~ललिता ‘दोषी’~
बच्चा जन्मेको धेरै समय बितिसक्दा पनि युवती न कुनै प्रतिक्रिया, न कुनै उत्साह नै व्यक्त गर्छे । युवतीको त्यो व्यवहार देखेर सिस्टरहरू सोझै अड्कल लगाउँछन्, “उनी कुनै गहिरो सोचमै डुबेकी छिन् ।”
रमा सिस्टरले युवतीको एकाग्रता भङ्ग गर्दै भनिन्-”होइन बहिनी, तपाईं त मुर्दाजस्तै हुनुभयो नि ! छोरो कि छोरी के जन्मियो भन्ने पनि सायद पत्तो छैन, किन यसो गर्नुभएको ?”
सिस्टरले कुरा चुहाएपछि प्रभा रूखो स्वरमा जवाफ दिन्छे –
”तपाईंहरूजस्ता सिस्टरले पनि के र कसो भयो भनेर भेदभाव राख्ने हो ? मलाई जे जन्मिए पनि फरक पर्दैन ।”
सिस्टर रमालाई युवतीको प्रत्युत्तरले कताकता दुखेको आभास हुन्छ । रमाले शिशुलाई प्रभातिर बढाउँदै भन्छिन्-
”तपाईंले नसोधे पनि म भन्छु । तपाईंबाट एउटा सुन्दर र स्वस्थ छोरो जन्मिएको छ । बच्चालाई दूध चुसाउन नभुल्नु । एक-दुई घण्टासम्म दिसापिसाब गरेन भने खतरा हुन्छ । हेरेर अरु सिस्टरहरूलाई भन्नू ।”
प्रभा केही रिसाउँदै भन्छे – ”यस्ता झिनामसिना कुरा मलाई सिकाइराख्नु पर्दैन, मैले बुझेकै छु ।”
”त्यसो भए ज्यादै राम्रो भयो” भन्दै सिस्टर आफ्नो बाटो लाग्छिन् ।
बेडमा पल्टिएकी प्रभा के गरौँ, कसो गरौँ भएर छट्पटाइरहन्छे । जन्मँदाखेरि बच्चा मरोस् भन्ने उसको प्रार्थना पनि बेकार हुन्छ । कहिले बच्चाको गला थिच्न हात बढाउँछे त कहिले विष पिलाएर मार्ने कल्पना गर्छे । उफ् ! त्यत्रो औषधि खाँदा नमरेको बच्चा जन्मँदा झन् के मर्थ्यो । खोई कसरी यो पापबाट छुटकारा पाउने ? त्यही सोचले उसलाई भोकप्यासको पनि पत्तो हुँदैन ।
प्रभा बेडमा आएको केही क्षणपछि सुन्दर अनुहार भएको, जीउडाल चटक्क मिलेको एउटा हट्टाकट्टा युवक आउँछ र प्रभाको कपाल मुसार्दै भन्छ-”प्राण, तिमीलाई धेरै गाह्रो भयो होला, होइन ? तिमीलाई केही होला कि भनेर म त थर्कमान भएको थिएँ । ज्यादै खुसी लाग्यो तिमीलाई सही सलामत देख्दा । भन बच्चा कस्तो छ ?”
प्रभा क्रूर आँखाले बच्चातिर हेरेर आँखा झिम्काउँछे । प्रभाको इसारा बुझेर युवक पनि ग्लानि भाव व्यक्त गर्छ । पुनः प्रभालाई मुसार्दै भन्छ- ”यो सब तिमीले गर्दा नै भएको हो । पेटमा पाँच-छ महिनाको बच्चा भइसक्दा पनि पत्तो नपाउने ! चाँडै थाहा पाएको भए के नै गाह्रो थियो र ? ३०-४० हजार दिन्छुभन्दा पनि बच्चा ठूलो भइसक्यो भनेर डाक्टरले फ्याँक्न पटक्कै मानेन । आज यो दुर्दशा भोग्नुपर्यो । अब यो बच्चालाई यहीँ छाडेर भाग्नुबाहेक केही उपाय छैन, हामीसँग बुझ्यौँ ?”
