संस्मरण : ‘झिङ्गेलाला हो झिङ्गेलाला’

~भूमि भण्डारी~

म यहां आएको भोलिपल्ट केन्याबाट आएकी सहकर्मीले सोधेकी थिइन् -‘तंलाई यहांका केटीहरु कस्तो लाग्यो’ भनेर । केटी देख्न पाएको छैन, कस्तो लाग्यो भन्दिनू । मैले त्यसै ‘राम्रा रहेछन्’ भन्दिएको थिएं । उनको अर्को प्रश्न थियो-‘नेपाल र यहांका केटीमा के फरक रहेछ त ?’ ‘हे भगवान् ! के फरक भन्दिऊ म अब ।’ ‘सन्सारका सबै केटी उस्तै त हुन् नि, मैले फरक छुट्याउन पाएको छैन ।’- मेरो जवाफ थियो । अहिले म भन्नसक्छु नेपालका केटी र यहांका केटीबीचको शारीरिक बनौटमा फरक । यहांका प्राय सबै केटीहरु ठूलो नितम्ब र बक्षस्थलका धनी रहेछन् जसको यहांको परम्परागत नृत्यमा ठूलो महत्व रहेछ ।

जाम्बियाको नाच हेर्दा मलाई धेरै बर्ष पहिले हेरेको एक हिन्दी सिनेमाको गीतको झल्को आउंछ । यस गीतमा कलाकारहरु आदिबासी भेषमा परम्परागत सामाग्री हल्लाउंदै नाच्छन् । गीत पनि मलाई याद छैन तर ‘झिङ्गेलाला हो झिङ्गेलाला’ भनेजस्तो लाग्छ । जाम्बियनहरु पनि परम्परागत बाजा बजाउंदै उनीहरुको स्थानीय भाषामा गीत गाउंदै नाचेको देख्दा त्यो नृत्यको झल्को आएको हो ।

सांस्कृतिक बिविधतामा नेपाल धनी छ । पूर्व मेची देखी पश्चिम महाकालीसम्म गाइने गीतहरु र नृत्यमा बिविधता छ । पर्व र अवसर अनुसार पनि नेपालमा फरक गीत गाइन्छ । जाति अनुसार गीत, नाच र बाजा पनि फरक फरक हुन्छन् । तर अहिलेसम्मको मेरो अनुभवमा जाम्बियाका गीत र नृत्य सबैमा एकै किसिमका बाजा र लय प्रयोग हुने गरेका छन् ।

जाम्बियन नाचको महत्वपूर्ण पाटो भनेको अन्यत्रको नाच जस्तै नर्तकले गर्ने हाउभाउ नै हो । नेपाली नाचमा हात र खुट्टाको भूमिका जसरी महत्वपूर्ण हुन्छ । जाम्बियन नाचमा कम्मर र नितम्बको लचकता त्यति नै महत्वपूर्ण देखिन्छ । यहांको हरेक पर्व र अवसरहरुमा नृत्य अनिवार्य जस्तै रहने गर्दछ । परम्परागत जाम्बियन नाचको लागि बिभिन्न स्थानका क्लवहरु प्रसिद्ध छन् ।  शहरमा डिस्कोमा नाच्ने वा ‘अंग्रेजी र्‍याप हान्ने’ चलन भएपनि पर्व र अवसरहरुमा परम्परागत बाजा सहितको मौलिक नृत्य मात्रै चल्तीमा रहेको देखिन्छ ।

परम्परागत नाच प्रस्तुत गर्ने केटा वा केटी दुबैले कम्मरमा पटुका बांधेका हुन्छन् । कतिपय केटाहरु केटीको भेष बनाएर नाचेको पनि पाइयो । केटीले भने नाच्ने बेलामा चिटेङ्गे (लुंगी) बेरेका हुन्छन् । ड्रम बजाउने र गाउने एक टोली हुन्छ । नाच सुरु हुन अघि गीत गाउने र ड्रम बजाउने टोली स्टेजमा आउंछ । उनीहरु बिस्तारै ड्रम ठोक्न सुरु गर्छन् । ड्रमको आवाजसंगै नर्तकको स्टेजमा प्रवेश हुन्छ । उसले हात र आंखाको हाउभाउले नाच सुरु गर्छ । जसै ड्रमको गति बढ्दै जान्छ, गायकहरुले गीत सुरु गर्छन् । अब नतर्कले केवल कम्मर र नितम्बको चाल मात्र सुरु गर्छ । यस्तो परम्परागत नृत्यमा जति धेरै र लचकताका साथ कम्मर मर्काउन सक्यो र नितम्ब हल्लाउन सक्यो त्यति नै नृत्य टोली सफल मानिन्छ । नर्तकको चाल, बाजाको ताल र गीतको लयमा अनि अर्को पाटो थपिन्छ, त्यो हो सिट्टी । गायक वा ड्रमर मध्येकै एकले जोर जोरले सिट्टी फुक्छ । ड्रम र गायनको आवाजको रफ्तारसंगै नर्तकले उत्तिकै तिब्रताका साथ नितम्ब हल्लाउन र कम्मर मर्काउन थाल्छ । नाच उत्कर्षमा पुग्दै गर्दा दर्शकहरुले जोर-जोरसंग हुटिङ् गर्छन् र सिट्टी बजाउछन् । दर्शकहरुले नाच मन पराएमा एक-एक गर्दै स्टेजमा जान्छन्, नर्तकको कम्मरमा बांधेको पटुकामा पैसा घुसारिदिन्छन् र आफूले पनि एकपल्ट नितम्ब जोरसंग हल्लाएर फर्किन्छन् ।

