समीक्षा : नेपाली साहित्य भण्डारमा ‘किरात मिथक’

~प्रकाश दिप्साली राई~

नेपाली साहित्यलाई संमृद्ध बनाउनका निम्ति इतिहासका विभिन्न कालखण्ड हुँदै हालसम्म विभिन्न वाद, विचार र प्रयोगहरू हुँदै आएका छन् । बुट पोलिस, राल्फा, आयामेली लेखन, प्रगतिशील विचार हुँदै पछिल्लो पल्टको आन्दोलन वा अभियानहरू युद्ध साहित्य, भयवाद, सीर्जनशील अराजकता हुँदै पहिचान साहित्यसम्म आइपुगेको छ । यी वाद आन्दोलन र अभियान स्थायी–अस्थायी के कति रहे साहित्यविदहरूको तराजुले जोखिरहेका छन् ।

यी अभियान र आन्दोलनले नेपाली साहित्याकाशमा नयाँ चिन्तन, आयाम थपेको पक्कै हो । दश वर्षे जन युद्ध ०६२–०६३ को जनआन्दोलनले राजनीति मात्र नभएर लेखनमा समेत सुनामी नै चलाइदियो ।

कमलरीहरू संविधान सभाहल छिरे । दबिएका आवज स्वतःस्फुर्त अधिकारका निम्ति गुञ्जयमान भए । लोपोन्मुख कला संस्कृति र लोकलय रेडियो बाजा र टेलिभिजनका स्क्रिनमा सुनिन र देखा पर्न थाले ।

त्यो बेला यो देशका शोषित पीडित र सिमान्तकृतले यो राज्यप्रति अपनत्व महसुस गरेकै हुन् । यी आवाज र आफ्नो पहिचानलाई सशक्त बनाउन पहिचान साहित्यको घोषणै भयो । यी परिर्वतनपश्चात् विभिन्न जातजाति र समुदाय आ–आफ्नो अस्तित्व पहिचान र मिथक खोजीमेली गर्न थाले । ०६२–०६३ पछिका यी कार्य कुनै न कुनै दृष्टिकोणबाट उपब्धिमुलक मान्न सकिन्छ तर अपेक्षाकृत भने हैन ।

पछिल्लोचोटी पहिचान साहित्यलाई मूल मुद्दा बनाएर लेख्ने सर्जक तथा स्रस्टा उल्लेख्य छन् । जस मध्ये ओम डीसी आर पनि एक हुन् । भोजपुर जरायोटारका यी सर्जक प्राय पेन्सील र कुचीमा रमाउँछन् । बेला बखत कविता र आख्यानमा पनि कलम चलाउँछन् । ०६८ मा ‘यलम्बरलाई चिठी’ कविता संग्रह बजारमा ल्याएर आफ्नो दम देखाइसकेका ओमले लेखनलाई लोकप्रियतासँग नदाँजेर आफ्नो जिम्मेवारी बहन गर्न चाहन्छन् । यस्तै जिम्मेवारीसहित ओमले हालसालै ‘किरात मिथक’ बजारमा ल्याएका छन् । लेखनशैलीमा गम्भिरतापूर्वक लागी पर्ने ओमको यो मिथक कसैले रहर गरेको भरमा र आफूलाई लेखक बनिटोपल्नका निम्ति बन्न सक्दैन ।

यस्ता कृति इच्छा शक्ति र लगनशीलताले मात्र सम्भव छ । यो मिथकका निम्ति ओमको पनि ०६४ सालदेखि लगानी, खोज, सोधपुछ र अध्ययन छ । वर्तमानदेखि आदिम कालको पिँधमा पुगेर तयार पारिएको कृति सम्बन्धित समुदायका लागि सञ्जिवनीको बुट्टी भन्दा कम छैन । गैर जिम्मेवारी तरिकाले यस्ता कृति तयार पारियो भने लक्षित समुदायलाई अन्याय त हुन्छ नै सँगसँगै उनीहरूको इतिहास र सभ्यता नै धरापमा पर्न सक्छ । त्यसैले यस्ता कार्यमा हात हाल्दा होसियारी अपनाउनु पर्छ । यसमा ओम सचेत भएका छन् । भोजपुरको पूर्वी क्षेत्रमा रहेका दुङमाली भाषी किरात राईको मिथकलाई लोक कथाका रूपमा लोभ लाग्दो ढंगले प्रस्तुत गरिएको छ । ती क्षेत्रमा रहेका ठाउँका नामहरू कसरी रहन गए ? राई जातिका पाछाको नामाकरण कसरी भयो ? जस्ता घतलाग्दा प्रसंग उल्लेख गरिएको छ । ‘माङदिङ शिकारी नखोक दुङमा खेसाङ रिवम्बुले डुँडे’ जस्ता मिथकले सबैको मन छुन सक्छ । महत्वका दृष्टिले यस्ता किरात सभ्यताका मिथक भावि सन्ततीका लागि सञ्जिवनीको बुट्टी सरह हुनेमा दुई मत छैन ।