प्रभाले रुञ्चे स्वरमा भनी, ”के गर्नु त, सधैँ छ-सात महिनामा पन्छिन्थेँ । त्यही होला भनेर ढुक्क भएँ । पासो अल्झेको त पत्तै भएन । भोलिसम्म दूध नदिएपछि मरे मर्ला, नमरे यसलाई यहीँ छोडेर कुलेलम ठोक्नुपर्ला, हुन्न ?”
युवकले स्वीकृतिसूचक मुन्टो हल्लाउँदै भन्यो, ”अब त्यसबाहेक अरू उपाय पनि छैन नि ! यस्ता केस त सयौँ हुन्छन् । यदि यहाँ पनि छोड्न मिलेन भने सडक जिन्दावाद । आधा रातमा सडकमा लगेर छोडिदिउँला टण्टै खत्तम । तिमी पीर नगर म छँदै छु नि ! आउने दिनहरूमा भने तिमी र म बडो होसियार हुनुपर्छ, बुझ्यांै ? अनि तिनै स्वणिर्म क्षणहरू गुमाउनुहुन्न । लाग्छ, तिम्रो त्यही मायालु आलिङ्गनमा हराइरहूँ मात्र हराइरहूँ…… ।”
प्रभा सबै बिर्सेर प्रफुल्ल हाँसोमा मुसुुक्क हाँस्छे । अगलबगलका मान्छेहरूको आँखा छलेर दुबै चिमोटाचिमोट गर्छन् । रात छिप्पिँदै गएपछि युवक प्रभालाई उसको इच्छाअनुसारको खाने कुराहरूले पेट भराएर घर प्रस्थान गर्छ । प्रभा सिकार खाएर अघाएकी सिंहझैँ मस्तले निदाउँछे ।
प्रभाको छोरो धेरैबेर रोएपछि नजिकैको सिटबाट आइमाई आएर भन्छिन्-”बहिनी तपाईं त निदाउनुभयो क्यारे, बच्चा झोलुङ्गो नै उचाल्ने गरी रोएको छ, हेर्नोस् त ?”
प्रभा च्याँट्ठिदै जवाफ फर्काउँछे-”कत्ति दया देखाउनुपर्ने, बच्चा रोएको झर्को नै लाग्यो भने कानमा कपास राखेर सुत्नोस् । आइन्दा निद्रा बिगार्ने होइन ।”
आइमाई एउटी आमाको त्यो राक्षसी रूप देखेर छक्क पर्छिन् । उनलाई चुप लाग्न करै लाग्छ । बच्चा रुँदारुँदै शिथिल भएर रुन पनि सक्दैन । प्रभा पुनः निद्रामा पर्छे ।
भोलिपल्ट बिहान ७ बजे रमा सिस्टर हस्पिटल आउनेबित्तिकै प्रभा सुतेको बेडमा पुग्छिन् । बच्चाको त्यो दयनीय स्थिति देखेर रमा रिसाउँदै भन्छिन्-”ए सुन्दरी, तिमीले त आमाको पवित्र नाम नै कलङ्कित तुल्यायौं । लाग्छ तिमी भ्रम बटुल्दै रमाएकी रहिछ्यौ । जब भ्रमको पर्दा च्यातिन्छ, त्यसपछि मात्र वास्तविक दुनियाँ देख्नेछ्यौ । हेर यो शिशु कति कमजोर भइसक्यो ! यस्तै हो भने बाँच्दैन ।”
‘बाच्दैन’ भनेको सुन्दा प्रभालाई कताकता हाइसञ्चो लाग्यो । ”साच्चै सिस्टर बाँच्दैन यो ?” हषिर्त हुँदै बोल्छे । उसको मुहारमा बनावटी पीडासमेत देखिँदैन ।
सिस्टर रमा बाँच्दैन भन्दै शिशुलाई बोकेर हिँड्छिन् ।
