~गोविन्दप्रसाद आचार्य~
खान नपाएजस्ता तिम्रा दूतहरू
जो–कोहीसँग एक गिलास
चिया माग्ने गर्छन्
कस्ता दूत पालेछौँ यमराज ?
कहिल्यै अन्न नदेखेजस्ता
सुकिला पोशाकमा रूमाल ओछ्याएर
सडकमा माग्लान्जस्ता
तिम्रो भाँडा माझ्न पाउँदा फुल्ने दूतहरू
तिम्रो ठाउँ पाए कस्ता होलान् यमराज ?
तिम्रँ खुट्टा मोल्न नपाएर
दूतहरू भित्र–भित्रै रिस, डाहले
आगो बनिरहेछन् यमराज
पोशाक जति टल्किएपनि
मन कुहिएर गन्हाइरहेछ
तिम्रा दूतका बानी हेर त यमराज
साँच्चै तिमीलाई कस्तो लाग्छ ?
यमराज तिम्रा दूतको सताई भोग्नुपर्दा
रिसको आगोले जुङा पोलिदिन मन लाग्छ
निहूँ खोजी–खोजी भए–नभएको वल झिकेर
लछारपछार गर्न मन लाग्छ
यमराज रिस आफै उठ्दैन
कसैको टेवा चाहिन्छ
त्यसैले तिम्रा दूतको दरिद्रता
रिसलाई टेवा भैरहेछ
यमराज आगो त्यसै बल्दैन
दाउरा, तेल चाहिन्छ
क्रूरता आगो हो यमराज
सल्किँदा तिम्रा दूतहरू भष्म हुन सक्छन्
दुःख ढलिन्छ यमराज
ढल्दा तिम्रा दूतहरू परिन सक्छन्
तिम्रा दूतहरू अति मातेर होला
नियम, कानुन निशाना छैनन्
तिम्रा दूतहरू स्वर्गको सुन्दर बगैँचामा
रगत, पिपको सिंचन गरिरहेछन्
यमराज तिम्रा दूत बोल्दा
ध्वति अनि शब्दबाट छूरा निस्किरहेछन्
लाग्छ यिनले नसताएको
कोही कतै मान्छे छैन
लाग्छ तिम्रा दूतहरू
धोकाका पहाड भैरहेछन्
उपियाँ, उडुस पालेर
जिउ टोकाउँनु छैन यमराज
घुनपुत्ला लगाएर
अन्न बिगार्नु छैन यमराज
कहिलेकाहीँ भन्न मन लाग्छ
यमराज अझै
दुःख देउ त्यो आगो बन्ला
जसले अन्यायको कलम बोक्ने हात
डढाएर ठुटा पार्ला
होश राख यमराज
जोश सल्किएर कुर्सी टुक्रा–टुक्रा पार्ला
कोर्रा अनि काँडे लाठीले पिट्दै
तिमी पापीलाई ठेगान लगाउछौ रे घ्
मत्र्यलोकको चेलो
तिमी कहाँ धर्मात्मा पिटिन्छन्
पापीहरू खुट्टा पसारेर
आरामले बस्ने गर्छन्
थाहा छ यमराज,
शरिरमाथि टाउकोमा जुम्राले टोक्ने गर्छन्
मतलव यो हो कि यमराज
पापीहरू माथि बसिरहेछन्
स्वर्ग र नरकमा पनि यस्तै हुन सक्छ
किनकि यिनीहरू कुकर्म बोकेर जाने गर्छन्
चाकडी, चाप्लुसी गर्छन्
त्यहाँ पनि यिनै ठूला मालिक बन्छन्
सुखको बृक्षमा हाँगा पलाउँथे होला
मुन्टा पात सबै निमोठेर मारिसकेछन्
यहाँ घुस खान्छन् यमराज तिम्रा दूतहरू
यस्तै कला यहीबाट सिकेछन्
यहाँ मान्छे मोटा छन्
व्यवहारका छोटा छन्
यमराज तिमीजस्ता खञ्चुवा अल्छीले
दूत छाडा बनाएर होला
सोझाहरू मारमा परेर
दिन–दिनै तिमीलाई सरापिरहेछन्
तिमी आक्रोशको भाषा, नियम नबुझेर होला
हात उठ्दा डराउँने गर्छौँ
रिस कुन अवस्थामा किन उठ्छ ?
थाहा नपाएर होला
चर्को आवाज सुन्दा अत्तालिएर मुर्छा पर्छौ
को, कहाँ, किन, कसरी पुगे
तिमी विश्व हेरेनौँ
यमराज तिमी गिलासमा चिया पिउँदा
पिएको घमन्ड ग¥यौँ
यमराज तिमी जमेको पोखरी हेर
भरिएपछि कहाँ पुग्छ ?
धेरै जाज नखेलाऊ यमराज
कुनै दिन ख्यालख्यालमा बेहाल हुन सक्छ
धेरै नअत्याउ यमराज
आत्तिएका तात्तिएर कस्ता नतिजा झिक्छन्
ठीक ठाउँमा राख दूतहरू होइन
वर्षाको भेलसँगै पखालिन सक्छन्
तिमी क्रान्ति हौ यमराज
किनकि अशान्ति मच्चाउँछौ
त्यसले बाटो देख्छ
अज्ञानी बसेका कुर्सीहरू अन्यायीले समाएका कलमहरू
विद्रोहलाई बाटो देखाउँने प्रकाश बन्छन्
यस्तै गर यमराज
किनकि अर्कोले ठाउँ पाउँनुपर्छ
एक दिन त्यस्ता आउँछ
तिमी कोदालो बोकेर खेत धाउँनुपर्छ
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ७ – Dec. 21, 2011 – २०६८ पौष ०६ गते, बुधबार)