यस परम्परागत जाम्बियन नृत्यमा बजाइने बाजा भनेका सिट्टी र ड्रम मात्रै हुन् । काठको ढ्वाङमा जंगली जनावरको छाला मोहरेपछि यहांको राष्ट्रिय बाजा तयार भयो, यसलाई स-साना हातैले वा दुईवटा लट्ठीको सहायताले बजाउने गरिन्छ । यी बाजाको एकातर्फ मात्रै छाला मोडिएको हुन्छ, एक तर्फको भाग खुल्लै हुन्छ । यिनीहरु बिभिन्न आकारका हुन्छन् । साना एक फिटसम्म उचाईका बाजालाई प्राय हातैले बजाउने गरिन्छ भने ठूला चार/पांच फिटसम्मका बाजा कसैले हातैले बजाउछन् भने कसैले यी बाजा बजाउन एक देखि डेड फिटसम्मका लट्ठीहरुको सहायता लिने गर्दछन् ।

म जाम्बियन नाच मात्रै बुझ्छु, गीत’bout केही थाहा पाउंदिन । गायक र ड्रम बादकहरुको टोली मध्ये एउटाले गाउन सुरु गर्छ, अनि अरुले त्यसैमा स्वरमा स्वर मिलाउंछन् । बिच-बिचमा अर्कोले जोर-जोरले सिट्टी फुक्छ । एक तमासले नाचिरहेको नर्तक सिट्टीको आवाजसंगै नितम्बको थिरकन बढाउंछ र दर्शकहरु पनि हुटिङ् सुरु गर्छन् । स्थानीय भाषामा गाईने हुनाले चिच्याई चिच्याई गाएको के हो, गीतले के भनेको हुन्छ, म केही थाहा पाउंदिन तर कहिल्यै नदेखेको अनौठो गायन र नृत्य शैली हेरेरै मज्जा लिने गर्छु । मैले पाएको जानकारी अनुसार गीत प्रायः मायापि्रतीका कुरामा आधारित हुन्छन् । अचेल अधिकारका कुरा र जनचेतनाका लागि प्रवाह गरिने सन्देशहरु पनि गीत बन्न थालेका छन् । बिश्व एड्स दिवस, नारी दिवस, युवा दिवसका अवसरमा आयोजित कार्यक्रमहरुमा यस्ता नाच हेर्ने मलाई अवसर जुरेको थियो ।

दक्षिण Africa (सब सहारन क्षेत्र) का नाचमा समानता पाइन्छ । स्वाजील्याण्डका राजाले हरेक बर्ष त्यस्तै परम्परागत नाचमा एक कुमारी केटी बिहे गर्ने चलन रहेको मैले नेपाल हुंदै सञ्चारमाध्यमबाट थाहा पाएको थिएं । तस्वीरमा हेरे अनुसार स्वाजिल्याण्डको  नाच र यहांको नाचमा धेरै समानता देखिन्छ । परम्परागत जातिले मनाउने धेरै पर्वहरु जाम्बियामा छन् । एक महिना अघि दक्षिण अपि|mकाका मलावी, मोजाम्बिक र ताञ्जानिया र जाम्बियाका आदिबासीहरुको बृहद नृत्य समारोह जाम्बियामा भएको थियो । त्यस नृत्य समारोहमा ती देशका ‘छोटे राजाहरु’ (चिफडोम प्रमुख जसलाई रोयल हाईनेश नै भनिन्छ) र जाम्बियाका राष्ट्रपतिले जनावरको छाला बेरेर नाचेको फोटो पत्रिकामा हेर्न पाइएको थियो । मेरो त्यो नाच हेर्न जाने योजना मसंगै जाने भनिएको साथी मलेरियाले थलिएपछि तुहिएको थियो । एक्लै जान हिम्मत आएन, पछि फोटो हेरेपछि नगएकोमा थकथक लाग्यो । अगष्टमा त्यस्तै अर्को पर्व हुन्छ रे, त्यसमा चाहीं म यहिं भएमा जसरी पनि जाने योजनामा छु, हेरौं के हुन्छ । तपाईलाई कस्तो लाग्यो त जाम्बियन डान्स – ‘झिङ्गेलाला हो झिङ्गेलाला ?’

मार्च 14, 2011

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.