प्रभा मनमनै मुस्कुराउँछे र सोच्छे-”हाइ जिन्दगी, सजिलै बोझबाट उम्कन पाइयो । मायालुको साथबाट विमुख हुनुपरेन ।” प्रभा यसरी मनमुग्ध हुनुको एउटै कारण थियो । ऊ कसैकी पत्नी थिइन, केवल प्रियसी थिई । धादिङबाट उच्च शिक्षा हासिल गर्न भनी काठमाडौँ झरेकी थिई । सहरको रमझममा उसका अनियन्त्रित पाइलाहरू स्वार्थले प्रेरित आँखामा नराम्रोसँग अल्झिए । ऊ पोल्टाभरि जून भेट्टाएको भ्रममा निर्धक्क निदाइरही । यौवन लुटाउँदै रमाइरही । पेटमा बच्चा आएपछि उसको मायालुले आदर्श पस्कियो, ”हेर, विवाह नगरी बच्चा भयो भने घरपरिवार र समाजको आँखाबाट नराम्रोसँग झरिन्छ । यसलाई कुनै हालतमा पनि पन्छाउने, अनि धुमधामसँग विवाह गर्ने ।”
प्रभालाई आफ्नो प्रियतमको कुनै शब्दहरू पनि नमिठो लागेन । प्रियतम धीरजलाई उसले दुःख टार्ने देवता सम्झी । धीरजको आँत चहर्याउन पाएन, ऊ प्रफुल्ल भयो हिजो देखेका मीठा सपनाहरूमा आज तूफान नपर्ने निश्चित भएपछि । प्रभाको मनभरि पनि वैशाख फुल्यो । धीरजसँग बिताएका रमाइला क्षणहरू सम्झेर मुसुक्क हाँसी ।
त्यसै समयमा धीरज पनि टुप्लुक्क देखापर्यो । प्रभाले हतारहतार धीरजलाई बच्चा नबाँच्ने कुरा सुनाई ।
प्रभाको कुरा सुनेपछि खुसीले होस नै गुमाउँदै प्रभाको सुकोमल अङ्गअङ्गमा चुम्बन गर्न थाल्यो । प्रभाले यथार्थ बोध गराएपछि भने धीरजले आफूलाई सम्हाल्यो र प्रभालाई सुमसुमाउँदै भन्यो-”हेर न प्रिय, म चारैतिर केवल तिमीलाई मात्र देख्छु । पानीबिनाको माछाजस्तै प्यासले छट्पटाइसकेँ । भन कहिले डिस्चार्ज गर्छ ?”
प्रभा धीरजको हात मुसार्दै भन्छे-”मलाई पनि त तपाईंसँग दुई पल छुट्टनि मन छैन । अब विवाह गरेर मात्र तपाईंसँग समर्पण हुन्छु । केही पलको आनन्दले झण्डै जिन्दगी नै तहसनहस भएन । अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ भनेझैँ अब त कान समातेँ बाबा ।”
प्रभाको कुराले धीरज चल्मलायो र भन्यो-”लाटी, अब बडो सजग हुनुपर्छ । तिमी पीर नै नगर, भन बरु बेलुकाका लागि केके खाने कुराहरू ल्याउँ ? तिमी स्वस्थ होऊ, म तिमीमा हराइरहन्छु, तिमी ममा हराइरहूँ । जिन्दगी बितेको त पत्तै हुन्न ।”
प्रभा धीरजलाई हेरिरहन्छे । सात जन्मसम्म पनि तिमीलाई भगवान्सँग माग्छु भन्दै रुँदै धीरज विवाहको प्रस्तावले अलि हच्केझैँ लाग्छ, धीरज सदाका लागि
आफ्नो हुने विश्वास थियो प्रभालाई । त्यही विश्वासमा नै धीरजका लागि सर्वाङ्ग सुम्पिएकी थिई ।
कतै मैले पाइला त बिराइनँ ? झसङ्ग झस्किन्छे प्रभा । सिस्टरको वाक्य के ठीकै हो त ? होइन भने धीरज किन अल्मलिएको छ त, यस्तै सोच्दै धीरजको हात मुसार्दै भन्छे-”धीरज, मैले तिमीलाई चिनेको छु । तिमी मलाई माया गर्छौ । विवाहले हाम्रो सम्बन्ध अझ गाढा बनाउँछ । म तिम्रो अभावमा बाँच्ने कल्पना पनि गर्न सक्तिनँ बुझ्यौँ ?”