हाम्रो देशमा यस्ता कैयौँ मिथकहरु खोज अनुसन्धान र संकलनको पर्खाइमा अलपत्र छन् । राज्यको संकिर्ण सोचका कारण यस्ता जातिय तथा स्थानिय मिथकहरु बेवारिसे अवस्थामा छन् । यो किराँत मिथक हेरिरहँदा चेपाङ राउटे अनि कैयौँ अल्पसख्यक र सिमान्तकृतहरुको मिथक झनै कति रमाइलो र खोजपूर्ण होला सबैमा कौतुहल्ता लाग्न सक्छ । कुनै जाति वा समुदायको मिथक वा पहिचानको खोजमा सोहि समुदायनै लागी पर्नु पर्छ भन्ने पौराणिक भुत हाम्रो समाजमा विद्यमान छ । एक हद सम्म यो परम्परा ठीकै हो तर सबै समुदाय यो हैसियतमा पुगि सकेका छैनन् । केहि समुदाय अझै पनि जंगलमै छ । राज्य जहिले सत्ता को फोहोरी खेलमा अल्मलिरहन्छन् । अनि त्यस्ता समुदायको शिक्षा दिक्षाको स्तरोत्तती कसरी सम्भव छ । पछिल्लो पल्ट पहिचानको कुरो उठाउँदा त जातिवादी नश्लवादीको आरोप लगाउने राज्य यस्ता मिथक र संस्कृति प्रति सोच्ने फुर्सदै कहाँ छ र ? यो देशको सेवा सुविधा र शिक्षाको पहुँच पुग्नेहरुले यसो गरिदिए त्यस्ता समुदायलाई ठुलो गुन लाग्थ्यो तर त्यस्तो हुदैन भए पनि आफु हितमा हुन्छ ।

****

तर ओम आफ्नो समुदायलाई मिथक र पहिचानमा सम्पन्न र समृध्द बनाउन आफै कमर कसेर लागेका छन् । पौवाथुम मात्रको यति बिघ्न मिथक छन् भने हजारौ वर्ष राज्य गरेका किराँती सभ्यताको मिथक र सौन्दर्यता कस्तो होला ? खोजी तथा संकलन गर्ने बाटो खोलिदिएका छन्् ओमले । अरुको मुख ताक्नु भन्दा आफै सक्षम भई जिम्मेवारी बोध गर्नुपर्छ भन्ने उर्जा प्रदान गरेका छन् । किरात मिथकको अध्ययन गरिरहँदा यस्ता मिथकहरुलाई लोक कथाका रुपमा विद्यालयका पाठ्यक्रममा समेट्न पाए नेपाली साहित्यकाशको भण्डार निक्कै सम्वृध्द बन्ने थियो । सम्बन्धित समुदाय माथि स्वभाविकै रुपमा उठ्ने भयो । बराह क्षेत्र, पाथिभरा, पशुपतिनाथ त्यतिकै यो अवस्थामा आइपुगेको होइन । त्यसकै समान दृष्टिले हेरिदिए र राज्य लागीपरे ऐतिहासिक हतुवागढी ट्याम्के डाँडा विजयपुर गढी पशुुपतिनाथहरु भन्दा कम हुने थिएन ।

किरात मिथक भित्रका शब्दचयनहरु मिथक सँग मेल खाने तस्विरहरुले संग्रहलाई आकर्षक बनाइ दिइएको छ । मिथकको प्रवेशद्धार आवरणले जो कोहिको मन जित्न सक्छ । सँगसँगै मिथक अनुसन्धान गर्दाका सन्दर्भ स्रोत सामग्रीहरु अटाइनुले लेखक पूर्ण जिम्मेवार देखिन्छ । त्यसोत यो मिथक संग्रहमा सानातिना कमजोरीहरु पनि छन् । मान्छे पूर्ण हुन सक्दैन र हुनुहुदैन पनि । त्यसो भएमा मानिसमा अहमता र घमण्ड बढ्छ । खोज अनुसन्धान गर्दा सम्बन्धित क्षेत्र र मिथकका तस्विर समेट्न पाएको भए मिथक सुनमा सुगन्ध थपिए झै हुन्थ्यो कि ? त्यस्तै किराँत मिथक भित्रका मिथकहरु बढि जरायोटार केन्द्रित भएको हो कि भन्ने खुल्दुली पनि पाठकहरुलाई लाग्न सक्छ । यो मिथकले किराँत सभ्यताका प्राचिन पसंगसंगै सौन्दर्य समेत उजागर गरेकोले नेपाली साहित्यको भण्डार अझ मजबुत भएको छ । यस्ता अरु आयामहरु अरु मिथकहरु आउनुपर्छ सभ्य बन्न गैर नेपाली मिथकहरु लेखी टोपल्छौँ हाम्रा देशका मिथक र सभ्यता चाहीँ कसले उठाउने ? यो मानेमा ओमले नेपाली साहित्यकासलाई मिथकिय गुन लगाएका छन् । आत्मसात गर्ने नगर्ने यहाँका लेखकहरुको धर्म ।

यस्तै जाति समुदायका प्रत्येक जाति समुदायका प्रत्येक सचेत व्यक्तित्व आफ्नो कला साहित्य र मिथकलाई ओम डि.सि. आरले जस्तै लेखोट गर्न सकेको खण्डमा सम्बन्धित जाती समुदाय त सम्पन्न हुन्छ नै सिङ्गो नेपाली साहित्याकास पनि समृद्ध बन्नेमा दुई मत हुदैन ।

(स्रोत : पहिलो किताब डट कम)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.