा र लाशहरू यत्रतत्र थिए। यी सब कारूणीक दृष्य बिचमा मैले उसैलाई खोजेँ। देखिनँ कतै।
कसैले भन्दै थिए,‘यस्ता यस्ता यती जना वीर हस्पिटल लगिएको छ। म त्यतै हानिएँ।’
टुँडिखेलका चौर भरी घाईतेको उपचार हुँदै थियो। विर अस्पताल ट्रमा सेन्टरवरपर सवैतिर दौडादौड थियो। सवै तीर भौतारिएँ कतै उसलाई भेट्न सकिनँ। अन्ततः ट्रमाको एउटा कुनामा डाक्टरहरूले घेरिएको दुवैलाई बेहोस अवस्थामा उपचार गर्दै गरेको भेटेँ। धुलो र रगतले लत्पतिएको विक्षिप्त अवस्थामा अनुहार र शरीर, म बेचैन बनेँ। मैले उसलाई बोलाउन खोजेँ तर धुलाम्य र प्याकप्याक भएको अवरूध्द गलाबाट स्वर आएन ओठहरू चले मात्रै। आँखाबाट आसु रसाए। कुनाबाट, भगवान पुकार्दै एकोहोरो भएर हेरिरहेँ।
घाइते र मानिसहरूको चिच्याहट! रूवावासी! कस्तो दिन पनि देखायो दैवले!
एक निमेषमै सवै तहसनहस पारेर कोपिलाहरू चुडेर लग्यो। यस्तै बिचमा एकजना सेतो कपडा लगाउने डाक्टरले ‘सि ईज नो मोर’ भनेको सुनेँ। म यति भक्कानिए कि! छाति पिटि पिटी पागल भएर बिलौना गरेँ।
उसको लाशलाई एउटा कपडाले छोपेर स्ट्रेचर जस्तोमा हालेर लगियो। म उठ्न सकिनँ। रोक को ईसारामा एउटा हात त उठाए,बोली बन्द भयो आँखा बन्द गरेँ उसलाई हेर्न सकिनँ। आँसु सागर सरि छचल्किरहे। उसको अन्तिम म्यासेजले भने जसरी उ गई कहिल्यै भेट्दिन भनेर…
त्यसपछि कैयौ दिन सबैको सम्पर्कबाट बञ्चित भएर म कहाँ भौतारिॅए ,के के गरेँ होस भएन मलाई।
‘एक्लै तड्पाएर मार्नु रैछ ,किन ऊ सँगै मर्न अनूमति दिन्थ्यो दैवले।’ ईर्ष्या लाग्यो, त्यो नहुनुपर्ने तर दुर्लभ, जोडीको मृत्यु जो मृत्युवरण गर्दा पनि एउटै अंगालोमा थिए। मनमा यस्तै यस्तै मात्र खेलिरहन्थे। कैयौं भग्नावशेष र भत्किन लागेका घर छेउ रात बिताएछु। कैयौं परकम्पन्ले मलाई हल्लाउन सकेनन्।
सायद उता पनि कोटा खाली हुनुपर्दो रै’छ। मनकै कम्पन काफी भयो।
आज शोभा बाँचेकी छ, तर होस कहिल्यै नआउने गरी, दुई खुट्टा काटिएको अवस्थामा मुढो जस्तै टोलाएर..
यता म चुरोटका लतमा फसेँ, शहरका भट्टी पसेँ ‘जिवित लास’ बनेर बाँचेको छु हरेक प्रहरमा।
त्यो कालो १२ गतेको दिन हिजो एक वर्ष पुग्यो। ऊ सपनीमा आई। मेरो हालतदेखि, घरपरिवार, घर सवै बारे सोधी।अन्तमा भनी,
‘केशु’ तिमी कहिले आउँछौ मलाई भेट्न?’
मैले विरक्त मान्दै भने ‘धुँवा र नशासँगै छिट्टै म आउँछु प्रिय! मलाई एक्लै छाडेर जाने निष्ठुरी।’
‘म पनि त एक्लै छु नी यता, छिट्टै आउ है! स्वर्गद्वारमा फूलमाला लिएर प्रतिक्षामा हुनेछु’, विपनीमा वेचैन बनाएर गई।
कहिले काही कीर्तिपुरका डाँडामा एक्लै टहल्छु। उसका फोटाहरू हेर्छु रङ्ग फुङ्ग उडेजस्तो लाग्छ।
स्मृती अव स्मृतीमा मात्र छे।