”म पनि त तिमीलाई छोड्नै सक्तिनँ । त्यसैले त यो अवस्थामा पनि तिमीसँग छु, नत्र…..। हेर विवाह भनेको बन्धन हो । हामी अहिलेको जस्तो स्वतन्त्र हुँदैनौँ । अझै केही वर्ष हामी रोमान्समै बिताऊँ हुन्न ?”
प्रभालाई आफ्नो मुटु घाँटीमा आएर अड्केजस्तै हुन्छ । ऊ मन बाँधेर बोल्छे- ”हेर त अगलबगलका आमाबाबु हुनेहरू कसरी आफ्नो सन्तानको मायामा चुर्लुम्म डुबेका छन् । हामी भने सन्तान मार्दै रोमान्सको कुरा गर्छौं । धिक्कार छ हामीजस्तालाई एकाएक प्रभाको आँखामा आँसु भरिन्छ र छछल्किन्छ ।”
अब विनासित्तैमा प्रभाबाट केही हात नलाग्ने बुझेपछि धीरज जुरुक्क उठ्छ । केही पनि नबोली धर्मराउँदै प्रभाको रुमबाट बाहिरिन्छ ।
प्रभा धीरजलाई हेरेको हेर्यै हुन्छे । मुटु फुट्लाजस्तै हुन्छ । बिराएको पाइला सम्झेर भित्रभित्रै घोच्छ । सिरानीमा मुन्टो राखेर धेरैबेर रुन्छे ।
बहिनी तपाईंको डिस्चार्ज भयो । वास्तवमा तपाईंको छोरो मरेको थिएन । छोरो मर्छ भन्ने सुनेर हिजोदेखि एउटी महिला बेहोस भएकी थिइन् । बच्चा नदिए उनी मर्ने निश्चित भयो । उनको लोग्नेसँग सल्लाह गरेर तपाईंको छोरा होस् खुल्नेबित्तिकै उनैलाई दियौं । उनी स्वर्गै पाएजस्तै भइन् । आज तपाईंले गर्दा उनको ज्यान बाँच्यो । तपाईं पनि पूर्ण स्वतन्त्र हुन पाउनुभयो । गला थिच्नै परेन तपाईंले । हामीले नै तपाईंको बाटो साफ गरिदियौँ । खुसीले पागल हुनोस्, पागल….भन्दै रमा सिस्टर बाहिरिन्छिन् ।
प्रभाका ओठहरू मौन रहन्छन् । प्रभा यही सोच्छे-”मान्छेको वास्तविक रूप थाहा पाउनका लागि कुनै दुर्घटना हुनुपर्ने रहेछ । यो घटना नघटेको भए धीरज मलाई जालमा पारेर सिकार गरिरहन्थ्यो । म उसको बनावटी बोलीमा विश्वास गरेर इन्द्रेनी सपनामा रमाइरहन्थेँ । प्यास मेटिएपछि ऊ मलाई बेवारिसे बनाएर छोड्थ्यो । सोच्दासोच्दै प्रभाको मुटुको धड्कन बढ्यो । आफैंले आफैंसँग प्रश्न गरी के म पनि नारी, म पनि आमा ? दाह्रा किटी, छोराको मायाले मुटुमा गाँठो पर्यो । सहन गर्न नसकी भल्भल्ती आँसु झारी, आँखामा आफ्नो मुटुको टुक्रा मर्दा रमाउने धीरजको आकृति आयो । मनमनै धीरजलाई थुकी । वास्तविक दुनियाँको बोध गराउने यो दुर्घटनाले धेरै रुवाए पनि पट्टी लागेको आँखा खुलेकोमा केही हषिर्त भई । आइन्दा बनावटी मायाको जालमा अल्झेर मूल्यबिनाको जिन्दगी नजिउने सङ्कल्प गरी । बच्चाको मायाले भने हृदयमा आगो सल्किरहृयो ।
बुद्धनगर, काठमाडौँ ।